scheduleबिहिवार आश्विन १५ गते, २०७७

पृथ्वीनारायण क्याम्पसको मूल गेटमा शिक्षकबाटै तालाबन्दी

पोखरा, २५ साउन । समान कामको समान ज्यालाको माग गर्दै आंशिक शिक्षकहरुले पोखराको पृथ्वीनारायण क्याम्पसको मुल गेटमा अनिश्‍चितकालिन तालाबन्दी गरेका छन् । त्रिभुवन विश्‍वविद्यालयको इतिहासमै पहिलोपटक प्राध्यापकहरुबाटै यस्तो आन्दोलन भएको हो ।

विगत १४ वर्ष देखि समान कामको समान ज्याला माग्दै आएका आंशिक शिक्षकहरुले चरणबद्ध आन्दोलन गरेपनि त्रिभुवन विश्‍वविद्यालय र क्याम्पस प्रशासन गैरजिम्मेवार बनेको भन्दै आन्दोलन स्वरुप अनिश्‍चितकालका लागि ताला लगाएको हो ।

दैनिक दुई सयभन्दा कम शुल्कमा नियमित पठनपाठन गराई रहेका आंशिक शिक्षकहरुले गत वर्षको माघ २० गते क्याम्पस प्रशासन, आंशिक शिक्षक र त्रिवि प्रतिनिधिका बीचमा भएको सहमती कार्यन्वयन नभएको भन्दै पुनः आन्दोलन गरेका हुन् । नयाँ क्याम्पस प्रमुखको पदमा प्राध्यापक डाक्टर सरोज कोईराला आए पछि आंशिकका मागलाई यही साउनको २२ गते सम्म समाधान गर्न दुई बुँदे लिखित प्रतिबद्धता जनाएका थिए ।

प्रतिबद्धता अनुसार क्याम्पसको रिक्त दरबन्दी तत्काल ल्याउने र आंशिक शिक्षकलाई नियमित गर्ने कोइरालाले जनाएका थिए । तर कुनै पनि माग पुरा नभएपछि पुनः आन्दोलनमा उत्रिएको आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस पोखराका अध्यक्ष सुनिल गौतमले जानकारी दिए । उनले भने–“हामी विगत १४ वर्ष देखि श्रम शोषणमा परेका छौं अब पनि हाम्रा माग समाधान गरिएन भने हामी कुनै पनि हालतमा पछि हट्नेवाला छैनौं ।”

यता आंशिकको आन्दोलनका बारेमा क्याम्पस प्रमुख प्रा. डा. सरोज कोईरालाले पनि माग त्यति नाजायज नभएको धारणा राखे । उनले भने –“उहाँहरु समस्यामा हुनुहुन्छ, यो समस्या हाम्रो मात्रै होईन विश्‍वविद्यालयको हो, त्यसैले समाधान जसरी पनि गरिनुपर्छ ।” समाधानका लागि केन्द्रमा रजिस्ट्रार र रेक्टरसँग कुरा भएको पनि उनले जानकारी दिए । उनले थपे–“आंशिक विना क्याम्पस चलाउन असम्भव नै छ, अधिकतम कक्षा भार आंशिक लिनुभएको छ ।”

संघका अध्यक्ष गौतमका अनुसार क्याम्पसको ७० प्रतिशत कक्षाभार आंशिक शिक्षकहरुले लिने गरेका छन् । पढाएको दिनको मात्रै न्यून ज्यालामा काम गरिरहेका शिक्षकहरु लकडाउनपछि भोकै परेको पनि उनको भनाई छ । क्याम्पसमा हाल २ सय २० जना आंशिक शिक्षक रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय