scheduleबिहिवार आश्विन १५ गते, २०७७

प्रदेश २ मा नयाँ डिआईजीको ‘इन्ट्री’सँगै ८ प्रहरीको जागिर गयो, १४ निलम्बनमा

एसपी यादव/सर्लाही, २५ साउन । संघीय इकाई प्रहरी कार्यालय जनकपुरको नेतृत्व सम्हाल्दै आएका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी धिरजप्रताप सिंहले मातहतमा रहेको प्रदेश २ को आठवटै जिल्लामा तस्करीमा संलग्न रहेका प्रहरी र नेपाल प्रहरी संगठनको आचरणविपरीतको गतिविधिमा लागेका प्रहरीहरुलाई निशाना बनाएका छन् ।

प्रदेश २ को प्रहरी प्रमुखको कमाण्ड सम्हालेको चार महिना नबित्दै ८ जना प्रहरीहरुको जागिर गएको छ भने १४ जना प्रहरीहरु निलम्बनमा परेका छन् । प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मका निलम्बनमा परेका हुन् ।

संघीय इकाई प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्यांक अनुसार २०७७ बैशाख ११ गतेदेखि साउन २३ गतेसम्ममा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मका ७५ जना प्रहरीहरुलाई विभागीय कारबाही समेत गरिएको छ । सचेत गराइएको, नसिहत, ग्रेड घटुवा, पदोन्नति रोक्का, सेवाबाट हटाइएको, निलम्बन र स्वत: निलम्बन लगायतका कारबाही गरिएको छ । कारबाहीमा प्रहरी कार्यालय सहयोगी १, प्रहरी जवान ६ र प्रहरी सहायक निरीक्षक १ जना गरी जम्मा आठजना प्रहरीको जागिर नै गएको छ ।

भ्रष्टाचार विरूद्धको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेका डिआइजी सिंहले लकडाउनको समयमा तस्करलाई भारततर्फ सामान ओसारपसार गर्ने काममा सर्लाही प्रहरीको संलग्नता रहेको प्रमाण फेला परेपछि चारजना प्रहरीलाई गत जेठ २१ गते बुधबारका दिन निलम्बन गरेका थिए ।

त्यस्तै सर्लाहीकै चन्द्रनगर गाउँपालिका वडा नं.५ स्थित मोहनपुरमा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुरेश सहनीले नेपाल प्रहरीको व्यवसायिक नीति विरुद्ध गरेको विभिन्न गतिविधिको यथेष्ट प्रमाण भेटिएकोले असई सहनीलाई साउन २३ गते शुक्रबारका दिन निलम्बन गरी थप कारबाही प्रक्रिया अगाडि बढाईएको छ । निलम्बनमा परेका १४ जना प्रहरीहरुमध्ये ५ जना प्रहरीहरु जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहतमा रहेको विभिन्न प्रहरी चौकीमा कार्यरत रहेका थिए ।

आठवटै जिल्लाका तस्कर, दलाल, गुण्डा, फरार अपराधी र रक्सी भट्टी लगायतलाई समेत उनले निशाना बनाएका छन् । अपराध र अपराधीसँग कुनै पनि साँठगाँठ र सम्झौता नगर्न समेत उनले मातहतका आठ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई कडा निर्देशन दिइसकेका छन् । छिमेकी राष्ट्र भारतको बिहार प्रान्तमा स्थानीय सरकारले रक्सीमा प्रतिबन्ध लगाएपछि त्यसको असर सीमा जोडिएका प्रदेश २ का आठवटै जिल्ला लगायत अन्य जिल्लाहरुमा पनि परेको छ ।

सिंहले मातहतका आठवटै जिल्लाको जिल्ला प्रहरी कार्यालयमा हुने छलफलमा विचौलिया ‘दलाल’हरुलाई अनिवार्य निषेध गर्नुपर्ने सर्कुलर समेत जारी गरेका छन् । उनीसँगको फोनवार्तामा ‘दलाललाई कसरी पहिचान गर्न सकिन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘झगडा मिलाउन तेस्रो व्यक्ति आउनु भनेको दलाल हो ।’ दलालको माध्यमबाट आर्थिक लाभको प्रलोभनमा परेर प्रहरीले पनि सहि गलत छुट्याउन नसकेको नजिरहरु रहेको उनले बताए । उनले भने, नेपाल प्रहरीको क्षेत्राधिकार भन्दा बाहिर गएर कुनै पनि किसिमको छलफल समेत नगर्न गराउन मातहतका आठ वटै जिल्ला प्रमुखहरुलाई निर्देशन दिइसकिएको जनाए ।

सिंहले प्रदेश २ मा लागू औषध, घरेलु हिंसा, बालविवाह लगायतका कुरिती चुनौती रहेको बताए । उनले भने, यस्ता कुरीतिहरुको न्युनीकरणका लागि प्रहरी र जनता बिचको सहकार्यको खाँचो रहेको उल्लेख गरे । सिंहले प्रहरीको एक्कल प्रयासबाट मात्रै यस्ता विकृतिको अन्त्य हुन नसक्ने भएकोले प्रहरी र जनता मिलेर सहकार्य गर्दै अघि बढनुपर्नेमा उनले जोड दिए । प्रहरीलाई बर्दी सहितको नागरिक तथा नागरिकलाई बर्दी बिनाको प्रहरीको रुपमा चित्रण गर्दै उनले प्रहरी र नागरिकको सहकार्यबाट समाजमा शान्ति र अमन चयन कायम हुने विश्वास व्यक्त गरे ।

भ्रष्टाचार र अपराध विरूद्धको शून्य सहनशीलताको नितिलाई अवलम्बन गरेका डिआइजी सिंहले २०७७ वैशाख ११ गतेदेखि प्रदेश २ को कमाण्ड सम्हालेका हुन् । प्रदेश २ को कमाण्ड सम्हालेदेखि प्रदेश स्तरमा शान्ति सु-व्यवस्थामा सुधार, चोरी पैठारी, तस्करी, डकैती, अपहरण, फोन धम्की, चन्दा आतङ्क, सीमावर्ती अपराध, संगठित अपराध र बलात्कारजस्ता घटनाहरुमा न्यूनीकरण भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय