scheduleशनिवार आश्विन १० गते, २०७७

तनहुँमा समुदायस्तरमा कोरोना परीक्षण

तनहुँ, २६ साउन । समुदायस्तरमा कोरोना संक्रमणको अवस्था पहिचान गर्न तनहुँका विभिन्‍न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ ।

बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, कपाल काट्ने नाईलगायतको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले आइतबार प्राप्त रिपोर्टअनुसार ८१ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । “समुदायस्तरमा कोरोना संक्रमणको अवस्था के छ भन्‍ने पहिचान गर्न प्रतिनिधिमूलक रुपमा स्वाब सङ्लन गरेर परीक्षण गरेका थियौँ”, उनले भने, “सबैको रिपोर्ट नेगेटिभ आएको छ ।”

जिल्लामा कोरोना परीक्षणका लागि करिब चार हजारको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट आएर क्‍वारेन्टिनमा बसेका र कोरोना संक्रमण पुष्‍टि भएकाको सम्पर्कमा आएकासमेत गरी जिल्लामा तीन हजार ७६९ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तीमध्ये ३ हजार २७० पुरुष र ४९९ महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय