scheduleआइतवार आश्विन ४ गते, २०७७

‘रावणको देश’मा सिंहाली राष्ट्रवादको पल्लाभारी

काठमाडौं, २६ साउन । अगष्ट ५ को बिहान । यता अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राममन्दिर निर्माणका लागि भूमीपुजन गर्दै थिए, उता ‘रावणको देश’ श्रीलंकामा भने १६ औं संसदीय निर्वाचनको मतदान प्रारम्भ भएको थियो ।

कोभिड–१९ को महाब्याधीबाट श्रीलंका अछुत छैन तर तुलनात्मकरुपमा निक्कै कम संक्रमण छ । त्यहाँ अहिलेसम्म करिब २८०० संक्रिमत भएका छन् भने १० जनाको मात्र मृत्यु भएको छ । तथापि मतदान केन्द्रमा कोरोना स्वास्थ्य निर्देशिकको कडा पालना गरिएको थियो । निर्वाचन केही समय सार्ने निर्वाचन आयोगको प्रस्तावलाई सरकारले अस्वीकार गरेपछि तोकिएकै मितिमा निर्वाचन भएको थियो ।

यो निर्वाचनमा १ करोड ६२ लाख ६३ हजार ८५५ मतदाता सुचीकृति थिए । तर मतदान भने ७० प्रतिशत मात्र भएको थियो । करीब ३० प्रतिशत मतदाता पहिलोपटक मतदान गर्ने नयाँ मतदाता थिए ।

निर्वाचनमा २ दर्जन बढी पार्टीहरुले भाग लिएका थिए । मुख्य प्रतिस्पर्धा राष्ट्रपति गोताबाया राजपाक्षेको पिपल्स फ्रिडम एलाइन्स र विपक्षी दल रणिल बिक्रमासिंगेको युनाइटेड पिपल्स पार्टीबीच हुने अपेक्षा गरिएको थिए ।

तर निर्वाचन परिणामले विपक्षी दललाई इतिहासकै सर्वाधिक नमीठो हार चखाएको छ । प्रमुख प्रतिपक्षी दलले १ सीट मात्र जितेको छ । यो त्यही पार्टी हो जुन पार्टी डिए सेनानायके तथा जेआर जयबर्दनेजस्ता प्रभावशाली राजनीतिज्ञहरुले बनाएका थिए । यो पार्टीले २.१५ प्रतिशत मात्र भोट पाएको छ ।

विपक्षी दलको यो हारको कारण भने प्रष्ट थियो । संजित प्रेमादासाले गत फेब्रुअरीमा पार्टी विभाजन गरी ‘समागी जन बलायगाया’ नामको भिन्नै पार्टी बनाएका थिए । विपक्षी दलमा नेता कार्यकर्ता सिरीसेना मैत्रीपाला र रणिल बिक्रमासिंहेको झगडाले वाक्कदिक्क थिए । तर, विपक्षी दलको दुई हाँगामध्ये संजित समूहलाई मतदाताले छान्ने विश्लेषण भने गरिएको थिएन ।

संजिथ समूहले ५४ सीट र करिब २४ प्रतिशत भोट प्राप्त गरी दोस्रो ठूलो दल र प्रमुख विपक्षी बन्न पुगेको छ । पूर्व प्रधानमन्त्री रणिल बिक्रमासिंघेको राजनीतिक भविष्य संकटमा परेको छ ।

राजपाक्षेको फ्रिडम एलाइन्सले भने ५९ प्रतिशत भोट र १४५ सीट हासिल गरेको छ । यसलाई निक्कै ठूलो विजयको रुपमा हेरिएको छ । यो पार्टीका नेता महेन्दा राजपाक्षे हुन । उनका भाइ गोतावाय राजपाक्षे अहिले राष्ट्रपति छन । दाजु महेन्दा पुराना राजनीतिज्ञ हुन तर यो चुनावपछि दाजु महेन्दाको भन्दा भाइ गोतावायको शक्ति असीमित रुपमा बढेको विश्लेषण गरिँदैछ ।

त्यसको कारण सन् २००९ को तमिल दमन थियो । श्रीलंकाको तमिल बहुल क्षेत्र जाफ्नामा लामो समयदेखि तमिल विद्रोह थिए । तलिम इलमका नेता भिल्लुपिल्लाई प्रभाकरण सर्वाधिक चर्चित र प्रभावशाली विद्रोही नेता मानिन्थे । तमिल विद्रोह दमन गर्दा गोतावाया रक्षा सचिव थिए । उनले त्यो सैन्य परिचालनमा साहसिक र कुशल भूमिका गरेको सिंहाली समुदायको बुझाई छ ।

सिंहाली समुदाय श्रीलंकाको बहुसंख्यक र बर्चश्वशाली समुदाय हो । करिब ७५ प्रतिशत श्रीलंकनहरु बुद्धिष्ट सिंहाली छन् । करिब ११ प्रतिशत तमिल छन् । यी दुई समुदायको बीचमा लामो राजनीतिक तनाव हुने गरेको छ । करिब ९ प्रतिशत मुस्लिम र ७ प्रतिशत क्रिश्चियनहरुको भने कमजोर राजनीतिक प्रभाव छ ।

यसपटकको निर्वाचनमा तमिल केन्द्रित उम्मेदवार र पार्टीले कुल १६ सीट जितेका छन । तमिल नेशनल एलाइन्सले करिब ३ प्रतिशत भोट र १० सीट पाएको छ ।

आइतबार बिहान महेन्दा राजपाक्षेले भाइ तथा राष्ट्रपति गोताबाय राजपाक्षेबाट प्रधानमन्त्री पदको सपथ लिएका छन र सपथ ग्रहण कार्यक्रम कोलम्बोको पुरानो बौद्ध मन्दिर राजमहा बिहारिया केलानियामा आयोजना गरिएको थियो ।

सन् २०१९ को राष्ट्रपति निर्वाचनपछि राजपाक्षे परिवार श्रीलंकन राजनीतिमा पुरानो बर्दरनायके वा प्रेमादासा परिवार झैं नयाँ वर्चश्वशाली परिवारका रुपमा उदित हुने विश्लेषण गर्न थालिएको थियो । राजपाक्षे दाजुभाइलाई सिंहाली समुदायले तमिल विद्रोह दमनको महानायकका रुपमा लिने गर्दछ । राजपाक्षे दाजुभाइले जोखिम नमोलेको भए देश टुक्रिन्थ्यो भन्ने उनीहरुको विश्वास छ ।

तमिल विद्रोह दमनको बेला भएका मानवअधिकारविरोधी घटनाका लागि राजपाक्षे दाजुभाइलाई विश्व समुदायले आलोचना गर्ने गरेको छ ।

राजपाक्षेको जीतको अर्को कारण भारत विरोधी भावना मान्ने गरिएको छ । श्रीलंकामा उनीहरुको भारत विरोधी छवी छ । उनीहरु चीनको नजिक रहेको मानिन्छ । भारतीय विश्लेषकहरुले राजपक्षेको जीतलाई भारत वरिपरिबाट भारत विरोधी र चीन समर्थकहरुबाट घेरिदै गएको अर्थमा लिएका छन् । राजपक्षे शासनमा श्रीलंकामा चीनको लगानी ह्वात्तै बढेको थियो ।

श्रीलंकामा राजपाक्षेको उदयलाई पनि राष्ट्रवादको विश्वव्यापी लहरकै एक कडीको रुपमा विश्लेषण गरिँदैछ । मोदीको राष्ट्रवाद भारतका चुनाव जित्न सहयोगी भए पनि त्यसले जन्माएको प्रतिराष्ट्रवाद उनैलाई घेर्दै लगेको विश्लेषकहरु बताउँछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय