scheduleमगलवार आश्विन ६ गते, २०७७

प्रचण्डले बालुवाटारको फोन उठाउनै छाडे, नारायणकाजीले पनि चित्त दुखाए

काठमाडौं, २६ साउन । सत्तारुढ दल नेकपा भित्रको आन्तरिक किचलो अब बोलचाल बन्द र टेलिफोन नउठाउने अवस्था सम्म पुगेको छ । केही दिनदेखि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बोलचाल छैन ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कार्यालयबाट आएको टेलिफोन समेत उठाउन छाडेका छन् । आजभोलि बालुवाटारको फोन भन्‍ने बित्तिकै अनावश्यक बखेडा सुन्‍नुपर्ने भएकोले प्रचण्डले छोरी गंगा दाहाललाई टेलिफोन उठाउने–नउठाउने जिम्मा दिएका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको टेलिफोन त झन उठाउनै मन गर्दैनन् ।

थापाले प्रचण्ड र जनयुद्धको चर्को विरोध गर्दै आएका छन् । थापाले आफ्नो फेसबुकमा क्यान्टोनमेन्टको कुरादेखि जनयुद्धमा १७ हजार मान्छे मारेको सम्म कुरा उठाएर प्रचण्डको आलोचना गरेको भेटिन्छ ।

यता दुई दिन अघि प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डकै निर्वाचन क्षेत्रका नेता कार्यकर्ता बोलाएर बालुवाटारमा अयोध्याको कुरा गरिरहँदा अध्यक्ष प्रचण्डलाई भने कुनै जानकारी समेत दिइएन । चितवनको माडी नगरपालिकाका मेयरलाई प्रधानमन्त्री आफैंले टेलिफोन गरेर बालुवाटार बोलाएका थिए ।

नगर प्रमुख सहित वडा अध्यक्षहरु प्रधानमन्त्रीलाई भेटेर फर्किदासम्म पनि प्रचण्डलाई कुनै सोधीखोजी भएन । प्रधानमन्त्रीले माडीका प्रतिनिधिलाई ठोरीमा अयोध्या र राममन्दीर निर्माण गर्न निर्देशन दिएका थिए ।

नेकपा भित्रको विवादमा अहिले शीर्ष नेता मात्रै होईन कार्यकर्ता र शुभेच्छुक समेत व्यक्तिगत आलोचना, नेतृत्वको टिप्पणी र छुद्रतामा उत्रिएका छन् । पार्टी शीर्ष नेतालाई लक्षित गरेर कार्यकर्ताले समेत फेसबुक र ट्‍वीटरका भित्ता रंग्याउन थालेपछी पार्टी भित्रको विवाद र ब्यक्तिका टिप्पणी सतहमा आएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार र अध्यक्ष प्रचण्डका प्रेस संयोजकको दोहोरी फेसबुकमै भेटिन्छ भने अन्य नेताका टिप्पणी पनि कार्यकर्ताबाटै हुन थालेको छ । ओली गुटका नेताहरुले प्रचण्ड-नेपाल समूहका व्यक्ति–व्यक्ति लक्षित गरेर फोसबुक र ट्‍वीटरमा दैनिक लेख्‍न थालेका छन् ।

यसरी लेख्‍नेमा प्रधानमन्त्रीका राजनीतिक सल्लाकार विष्णु रिमाल, नेता गोकुल बाँस्कोटा, सुर्य थापा, नविना लामा बढी सक्रिय छन् ।

त्यसैगरी पार्टी सचिवालय सदस्य तथा प्रवक्ता नाराणकाजी श्रेष्‍ठको आलोचना स्वयं प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्‍णु रिमालले नै गरेपछि त्यसको प्रतिवाद नारायणकाजी आफैंले गरेका छन् । रिमालले प्रवक्ता भएर लाज ढाक्न नसकेको टिप्पणी गरेका थिए ।

प्रधानमन्त्रीकै कार्यालयमा रहेर आफुहरुको नकारात्मक आलोचना हुँदा पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष चुपचाप बस्‍नु दुःखद भएको भन्दै प्रवक्ता श्रेष्‍ठले चित्त दुःखाएका छन् ।

श्रेष्‍ठले प्रधानमन्त्रीले आफ्नै सचिवालयका साथीहरुलाई त्यसरी छाडा छोडेर गल्ती गरेको समेत भनेका छन् । उनले आफु निकट कार्यकर्तासँग अध्यक्ष ओली असाध्यै अटेरी, जब्बर र संकीर्ण नेता भएको सुनाएका थिए ।

ओलीले नेता,कार्यकर्ता र नागरिकको कुरा मात्रै होईन पार्टी अध्यक्ष प्रचण्ड र अन्य शिर्ष नेताको कुरामा समेत कहिल्यै ध्यान नदिएको र आफु नै पार्टी आफु नै सरकार भनेर घमण्ड गरेको दुःखेसो गरेको उनी निकट एक नेताले बताए ।

नेकपामा स्थायी कमिटी बैठक स्थगित छ । सचिवालय बैठक बस्‍नै छाडेको छ भने १ सय ५० जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेर माग गरिएको केन्द्रिय समिती बैठक झनै अनिश्‍चित छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय