गण्डकी प्रदेशमा थपिए ८ जना कोरोना संक्रमित
पोखरा, २६ साउन । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक सोमबार विहान जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्की तनहुँ र नवलपरासी पूर्वका दुई-दुईजना तथा पर्वत र स्याङ्जाका एक-एकजना छन् ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १६२० पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ५ का ३७ वर्षीय पुरुष र वडा नं २६ की ४० वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका २ का ३७ वर्षीय पुरुष र ३२ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।
तनहुँको भानु र बन्दीपुरका ३४ वर्षीय दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ भने स्याङ्जाको गल्याङका ४५ वर्षीया महिला तथा पर्वतको मोदी २ का ५२ वर्षीय पुरुषमा पनि कोरोना भेटिएको छ ।
गत २४ घण्टामा क्षयरोग उपचार केन्द्रमा गरिएका ५६३ नमूना परीक्षणमध्ये ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा भने सबै ४६ नमूनाको रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कास्कीबाट ७ जना संक्रमितहरु निको भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या पनि १४७० पुगेको छ ।