scheduleमगलवार आश्विन ६ गते, २०७७

घनश्याम भुसाल नेकपाको ‘प्रदीप गिरी’ कि नयाँ ‘मदन भण्डारी’ ?

साउन २६ गते कान्तिपुरमा प्रकाशित कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालको लामो लेख ‘नेकपाः बाँच्‍नको लागि एक मात्र बाटो’ले पाठकहरुको व्यापक ध्यानाकर्षण गरेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र अध्यक्षका रुपमा ओलीको पार्टी सञ्चालन कार्यशैलीको बहुआयामिक विश्लेषण र आलोचना गरिएको उक्त लेख ओली सरकारकै मन्त्रीहरुले समेत शेयर गरेका छन् ।

लेखमा भुसालले नेकपा निक्कै संगीन र कठिन मोडमा पुगेको निष्कर्ष निकालेका छन् । यस्तो हुनुमा ओली र दाहाल दुवै पार्टी अध्यक्षलाई जिम्मेवार ठानेका छन् । पार्टी अध्यक्षहरु संस्थागत प्रक्रियामा नचलेको ‘तान्त्रिक–मान्त्रिक’ बाटोमा लागेको निष्कर्ष समेत निकालेका छन् । पार्टी स्थायी समितिको बैठक अनिश्चित हुनुलाई उनले ‘विधि समाप्त’ भएको अर्थमा लिएका छन् ।

अझ रमाइलो कुरा उनले ओली पक्षको वैचारिक आग्रह ‘जनताको बहुदलीय जनवाद’ पार्टीको मार्गदर्शक सिद्धान्त हुनुपर्ने जिरहलाई राप्रपाको प्रतिगामी बाटोसँग तुलना गरेका छन् । उनले लेखेका छन्, ‘अहिलेको संविधानलाई स्वीकार गरिसकेपछि राप्रपाले राजतन्त्र फर्काउने नाटक गर्नु र कम्युनिष्टले ‘जनवाद’ फर्काउने प्रहसन गर्नु उस्तै कुरा हुन् ।’

भुसालको विचारमा पार्टी एकताको बेला प्रयोग गरेको ‘जनताको जनवाद’ हतारको शब्दाबली थियो । यसकै आधारमा जनताको बहुदलीय जनवाद कि एक्काइसौं शताब्दिको जनवादजस्ता बहस भइरहेका छन् । यसको अब खासै सान्दर्भिकता छैन । उनको कार्यदिशा ‘जनवाद’ नभएर लोकतान्त्रिक बाटो हुँदै ‘समाजवाद’ मा जाने हुनु पर्ने उनको धारणा छ ।

भुसालको यो निष्कर्षले नेकपाभित्रको ओली–विद्या समूहको वैचारिक आग्रहमाथि दरिलो झापड मात्र हान्दैन, वैचारिक मार्गदर्शनका लागि मदन भण्डारीको युग सकिएको र अब नेकपाका लागि भण्डारी पुष्पलालझैं वैचारिक नेता नरहेर ऐतिहासिक आदर्श पुरुष मात्र हुन सक्ने संकेत गर्दछ ।

भुसालले समाजवादमा जाने तीनवटा प्रस्थानविन्दू सिफारिस गरेका छन् । रोजगार, शिक्षा र स्वास्थ्य । यी तीन चीजमा समान पहुँच हुन सक्ने हो भने अहिलेको दलाल पुँजीवाद समाजवादमा रुपान्तरण हुन थाल्ने भुसालको ठहर छ । उनले नेकपाको विभिन्न महत्वपूर्ण पदमा बस्ने व्यक्तिहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी लगानी गर्न नहुने कि त त्यस्तो व्यवसाय छोड्नु पर्ने कि त पार्टीको नेतृत्व छोड्नु पर्ने उपाय सुझाएका छन् ।

यसबारे उनले लेखेका छन्, ‘समाजवादी क्रार्यक्रमको प्रथम चरण मै गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई सार्वजनिक क्षेत्रले ग्यारेन्टी गर्ने कार्यक्रम भएको पार्टीका केन्द्रीय सदस्य र जनप्रतिनिधिहरुले त्यस्तो लगानी गर्नु स्वार्थ बाझिने कुरा हो ।’

नेपालमा सार्वजनिक शिक्षा र स्वास्थ्यको लगात र गुणस्तरबारे व्यापक विरोध हुँदै आइरहेको छ । निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा कम्युनिष्ट नेता कार्यकर्ताहरुको ठूलो लगानी रहेको विश्वास गरिन्छ । यहाँसम्मकी ओली सरकारका वर्तमान अर्थमन्त्री नै नवउदारवादी अर्थनीतिका पक्षधर मानिन्छन् । भुसालको यस्तो प्रस्तावले नेकपा पंक्तिको ठूलो हिस्सामा गहिरो नैतिक संकट सृजना गर्ने छ ।

भुसालले विद्यमान अर्थनीतिले ‘दलाल पुँजीवाद’ लाई नै प्रश्रय दिइरहेको समेत अर्थ निकालेका छन् । ओली वा प्रचण्डको नाम नलिकन उनले पार्टी नेतृत्व नै दलाल पुँजीपति, विचौलिया र कमिसनखोरहरुको चंगुलमा फस्दै गएको ठहर गरेका छन् ।

नेकपाको पछिल्लो गुटबन्दी, झगडा र आरोप प्रत्यारोपलाई उनले यदुबंशी विनाशसंग जोडेका छन् । उनले लेखेका छन्, ‘साम्राज्यको भोग आफ्नो भागमा नपरेपछि कयन्ले विशाल दरबार/ढिकुटीमा आगो लगाए । तिनको वंश विनाश मात्र भएन, तिनका अग्रजले निर्माण गरेको सभ्यता, सृजना गरेका संस्कृति समेत खरानी भए । महाभारतको अन्त्य पाण्डवहरुको विजयमा हैन, बरु द्वापरयुगीन सभ्यताको ध्वंशमा भएको थियो ।’

भुसालको यो लेखलाई पार्टी नेतृत्वले कसरी दिन्छ ? यसलाई वैचारिक प्राज्ञिक बहसको बिषय मात्र बनाइन्छ कि पार्टी अनुशासनको ? ओलीले यसलाई कसरी लेलान् ? यसले भुसालको मन्त्री पदमाथि कुनै अप्ठ्यारो सृजना गर्ला कि न गर्ला ? जिज्ञासा व्यापक हुँदै गएका छन् ।

भुसाल मन्त्री हुने अगाडिदेखि नै ओलीका आलोचक रहँदै आएका थिए । उनलाई ओलीले मन्त्री बनाउँनलाई आश्चर्यको बिषय मानिएको थियो । मन्त्री भएपछि भुसाल लामो समय मौन रहेका थिए । उनको मौनतालाई झनै रहस्यको रुपमा हेरिएको थियो । कतिपयले भुसालले मन्त्री पदका लागि वैचारिक आत्मसमर्पण गरेको आरोप समेत लगाउने गरेका थिए ।

भुसालको पछिल्लो लेखपछि उनी माथिका आरोपहरु फिका भएका छन् । उनले मन्त्री हुनु अघिकै आफ्नो वैचारिक अडान र दृष्टिकोणलाई पुनर्पुष्टि गर्न खोजेका छन् ।

कतिपय विश्लेषकहरु भने भुसालको लेखले नेकपालाई कुनै असर नपर्ने, एक कानले सुन्यो अर्को कानले उडायो हुने बताएका छन । भुसाल ‘नेकपाको प्रदिप गिरी’ हुन् र उनलाई कुनै अनुशासनले नछुने अनुमान गर्नेहरु पनि छन् ।

नेपाली कांग्रेसमा प्रदीप गिरी पार्टी नीति र नेतृत्वको बारम्बार आलोचना गर्दछन् । यहाँसम्म कि उनले संविधान जारी गर्दा बखत पार्टी ह्वीप समेत उल्लघंन गरी संविधानमा हस्ताक्षर नै नगरी संसद भवनबाट बाहिरिएका थिए । तर पनि कांग्रेसले उनलाई कुनै कार्वाही गरेको थिएन ।

भुसाल नेकपाभित्र ‘प्रदीप गिरी’ हुने हुन् कि नयाँ ‘मदन भण्डारी’ ? यो प्रश्नको उत्तर पाउन भने भविष्य पर्खेर हेर्नुपर्ने हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय