scheduleबिहिवार आश्विन १५ गते, २०७७

सर्लाहीमा थप कडाइका साथ लकडाउन जारी

एसपी यादव/ सर्लाही, २६ साउन । नेपाल सरकारले संक्रामक रोग ऎन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गर्दै सर्लाहीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण समुदाय स्तरमा फैलन नदिनका लागी जिल्ला प्रशासन कार्यालय सर्लाहीले  सोमबार बिहान ६ बजेदेखि साउन ३२ गते आइतबार राती १२ बजेसम्म सम्म लागू हुने गरी स्थानीय प्रशासन ऎन, २०२८ को दफा ६ (३) बमोजिम ७ दिनसम्मका लागि अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सर्लाही जिल्लाभर थप कडाइका साथ लकडाउन जारी गरेको छ ।

साउन २५ गते आइतबारका दिन जिल्ला सुरक्षा समिति, जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद व्यवस्थापन समितिको त्रीपक्षिय बैंठकले सो निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

समुदाय स्तरमा कोरोनाले भयावह रुप लिन थालेपछि प्रशासनले निषेधाज्ञा लगाएको बुझिएको छ । यद्यपि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, भीडभाड हुन नदिन तथा समुदाय स्तरमा संभावित संक्रमण फैलिनबाट सर्वसाधारणलाई जोगाउनका लागी उक्त निर्णय गरिएको बताए ।

उनले भने, निषेधाज्ञा अवधिभर स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औसधि, खाद्यान्न, तरकारी, पशुपंक्षीको दाना र कृषि कार्य बाहेकका अन्य सबै बैंक, वित्तीय संस्था र सरकारी कार्यालयबाट हुने सेवा प्रवाह समेत बन्द रहनेछ । खाद्यान्न र तरकारी पसलको हकमा प्रत्येक दिनको २ बजे देखि बेलुकी ७ बजेसम्म खुल्ला रहनेछ । सो समय अवधीमा भौतिक दुरि कायम गरि खरिद बिक्री गर्न सकिने प्रजिअ पौडेलले जनाए ।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, शव वाहन, दमकल, झण्डाबाला सवारी साधन, कुटनैतिक नम्बर प्लेटका सवारी साधन, दूध, पानी ओसारपसारका सवारी साधन, लामो दुरीका मालसामान ढुवानीका सवारी साधन, अत्यावश्यक सेवा सञ्चानका लागि खटिएका जनशक्तिले प्रयोग गर्ने सवारी साधन, सुरक्षा निकायका सवारी साधन तथा अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधन बाहेक अन्य सबै निजि, सार्वजनिक एवं सरकारी साधनहरु समेत सञ्चालन गर्न निषेध गरिएको छ । छिमेकी मित्र राष्ट्रहरुबाट सामाग्री ढुवानी बाहेकका सबै प्रकारका आवागमन पुर्ण रुपमा निषेध तथा सिमानाका पुर्ण रुपमा सिल गरिएको प्रजिअ पौडेलले जानकारी दिए।

प्रजिअ पौडेलका अनुसार, यस निषेधाज्ञा आदेशको अवज्ञा गर्ने साथै यस आदेशको कार्यान्वयनमा वाधा विरोध वा अवरोध गर्ने जोसुकै व्यक्ति वा समूहलाई संक्रामक रोग ऎन,२०२० तथा स्थानीय प्रशासन ऎन,२०२८ बमोजिम कडा कारबाही गरिने जनाए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय