scheduleमगलवार आश्विन ६ गते, २०७७

बालुवाटारको नयाँ प्रस्तावले खुमलटारमा तरङ्ग

फाइल फोटो

काठमाडौं, २६ साउन । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका लागि राजनीतिमा नयाँ नयाँ तुरुप फालिरहनु नयाँ कुरा रहेन । अवस्था यस्तो सिर्जना भइसकेको छ कि अब उनको तर्फबाट नयाँ प्रस्ताव आउँदा कोही पनि उत्साहित हुँदैनन् । किनकी ओलीको चरित्रलाई चिनेकाहरुले उनको प्रस्तावलाई विश्वास गर्न छाडिसकेका छन् ।

पहिरोको अवरोध छिचोल्दै यसै साता काठमाडौं पसेका नेकपा स्थायी समिति सदस्य तथा पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बालुवाटारको तर्फबाट खुमलाटारमा अर्का अध्यक्ष प्रचण्डलाई नयाँ प्रस्ताव राखेको खबर बाहिरिएको छ ।

खुमलटार स्रोतका अनुसार पोखरेलले प्रचण्डसमक्ष महाधिवेशन आयोजक समितिको एकल संयोजक बन्न प्रस्ताव अगाडि सारेका हुन् । शनिबार पोखरेलले खुमलटार पुगेर ओलीलाई प्रधानमन्त्री तथा सर्वमान्य नेता बनाउने, माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेता बनाउने प्रस्ताव लगेका हुन् ।

एकपछि अर्को पात्रलाई एकपछि अर्को तुरुप फ्याँकिरहने बालुवाटारको नयाँ प्रस्तावबारे प्रचण्डले ठोस जवाफ नदिएको बालुवाटारको बुझाई छ ।

उता ओली समूहले भने प्रचण्डले जुनसुकै बेला अविश्वासको प्रस्ताव ल्याउन सक्ने भन्दै आफूनिकट सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन दिएको छ । अविश्वासको प्रस्ताव आउने सम्भावना न्यून भए पनि ओली समूहले असुरक्षित महसुस गरेकोले सबै अस्त्रहरुबारे सचेत रहेको बुझ्न सकिन्छ ।

‘मलाई यस्तो होला जस्तो त लाग्दैन । तर पनि निर्देशन यस्तै आएको छ । म उपत्यकामा नै छु,’ ओली समूहका एक सांसदले भने, ‘पहिलाजस्तो अविश्वासको प्रस्ताव ल्याउन अहिले सजिलो छैन । पार्टीभित्र अप्ठेरो अवस्था रहेकोले सचेत त हुनैपर्‍यो ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय