scheduleमगलवार आश्विन ६ गते, २०७७

म्यान्चेस्टर युनाइटेड र इन्टर मिलान यूरोपा लिग फुटबलको सेमिफाइनलमा

काठमाडौं, २७ साउन । यूरोपा लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न क्‍वाटरफाइनल खेलहरुमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र इटालियन क्लब इन्टर मिलानले जीत हात पारेका छन् । युनाइटेडले कोपनहेगन तथा इन्टरले बायर्न लेभरकुसनलाई हराएको हो ।

पहिलो खेलमा युनाइटेडले कोपनहेगनमाथि १-० को संघर्षपूर्ण जीत निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । युनाइटेडका लागि खेलको अतिरिक्त समयमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको ९५औं मिनेटमा एन्थनी मार्सियाललाई डिबक्सभित्र लडाइएपछि पाएको पेनाल्टीमा फर्नान्डेस चुकेनन् र युनाइटेडले अग्रता बनायो । निर्धारित ९० मिनेटको खेलमा पनि युनाइटेडले गोल गर्ने अवसरहरुबाट चुकेको थियो भने एक पेनाल्टी विपक्षी गोलरक्षकले बचाएका पनि थिए ।

यस्तै अर्को खेलमा इन्टर मिलानले बायर्न लेभरकुसनलाई २-१ ले हरायो । खेलका सबै गोल सुरुवाती २५ मिनेटभित्र भएका थिए । १५औं मिनेटमा निकोला बारेलाको गोलबाट अग्रता बनाएको इन्टरका लागि २१औं मिनेटमा रोमेलु लुकाकुले अर्को गोल थपे । त्यस्तै २४औं मिनेटमा काई हाभेर्टजले लेभरकुसनका लागि एक गोल फर्काए ।

अन्तिम १६ देखि सेमिफाइनलसम्मका खेलहरु होम र अवे आधारमा दुई लेगमा खेलाइँदै आएको भएपनि कोरोना महामारीका कारण यस वर्ष नकआउट चरणका खेलहरु तटस्थ मैदानमा एक लेग मात्र खेलाइने भएको हो ।

क्‍वाटरफाइनलका बाँकी दुई खेलहरु आज हुँदै छन् । साख्तर डोनेटस्क र बसेल तथा वुल्‍भस् र सेभिल्ला सेमिफाइनल प्रवेशका लागि खेल्नेछन् ।

युरोपा लिगको सेमिफाइनल खेलहरु आउँदो हप्ताको सोमबार र मंगलबार खेलिनेछन् भने फाइनल खेल शनिबार हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय