scheduleशनिवार आश्विन १० गते, २०७७

ओलीको मानसिक अवस्था कमजोर भनेपछि बालुवाटार रुष्ट, विरोध गर्नेहरु इतिहासको गर्तमै हराउने चेतावनी

काठमाडौं, २७ साउन । प्रतिपक्षी दल जनता समाजवादी पार्टीको यसै साता सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि जारी विज्ञप्तिको भाषाशैलीप्रति प्रधानमन्त्री को सचिवालयले खेद व्यक्त गरेको छ ।

जसपाको बैठकपछि जारी विज्ञप्तिमा प्रधानमन्त्री ओली शारीरिक र मानसिकरुपमा अत्यन्तै कमजरो रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ । वर्तमान सरकार बनेदेखि नै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका पक्षलाई कमजोर पार्ने षड्यन्त्रसहित पहिचान र अधिकारका लागि जनताले उठाएका मागलाई जातिवादको रुपमा चित्रण गर्ने कार्य गरेर देश भित्र विभाजनको बिऊ रोप्ने कार्य गर्दैछ ।’

उक्त भाषाशैलीको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार एक प्रेस नोट जारी गर्दै उक्त विज्ञप्तिको अंश खेदजनक भएको बताएका छन् । ‘सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेकाे … केपी ओली सरकारकाे कुनै ठाेस कार्ययाेजना नरहेकाे र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजाेर रहेकाे… भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ,’ प्रेस नोटमा भनिएको छ ।

थापाले डा. बाबुराम भट्टराई लगायतका नेताहरुलाई संकेत गर्दै भनेका छन्, ‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीकाे समेत ज़िम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरकाे तरिका खासमा कुण्ठाग्रस्त गालीगलाेज मात्र हो र सोचको दिवालियापन नै हाे ।’

राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुनुलाई स्वभाविक नै मानिन्छ उल्लेख गर्दै उनले प्रश्न गरेका छन्, ‘त्यसै आधारमा यस स्तरकाे अपसंस्कारकाे प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर हाेला ।’

‘सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नाे स्वार्थका राेटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्याराे देख्छन् र उज्यालाेकाे भर्त्सनामा जुट्छन्,’ थापाले भनेका छन्, ‘जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलाेचना, विराेध र गालीगलाेज गरिएकाे सन्दर्भ हाे, याे कुनै नाैलाे कुरा हाेइन ।’

उनले ओलीको विरोध गर्नेहरु इतिहासको गर्तमा हराउने चेतावनी समेत दिएका छन् । ‘आफ्नाे निहित स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसाे गर्दै आएकाे तथ्य स्पष्ट नै छ । त्यस्ता तत्वहरू इतिहासकाे गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले काेही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ,’ प्रेस नोटमा भनिएको छ ।

प्रेस सल्लाहकार थापाले जसपाको विरोधलाई सिसाकाे घरमा बसेर ढुंगा हान्ने प्रवृत्तिको रुपमा चित्रित गरेका छन् । उनले यस्ता शक्तिहरु असुरक्षित र पतन हुनु अनिवार्य रहेको उल्लेख गरेका छन् ।

‘राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारकाे आलाेचना र विराेध गर्न सक्छन् । तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयाेग गरिने अपमानजनक, तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भाषाप्रति गम्भीर आपत्ति प्रकट गर्नैपर्छ, जाे सभ्य समाजकाे मूल्य र मानक विपरित रहेका छन्,’ प्रेस नोटमा भनिएको छ, ‘तसर्थ: जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएकाे भाषा निन्दनीय रहेकाेतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय