scheduleबिहिवार आश्विन ८ गते, २०७७

बेरुत विस्फोटनले छताछुल्ल पारदिएको लेबनान राजनीतिको नालीबेली

एजेन्सी, २७ साउन । गत मंगलबार (अगष्ट ४) लेबनानको राजधानी शहर बेरुतमा भएको विस्फोटनले त्यहाँको राजनीतिक संकट बढाएको छ । सोमबार साँझ प्रधानमन्त्री हसन दिएभले पदबाट राजीनामा गरेका छन् । अघिल्लो हप्ता भएको भीषण विस्फोटनमा कम्तीमा सयौं मानिसले ज्यान गुमाएका थिए भने ६ हजार भन्दा बढी घाइते भएका थिए ।

११० भन्दा बढी अझै बेपत्ता छन् । यो विस्फोटको कारण करिब तीन लाख मानिस बेघरबार भएका छन् भने ३ बिलियन डलरभन्दा बढीको क्षति भएको छ । अभिभावक गुमाएका बालबालिकाको स्थिति नाजुक छ ।

विस्फोटनको घटनापछि जनआक्रोश चुलिएको छ । नागरिकले सरकारलाई दोष लगाउँदै आएका छन् । जनआक्रोश चुलिएसँगै सरकारभित्र विवाद बढेको थियो । सोमबार साँझ प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्नुअघि नै तीन मन्त्रीले राजीनामा दिइसकेका थिए ।

विस्फोटन पोर्टमा असुरक्षित तबरले संग्रह गरिराखेको २७५० टन अमोनियम नाइट्रेटको कारणले भएको थियो । त्यो संग्रह सन् २०१३ देखि गरिएको थियो तर त्यसको सुरक्षित व्यवस्थापन गरिएको थिएन । विस्फोटक पदार्थको संग्रहणमा सरकारी निकायहरुले लापरवाही गरेको जनताको आरोप छ । विस्फोटनपछि २० जना पोर्ट अधिकारी तथा कर्मचारीहरुलाई पक्राउ गरिएको छ ।

गत जुलाई २० मा नै त्यहाँको सुरक्षा अंगले पोर्टमा संग्रहित विस्फोटक पदार्थ जोखिमपूर्ण अवस्थामा रहेको भन्दै यथाशीघ्र व्यवस्थापन गर्नुपर्ने प्रतिवेदन राष्ट्रपति र प्रधानमन्त्री समक्ष बुझाएको बताइन्छ ।

बेरुत विस्फोटको दृश्य

पोर्टमा संग्रहण गरिएको विस्फोटक पदार्थको स्थिति बुझ्न अहिले त्यहाँ फ्रान्सेली बिषेशज्ञहरु खटाइएको छ । विज्ञहरुले त्यहाँ अझै २० जोखिमपूर्ण अवस्थाका कन्टेनरहरु रहेको बताएका छन् ।

विस्फोटनपछि शुक्रबारदेखि बेरुतका सडकमा जनप्रर्दशन भड्किएका छन् । प्रदर्शनकारीले सरकार भ्रष्ट र पतित भएको, जनताको जनधनको सुरक्षा गर्न नसकेको, विस्फोटक पदार्थको असुरक्षित संग्रह गरेर निर्दोष जनताको ज्यान लिएको आरोप लगाउँदै आएका छन् ।

उनीहरुले तीन दिन निरन्तर संसद भवन घेराउ गरेका छन् । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनले बारम्बार लाठी चार्ज र अश्रुग्यास प्रयोग गरेको थियो । जनआक्रोश साम्य हुने सम्भावना नदेखिएपछि प्रधानमन्त्री हसनले राजीनामा घोषणा गरेका थिए ।

राष्ट्रपति मिसेल अउनले प्रधानमन्त्रीको राजीनामा स्वीकार गर्दै नयाँ सरकार गठन नहुनन्जेलसम्मको लागि कामचलाउ सरकारको रुपमा काम गर्न भनेका छन् । प्रधानमन्त्री हसनले गत जनवरीमा सत्ता सम्हालेका थिए । पूर्व प्रधानमन्त्री साद हरारीविरुद्ध भ्रष्टाचारको आरोपमा निरन्तर प्रदर्शन भएपछि हसनलाई प्रधानमन्त्री बनाइएको थियो ।

राजीनामा दिँदै प्रधानमन्त्री हसनले लेवननको सबैभन्दा ठूलो समस्या राजनीतिक शक्ति सम्भ्रान्त वर्ग र त्यो वर्गले गर्ने भ्रष्टाचार हो भन्ने उल्लेख गरे । उनले भने– ‘लेबनानमा भ्रष्टाचार राज्यभन्दा ठूलो छ । यहाँको स्वार्थी शक्ति सम्भ्रान्त वर्गको आँखामा देश र जनताको कुनै मूल्य छैन । भ्रष्टाचार गर्न पाए पुगेको छ । हामी एक अभेद्य पर्खालद्वारा छेकिएका छौं, यसलाई तोड्न सजिलो छैन ।’

राजीनामा दिएका प्रधानमन्त्री हसन

उनले अगाडि थपे, ‘अब यसरी चल्दैन । करिब ७ वर्षदेखि हामी निरन्तर संकटमा छौं । अब हामीले जनताको परिवर्तनको चाहनालाई स्वीकार गर्नै पर्छ ।’ उनले आफूलाई एक सुधारवादी र जनपक्षीय नेताको रुपमा प्रस्तुत गर्ने प्रयत्न गरे ।

लेबनानमा सन् १९७५ देखि सन् १९९० सम्म लामो गृहयुद्ध भएको थियो । यो युद्धको क्रममा कयौं सशस्त्र समूह र युद्ध सरदारहरुको जन्म भएको थियो । हिजबुल्ला त्यसमध्येको सबैभन्दा ठूलो समूह हो । लेबनान राजनीतिमा अहिलेपनि हिज्बुल्ला समूहको ठूलो पकड छ ।

विभिन्न युद्ध सरदारहरुले लेबनानको राजनीति र अर्थतन्त्रलाई क्षेत्रीय विभाजनको आधारमा नियन्त्रण गरेका छन् । हसनको मन्त्रीमण्डलमा पनि हिज्बुल्ला समूहको प्रभुत्व थियो ।

विस्फोटनपछि फ्रान्सेली राष्ट्रपति इम्मानुअल म्याक्रोनले लेबनान भ्रमण गरेका थिए । लेबनान फ्रान्सको पूर्व उपनिवेश हो । सन् १९४१ को नोभेम्बरमा लेबनान फ्रान्सको उपनिवेशबाट मुक्त भएको थियो । लेबनान राजनीतिमा फ्रान्सको भूमिकालाई अझै महत्व दिइन्छ । बेरुत पुगेका म्याक्रोनले त्यहाँका सबै राजनीतिक समूहलाई संयुक्त सरकार गठन गर्न सल्लाह दिएका छन् ।

लेबनानमा क्रिश्चियन, मुस्लिम र द्रुज तीन धर्मालम्बी समुदाय छ । करिब ५४ प्रतिशत मुस्लिम, ४१ प्रतिशत क्रिश्चियन र ५ प्रतिशत द्रजहरु छन् । शहरी क्षेत्रमा क्रिश्चियन समुदायको बाहुल्यता छ भने ग्रामिण क्षेत्रमा मुस्लिम समुदायको बाक्लो बस्ती छ ।

क्रिश्चियन समुदाय लेबनानलाई उदार लोकतान्त्रिक राज्य बनाउन चाहन्छ भने मुस्लिम लडाकु समूहहरु इस्लाकिम राज्य बनाउन चाहन्छन् । लामो गृहयुद्धबाट पनि विजय हासिल गर्न नसकेपछि हिज्जबुल्ला लगायतमा लडाकू समूह संसदीय राजनीतिमा आएका हुन् । तर ग्रामीण क्षेत्रमा अझै उनीहरुको जबरजस्त प्रभाव छ ।

लेबनानको क्रिश्चियन समुदाय फ्रान्सप्रति झुकाव राख्दछ । तर मुस्लिम केन्द्रित राजनीतिक समूह भने अरब लिगप्रति झुकाव राख्दछन् ।

सन् १९८९ मा बृहत्त शान्ति सम्झौतामार्फत् लेवननको गृहयुद्ध अन्त्य गरिएको थियो । गृहयुद्धको अन्त्य गर्न तत्कालीन प्रधानमन्त्री रफिक हरारीले महत्वपूर्ण भूमिका खेलेका थिए । तर सन् २००४ मा हिज्जबुल्ला लडाकाहरुको एक समूहले उनको हत्या गरेको थियो । गत जनवरीमा सत्ताच्युत गरिएका साद हरारी रफिक हरारीका छोरा हुन् ।

प्रधाममन्त्री हसन डिएब सुन्नी मुस्लिम समुदायका स्वतन्त्र व्यक्ति थिए । साद हरारीको राजीनामापछि राजनीतिक संकट हल गर्न प्राज्ञिक पृष्ठभूमिका हसनलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुुक्त गरेका थिए । संसदमा उनलाई हिज्जबुल्ला समूहको समर्थन थियो ।

-एजेन्सीहरुको सहयोगमा ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय