scheduleशनिवार आश्विन १० गते, २०७७

आइपिएल क्रिकेटको तयारी तीव्र, खेलाडीहरुको कोरोना परीक्षण हुँदै

काठमाडौं, २७ साउन । आइपिएल क्रिकेट यूएईमा हुने पक्का भएसँगै यसको तयारी तीव्र पारिएको छ । त्यसका लागि सबैभन्दा महत्वपूर्ण रहेको खेलाडीहरुको कोरोना परीक्षण पनि थालिएको छ ।

सबै खेलाडीहरुले आफ्नो देशमा कोरोना परीक्षण गराएर नेगेटिभ आएको रिपोर्ट लिएर यूएई पुग्‍नुपर्नेछ । युएईमा पुगेर पुनः एकपटक परीक्षण गरिनेछ र त्यो पनि नेगेटिभ आए क्‍वारेन्टाइनमा पनि बस्‍नुपर्ने छैन ।

हाल सबै फ्रेन्चाइजका खेलाडीहरुको कोरोना परीक्षण पनि सुरु गरिसकिएको छ र केहीको नेगेटिभ रिपोर्ट आइसकेको जनाइएको छ । यद्यपि पोजेटिभ रिपोर्ट भने हालसम्म कसैको पनि आएको छैन । यूएई जानभन्दा पहिले चारदेखि पाँच चरणमा खेलाडीहरुको परीक्षण गरिने योजनाअनुसार परीक्षणको प्रक्रिया सुरु गरिएको हो । धेरैजसो खेलाडीहरुको घरमै पुगेर स्वाब नमूना लिई परीक्षण गर्न सुरु गरिएको छ ।

यसैबीच आठमध्ये एक फ्रेन्चाइज टिममा सम्मिलित एकजना भारतीय खेलाडीले भने आफ्नो कोरोना परीक्षण नेगेटिभ आएको स्वयम् आफैंले जानकारी गराइसकेका छन् । उक्त फ्रेन्चाइजका अन्य स्टार खेलाडीहरुलाई पनि विशेष ध्यान दिइएको बताइएको छ ।

यसैबीच विदेशी खेलाडीहरुको पनि सम्बन्धित देशहरुमा कोरोना परीक्षण गर्न थालिएको छ । केही देशका खेलाडीहरुलाई तोकिएको क्‍वारेन्टाइनमा बस्‍न भनिएको छ भने केहीलाई घरमै आइसोलेसनमा बस्‍न भनिएको छ ।

आइपिएल क्रिकेट आगामी सेप्‍टेम्बर १९ देखि युएईमा सुरु हुँदै छ । प्रतियोगिताको मिति तय भएको केही दिनपश्‍चात् मुख्य प्रायोजक चिनियाँ कम्पनी भिभोले सम्झौता रद्द गरेसँगै अब नयाँ प्रायोजकको खोजी पनि भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय