scheduleमगलवार आश्विन ६ गते, २०७७

यूरोपा लिग फुटबल: सेभिया र साख्तरको जीतसँगै सेमिफाइनल समीकरण पूरा

काठमाडौं, २८ साउन । यूरोपा लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न क्‍वाटरफाइनलका दुई खेलहरुमा स्पेनिस क्लब सेभिया र युक्रेनी क्लब साख्तर डोनेट्स्कले  जीत हात पारेका छन् । सेभियाले इंग्लिस क्लब वुल्भरह्‍याम्पटन तथा साख्तरले स्वीस क्लब एफसी बसेललाई हराएको हो ।

पहिलो खेलमा सेभियाले १-० को संघर्षपूर्ण जीत निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । सेभियाका लागि खेलको अन्तिम क्षणमा लुकास ओकाम्पसले गरेको हेडिङ गोल नै निर्णायक बन्यो । उनले ८८औं मिनेटमा गोल गरेका थिए ।

वुल्भ्स अन्तिम केही क्षण सम्हालिन सकेको भए खेल अतिरिक्त समयमा धकेलिन सक्थ्यो र नतिजा जे पनि हुन सक्थ्यो । जीतसँगै सेभियाले सेमिफाइनलमा अर्को इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडसँगको भेट पक्का गरेको छ ।

यस्तै अर्को खेलमा साख्तर डोनेट्स्कले बसेललाई ४-१ गोलको फराकिलो अन्तरले हरायो । खेलको दोस्रो मिनेटमै जुनियर मोराइसको गोलमार्फत  अग्रता बनाएको साख्तरका लागि टाइसनले २२औं मिनेटमा अर्को गोल थपेका थिए । पहिलो हाफमा २  ० को अग्रता बनाएको साख्तरले दोस्रो हाफमा पनि दुई गोल थप्यो ।

एलन प्याट्रिकले पेनाल्टीमार्फत ७५औं मिनेटमा गोल गरेका थिए । त्यसपछि ८८औं मिनेटमा डोमिल्कन डस सान्तोसले गोल गरे । बसेलका लागि इन्ज्युरी समयमा रिकी भान वोल्फस्विन्कलले सान्त्वना गोल फर्काए ।

अब साख्तरले फाइनल प्रवेशका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम १६ देखि सेमिफाइनलसम्मका खेलहरु होम र अवे आधारमा दुई लेगमा खेलाइँदै आएको भएपनि कोरोना महामारीका कारण यस वर्ष नकआउट चरणका खेलहरु तटस्थ मैदानमा एक लेग मात्र खेलाइने निर्णय भएको थियो ।

युरोपा लिगको सेमिफाइनल खेलहरु आउँदो हप्ताको सोमबार र मंगलबार खेलिनेछन् भने फाइनल खेल शनिबार हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय