scheduleशुक्रवार आश्विन ९ गते, २०७७

क्रिकेटबाट ‘ब्रेक’ लिएका म्याक्सवेलको अनुभव

प्रतिक भट्ट

अस्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेल टी-ट्‍वान्टी क्रिकेटका उत्कृष्‍टमध्येका एक खेलाडी हुन् । खुलेर खेल्ने शैली, आक्रामक ब्याटिङ र फिल्डिङमा निडर उनलाई ‘बहादुर’ उपनाम पनि दिन सकिन्छ । जब उनले मानसिक अवस्थालाई ध्यानमा राख्दै अन्तर्राष्‍ट्रिय क्रिकेटबाट केही समय टाढा रहने कुरा बताएका थिए उनी आफ्ना मानसिक समस्याबारे खुलस्त नै देखिन्थे ।

एक अन्तर्वार्ताका क्रममा म्याक्सवेलले क्रिकेटबाट केही समय ब्रेक लिने निर्णय गर्नुपूर्व टिमको प्रदर्शन खस्कनुमा आफ्नो पनि कमजोरी रहेको कुरा महसुस गरेको बताएका छन् । ‘मैले सायद गत वर्ष सेप्‍टेम्बरमा यसबारेमा ध्यान दिएको थिएँ । जब म नोभेम्बरमा पुनः अभ्यासमा फर्किएँ तब मलाई लामो समयसम्म मानसिक समस्याहरुकै वरपर घुमिरहेको महसुस भयो । म व्यक्तिको रुपमा को हूँ भन्‍ने कुरा मैले ख्याल गर्नै सकेको थिइनँ’, उनले भने, ‘तर म पुनः क्रिकेटका गतिविधिमा फर्किएकोमा केही उत्साहित भनें थिएँ ।’

फर्किएपछिको अनुभव सुनाउँदै उनले थपे, ‘मलाई एक क्रिकेटरको चित्र अंकित कार्डबोर्डको रुपमा रुपमा विमान, बस र त्यसपछि क्रिकेट ग्राउन्डमा पुर्याइएको जस्तो महसुस हुन्थ्यो तर म केवल मुस्कुराएर केही नभए जस्तो गर्थें तर त्यो कुरा पछि सामान्य हुँदै गए ।’

‘मैले मेरा सहकर्मी खेलाडीहरुसँग आफ्ना समस्याहरुका बारेमा बताउँदा उनीहरुले सजिलै मलाई केही समय आराम गर्नका लागि सुझाव एवम् अनुमति दिएका थिए ।’, कप्तान एरन फिन्च, पिटर ह्‍यान्ड्सकम्ब, मार्कस स्टोइनिसहरुसँग निकट रहेका म्याक्सवलेले यसबारेमा उनीहरुसँग कुरा भइरहने बताए ।

म्याक्सवेलले भने, ‘हामीले मित्रता त्यस्ता व्यक्तिहरुसँग राख्नुपर्छ जसमाथि हामीले भरोसा गर्न सक्छौं र जसले भित्री हृदयदेखि नै हाम्रा बारेमा राम्रो सोच्छन् त्यसैगरी आफ्ना कुराहरुका बारेमा हर समय रुचि राखेर आवश्‍यक प्रतिक्रिया र सुझाव दिन्छन् । मैले विशेषगरी फिन्च, स्टोइनिस, ह्‍यान्डसकम्ब र सबैजसो अस्ट्रेलियन खेलाडीहरुमा यस्तो विशेषता देखेको छु । म उनीहरुजस्तो साथीहरु पाउनुमा आफुलाई भाग्यमानी पनि ठान्दछु ।’

एक क्रिकेटरको जीवनमा सधैं पर्दापछाडिको कहानी लुकेको हुने बताउँदै म्याक्सवेलले हाँसो लिएर हिँड्दैमा आफु स्फुर्त नरहने कुरा उल्लेख गरेका छन् । उनले आफू निकै शान्त स्वभावको भएको बताए र खाली समयमा एकान्तमा नै रमाउने गरेको बताएका छन् ।

‘जब मैले मेरी आमालाई हामी विश्‍वकप सेमिफाइनलमा पराजित भएपछि रोइरहेको देखें, तब म निकै दुखी भएँ । मलाई असहज महसुस भइरहेको थियो’, उनले भने । त्यसपछि उनी लामो समय सम्म भावनात्मक रुपमा कमजोर रहेको बताउँछन् ।

‘मैले यस्तो महसुस गरिरहेको थिएँ कि टिमको महत्व घट्‍नुमा मेरो प्रदर्शन खस्कनु पनि एक कारण हो । यस्तो बेलामा आफ्नो बारेमा रुचि राखेर कुरा सुनिदिने र सुझाव दिने मानिसहरुको निकट रहनु जरुरी रहेको मेले महसुस गरें’, विश्‍वकप पछिको अवस्था सुनाउँदै उनले भने ।

म्याक्सवेलले ब्याटिङ र बलिङ दुवै बाट अस्‍ट्रेलियका लागि धेरै खेलहरु जिताएका छन् । पाकिस्तानसँगको खेलमा अन्तिम ओभरमा २ रन जोगाउनुदेखि लिएर भारतलाई उसैको मैदानमा हराएर श्रृंखला जित्‍नुसम्ममा म्याक्सवेलको ठूलो भूमिका रहेको छ । उनले अस्ट्रेलियाका लागि सन् २०१५ को एकदिवसीय विश्‍वकपमा पनि उत्कृष्‍ट प्रदर्शन गरेका थिए ।

टिमले राम्रो प्रदर्शन नगर्दा वा पराजित हुँदा आफ्नै गल्तीका कारण त्यस्तो हुने गरेको उनलाई महसुस हुन्थ्यो । २०१९ को विश्‍वकपमा भने उनले ब्याटबाट अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेनन् । ‘मैले आफ्नो वास्तविक खेल प्रस्तुत गर्न सकेको थिइनँ । विश्‍वकप पछि पनि मलाई आफ्नो फर्ममा आउन दबाब रहेको थियो’, उनले भने । त्यसकारण आफ्नो खेल कस्तो हुनुपर्ने हो भन्‍नेबारे र केही समयको विश्रामका बारेमा सोचाइ विश्‍वकप पछि नै आएको उनले बताए ।

म्याक्सवेलले आइपिएलको २०१४ को सिजनमा पनि उत्कृष्‍ट प्रदर्शन गरेका थिए । समूह चरणअन्तर्गतका लगभग आधा खेल यूएईमा गरिएको उक्त सिजनमा उनले किंग्स इलाभेन पञ्‍जाबबाट खेलेका थिए । त्यसबेलादेखि उनी चौका र छक्काको वर्षात् गर्न सक्ने खेलाडीको रुपमा चिनिएका थिए ।

६ साता लामो ब्रेकपछि पुनः क्लब क्रिकेटमार्फत पुनरागमन गरेका म्याक्सवेलले त्यस संस्करणको बिग ब्यास लिगमा उत्कृष्‍ट प्रदर्शन गर्दै आफ्नो फर्म दमदार रहेको संकेत दिएका थिए । नेपाली स्पिनर सन्दीप लामिछाने सम्बद्ध टिम मेल्बर्न स्टार्सका कप्‍तान समेत रहेका म्याक्सवेल आइपिएलमा दिल्लीबाट पनि एक वर्ष सन्दीपसँगै खेलेका थिए ।

यस संस्करणको आइपिएल पनि यूएईमा हुँदै छ र म्याक्सवेल पुनः पञ्‍जाब बाटै खेल्दै छन् । कठिन परिस्थितिमा पनि विस्फोटक ब्याटिङ गर्न सक्ने क्षमता भएका म्याक्सवेलको ब्याटबाट यस सिजन पनि छक्काको वर्षा भएको हेर्न फ्यानहरु उत्साहित छन् ।

कोरोना महामारी साम्य हुँदै गएपछि उनले अस्ट्रेलियाका लागि एकदिवसीय र टी-ट्‍वान्टीमा पुनरागमन गर्नेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय