scheduleआइतवार आश्विन ४ गते, २०७७

ओलीको बयलगाडामा प्रचण्डको साम्यवादी यात्रा

रुद्रप्रसाद भट्ट

आत्मसमर्पण भन्ने शब्द सुन्दा नै लाग्छ कि कसैसँग झुक्नु, निहुरिनु, डराउनु र आफ्नो सबैकुरा समर्पण गर्नु वा बुझाउनु हो । शीर ठाडो पारेर हिँड्न सक्ने स्वाभिमानी व्यक्तिले यस्तो टिप्पणी नै रुचाउँदैनन् ।

जस्तोसुकै साहसी, बलवान र क्षमता भएको व्यक्तिले पनि आत्मसमर्पण गर्नुपर्‍यो भने उसको सबैथोक सकिन्छ । त्यसैले आफ्नो योजना, रणनीतिमा असफल भएर, अरुसँग प्रतिष्पर्धा गर्न नसकेर, थाकेर मात्रै आत्मसमर्पण गर्ने हो ।

२०५२ साल फागुन १ देखि शुरु भएको सशस्त्र जनयुद्धको १० वर्षको अवधिमा यो आत्मसमर्पण भन्ने शब्द धेरै चल्तीमा थियो । त्यतिबेला दुश्मन, गद्दार, हत्यारा, क्रान्तिलाई धोका दिने, आत्मसमर्पण गर्ने, सुराकी गर्ने, क्रान्तिका भगौडा जस्ता शब्दले अखबारका पाना भरिन्थे । आजको जस्तो फेसबुक र ट्विटर हुँदो हो त सायद अवस्था अर्कै पनि हुनसक्थ्यो ।

रुद्रप्रसाद भट्ट

त्योबेला यी सबै आरोप लगाउनेका सर्वोच्च नेता थिए कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ । संयोग नै भनौं त्यतिबेला दक्षिणपन्थी, सुराकी, हत्यारा, जल्लाद, फासीवादी, अमेरिकी साम्राज्यवादी र भारतीय विस्तारवादी दलाल भनेर किटानी गरिएकाहरु नै अहिले कमरेड प्रचण्डका सहयात्री छन् । सेना, प्रहरी, काँग्रेस, एमाले र राजावादी भनिएकाहरु त्यतिबेला कुनै न कुनै आरोपबाट बचेका थिएनन् । कमरेड प्रचण्डको नजरमा त्यतिबेलाका सत्ताधारी राजनीतिक दल र सेना प्रहरीसँग कसैको सम्पर्क, चिनजान वा छिमेकी मात्रै भएपनि उसले समेत गद्दार र क्रान्ति विरोधीको दर्जा पाउँथ्यो ।

समय क्रमसँगै कमरेडको सहर यात्रा शुरु भयो । अनि उठबस, खानपिन, सम्बन्ध, सहकार्य तिनैसँग सुमधुर बन्दै गयो ।

त्यतिमात्रै होईन हिजो वर्ग दुश्मन किटान गरिएकाहरुसँग सत्ता साझेदारीसँगै पार्टी एकतासम्म पनि पुग्यो । यसमा कमरेड प्रचण्डले जे जसरी व्याख्या गर्न खोजेपनि यो एकप्रकारको आत्मसमर्पणकै बाटो थियो । गीतमा भने जस्तो–
‘मुख खोलेर भन्न पो भाछैन …
तर, कल्लाई थाछैन… ।’

क्रान्तिको बाटो सिधा हुँदैन, घुमाउरो हुन्छ भन्दै चुनवाङदेखि जेलवाङ र फुन्टिवाङसम्म अनि खन्ना गार्मेन्टदेखि चप्पल कारखानासम्म कमरेडलाई कार्यकर्ता र जनताले साथ दिएकै हुन् । बालाजु औद्योगिक क्षेत्रदेखि हेटौंडा औद्योगिक क्षेत्रसम्म र शक्तिखोर डिभिजन कार्यालयदेखि भृकुटीमण्डपसम्म कमरेडको दमदार भाषण सुनेर पछि लागेकाहरु आज भन्दैछन् कतै क्रान्तिको घुमाउरो बाटोको कुनै मोडमा कमरेड प्रचण्डको त्यो साहस र विचार दुर्घटनामा पो पर्‍यो की ? वा समाजवाद र साम्यवादको घुमाउरो बाटो ढिलो हुन्छ भनेर बहुदलीय जनवादको ओलीपथमा चिप्लिएर बयलगाडामा त ठोकिएन ?

हिजोको यात्रामा साथ दिएका हजारौं साथीहरु युद्धमै मारिए, कयौं बेपत्ता भए, कति अझै अपाङ्गता जीवन बाँचिरहेका छन् । तिनका पनि परिवार होलान्, वृद्ध बाबुआमा होलान्, विधवा पत्नी र टुहुरा बालबच्चा होलान् । अनि के तिनको पनि घर होलान् त ? के तिनको घरको छतमा पनि बिहान मासु भुटिन्छ होला र बेलुकी साग र रोटी पाक्छ होला त कमरेड ?

दुनियाँमा हरेक क्रान्ति जनताको नामबाट गरिन्छ । जनताको जीवन बदल्न भनेर सुरु गरिएको क्रान्तिको अन्त्य नेताको जीवनशैलीमा गएर किन पूर्ण हुन्छ होला । यसमा जनताको कहाँ गल्ती भयो र उनीहरुले जहिले दुःख भोग्नुपर्ने अनि तपाईंले चाहिँ के त्यस्तो महान कार्य गर्नुभयो र विलासी जीवन बाँचिरहनु भएको छ ? अझै क्रान्तिको साँवा र ब्याज असुलेर कपाली तमसुक बनाएर साहुले गरीबको उठिबास लगाएजस्तो जनताको सपना पनि बेचेर खान मिल्छ र कमरेड ?

हिजो मधेसका जनतासँग लभ पर्‍यो भन्नुभयो तर आज मधेसलाई छट्टु प्रेमीले प्रेमिकाको सोझोपनको फाइदा उठाएर फरार भएजस्तो फरार हुनुभयो । मधेस डुबेको देख्नुभएन, मधेस भोकले छट्पटाएको देख्नुभएन, मधेसमा कोरोना त्रास देख्नुभएन र मधेसका जनताको आँसु त झन् मतलव नै गर्नुभएन ।

तपाईं न मधेस डुबेको देख्नुहुन्छ न रोल्पा दुखेको देख्नुहुन्छ । जनता पहिरोमा पुरिएको पनि देख्नुहुन्न, बाढीमा बगेको पनि देख्नुहुन्न, चेपाङका घर जलेको पनि देख्नुहुन्न, निर्मलाका हत्यारा पनि देख्नुहुन्न र भ्रष्टाचार, महङ्गी, कालोबजारी त झनै देख्नुहुन्न किन हो कमरेड ? तपाईं कसरी यस्तो हुनुभयो ?

कमरेड, यदि तपाईंमा खराबी छैन भने कि तपाईं कसैसँग आत्मसमर्पण गर्नुभयो की ? एकपटक हिजो गरेको निर्णयमा विचार गर्ने हो कि ? प्रचण्डपथ हुँदा सबैलाई आफुसामु आत्मसमर्पण गराउन सक्ने तपाईं ओलीपथमा पुगेपछि आफैँ आत्मसमर्पण गर्न थाल्नुभयो किन ? के प्रचण्डपथ भन्दा ओलीपथ बलियो थियो त, कि जनताको जनवाद भन्दा बहुदलीय जनवादले तपाईंको मन जितेको हो त ?

कमरेड, तपाईंको लागि सुनौलो अवसर फेरि पनि छ कि तपाईंको पूर्वसहकर्मी डा. बाबुराम भट्टराईले भनेजस्तै एक पटक सबैको सम्पति छानविन गर्ने हिम्मत गर्नुस । यो कामको नेतृत्व तपाईंले लिनुस् र भन्नुस् बहुदल आएपछिको अनि गणतन्त्र र संघीयता लागू भएपछि कस्को सम्पत्ति कति पुग्यो एकपटक निष्पक्ष छानबिन गरौं ।

भट्टराईले भनेजस्तै शीरदेखि पाउसम्म क्रोनी क्यापिटालिज्म भरिएको र विचारविहीन मरुभूमि बनेको नेकपाभित्र तपाईंले खोई बहसको कुवा खन्ने प्रयास गर्नुभएको ? झगडा जति सबै पद र प्रतिष्ठाकै लागि हो भन्ने जनताको बुझाई तपाईंले व्यवहारबाटै गलत हो भनेर पुष्टि गर्न सक्नुहुन्छ ?

यहाँनेर भट्टराईले तपाईंलाई गरेको प्रश्न म पनि दोहोर्‍याउन चाहन्छु- जनयुद्धको खोइरो खन्दै राजनीतिमा पुनर्जन्म भएका ओलीको बयलगाडा हुँदै राममन्दिरसम्म आइपुग्दा पनि ओलीबाटै साम्यवाद आउँछ भनेर पछि लाग्नु साँढेको पछि लाग्ने स्याल जस्तै होइन र ?

व्यक्ति हेरेर निर्णय नगरौं, राज्यको कुनै तहमा पुगेको विशिष्टको सम्पत्ति कति हुनुपर्ने हो त्यसको लेखाजोखा गरौं । यदि अकुत सम्पति भेटिएन भने रथारोहणसहित राष्ट्रिय सम्मान दिऊँ । यदि अकुत सम्पति भेटियो भने सबै सम्पत्ति राष्ट्रियकरण गरौं र जन्मकैद ठोकौं ।

कमरेड, हिजो युद्धको समयमा जस्तोसुकै कठोर र साहसिक निर्णय लिनसक्ने तपाईं आज किन देश समृद्ध बनाउने यस्ता साहसिक कामको नेतृत्व लिन सक्नुहुन्न ? अब जनताको समृद्धि र देशको विकासको लागि भ्रष्ट, दलाल, तस्कर, माफियासँग आत्मसमर्पण गर्ने कायर होईन कठोर निर्णय लिन सक्ने राजनेता बन्नुहोस् । एक युगमा एक दिन एकपटक आउँछ त्यो एकदिन तपाईले जनताका लागि पक्कै दिनुहुनेछ । यदि तपाईंले त्यो हिम्मत गर्नुभएन र जनताले नै हिम्मत जुटाए भने चाहिँ त्यो दिन तपाईंको होईन जनताको जीत हुनेछ ।

अब पनि ओलीको बयलगाडामा चढेर साम्यवादको सपना देखिरहने कि बयलगाडाबाट ओर्लने कमरेड ? हामीलाई लाग्छ- ओर्लनुमै भलो छ । आगे जो विचार ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय