scheduleशनिवार आश्विन १० गते, २०७७

चितवनको भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी

चितवन, ३० साउन । पछिल्लो समय चितवनमा कोरोना संक्रमण बढ्दै जान थालेपछि सबैभन्दा बढी संक्रमण देखिएको भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरिने भएको छ ।

महानगर प्रमुख रेणु दाहालको अध्यक्षतामा शुक्रबार बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको संक्रमण, नियन्त्रण, उपचार र व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

राजमार्गमा अत्यावश्‍यक सवारी मात्र चल्न दिइनेछ भने दुध, तरकारी, मासु लगायतका अत्यावश्‍यक वस्तुको विक्रीलाई निश्‍चित समयमा मात्र खोल्न दिने र भित्री आवागमन पूर्ण रुपमा निस्तेज हुने गरी निषेधाज्ञा आह्‍वान गरिदैँ छ । महानगरका वडाहरु मार्फत टोल सुधार समितिहरुलाई जानकारी गराई सबैजना सतर्क भई घरभित्रै रहन सन्देश प्रवाह गरिदैं छ ।

महानगरको विपद् व्यवस्थापन ईकाई, दमकल, नगर प्रहरी, महानगरका सीमित कर्मचारीहरु परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गरिने बताइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले केही मानिसहरुको लापरवाही र हेलचक्र्याइँका कारण पूरै जिल्ला नै जोखिममा पर्न सक्ने भन्दै यस्तो निर्णय लिनुपरेको बताएका छन् । हालसम्म सक्रिय संक्रमित कमै रहेका कारण कोरोना नियन्त्रण बाहिर भने गइ नसकेको उनको भनाई छ ।

भरतपुर महानगरमा समुदायस्तरमै संक्रमण फैलिएको आशंकामा निषेधाज्ञा जारी गरिएको हो ।

भरतपुरमा पछिल्ला ३ दिनमा २३ जना संक्रमित थपिएका छन् । बिहीबार बेलुका मात्र भरतपुरका ९ जनामा संक्रमण पुष्‍टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय