scheduleआइतवार आश्विन ४ गते, २०७७

नेकपा महाधिवेशनको कमाण्डर तोकिँदै वामदेव

काठमाडौं, ३० साउन । सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगिरहेको बेला सहमतिका लागि ६ बुँदे सहमतिको प्रस्ताव ल्याएर विवादलाई नयाँ मोड दिने वामदेव गौतम महत्वपूर्ण कामको कमाण्डर तोकिने भएका छन् ।

उच्च राजनीतिक स्रोतका अनुसार अहिले संगठन विभाग सम्हालिरहेका उपाध्यक्ष गौतमलाई चैतभित्र महाधिवेशन गर्न व्यवस्थापनको जिम्मेवारी दिइन लागेको हो । यसका लागि नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्ड सहमतिको नजिक पुगेका छन् ।

गौतमले ६ बुँदे सहमतिको प्रस्ताव ल्याउँदै केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुनपर्ने र प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्ष बनाउनुपर्ने माग गरेका थिए ।

पार्टीभित्र प्रचण्ड-माधव नेपाल समूहले उक्त प्रस्तावलाई ओलीकै प्रस्तावको रुपमा चित्रित गर्दै आइरहेका छन् । यद्यपि, अहिले त्यही प्रस्तावलाई आधार मानेर विवादको अस्थायी समाधान निकाल्नेगरी छलफल अगाडि बढिरहेको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पाँच दिनभित्र विवाद मिलाउने भन्दै गरेको घोषणाको आज दोस्रो दिन हो । बालुवाटार स्रोतका अनुसार एकताको महाधिवेशन चैतभित्र सक्न कामहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्न अध्यक्षद्वयले गौतमलाई ‘ग्रीन सिग्नल’ दिइसकेका छन् ।

यसका लागि साविकको नेकपा एमाले र माओवादी केन्द्रको पार्टी सदस्य विवरण संकलन र अद्यावधिक गर्ने कामलाई चुनौतीपूर्ण मानिएको छ ।

महाधिवेशनका लागि समय कम र काम धेरै भएकोले ६ महिनाभित्र यी काम सक्न व्यवस्थापकीय नेतृत्वको अभिभारा पूरा गर्ने कमाण्डर गौतम बन्न लागेका हुन् ।

महाधिवेशनको व्यवस्थापनको नेतृत्व दिन सहमत भए पनि ओली वामदेवले अगाडि सारेका ६ मध्ये चार प्रस्तावहरुमा सहमत भएपनि दुई प्रस्तावमा भने मौनता जनाएर असहमति जनाएका छन् ।

बालुवाटार स्रोतका अनुसार गौतमको सबै प्रस्तावमा ओली सहमत छैनन् । यद्यपि, वामदेव भने सबै प्रस्तावमा ओली सहमत भएको बताउँदै हिंडेका छन् ।

हेर्नुहोस् गौतमले १३ साउनमा अकस्मात ६ बुँदे यस्तो प्रस्ताव-

वामदेवका प्रस्तावमध्ये एकता महाधिवेशनसम्म प्रचण्ड सम्पूर्ण अधिकारसहितको कार्यकारी अधिकार बन्ने प्रस्तावमा पनि ओलीको समर्थन रहेको उनी निकटस्थहरु बताउँछन् ।

प्रस्तावको पाचौँ बुँदामा उल्लेख गरिएको, ‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्री परिषद पुनर्गठन तथा राजनीतिक तथा सम्बैधानिक नियुक्ति गर्ने, संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने’ भन्ने विषयमा ओली पूर्णत सकरात्मक छैनन् ।  तर पनि आफ्नो राजीनामा टर्ने शर्तमा भने उनी यसका लागि पनि तयार देखिन्छन् ।

तर अन्तिम बुँदामा उल्लेख गरिएको ‘अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्ने’ विषयमा भने ओली सकरात्मक छैनन् । ओली बैठक स्थल मात्र होइन कि बैठककै विषयमा सकरात्मक छैनन् ।

‘पार्टी फुटाउने विकल्प सजिलो नरहेको दुवै पक्षले बुझिसकेको सन्दर्भमा वामदेवको नाममा आएको मध्यमार्गी प्रस्तावभन्दा बाहिर जान सक्ने अवस्था कसैको पनि देखिँदैन,’ नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘अन्ततः घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै नेकपाको समस्याको अस्थायी समाधान वामदेवको सहमतिको प्रस्तावमै हुने सम्भावना देखिएको छ ।’

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय