scheduleशनिवारमाघ ३ गते, २०७७

कमरेड घनश्याम भुसालको बुखारिन-छटपटी

डम्बर खतिवडा

विश्व साम्यवादी आन्दोलनमा गज्जब–गज्जबका पात्र र प्रवृतिको उत्थान–पतनको इतिहास छ । सुखद र त्रासद घटनाक्रमका अनेक रोचक कथा–श्रृंखला छन् । इतिहास ‘भौतिक परिस्थिति’ (मेटेरियल अब्जेक्ट) हो वा ‘चेतन विषय’ (कन्सस सब्जेक्ट) भन्ने बहस कुनै समय निक्कै रोचक लाग्थ्यो, अचेल उत्तिकै निरर्थक लाग्छ ।

‘पदार्थ’ र ‘चेतना’ मध्ये कुन पहिलो हो र कसले कसलाई जन्माउँछ भन्ने बहसको सान्दर्भिकता क्वान्टम विज्ञानले समाप्त गर्दिएको छ । ‘अन्डा पहिलो हो कि चल्ला’, ‘दिन पहिले आउँछ कि रात’, ‘दाइने आँखा महत्वपूर्ण हो कि देब्रे आँखा’ भने जस्ता बेतुकका बहसको एउटा लामो युग रह्यो ।

यस्ता बहस चेतन तह (लेभल अफ थट) का परिणाम मात्र थिए । सृष्टि आफैंले कहिल्यै ‘म भौतिक हुँ’ वा ‘म चेतन हुँ’ भन्दैन । ठीक त्यसै गरी इतिहासले कहिल्यै ‘म सुखद हुँ’ वा ‘म त्रासद हुँ’ भन्दैन । सृष्टिमा ‘भौतिकी’ र ‘चैतनिक’ दुवै समाहित छन् । इतिहासमा ‘सुखद’ र ‘त्रासद’ दुवै समाहित छन् ।

बहस वा रडाको गर्ने सृष्टि र इतिहासले हैन, मान्छेले हो । मान्छेको ‘नियत’ र ‘नियति’ ले हो । जुन दिन मानिसलाई अनुभूति हुन्छ कि ‘नियत’ र ‘नियति’ दुवै उसैमा समाहित छन्, रडाको अर्थहीन भएर जान्छ । साम्यवादप्रति मलाई अर्थहिनताको अनुभूति भएको १२ वर्ष बित्यो ।

१२ वर्षलाई एक युग भनिन्छ । साम्यवादी पार्टी, विचार, एजेण्डा र कार्यक्रमप्रति विश्वास गुमाएको एक युगपछि पनि ‘नियति’ भने उही छ । आज पनि मेरो रुचि र अध्ययनको विषयमा ती पर्दछन् ।

‘संयोग’ को कुरा कि यो हप्ता निकोलाई बुखारिन पढ्दै थिएँ । उनका सैद्धान्तिक तथा वैचारिक लेख तथा किताबहरु इन्टरनेटमा छ्याप्छ्याप्ती छन् । तर उनको आत्मकथा ‘हाउ इट अल विगेन’ को ओर्जिनल कपी नभेटेर आफैसँग भुतभुत्तिदै थिएँ । सन् १९३६–३८ को स्टालिनको ‘महासफाया अभियान’ बारे बुखारिनकै शब्दमा पढ्ने ठूलो रहर थियो ।

बुखारिनबारे यसअघि पनि अलिअलि पढेको थिएँ । सुनेको थिएँ । तर, उनको नियतिबारे कुनै ठोस ठहर बनाएको थिइनँ ।

बुखारिन नियति
निकोलाई इभानोबीच बुखारिन रुसी साम्यवादी आन्दोलनका एक ज्वाज्वल्यवान व्यक्तित्व थिए । मस्को विश्वविद्यालयमा विद्यार्थी हुँदै सन् १९०६ मा १६ वर्षको उमेरमा उनी बोल्सेभिक पार्टीमा प्रवेश गरे । उनमा अद्भूत बौद्धिक क्षमता थियो भनिन्छ । उनी बोल्सेभिक पार्टीको युवा संगठन कोम्सोमोलका संस्थापक थिए ।

सन् १९१२ मा पोल्याण्डमा निर्वासित तथा भूमिगत पार्टी नेता लेनिनसँग बुखारिनको पहिलो भेट भयो । लेनिन बुखारिनको बौद्धिकता र सक्रियताबाट यतिधेरै प्रभावित भए कि उनले बुखारिनलाई ‘क्रान्तिको सुनौला केटो’ (द गोल्डेन ब्वाई अफ रेभोल्युसन) को उपनाम दिए । विरलै व्यक्तिको प्रसंशा गर्ने लेनिनले बुखारिनबारे लेखेर, बोलेरै यो उपनाम प्रसिद्ध बनाइदिए ।

निकोलाई बुखारिन

लेनिनसँग मात्र हैन, रुसी क्रान्तिको अर्को हाँगोका नेता लियोन ट्रोटस्कीसँग उनको सम्बन्ध उत्तिकै घनिष्ठ थियो । सन् १९१७ को फेब्रुअरी क्रान्तिभन्दा केही महिनाअघि लेनिनलाई भेट्न जर्मनी पुगेका ट्रोटस्कीलाई लिन बुखारिन एक्लै रेलवे स्टेशन पुगेका थिए । बुखारिनको पहिलो अभिवादन र मुस्कानलाई ट्रोटस्कीकी पत्नीले आफ्नो संस्मरणमा उल्लेख गरेकी छन्, जो त्यो भेटमा सँगै थिइन् ।

यथार्थमा त्यही बैठकले लेनिन र ट्राटस्कीको दुई समूहलाई बोल्सेभिक पार्टीमा एक ठाउँ ल्याएको थियो । यो समीकरण अक्टोबर क्रान्तिको निर्णायक गठबन्धन बन्न पुग्यो । फेब्रुअरी क्रान्तिपछि हतारमा रुस फर्किएर ट्राटस्की पिटर्सबर्ग गए । मस्को सोभियतको कमाण्ड बुखारिनले गरे । पिटर्सबर्ग सोभियतमा ट्राटस्कीको जस्तो भूमिका थियो, मस्को सोभियतमा बुखारिनको त्यस्तै भूमिका थियो ।

लेनिनले खुलेर लेखेका छन्, ‘ट्राटस्की र बुखारिनको अद्धितीय भूमिका बिना अक्टोबर क्रान्ति सम्भव थिएन ।’ त्योबेला स्टालिनको कमाण्ड ककेसियन क्षेत्रमा थियो । ट्राटस्की र बुखारिनको तुलनामा स्टालिन कम बौद्धिक र चर्चित थिए । अझ ग्रामिण वर्गसंघर्षको क्रममा भएका कतिपय बलप्रयोगका घटनाको कारण बदनाम पनि थिए । भनिन्छ– चर्चित निबन्ध ‘मार्क्सवाद र राष्ट्रियताको सवाल’ स्टालिनलाई बौद्धिक तप्कामा स्थापित गर्ने उद्देश्यले लेनिनको अनुरोधमा बुखारिनले लेखेका थिए । त्यो स्टालिनको नामबाट छापिएको थियो ।

लेनिन स्टालिनको क्षमताबारे खासै विश्वस्त थिएनन् । बिमार लेनिन जीवनको अन्तिम क्षण गोर्की गाउँमा आराम गरेर बस्थे । त्यहाँबाट उनी पार्टी केन्द्रीय समितिको बैठकलाई सम्वोधन गर्दै चिठ्ठीहरु लेख्थे । ती चिठ्ठीहरुमा भावी नेतृत्वको लागि स्टालिन उपयुक्त पात्र नभएको हुुँदा ट्राटस्कीलाई महासचिव बनाउन आग्रह गरिएको हुन्थ्यो ।

डम्बर खतिवडा

लेनिनको यस्तो चिठ्ठीले बोल्सेभिक पार्टीमा ठूलो दरार आयो । लेनिनको चिठ्ठी लिएर आएकी उनकी पत्नी नाजेज्दा क्रुप्सकायलाई स्टालिनले एउटा बैठकबाटै झगल्ट्यार निकालिदिए । नाजेज्दा लेनिन पत्नी मात्र थिइनन्, स्वयं क्रान्ति योद्धा थिइन् । उनको सम्पतिले धेरै बाल्शेभिक नेता, कार्यकर्तालाई पालेको थियो ।
पेशेवर क्रान्तिकारी लेनिनको जीवन क्रुप्सकायको सम्पतिले चलेको थियो । क्रुप्सकायकी सानिमा धनी सामन्तकी पत्नी र अपुताली थिइन् । उनले माया गरेकी दिदीकी छोरी नाजेज्दालाई आफ्नो सबै सम्पत्ति दिएकी थिइन् । लेनिन र नाजेज्दा त्यही सम्पति बेच्दै खाँदै युरोपका विभिन्न देशमा घुम्दै निर्वासित जिन्दगी बाँच्थे ।

नाजेज्दाले आफ्ना संस्मरणमा यो घटनाको जीवन्त चित्रण गरेकी छन् । त्यो घटनालाई आफ्नो जीवनको सबैभन्दा अपमानपूर्ण क्षण भनेकी छन् । उनले ‘स्टालिन जस्तो जिम्मेवार कमरेडबाट यस्तो व्यवहारको कल्पना पनि नगरेको’ बताएकी छन् । त्यो दिन आफ्नो हृदयलाई असह्य पीडा भएको र रातभरि रोएको लेखेकी छन् ।
स्टालिनको क्षमता नै त्यही थियो । उनी पार्टी पिरामिडको उपल्लो तहलाई धम्क्याएर होस् वा फकाएर आफ्नो पक्षमा राख्न सक्थे । ट्राटस्की विरुद्धको गठबन्धनमा कामेनेभ, जिनोवियेभ र बुखारिनले स्टालिनलाई साथ दिए । ट्राटस्की एक्का भए, लेनिन खिन्न हुँदै मरे । सोभियत सत्ता स्थापित भएको ५ वर्ष आसपास संसारको पहिलो साम्यवादी सत्तामा यस्तो मोड आयो ।

त्यो समय बुखारिन सबैभन्दा युवा पोलिटब्युरो सदस्य थिए । स्टालिनको उदयले बुखारिनको हातमा असीमित शक्ति आयो । उनी विश्व कम्युनिष्ट संगठन ‘कोमिर्न्टन’ को महासचिव बने । एक हिसाबले यो स्टालिनको भन्दा ठूलो पद थियो । स्टालिन सोभियत कम्युनिष्ट पार्टीको मात्र महासचिव थिए । बुखारिन ‘विश्व कम्युनिष्ट पार्टी’ कै महासचिव ।

सन् १९२६ पछि अर्को चरणको शक्ति–संघर्ष भयो । स्टालिन र बुखारिनले युवाहरुलाई पोलिटब्युरोमा ग्रुम गरेर कामेनेभ र जिनोवियेभलाई किनारा गरे । सन् १९२७ पछि मात्र बुखारिनको चेत खुल्यो । अब उनी पार्टीका दुई ठूला नेता मध्ये एक बनेका थिए । स्टालिनसँग अब उनले भिड्नु थियो । तर, चतुर स्टालिनले बुखारिनलाई त्यस्तो कुनै मौका दिएनन् । बुखारिन करिब ५ बर्ष पार्टीबाट निष्काशित भए ।

सन् १९३७ को फेब्रुअरीमा बुखारिनलाई पार्टी केन्द्रीय कमिटीको बैठकबाटै गिरफ्तार गरियो । उनी १ वर्ष १६ दिन जेलमा रहे । उनीमाथि सोभियत सत्ताविरुद्ध विद्रोहको प्रयत्न गरेको आरोप थियो । जेलबाट उनले स्टालिनलाई ३४ वटा चिठ्ठी लेखे । ती पत्रमा उनले भावुक हुँदै स्टालिनसँगका सहकार्यका क्षणहरुको चर्चा गरेका छन् ।

आफूलाई जेलमा नमार्न आग्रह गरेका छन् । आफूबाट कुनै गल्ती भएको भए क्षमा गर्न बिन्ती गरेका छन् । आफूमाथिका सबै आरोपहरु निराधार हुन् भनेका छन् । तथापि उनले आत्मआलोचना गर्दा स्टालिनलाई शान्ति मिल्ने भए आफू सबै गलत आरोपहरु स्वीकार गर्दै सार्वजनिक क्षमापत्र लेख्न तयार रहेको बताएका छन् ।
जेलमा बुखारिनको मानसिक उतारचढाव इतिहासकै ठूलो ‘विरोधाभाषपूर्ण आत्मस्वीकृति’ मानिन्छ । एकातिर उनी भन्छन् कि उनी माथिका सबै आरोप ‘निराधार’ हुन्, अर्कोतिर उनी भन्छन् कि ती सबै निराधार आरोप स्वीकार गर्दै सार्वजनिक क्षमापत्र लेख्न राजी छन् । अर्थर कोइस्टेलरले ‘बुखारिनको विरोधाभाषपूर्ण आत्मस्वीकृति’ लाई ‘मध्यदिनको अँध्यारो’ ( डार्कनेस एट नुन ) मा उतारेका छन् ।

स्टालिनले उनलाई एउटा पनि पत्रको उत्तर दिएनन् । सन् १९३८ को मार्च १५ गते बिहान कुमुर्नाका बध मैदानमा लगेर बुखारिनलाई गोली ठोकियो । मर्नु अघि बुखारिनले स्टालिनलाई सम्वोधन गर्दै भनेका थिए, ‘कोबा, तिमी मलाई किन मार्न चाहन्छौ म बुझेर मात्र मर्न चाहन्छु ।’

‘कोबा’ बुखारिनले स्टालिनलाई गर्ने घनिष्ठ सम्वोधन थियो । यो रुसी भाषाको कुनै अनौपचारिक शब्द हुन सक्ला जसले नजिकका मित्रबीचको सम्वोधनलाई बताउँछ । तर बध मैदानमा कमरेड स्टालिन थिएनन् । सोभियत गुप्तचर संस्थाका जासुस र सिपाही मात्र थिए । बुखारिन किन मारिँदैछु भन्ने नबुझी मरे । बुखारिनको प्रश्नको उत्तर न स्टालिनले दिए न इतिहासले दियो ।

बुखारिनको मृत्यु ‘सत्य’ थियो तर उनको प्रश्न र त्यो प्रश्नले नपाएको उत्तर भने ‘मिथ’ बन्यो । बखारिनको ‘नियत’ सुखद थियो तर उनको ‘नियति’ त्रासद बन्यो ।

क्षमायाचना
यो लेखमा माथि नै मैले एक ठाउँ संयोगको कुरा गरेको छु । यो संयोगका लागि म क्षमायाचना गर्न चाहन्छु । संयोग के भने यो हप्ता म रुचिपूर्वक बुखारिन पढ्दै थिए, यही हप्ता कमरेड घनश्याम भुसालको लेख ‘नेकपाः बाँच्नका लागि एक मात्र बाटो’कान्तिपुरमा प्रकाशित भयो । भुसाल मेरा प्रिय लेखक हुन् । प्रिय वक्ता हुन् । अहिले उनी मन्त्री छन्, तर त्यो पदले सम्बोधन गर्ने मलाई कुनै इच्छा छैन । ‘कमरेड’ नै पुग्दो सम्वोधन हो जस्तो लाग्छ ।

यो लेखको मेरो मुख्य उद्देश्य न भुसालको त्यो लेखमाथि चर्चा गर्नु हो न बुखारिनको नियतिलाई उजागर गर्नु हो । मेरो उद्देश्य पृष्ठभागमा रहेका केही रहस्य र मनोविज्ञानलाई टुक्राटाक्री उधिन्नु मात्र हो । क्षमायचाना यसर्थ कि मैले ‘बुखारिन दुःखान्त’ उल्लेख गरे, जबकी हामी त्यो युगमा छैनौं ।

सोभियत संघलाई न भुसाल अहिले आदर्श राज्य मान्छन्, न म मान्छु । हिजो मान्थ्यौं होला, त्यो भिन्नै कुरा । स्टालिनलाई न भुसाल आर्दश चिन्तक मान्छन् न म मान्छु, भलै कि उनको पार्टीले अझै ‘पाँच प्राधिकार’ को फोटो प्रयोेग गर्दछ । आज हामी एक्काइशौं शताब्दिको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौं स्टालिनको सोभियत संघमा हैन । भौतिक दमनका यावत परिप्रेक्ष्यहरु यहाँ सान्दर्भिक छैनन् भन्नका लागि मैले क्षमायाचना गरेको हुँ ।

तर, राजनीतिक परिस्थिति भने खासै भिन्न छ जस्तो लाग्दैन ।

म मात्र हैन, भुसालका किताब र लेखहरु उनको पार्टी बाहिरका धेरैले पढ्छन् । मेरो विश्वासमा उनको पार्टी भित्रभन्दा सायद बाहिरकाले धेरै पढ्छन् । जसरी कांग्रेसमा प्रदीप गिरीलाई कांग्रेस भित्रभन्दा बाहिरकाले धेरै पढ्छन्, सुन्छन्, नेकपाका ‘प्रदीप गिरी’ भुसाल नै हुन भन्ने कुरामा कुनै शंका छैन । तर कमरेड भुसाल ‘नेकपाको प्रदीप गिरी’ हुनुले मलाई कुनै आत्मशान्ति दिँदैन । त्यो भयानक संकुचन बरु असह्यै बन्छ ।

यो अर्को क्षमायाचना गर्न योग्य विरोधाभाष हो– कांग्रेस बाहिर गिरी पढिन्छन् सुनिन्छन् तर कांग्रेसीहरु नै गिरीलाई पढ्दैनन्, सुन्दैनन्, बुझ्दैनन् । ठीक त्यही अनुमान मेरो भुसालका बारेमा पनि छ । नेकपा बाहिर भुसाल जति पढिन्छन्, सुनिन्छन् तर उनका कमरेडहरु नै भुसाललाई पढ्दैनन्, सुन्दैनन्, बुझ्दैनन् ।

गिरीलाई बुझ्ने कांग्रेस र भुसाललाई बुझ्ने नेकपा यो देशमा भएको सायद म र मजस्ता धेरै मान्छेहरु यतिधेरै ‘फ्रष्टेट’ हुने थिएनौं । एक वैकल्पिक आन्दोलन, विचार र शक्ति बनाउन हामीले यो स्तरको आरोह–आरोह, अपमान, एकांकीपन भोग्नुगर्ने थिएन । ध्रुवीकरणको बिल्कुल नयाँ आधार खोज्दै भट्किदै, रगडघस गर्दै, सम्हालिँदै गर्न जरुरी थिएन ।

विरोधाभाषको रहस्य


कांग्रेसीहरुले प्रदीप गिरीलाई सुन्दै सुन्दैनन्, बुझ्दै बुझ्दैनन् भन्ने हैन । सुन्छन तर एक कानले सुन्छन्, अर्को कानले उडाइ दिन्छन् । कांग्रेसीहरुलाई गिरी सान्दर्भिक लाग्दैनन्, रमाइला लाग्दछन् । गिरीका विचार सुन्न मज्जा छ, लागू गर्न हैन । एक कांग्रेस निकट विश्लेषकका भनाईमा ‘गिरी थिंकर हुन, डुअर’ हैनन् । यो ‘थिंकर’ (चिन्तक) र कर्ता (डुअर) बीचको ग्याप आजको नेपाली राजनीतिमा किन बन्यो ? त्यो रहस्य खोज्न आवश्यक छ ।

विश्व राजनीतिमा यस्तो ग्याप कम छ । लेनिन चिन्तक र कर्ता दुवै थिए । गान्धी र नेहरु चिन्तक र कर्ता दुवै थिए । लि क्वान यु चिन्तक र कर्ता दुवै थिए । नेपालमै बीपी कोइराला र मदन भण्डारी चिन्तक र कर्ता दुवै थिए । आज या त चिन्तक छन्, कर्ता छैनन, यात कर्ता छन् चिन्तक छैनन् । यो विरोधाभाष गिरिजाप्रसाद कोइरालाकै युगबाट प्रारम्भ भएको थियो । ओली युगमा पनि जारी छ ।

भुसालीय चिन्तन र विश्लेषण उनी रहेको आन्दोलन र पार्टीको मूल स्प्रिरिट हो कि हैन ? प्रश्न त्यहाँनेर उठ्दछ । यही विन्दूमा पुगेर राजनीतिक कार्यदिशा फरक हुन्छ । ध्रुवीकरणका आधारहरु फरक हुन्छन् । सांगठनिक मोह र मोहभंगता फरक हुन्छ । कुनै पार्टीमा भएका एकाध मान्छेहरुले एकाध क्रान्तिकारी लेख लेख्नु वा बुखारिनको झैं इतिहासकै ‘द ग्रेट कन्फेसन’ गर्नु पार्टी कार्यदिशाका लागि पर्याप्त हैन । इतिहास पार्टी कार्यदिशाले निर्माण गर्दछ ‘द ग्रेट कन्फेसन’ ले हैन ।

अधिकांश नेकपाहरुले उनलाई एक कानले सुन्ने र अर्को कानले उडाउने हुन् । भुसाल उनीहरुलाई सान्दर्भिक हैन, रमाइला लाग्दछन् । भुसालका विचार सुन्न मज्जा छ, लागू गर्न हैन ।

सरलीकृत आरोपको सम्पुष्टि
मन परेको लेखक, विश्लेषकमाथि यो मेरो सरलीकृत आरोप हो । यो मुफतको आरोप मात्र हैन । २०४६ को आन्दोलनमा उनी लोकप्रिय विद्यार्थी नेता थिए । २०४६ साल माघ १८ गते विराटनगर क्याम्पसको चौरमा झापाली राजबन्दीहरुको अभिनन्दन कार्यक्रममा मैले उनलाई पहिलोपटक सुनेको थिएँ ।

त्यो समय युवा विद्यार्थीहरु भुसालको भाषणको नक्कल गर्न खोज्थे । जसरी पछि मदन भण्डारीको ‘कोइ बात छैन’ र प्रचण्डको ‘भन्ने हाम्लाई लाग्छ’ को कपी हुन खोज्थ्यो, त्यसरी नै भुसालको ‘हामी बारबार भन्छौं’ को नक्कल हुन्थ्यो । तर, पञ्चायतको अन्त्य लगत्तै भएको विद्यार्थी सम्मेलनमा शंकर पोख्रेललाई भुसालको काउन्टरमा प्रोमोट गरिएको थियो ।

भुसालले केही वर्ष अघि एक व्यक्तिगत भेटमा मसँगै भनेका थिए– ‘मदन भण्डारीसँग मैले १० मिनेट पनि राम्रो वैचारिक छलफल गर्ने अवसर पाइनँ, अन्यथा जबजका कतिपय कोणहरुलाई अझ सुसंगत बनाउन सकिन्थ्यो ।’ बाहिरबाट हेर्दा यो अपत्यारिलो कुरा हो । तर आन्तरिक तहमा हुने मनोवैज्ञानिक दूरीको प्रतीक पनि हो ।

उनी कुन गुटमा थिए, थिएनन् थाहा भएन तर सधैं चर्चा भने सीपी मैनाली नजिकको विद्यार्थी नेताको रुपमा हुन्थ्यो । २०५४ मा वामदेवको नेतृत्वमा माले बनेपछिको कथा म दोहोर्‍याउन चाहन्नँ । भुसाललाई बाहिरबाहिर धेरैले ‘गोल्डेन ब्याइ अफ माले’ भनिरहे । भित्रभित्र भने उनलाई अधिकांशले स्टालिनले बुखारिनलाई हेर्ने आँखाले हेर्दथे । हेर्दछन् ।

एमालेको आठौं महाधिवेशनपछि उनको चिन्तन र विश्लेषणले एक निश्चित पद्धतिलाई बल्ल पक्रियो । चर्चामा त उनी त्यसअघि पनि थिए, तर एक संगतिपूर्ण विश्लेषकका रुपमा भने त्यसपछि मात्र देखा परे ।

भुसाल प्याराडक्स
उनको विश्लेषण पद्धतिमा आएको सिफ्टको कारण के थियो त ? प्रष्ट छ कि त्यो शास्त्रीय मार्क्सवाद, लेनिनवाद, माओवाद, किम इल सुङवाद, क्यास्त्रोवाद आदि थिएन, होइन । त्यो नयाँ जनवाद, जनताको बहुदलीय जनवाद, परिमार्जित नौलो जनवाद र एक्काइशौं शताब्दिको जनवाद पनि थिएन, होइन ।

त्यो भिन्नै विश्लेषण पद्धति हो । जुन भुसालले एन्टोनियो ग्राम्स्की, रोजा लक्जेम्बर्ग, हबर्ट माक्र्युज, फ्रयांक्फर्ट स्कुल र पाउलो फ्रेरीबाट लिए । ‘न्यु लेफ्ट’ बाटो लिए । आरोप लगाउने दृष्टिकोणबाट म ‘युरो कम्युनिज्मबाट लिए’ भन्न सक्छु र तर भन्दिनँ । ‘नववामपन्थ’ र ‘युरो कम्युनिज्म’ एउटै कुरा हैन, भलैकी रुप पक्षबाट हेर्दा ती उस्तै देखिन्छन् ।

नेपालको कम्युनिष्ट पार्टीले आन्दोलनको हिसाबले समाजको परिवर्तनका ठूलो योगदान गर्‍यो भन्ने कुरामा कुनै शंका छैन । तर कार्यक्रमिक हिसाबले त्यो आन्दोलन कहिल्यै मौलिक थिएन । सन् १९४० को माओको ‘अन द न्यु डेमोक्रेसी’ र पुष्पलालको नयाँ जनवाद, सन् १९७८ को युरोकम्युनिष्टहरुको बर्लिङ्गन सम्मेलनको दस्तावेज ‘युरो कम्युनिज्म एण्ड स्टेट’ र मदन भण्डारीको बहुदलीय जनवाद, सन् १९५४ को ख्रुश्चेभको मस्को भाषण र तुल्सीलाल अमात्यको राष्ट्रिय जनवादबीच तुलना गर्दा त्यो चित्र प्रष्टै देखिन्छ ।

ग्राम्स्की, रोजा, माक्र्युज वा फ्रेरी यी तीनवटै धारमा थिएनन् । यी चिन्तकहरु लेनिन–स्टालिन–माओभन्दा विल्कुल फरक थिए । यिनीहरुको ‘द्वन्द्ववाद’ मार्क्सवादको लेनिनवादी भर्सनभन्दा फरक मात्र हैन, उल्टो थियो । यहाँनेर द्वन्द्वात्मक भौतिकवाद (डाइलेक्टिकल मटेरियलिज्म) र द्वितत्वीय सर्वाङ्कितावाद (डायोलोजिकल होलिस्टिसिज्म) बीचको भिन्नता उपस्थित हुन्छ । र यो निक्कै ठूलो दार्शनिक प्रश्न हो ।

कार्ल मार्क्सको ‘दास क्यापिटल’ सँग समानान्तर हुने गरी रोजाले ‘द एक्युमुलेसन अफ क्यापिटल’ नामको झण्डै उत्तिकै मोटो ग्रन्थ लेखेकी थिइन् भन्ने भुसाललाई राम्रो थाहा छ । यी दुई ग्रन्थ बीचको मुख्य भिन्नता नै ‘अतिरिक्त मूल्यको परिशोधन प्रक्रिया’ र ‘पुँजीवादको चक्रीय संकटले अपरिहार्य हुने सर्वहारा अधिनायकत्व र सर्वहारा राज्य’ को अवधारणामा थियो । रोजाको यही अवधारणाबापत् रिसले चुर भएका लेनिनले उनलाई ‘स्यालजस्ती धुर्त आइमाई’ भनेर गाली गरेका थिए ।

यी कडीहरु भुसाल पक्कै बुझ्दछन् । त्यसैले उनी बारबार ‘लेनिनवाद हटाउनु पर्छ’ भन्दछन् । तर, उनको पार्टीले उनको जीवनकालमा यो कुरा मान्ने वाला छैन । मानेको दिन हामी ‘वैकल्पिक समाजवाद’ खोज्नेहरुसंग नेकपाको दूरी समाप्त त हुँदैन तर एक स्टेप साँघुरो हुन्छ । तर, न ओली न प्रचण्ड न माधव न झलनाथ न वामदेवले यो कुराको अर्थ, मर्म र महत्व बुझ्न सक्ने छन् जसलाई अहिले उनको पार्टीका ‘नेताहरु’ भनिन्छ ।

भुसालीय चिन्तन सुतुरमुर्गी हुने यही विन्दू हो । जुन ‘लेनिनवादी’ पार्टीमा उनी ‘ग्राम्स्की र रोजा’ लाई लेनिनवादकै बर्कोभित्र ब्रान्डिङ गर्न खोज्दैछन्, यथार्थमा त्यो लेनिनवादी पार्टी पनि हैन । त्यसको वैचारिक, कार्यक्रमिक र नैतिक संकट अझै गहिरो छ । त्यो संकट भुसालले भन्ने गरेको ‘दलाल पुँजीवाद’ भन्दा अझै एक स्टेप गिरेको ‘आसेपासे पुँजीवाद’ हो । यदि नेकपा लेनिनवादी पार्टी हुन्थ्यो भने त्यसले सर्वहारा क्रान्ति र सोभियत सत्ताको कुरा गर्थ्यो होला, अझै ‘जबजलाई मार्गदर्शक सिद्धान्त’ बनाउने रडाको गर्ने थिएन ।

भुसाल आज ‘लोकतान्त्रिक पद्धति’ बाट ‘समाजवाद हासिल’ गर्ने कुरा गर्दैछन् । यसले माग गर्ने बहसको ऐतिहासिक दायरा विद्यमान नेकपाको स्कुलिङभन्दा धेरै, धेरै, धेरै फराकिलो हुन्छ । हिजो ठीक यही सवालमा ‘साम्यवाद’, ‘सामाजिक जनवाद’ र ‘प्रजातान्त्रिक समाजवाद’ कसरी फरक भएका थिए र एक्काइशौं शताब्दिमा त्यो कडीलाई जोड्ने सृजनशील चेतना कहाँनेर हो भन्ने बहससम्म जानुपर्ने हुन्छ । निःसन्देह यो बहसको औचित्यलाई नेकपावालाहरुले एक कानले सुनेर अर्को कानले उडाइ दिनेछन् । सुन्न मज्जा मान्नेछन्, आत्मसात गर्ने छैनन् ।

शीर्षकको सार्थकता
बुखारिनमा लेनिन र स्टालिनभन्दा पनि छिटो साम्यवाद ल्याउने हतारो थियो । त्यसले उनलाई उनका अग्रज नेताहरुभन्दा अझ धेरै क्रान्तिकारी बनाउँथ्यो ।

कोम्सोमोल सदस्य र युवा पार्टी सदस्यबीच उनी लेनिन, ट्राटस्की, कामेनेभ, जिनोवियेभभन्दा लोकप्रिय थिए । बुखारिनले लेखेको पुस्तिका ‘साम्यवादको कखरा’ (एबिसी अफ कम्युनिज्म) बोल्सेभिक पार्टीको पार्टी स्कुल विभागको आधारभूत सन्दर्भ–ग्रन्थ थियो ।

निःसन्देह भुसाल बुखारिनझै नेपालका युवा कम्युनिष्टहरु बीच ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमभन्दा बढी लोकप्रिय छन् । पार्टी स्कूल विभागको प्रमुख बनाउन बारम्बार आनाकानी गरिए पनि उपप्रमुखसम्म भएकै हुन् । पार्टी प्रशिक्षणहरुमा उनको डिमान्ड धेरै हुन्छ ।

जतिसुकै धेरै डिमान्ड किन नहोस्, बुखारिनहरु आफैंमा लेनिन, ट्राटस्की वा स्टालिन भने हैनन् । यदि त्यो ताकत बुखारिनमा हुन्थ्यो भने न उनले स्टालिनलाई रुँदै ३४ वटा चिठ्ठी लेख्नु पर्दथ्यो न ‘कोबा, तिमी मलाई किन मार्न चाहन्छौ, म बुझेर मात्र मर्न चाहन्छु’ को उत्तर नपाई मर्नु पर्थ्यो ।

यहाँनेर एक भिन्न प्रश्न आकर्षित हुन्छ, त्यो हो– शक्ति र सत्ताको प्रश्न । यदि यो प्रश्न हुँदैनथ्यो भने सायद स्टालिन र बुखारिन जीवनभरी मित्र रहन्थे । स्टालिनले बुखारिनलाई ‘कुमुर्नाका सुटिङ ग्राउन्ड’ लानु पर्दैनथ्यो । राजनीतिमा ‘राज्यसत्ता बाहेक सबै कुरा भ्रम हो’ भन्ने स्कुलिङबाट निर्माण भएको चेतनाले निर्णायक आमनेसामने नहुन्जेल दाँत किटेर सहन्छ, जब त्यो क्षण आउँछ सबै विद्धता, बौद्धिकता र विश्लेषणहरु वोल्गा र बाग्मतीको क्षणिक फोहोर बाढीले बगाएर लान्छन् ।

बुखारिनको ‘संक्रमणकालीन आर्थिक ढाँचा’ समाप्त गरी साम्यवाद ल्याउने छटपटी र भुसालको ‘दलाल पुँजीवाद’ समाप्त गरी समाजवाद ल्याउने औडाहा अनेक अर्थमा सादृष्य छन् ।

ओली औडाहा
अहिले भुसालको छटपटीभन्दा ओलीको औडाहा निर्णायक छ । ‘ओली’ यहाँ व्यक्ति हैनन्, ‘लेभल अफ हाइरार्की’ को प्रवृत्ति हो । निसन्देह भन्न सकिन्छ कि भुसालको लेखले ओली लगायत उनका शीर्ष नेताहरुलाई ‘दाँत किटेर सहने’ स्थितिमा पुर्‍याएको हुनु पर्दछ । भुसालको लेखले ओली मात्र हैन, भित्रभित्रै प्रचण्ड, माधव, झलनाथ वा वामदेव पनि उत्तिकै बिच्किएका होलान् । मुखले ‘ल राम्रो लेख्नु भएको छ कमेरड’ भन्नु भिन्नै कुरा ।

तर, उनीहरुलाई थाहा छ कि ‘निर्णायक आमने सामने’ भएको छैन । तसर्थ, अहिले भुसालका पद र प्रतिष्ठालाई कुनै जोखिम छैन । जब त्यो विन्दू आउँछ वोल्गामा जस्तै बाग्मतीमा फोहोर पानीको क्षणिक बाढी आउने उत्तिकै निश्चित छ । ठीक हो, फोहोर बाढी क्षणिक हुन्छ, तर त्यही सीमित क्षणमै त्यसले धेरै असल चिज बगाएर लान्छ, जो फेरि खोजेर भेटिँदैनन् ।

आजको नेकपाको क्षमता वा शक्तिको आधार नै त्यही हो जेलाई भुसाल ‘दलाल पुँजीवाद’ भन्दछन् । ‘दलाल पुँजीवाद’ छैन भने नेकपा हुन्छ नै कहाँ ? जब कि अबको उसको वर्ग आधार नै त्यही हो । गोल्छा, दुगडदेखि नाम लिन वाञ्छित नहुने कयौं नवधनाढ्यहरु आज किन ‘कम्युनिष्ट’ हुन बहुत खुशी छन् ?

भुसाल त्यो विन्दुमा ‘थिंकर’ मात्र हैन, ‘डुअर’ हुन राजी छन त ? कम्तीमा मलाई विश्वास छैन । सायद नेपाली समाजलाई पनि विश्वास छैन । तर, विश्वास नभए पनि ‘शंकाको सुविधा’ दिन सकिन्छ । यदि उनी त्यो आँट गर्छन भने उनको तयारी फरक खालको हुन जरुरी छ । ओलीको काखमा घुस्रिएर अर्को ‘गोकुल बाँस्कोटा’ वा ‘भानुभक्त ढकाल’ हुने हो, वास्तविक ‘घनश्याम भुसाल’ हैन । ‘थिंकर’ आफै ‘डुअर’ पनि हो भने उसका रणनीति फरक हुनु पर्दछ । फरक रणनीतिबाट उसले विश्वास सृजना गर्न सक्नु पर्दछ ।

भुसालले विश्वास गरेको मार्क्सवादले आधार र अधिरचना सम्बन्धमा विश्वास गर्दछ । निश्चित आर्थिक आधारले आफू अनुकुलको राजनीतिक अधिरचना निर्माण गर्दछ भन्ने विश्वास गर्दछ । आज जुन ‘दलाल पुँजीवाद’ भन्ने आर्थिक आधार छ– त्यसको अधिरचना कुन हो ? व्यक्ति भुसाल नहोलान्, उनी संलग्न सरकार मात्र नहोला तर ओली सरकार निःसन्देह त्यही अधिरचनाको निरन्तरता हो ।

उही आर्थिक आधारको अधिरचनालाई संरक्षण गरेर त्यसैको आधार भत्काउँछु भन्नु ‘काली दास प्रवृत्ति’ हो । संस्कृतका महाकवि कालिदास रुखको ‘मास्तिर बसेर तल्तिर’ काट्थे । भुसालजीहरु ओली सरकारमा बसेर ‘दलाल पुँजीवाद’ को हाँगो काट्दै हुनुहुन्छ, हाँगो छिनेका दिन खम्र्याङ खुम्रुङ त्यही दलाल पुँजीवादसँग खुरमुरिने मात्र हो ।

आजको नेकपाको क्षमता वा शक्तिको आधार नै त्यही हो जेलाई भुसाल ‘दलाल पुँजीवाद’ भन्दछन् । ‘दलाल पुँजीवाद’ छैन भने नेकपा हुन्छ नै कहाँ ? जब कि अबको उसको वर्ग आधार नै त्यही हो । गोल्छा, दुगडदेखि नाम लिन वाञ्छित नहुने कयौं नवधनाढ्यहरु आज किन ‘कम्युनिष्ट’ हुन बहुत खुशी छन् ? के मार्क्सको वर्गसंघर्ष सिद्धान्तले माग्ने ‘वर्गीय ध्रुवीकरण’ यस्तै हुन्छ ? व्यक्तिका रुपमा राजनीतिक दल छान्न मान्छे स्वतन्त्र हुन्छन् । तर आम समाजकै वर्गीय ध्रुवीकरण अहिले कस्तो छ ? त्यो बुझ्नु पर्‍यो नी ?

भुसालले भनेका विचौलिया वा कमिसनखोरहरु नहुने हो भने नेकपाका उम्मेद्वारहरुले चुनाव लड्छन् नै कुन पैसाले ? बकुल्ला छाप चप्पल लगाएर काठमाण्डौं छिरेकाहरुको भव्य महल कसरी बन्छ ? छोराछोरीलाई विदेशमा डाक्टर इन्जिनियर पढाउने स्रोत कसरी बन्छ ? एयर एम्बुलेन्स लिएर विदेश उपचार गराउन जाने क्षमता कसरी बन्छ ? महिनाको ५ लाख बढी लाग्ने खालको जीवनशैली धान्न नेपालमा कुनै बैध ‘मोनी प्लान्ट’ छ ? जहाँबाट खुरुखुरु पैसा टिप्न सकियोस् ! अनि ‘ब्लाक मनी’ सेतो पार्ने ‘लन्ड्री मेसिन’ चाहियो कि चाहिएन ?

यसको अर्थ अरु सबै पार्टीका नेता चोखा छन् र नेकपावालाहरु मात्र त्यो बाटोमा छ भन्ने हैन । ‘नेकपा फरक छ’ भन्ने जुन दाबी थियो, त्यो बाँकी रहेन । २०४७ पछि गिरिजाप्रसाद कोइरालाले जुन प्रकारका संस्थापन सोच, अर्थतन्त्र र राजनीतिक संस्कृति निर्माण गरे– आजको नेकपा र त्यसको सरकार अर्को छोरबाट त्यसैको निरन्तरता मात्र हो । अझ रोचक कुरा– त्यससंग विद्रोह गरेका भनिएको प्रचण्ड धार समेत त्यसैमा सहवरण हुन पुग्यो ।

यदि साँच्चै युगीन कार्यभारको कुरा गर्ने हो भने– निर्मम समीक्षा जरुरी छ । मेरो पार्टी, तेरो पार्टी, मेरो नेता, तेरो नेता, मेरो सरकार, तेरो सरकार जस्ता बहस आत्मरति मात्र हुन । ऐतिहासिक कार्यभार पुरा गर्न को कहाँनेर चुकेको हो ? कुन कुन एजेण्डाहरु छुटेका हुन् ? ठोस रुपमा त्यो खोतलिनु पर्दछ ।

भुसालको लेखले त्यो पक्ष खोतल्दैन । स्थितिको भावात्मक चित्रण गर्दछ । वर्तमानप्रति असन्तुष्टि र छटपटी व्यक्त गर्दछ । तर क्रान्तिको टुटेको कडी कहाँ हो ? कुन विन्दूमा पुगेर हामी सबै अलमलियौं ? राष्ट्रको कार्यदिशा कहाँनेरबाट सच्चिनु पर्दछ ? त्यो देखाउँदैन बरु अझ लुकाउँछ । अझ बाक्लो खाडल, अविश्वास र चिन्ता सृजना गर्दछ कि नेकपाको बुखारिन पुस्ता उर्फ भुसाल पुस्ता नै राजनीतिक ‘कुमुर्नाका सुटिङ ग्राउड’ को शिकार त भइरहको छैन ?

अविश्वासको आधार
यस्तो चिन्ता र अविश्वासका वस्तुगत आधार छन् । मुख्य आधार भावप्रधान विश्लेषणमा संरचनात्मक सुधारको उपाय ठ्याम्मै नहुनु हो । कर्मचारीतन्त्रको पुनर्गठन र अख्तियारजस्ता निकायहरुको असक्षमतालाई भुसाल स्वभाविक ठानिरहेका देखिन्छन् । ‘राज्य नै नेकपा भइसक्यो’ भने जस्तो सोचले दण्डाधिकारी निकाय र न्यायालयको विश्वसनीयता जोगाउन सक्दैन । यति, ओम्नी र बाँस्कोटाजस्ता प्रकरणमा मौन बसेर भुसालको विश्वसनीयता कायम हुन सक्दैन ।

नवउदारवादी अर्थतन्त्रलाई कहाँनेर समाजवादी ढाँचामा बदल्ने भन्ने प्रश्नमा उनी सधैं अन्यौलमा हुन्छन् । रोजगार बढाउन सिद्धान्ततः कुन सरकारले नचाहला ? तर त्यसको अर्थराजनीतिक रहस्य के हो त ? रोजगार बढाउने भन्दाभन्दै झनझन बेरोजगारी किन बढिरहेको छ ? शिक्षा र स्वास्थ्य सेवामा गुणस्तरको प्रश्न पनि त्यही हो ।

तथ्यांकहरुले भन्छ कि ६० प्रतिशतभन्दा बढी यो क्षेत्रको निजी लगानी र स्वामित्व नेकपाको निर्णयलाई प्रभावित गर्न सक्नेहरुको हातमा छ । अन्यथा गिरीराजमणी पोख्रेलजस्ता ‘कम्युनमा बस्ने जोगी कमरेड’ शिक्षा र स्वास्थ्य मन्त्रालयको जिम्मेवारमा बारम्बार हुँदा पनि सिन्को भाँच्न नसक्ने अवस्थामा पुग्ने थिएनन् ।

शासकीय स्वरुप, निर्वाचन प्रणाली र फोहोर राजनीतिको अन्तर्सम्बन्धबारे भुसालमा कहिल्यै कुनै प्रष्टता देखिन्नँ । राष्ट्रिय मुक्तिको प्रश्न र सीमान्तकृत समुदायबारे उनी बोल्ने गरेका छैनन् । जातीय, भाषिक र सांस्कृतिक विभेदका किल्लाहरु कसरी भत्काउने, कसरी समावेशी, समन्यायिक र सहभागितामुलक प्रणाली बनाउने ? यी भुसालीय चिन्तनको सरोकार बाहिरका मुद्दा हुन् । लोकरिज्याँइवादी ‘राष्ट्रवाद’ को जारी लहर र ‘अन्तर्राष्ट्रियतावादी प्रगितशील समाज’ को अपेक्षाबीच कहाँनेर खाडल छ वा छैन ? उनी यसलाई महत्वको बिषय ठान्दैनन् ।

भर्खरैको अध्यादेश, मेरियट होटल र राजकीय स्रोत र शक्तिको प्रयोग गरी आफ्नो वा अर्काको पार्टी फुटाउन गरिएको नाटकलाई उनी ‘प्रवृत्ति’ नभएर ‘घटना’ मान्दछन् । नेपाल बिग्रनुमा यस्ता प्रहसनहरुको संरचनात्मक भूमिका छ भन्ने चर्चा सम्म गर्दैनन् । समाजवाद यी प्रश्नबाट छुटको कुनै अमूर्त चित्रकला हैन ।

समकालीन नेपालको अर्थराजनीतिमा स्वाधिनता, संघवाद, सुशासन, समृद्धि र समाजवादबीच अन्योन्याश्रित सम्बन्ध छ । यी सबै कम्पोनेन्टमा ‘संगतिपूर्ण र व्यवहारिक कार्यक्रमको प्याकेज’ चाहिन्छ । त्यो लागू गर्ने तीव्र इच्छाशक्ति भएको पार्टी, नेता र सरकार चाहिन्छ । अनि मात्र देशमा केही नयाँ र राम्रो हुन सक्ला । यो यथार्थलाई आत्मसात नगरी गरिने ‘समाजवादको अमूर्त आग्रह’ बुद्धिविलासमै सीमित हुनु स्वभाविक हुन्छ ।

पछिल्लो चरणमा भुसालले ग्राम्स्कीयन ‘हेजिमोनी’ को राम्रो अध्ययन गरेका छन् भन्ने अनुमान गर्न सकिन्छ । मार्क्सेली ‘आधार–अधिरचना सम्बन्ध’ र ग्राम्स्कीयन ‘वर्चश्व सिद्धान्त’ बीचको भेद ठीक ढंगले गर्न नसक्नु आज पनि भुसालीय छटपटीको सीमा हो । यो छटपटीको ‘नियत’ राम्रो भए पनि ‘नियति’ बुखारिन–छटपटीको भन्दा फरक होला जस्तो लाग्दैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay