scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

बाबुराम, परिवर्तन र कनकमणिहरु

अनित अधिकारी

सामाजिक सञ्जाल ट्विटरमा बाबुराम भट्टराईको सक्रियता बढी नै छ । राजनीतिक वृतमा सक्रिय रहेकाहरु सकेसम्म प्रश्न-आलोचनाबाट टाढै बस्न रुचाउने वर्तमान नेपालको धरातलीय राजनीतिक यथार्थताका बीच बाबुराम धेरै पहिलेदेखि सञ्जाललाई विचार विमर्श गर्ने थलोका रुपमा लिँदै आएका छन् । कयौं सन्दर्भमा सवालजवाफ पनि गरिरहेकै छन् ।

यसैबीच हिजो ट्विटर चलाउँदै गर्दा कनकमणि दीक्षितलाई दिएको जवाफ देखेँ । कनकमणिले के लेखेका थिए भन्ने थाहा पाइनँ । किनभने वर्षदिन अघि नै उनको ट्विटमा जवाफ लेखेपछि मलाई ब्लक गरेका थिए । लगत्तै, साथीलाई ‘स्क्रिनसट’ पठाउन लगाएर मैले उनले बाबुरामलाई लक्षित गरी लेखेको ट्विट पढेँ ।

दिमागमा, केही समयअघि ट्विटरमै चर्चा भएको गंगामाया अधिकारीको एउटा भिडियो सन्देश सम्झेँ, जहाँ उनले स्पष्ट शब्दमा आफुलाई कनकमणिले झुक्काएको र आफ्नो नाम भजाएर करोडौं थुपारेको आरोप लगाएकी छिन् ! उनल‍े भनेकी छिन्- कनकमणि लगायतले मेरो एकमात्र जीवित छोरालाई पनि उनीहरुले भनेअनुसार नगरेकैले अनेक गरेर जेल हाले । मलाई देखाएर आफ्नो स्वार्थ पूरा गरे । यस्ता पनि मानवअधिकारवादी हुन्छन् त ?’

हुन त, कनकमणिको विवादास्पद विगत, फोहोरी वर्तमान नबुझेका कमै होलान् । मिडियाको आडमा उनले केकति गरे भन्ने कुरा सार्वजनिक फोरमहरुमा आएकै छन् ।

म पनि एक जनयुद्धपीडित भएकाले उनलाई धेरै समयदेखि चिन्दछु । अहिले खाडीमा पसिना बगाइरहेको म नेपालमा हुँदा कनकमणि एन्ड कम्पनिले मानवअधिकारबारे गर्ने गरेका पैरवीको साक्षी पनि हुँ । कनकमणि किन एकहोरो माओवादी आन्दोलनलाई गाली गरिरहन्छन् भन्ने प्रष्ट छ । तर, अरु माओवादी नेतासँग हिमचिम राख्ने उनी बाबुरामलाई व्यक्तिगतरुपमै उत्रेर गलत देखाउन तल्लीन हुन्छन् भन्नेबारे कमैले चासो राख्ने गरेका छन् ।

बाबुराम निर्वाचित भएको गोरखाको एक मतदाता, जनयुद्धपीडित अनि कनकमणिले वकालत गर्ने गरेको मानवअधिकारबारे परिचित म आफ्ना केही कुरा राख्न चाहन्छु ।

जनयुद्धको सुरुवातदेखि शान्ति सम्झौतासम्म एकोहोरोरुपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताबारे आवाज उठाइरहने बाबुराम मात्र थिए । बाबुरामसँग बदला लिन मोहन वैद्यसँग मिल्ने अनि वैद्यसँग बदला लिन बाबुरामसँग मिल्ने प्रचण्डको ढुलमुले नीति आजको दिनमा अझ परिस्कृत भएर आएको छ । फलस्वरूप उनी आफैंले ‘मानसिक अवस्था ठिक नभएको’ भनेर सार्वजनिक आरोप लगाएका केपी ओलीको छत्रछायामा बस्न तयार भए । आफुलाई हेग पुर्‍याउने मनको बाघले उनी कनकमणिजस्ता मानवअधिकारवादीसँग हिमचिम बढाउन थाले ।

अनित अधिकारी

 

उता, संविधानसभाबाट संविधान बनाउन महत्त्वपूर्ण भूमिका खेलेका बाबुराम आर्थिक युगमा प्रवेश गर्न भन्दै युवाहरूलाई एकत्रित गरेर पहाड-मधेश-हिमालको एकता बलियो बनाउन लागे । जनयुद्धका दौरान भएका सम्पूर्ण जसअपजस आफूले स्वीकार्ने भन्दै उनले बेलाबेला निस्कने परिवर्तनविरोधी स्वरलाई दरो जवाफ फर्काउँछन् । अरुले जनयुद्ध बेचेर खाँदै जनयुद्धका मुद्दा र एजेन्डाहरु छाडिरहेका छन् । तर बाबुराम नयाँ एजेन्डासहित जनयुद्धका उपलब्धिहरु संस्थागत गर्न लागिरहे । त्यसैले उनी परिवर्तनविरोधीहरुको आँखाको तारो बनिरहेका छन् ।

शान्तिप्रक्रियासँग जाेडिएको सेना समायोजन र हतियार व्यवस्थापनमा आफ्नै पार्टीभित्रको अवरोध झेलेर सहमतिसाथ टुंगाएका उनी शान्ति प्रक्रियाको अभिन्न अंग रहेको सत्यनिरूपण तथा बेपत्ता छानबिन आयोगलाई पूर्णता दिएर नेपालको शान्ति प्रक्रियालाई एउटा नमूना बनाउन चाहन्थे । हो यहीँनेर, कनकमणिलगायतले बाबुरामलाई आफ्नो शत्रु देखे । सहिद-बेपत्ताको मुद्दालाई देखाएर, नन्दप्रसाद अधिकारीहरुलाई भोकै मर्न उक्साएर उनी सत्तामा बसेकालाई तर्साउन चाहन्थे । तत्कालीन माओवादी नेताबाट आफ्नो स्वार्थ पूर्ति गराउन चाहन्थे । उता, बाबुराम छिटोभन्दा छिटो जनयुद्धकालीन मुद्दा टुंगाएर कथित मानवअधिकारवादीको ‘पसल’ बन्द गर्न चाहन्थे ।

यस्तो लाग्छ कि उनी तत्कालीन कमान्डरविरुद्ध नन्दप्रसाद अधिकारी कै नियति दोहोर्‍याउन चाहन्छन् ।

आफ्नो भागमा पर्ने सबै जिम्मेवारी लिन तयार छु भनेर भनिरहँदा, सत्यनिरूपण आयोगले दिएको आदेश मान्य हुन्छ भनेर बाबुरामले भनिसक्दा किन उनी झस्कन्छन् ?

हो, जनयुद्धले सपना देखाएजस्तो यथार्थमा ल्याएन । धेरैले बलिदान गरे । तर, त्यही बलिदालीलाई टेकेर राज्यमा पुगेकाहरुले अहिले त्यो सपनालाई लात हाने । यो सत्य हो । तर, अर्को सत्य के पनि हो भने, परिवर्तन जरुरी थियो । सेना समायोजन र हतियार व्यवस्थापनमा आफ्नै पार्टीभित्रको अवरोध झेलेर सहमतिका साथ टुंगाएका उनी शान्ति प्रक्रियाको अभिन्न अंग रहेको सत्यनिरूपण तथा बेपत्ता छानबिन आयोगलाई पूर्णता दिएर नेपालको शान्ति प्रक्रियालाई एउटा नमूना बनाउन चाहन्थे ।

हो, यहींनेर, कनकमणि लगायतले बाबुरामलाई आफ्नो शत्रु देखे । सहिद-बेपत्ताको मुद्दालाई देखाएर, नन्दप्रसाद अधिकारीहरुलाई भोकै मर्न उक्साएर उनी सत्तामा बसेकालाई तर्साउन चाहन्थे । तत्कालीन माओवादी नेताबाट आफ्नो स्वार्थ पूर्ति गराउन चाहन्थे । उता, बाबुराम छिटोभन्दा छिटो जनयुद्धकालीन मुद्दा टुंगाएर कथित मानवअधिकारवादीको ‘पसल’ बन्द गर्न चाहन्थे । अनि, तत्कालीन कमान्डरविरुद्ध एक शब्द नबोल्ने कनकमणिहरु बाबुरामविरुद्ध एकोहोरो विषवमन गरिरहन्छन् ।

म एक जनयुद्धपीडित भएको नाताले कनकमणि सामु केही प्रश्न गर्न चाहन्छु-
– नेपालमा जनयुद्ध नभएको भए राजामहाराजबाट बक्सिस पाएका तपाईंहरु एकाधबाहेक अरुले यो देश आफ्नो पनि भएको अपनत्व गर्न पाउँथे ?
– तपाईंहरुलाई जग्गाजमिन लगायत अन्य सम्पत्ति दिइरहने राजतन्त्र हटाएपछि अब नपाइने भो भनेर हिनताबोधले ग्रसित त हुनुभएन ?
– मानवअधिकारको कुरा गर्ने तपाईं आफ्नो विपरित विचार समूहलाई निस्तेज पार्नैपर्छ भनेर किन लाग्नुहुन्छ ?
– शान्तिप्रक्रिया टुंगाउन बाबुरामलगायत अन्य नेतृत्व लागिरहँदा तपाईंलगायतले पीडितलाई उक्साउन किन सधैं तयार हुन्छन् ?

बाबुराम नेपाली अनेकौं कमजोरीबीच पनि नेपाली राजनीतिक चित्रका एक सफल अनि पारदर्शी नेता हुन् । अर्थमन्त्री भएको समयदेखि प्रधानमन्त्रीसम्म बनेको बेलामा उनले गरेका कतिपय दीर्घकालीन महत्वका कुराहरुबारे अझै चर्चा हुनेगर्छ । सडक फराकिलो बनाउने, सुकुम्बासीलाई व्यवस्थित स्थानमा सार्ने, दलितको घरमा रात बिताउने, स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने, राष्ट्रिय गौरवका योजनामा रफ्तार ल्याउने लगायत कयौं युगान्तकारी योजनाहरुलाई मूर्तरुप दिएका छन् ।

आफ्नो राजनीतिक उचाईको उत्कर्षमा रमाइरहेका एक नेता फेरि तल झरेर मधेश, हिमाल र पहाडलाई एकत्रित गरेर अघि बढ्ने जुन प्रयास गरेका छन्, यसले नेपाली राजनीतिलाई थप उचाइ प्रदान गरेको छ । उमेरले उकाली चढ्दै गरे पनि युवासँग घुलमिल भएर नयाँ कुरा सिकिरहने र आफ्नो कमजोरी स्वीकार्ने उनको अर्को सबल पक्ष हो ।

चुनाव जितेपछि फर्केर कहिल्यै नजाने हाम्रो राजनीतिक संस्कारबीच उनी हरेक महिना गएर जनताका गुनासा सुन्ने र समाधान गराउने प्रयत्न गर्छन् । अहिले यो लेखिरहँदा उनी पहिरोले क्षति पुर्‍याएका गोरखाका विभिन्न भेग अवलोकन गरेर स्थानीय निकायसँग छलफल गर्दै गरेका तस्बिर देखिन्छन् ।
तसर्थ, सबै मिलेर पीडितको सहमतिमा शान्ति प्रक्रियाका बाँकी रहेका कार्य सम्पन्न गर्न सरकार र जिम्मेवारलाई सहयोग गर्नुपर्नेमा केही मानव अधिकारवादी यो प्रक्रियालाई यस्तै लावारिश बनाएर पीडितको भावनासँग खेलि सधैंभरी आफ्नो दुनो सोझ्याउन चाहन्छन् । पीडितको आँसुमा कोही कसैले पौडी नखेलून् ।

(गोर्खा घर भएका अधिकारी हाल वैदेशिक रोजगारीका लागि मलेसियामा कार्यरत् छन् । लेखमा अभिव्यक्त धारणाहरु लेखकका निजी विचार हुन्)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay