scheduleआइतवार कार्तिक ९ गते, २०७७

कवि केसीको दृष्टिमा घिमिरेको ‘राष्ट्रकवि’- सत्यको आलोकमा श्रद्धाञ्जली दिनुपर्छ

काठमाडौं, ३ भदौ । राष्ट्रकवि माधव घिमिरेको निधनपछि उनीप्रति श्रद्धाञ्जलीको ओइरो लागिरहेको छ । उच्च पदस्थदेखि सर्वसाधारणसम्मले उनको निधनमा शोक व्यक्त गरिरहेका छन् ।

यता प्रगतिवादी धारका सर्जकहरुले पनि घिमिरेलाई सत्यको आलोकमा सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । कवि बिनोदविक्रम केसीले कवि घिमिरेलाई श्रद्धाञ्जली दिँदै उनको भूमिकाको वस्तुनिष्ठ मुल्यांकनको तराजुमा जोखेर गर्नुपर्ने धारणा राखेका छन् ।

‘उनको शब्द–शिल्प, मिठास उत्पादनको भने हर कोही कायल हुन्छ । नेपाली छन्दकविताको भौतिक श्रीवृद्धिमा उनको उल्लेख्य योगदान छ । यस सत्यको आलोकमा उनी सदा सम्मानित रहनेछन्,’ केसीले लेखेका छन् ।

कवि केसीले घिमिरेको आलोचनात्मक टिप्पणी पनि गरेका छन् । उनले लेखेका छन्, ‘तातो न छारोको राष्ट्रवादी अहंकार निर्माणमा उनको ज्यालादारी भूमिकाको पनि समीक्षा हुने नै छ ।’

हेर्नुहोस् घिमिरेको निधनमा कवि केसीको सन्देश-

कवि माधव घिमिरे रहेनन् । उनीप्रति हार्दिक श्रद्धाञ्जली !
सत्ताको सेवामा सदा ‘हाजिर’ र जनताको परिवर्तनका आकांक्षामा सदा ‘गयल’ कवि घिमिरेलाई वस्तुनिष्ठ मूल्यांकनको तराजुमा जोखिइने नै छ । अरूले नजोखे पनि लोकतन्त्र र गणतन्त्रका लागि गोली खान सडकमा निस्केका कवि/लेखक/समीक्षकहरूले जोख्ने नै छन् ।

कवि कृष्ण सेन ‘इच्छुक’को हत्या गर्ने ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनले दिएको ‘राष्ट्रकवि’ उपाधि धारण गरेर उनले खासमा सारा नेपाली कविहरूको अपमान गरेका थिए । त्यसमाथि, बार्धक्यको उचाइतिर उनले मानार्थ सहायक रथी पनि सकारे ।

दलित, जनजाति, आदिवासी, मधेशी, महिला आदि उत्पीडित समुदायका पक्षमा, तिनको शुभ चिताएर, उनले कहिल्यै लेखेनन् । यो उनको ठूलो इमानदारी थियो । किनभने, उनी जो थिए, जे थिए, त्यस पृष्ठभूमिका कारण त्यसो हुन (तिनका पक्षमा लेख्न) सम्भव थिएन । सत्ताले निर्दिष्ट गरिदिएको चेतना समातेर उनले ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ प्रभृति सिर्जना गरे । तातो न छारोको राष्ट्रवादी अहंकार निर्माणमा उनको ज्यालादारी भूमिकाको पनि समीक्षा हुने नै छ ।

उनको शब्द–शिल्प, मिठास उत्पादनको भने हर कोही कायल हुन्छ । नेपाली छन्दकविताको भौतिक श्रीवृद्धिमा उनको उल्लेख्य योगदान छ । यस सत्यको आलोकमा उनी सदा सम्मानित रहनेछन् ।

उनीप्रति हार्दिक श्रद्धाञ्जली !

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay