scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

बलियो सरकार कसरी थलियो ?

अभि गाउँले

विश्वको दाँजोमा हेर्दा यस्तो लाग्छ; नेपाल अझै कोरोनाको कम क्षतिमा छ, हामी केही प्रतिशत सुरक्षितै छौँ । अमेरिका, बेलायत, रुस, भारतलगायत अन्य देशहरूमा लाखौं संक्रमित थपिँदै गर्दा हाम्रोमा बल्ल तिसौं हजारको संख्यामा कोरोना संक्रमित पुगेका छन्, यो सुखद भने पटक्कै होइन । तर पनि संक्रमित र निको हुनेको संख्या तुलना गर्दा केहि आशाका किरणहरु पोखिन्छन् । पछिल्लो चरणको परिणामले भने फेरि थप चिन्ताजनक अवस्था सिर्जना गरेको छ ।

कोरोना समुदायस्तरमै फैलिएको होकि भन्ने ठूलो आशंका पैदा गराएको छ । राजधानीलगायत देशका ठूल्ठूला शहरदेखि ग्रामीण भेगसम्मै कोरोना अकल्पनीय ढंगले फैलिरहेको परिप्रेक्ष्यमा यत्रतत्र त्राहीमामको वातावरण छ । कोरोनाले निकट भविष्यमै विकराल अवस्था निम्त्याउने प्रवल सम्भावना छ । झण्डै चार महिनाको बन्दाबन्दीले अस्तव्यस्त बनेको जनजीवन केहि सहज बन्न नपाउँदै पुनः खतराको घण्टी बज्न थालेको छ । विगतको बन्दाबन्दीको मोडल अहिले र अहिलेको मोडल पहिले गरेको भए सायद देशले अझै छ महिनाको लकडाउन धान्न सक्थ्यो कि भन्ने आशय राख्न सकिन्छ । सरकारले उल्टो कदम चालेकै कारण यो दुर्नियत भोग्नुपरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले सकेको गर्‍यो तर नसकेको पनि सक्नेगरी प्रयास अहिलेसम्म गरेको छैन । जनताको भरपूर समर्थन पाएको सरकार हो भनिन्छ तर यो सरकार आफ्नै सिङ भाँचेर बसेको छ । कोरोना मात्रै होइन अहिले देशका विभिन्न ठाउँहरूमा प्राकृतिक विपत्तिले वितण्डा मच्चाइरहेको छ । जनताका बस्तीहरू उजाडिएका छन्, सयौंले ज्यान गुमाएका छन् । यो कहालीलाग्दो चित्र जति हेर्‍यो उति मन धुजा हुन्छ ।

अभि गाउँले

साँच्चिकै भन्नुपर्दा दिनहुँ कोरोनाले मान्छे मरेका, पहिरोले बस्ती नै बगाएका र डुबानमा परेका समाचारले हृदय नै क्षतविक्षत बनाउँछ । आफ्ना जनताको घाउमा मलहम लगाउन नसकेको सरकारको कुन शब्दले महिमा गरौं । जनताको घरबाट बलियो भएर स्थिरताको शुभ साइतमा हिंडेको सरकार अचानक बीच बाटोमै कसरी थलियो भन्ने कुरा जनताले कहिलेसम्ममा थाहा पाउलान् ? जनताले कोरोनाबाट मुक्ति पाउने जुक्ति कहिले फुर्छ सरकार ? कोरोनाले सिङ्गो देश नै निल्न आँट्यो नेताकाजीहरूको आँटचाहिँ के रहेछ, बुझ्न मन लाग्यो ।

छिमेकी देश भारतमा एकदिनमा पचास हजारको हाराहारीमा कोरोनाका नयाँ संक्रमितहरू पत्ता लाग्छन् तर हाम्रोमा भने दिनमा सात सयको हाराहारीमा मात्रै नयाँ संक्रमित भेटिन्छन् । यो दुई ग्राफलाई तुलना गर्दा भारतको एक दिनको क्षमता बराबर पुग्न हामीलाई लगभग दुई महिना लाग्दोरहेछ । यो ढिलासुस्तीले हामीलाई संक्रमित छुट्याउनलाई मात्र अझै एक वर्ष लाग्ने अनुमान गर्न सकिन्छ ।

बाँकी कार्यभार त सोच्नै नसकिनेगरी लथालिङ्ग अवस्थामा पुग्ने निश्चित छ । हामी किन यतिसारो निकम्मा र निम्छरो हुन पुग्यौं यसको उत्तर भेटिन्न । यी हरेक प्रश्नहरूका चाङ सरकारलाई बुझाउने हो भने सरकार नै प्रश्नचिह्नको पछाडि लुक्ने छ । देश कुनै अमूक पार्टी र गुटले मात्र चलाएको छ कि जनताको म्यान्डेडले चलेको छ ? सरकार नीति र सिद्धान्तको मेचमा घुमेको छ कि दलाल र भ्रष्टहरुको वरिपरि घुमेको छ ? जनताले प्रश्न सोध्ने धृष्टता नराखे पनि उत्तर सुन्ने धैर्यता त गर्छन् है, यति हेक्का त राखौं सबैले ।

भारतसँगको खुल्ला सिमानाले गर्दा नेपाल कोरोनाको उच्च जोखिममा छ भन्ने कुरा त जगजाहेर नै छ । हिजो नेताहरू आफूलाई हाइलाइट बनाउन सिमानामा तारजाली लगाउने गफ हांक्थे तर आज कुन दुलोमा छिरे पत्तो छैन । बोली समेत बिक्न छाडेकाहरू जनताको पीडामा झल्याकझुलुक हुन्छन् तर मसानझैं विलय हुन्छन् । सिमानाकाहरूमा कडाइ हुन नसक्दा कोरोनाको जोखिम झन् चुलिएको हो । सरकारले जनतालाई जगाउन पनि सकेन, जोगाउन पनि सकेन र विश्वासमा लिन झनै सकेन । सत्ताको जत्था गुड जोगाउन तल्लीन, प्रतिपक्षी पार्टीको बीउ जोगाउने ध्याउन्न, अरू पार्टी त दुई दिनका पाहुना, आउँछन् पलेटी कसेर सोहर्छन् जान्छन् । देश र जनता बचाउने स्वयं देश र जनता नै हुन् । सरकारले हालसम्म कोरोना नियन्त्रणमा गरेको खर्च त जसोतसो देखायो तर त्यसको नतिजा देखिनेगरी देखिएन ।

कोरोना भाइरसले सुरूसुरूमा जसरी अनुशासित बनाएको थियो अहिले ठीक विपरीत भएकोले यो खतरा निम्तिएको हो । धेरैले कोरोनालाई रोग होइन भोकको रूपमा बुझे । रोग त निको भइजाला तर यो भोकभन्दा मीठो भोजन हो भन्ने बुझाइले अधिकांशको मानसपटल हल्लियो । आफू र परिवारको जीवन धान्नकै लागि मानिसहरूले डरको सीमा नाँघ्न थाले । कोरोनाको शून्य प्रवाह गर्दै स्वतन्त्र बन्न बेरै लागेन । निर्वाध हिडडूल र जमघटले कोरोना झन् बल्झिन पुग्यो र आज फेरि सकसको स्थिति बन्दै छ । जीवन प्यारो हो नै तर जिउन नजान्दा ठूलो नोक्सानी भोग्नुपर्छ । हामीलाई अमेरिका, रूस, चीन, बेलायत र भारत बन्नु छ तर त्यहाँको जस्तो विकराल रूप व्यहोर्नु छैन यो कोरोनाको ।

सारा दुनियाँ कोरोनासँग एकनास लडिरहेको छ तर हामी आफैमा टकराव गर्दैछौं । योबीचमा सबैभन्दा धेरै गद्दार गर्ने प्रधानमन्त्री ओली अनि उनको पार्टी नेकपा नै हो । किनभने सरकारको सम्पूर्ण शक्ति कोरोनामा केन्द्रित हुनुपर्ने बेला पार्टीको आन्तरिक कलहलाई सत्ताको चकटीमा छताछुल्ल हुनेगरी पोख्ने दुई पात्र केपी र प्रचण्ड हुन् । नेपालको राजनीतिलाई गणतन्त्रको धारसम्म डोर्‍याउने जस लिने यी दुईले संकटमा देश र जनतालाई धोका दिएको अपजस पनि लिनैपर्छ । धेरैले प्रचण्डलाई डाइनामिक लिडर भन्छन् तर उनी अल्फ्रेड नोवलले आविष्कार गरेको डाइनामाइट जस्तै लाग्छ, जसले निर्माण भन्दा बढी ध्वंस मच्चायो । ओलीलाई राजनीतिको ओलम्पिक नै जितेझैं लाग्दोहो तर उपाधि चुम्ने अवसर गुमाइसके उनले । दुनियाँको अगाडि भकुण्डो हातले च्यापेर गोलपोष्टमा छिराए, अहिले उफ्रिपाफ्री गर्दैछन्, तुस पछि पो देखिन्छ त कामरेड ।

जनताको अभिमत सरकारलाई ‘पोच्ड एग’ जस्तै भयो, खायो सक्कियो तर खानेचाहिँ बलवान् बन्यो । विश्वव्यापी महामारीबाट आफू बच्न सरकारले छल गर्‍यो तर जनतालाई बचाउन त्यति बल गर्‍यो जस्तो लागेन । आज कोरोना संक्रमित नागरिकहरूले उचित समयमा उपचार पाइराखेका छैनन्, घरभित्रै रोग पालेर भोको पेट बस्नुपरेको छ, क्वारेन्टाइन र आइसोलेसन वार्डहरू अव्यवस्थित छन् । कोरोना संक्रमितको कन्ट्याक्ट् ट्रेसिङ बेलैमा हुन सकिरहेको छैन । कोरोना खरायोको गतिमा दौडिरहेको छ भने सरकार कछुवा गतिमा पछि लाग्दैछ । जनता मरेको खबरले हाम्रा प्रधानमन्त्री कतिचोटी भक्कानिए होला, कठै ! सायद हरेक दिन एक छाक बार्दा हुन् प्रधानमन्त्रीले । कति लोकप्रिय प्रधानमन्त्री भेट्टाएको छ यो देशले जो जनता मर्दा पनि कुर्सीमुनि लुकामारी खेलिरहन्छन्, पद र शक्तिको भोगविलाश राखिरहन्छन् निरन्तर ।

हुन त सरकारलाई गाली गर्न पो सजिलो छ । जति गरे नि नदेख्ने अति गरेको मात्रै देख्ने जनता भएरै नि होला सरकारको काम गर्ने जाँगर हराएको अचेल । यसको सब राज भनेको म सरकारलाई राम्रैसँग चिन्छु तर ऊ मलाई चिन्दैन र जान्दैन पनि । म अँधेरो छिद्रबाट सरकार चियाउँदै छु तर सरकार मलाई बालै दिन्न ।

यत्रो भयावह अवस्थामा च्याउ उम्रेसरी उम्रिएका राजनीतिक दलहरूले कुनै योजना र अग्रसरता देखाउन सकेनन् । ती पार्टीहरूलाई थ्रेसहोल्डको ठूलै डर छ तर कोरोनाले आफ्ना मतदाता मर्लान् कि भन्ने चिन्ता छैन सायद । यदि यो हुन्थ्यो भने साना-ठूला सबै दलहरूले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आ-आफ्ना कार्ययोजना र राय सुझाव सरकारलाई बुझाउँथे । सरकारले पनि कान खोलेर सुन्ने हिम्मत राख्थ्यो कि ! सरकारले काम गरेको हो तर मध्यरातमा जोगीले शंख फुकेझैं गरि काम गर्‍यो । सबैले देख्नेगरी केहि गर्न सकेन । सरकारले गाग्री भर्‍यो पिँध चुहिएको चाल पाएन । जनताको गुनासो सरकार नसुन्ने अनि सरकारको दुःखेसो कसलाई पोख्ने र सुन्ने ?

अरू कमजोर हुँदा त्यसको फाइदा लिने त संसारकै रित हो । तर अरू कमजोर हुँदा आफू कामचोर भइयो भने सर्लक्कै डुबिन्छ । सरकारभित्र खेल्ने खेलाडी सब एक सय एक छन् । सबैले मौकाको फाइदा उठाउन ढुकिबसे । ढोकाढोकामा लुकिबसे । कसले कसको खुट्टो तान्यो स्पष्ट अझै छैन तर योचाहिँ प्रष्ट देखियो कि सबले कुर्सी तानातान गरे, झण्डै हानाहानसम्म गरे । हामी जनता वाल्ल परिरह्यौं । अब रह्यो सरकार किन थलियो भन्ने जिज्ञासा । सत्तामा हुनेहरू सबै बलिया बन्न खोजे त्यसैले सरकार कमजोर बन्यो । बलियो बन्न काम गर्नुपर्छ भन्ने ब्रह्म कसैको खुलेन खालि पद र कुर्सी नै सर्वस्व ठानियो ।

इतिहासमा सबैभन्दा बदनामी पार्टीको रूपमा नेकपा दर्ज भयो जसले कात्रोमाथि पनि कमिशन खायो । नागरिक सर्वोच्चतालाई खाडलमा पुरियो । क्षमता भनेको बढाए बढ्छ तर नेकपाको सरकारको शक्ति संचय हुन सकेन । समस्याको अघि थलियो तर पनि मै हुँ भन्न छाडिएको छैन । सबैलाई थाहा छ लोग्ने-स्वास्नीको झगडा परालको आगो हो भनेर तर नेकपाको झगडा भुसको आगो हो जुन एकदिन भस्म भएरै छाड्छ ।

नेकपा यसरी कमजोर भयो कि अब ऊ बलियो भयो भने देश र लोकतन्त्र नै कमजोर बन्न पुग्छ । जनै चुडालेर जज्ञमा बस्ने बाहुन र विधिको शासन मिचेर सत्ताराज गर्ने ओली एकै हुन् । अब बलियाहरू आफै टाउको फुटाएर सकिन्छन् र कमजोरहरू फेरि बलिया बन्नेछन् । आशा गरौं, घडीको सुइले राजनीतिमा बाह्र नबजाओस्, फेरि दलहरू आहालमा नफर्किऊन्, शहीदको रगतले पोतिएको वीरताको गाथा नच्यातून् र कोरोनाले दुर्गन्धित राजनीतिलाई मलजल नगरोस् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay