scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

ढुङ्गा र खीरको राष्ट्रवाद

राजु भट्टराई

सानै छँदा पढेको एउटा कथा अहिले पनि याद आउँछ । उक्त कथामा एउटा बटुवाले गाउँमा त्यसै बास पाउने छाँटकाँट नदेखेपछि ढुंगाको खीर पकाएर खुवाउँछु भन्छन् । खीर पकाउन चाहिने सामग्री गाउँबाटै मगाएर खीर खाएर बास बस्छन् । गाउँलेले आफू ठगिएको थाहै पाउँदैनन् ।

आज त्यही कथा सरकारको रवैयासँग मेल खाइरहेको जस्तो लाग्छ । आज सरकार र यसको नेतृत्व गर्ने बटुवा कमरेड केपी शर्मा ओली जनतालाई ढुङ्गोरुपी राष्ट्रवादको खीर देखाएर सत्ता हात पार्न सफल भए ।

उनले चुनावताका रेल, तेल, ग्यास पाइपलाइन, कोही भोकै मर्न नपर्ने, ग्यास बोकेर हिंड्न नपर्ने, भ्रष्टाचार रोक्ने, तुइनमुक्त राज्य बनाउने, समृद्धि नेपालको नारा लगाए । भारतलाई गाली गरेकै भरमा उनी राष्ट्रवादी बने । महाकाली सन्धि भुलाउन सफल हुँदै आफूलाई रिब्रान्ड गर्न ओली सक्षम ठहरिए । राष्ट्रवाद नामको ढुङ्गो पकाएर जनतालाई समृद्धिको खीर खुवाउने कलाले उनले कुर्सी पाए । तर देश र जनताले के पाए ? यो विषय समीक्षा गर्न ढिला भइसकेको छ ।

ओलीको नेतृत्वमा लिफ्ट माग्न पुगेका प्रचण्डको समूह पनि ओलीकै शैलीमा स्वप्निल नारा दिन सफल भए । घोषणापत्रमा मीठा मसिना सपना देखाउन सफल भए । जनताले विश्वास गरेर भोट दिएर इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी बनाएर पठाए ।

जब सत्तामा पुगे, तब उनीहरुले जनताको सपनालाई रद्दीको टोकरीमा फ्याँके । समृद्धिको कोपिलाको घाँटी निमोठे । कोरोना संकटदेखि बाढी पहिरोसम्ममा जनता त्राहिमाम बनिरहँदा संवेदनाहिन प्रतित हुनेगरी आन्तरिक सत्ता स्वार्थमा अलमलिए । अहिले लाग्छ- खीर ओलीले खाए । देश र जनताको भागमा डुंगा मात्र पर्‍यो । नेताहरुलाई खीरैखीर, जनतालाई पिरैपिर हुने यो अवस्थाको पटाक्षेप कसरी हुने हो ? हेर्न बाँकी छ ।

ओलीको अहंकार यति चुलियो कि उनले आफूप्रतिको आलोचना सहनै सकेन । चाकरीवाजहरुलाई महत्वपूर्ण जिम्मेवारी दिए । यही प्रवृत्तिको कारण मुलुकमा काण्डहरुको पहाड चुलियो । निर्मला बलात्कार काण्ड, गुठी काण्ड, ३३ किलो सुन काण्ड, वाइड्बडी काण्ड, बास्कोटा भ्रस्टाचार काण्ड, जग्गा प्रकरण काण्ड, अपहरण काण्ड, स्वास्थ सामग्री अनियमितता काण्ड जस्ता काण्डैकाण्डले शिखरमा उभिएर सरकार सफलताको उर्दी जारी गरिरहेको छ । खुसी र सुखी नेपालीको पोस्टरमा नराम्ररी कच्याककुचुक भइसकेको छ ।

प्रधानमन्त्री सिंहदरबार जानै सक्दैनन् । जनप्रतिनिधिहरुको बालुवाटारसम्म पहुँच छैन । उनीहरु पनि पक्ष र विपक्षमा बाँडिएर हनुमान चालिसा फलाकिरहेका छन् । बालुवाटारमा जनताको मुद्दामा कहिल्यै बहस हुँदैन । धुम्बाराही र पेरिसडाँडामा रहेका अध्यक्षद्वयको कुर्सीमा धुलो लागेको छ । पार्टी कार्यालयमा रुपान्तरण भएको बालुवाटारमा गुटगट स्वार्थको खिचडी मात्रै पाक्छन् । खीरको आशामा दूध, चामल र मसला दान गरेका जनता आँटो ढिँडो पनि खान नपाउने अवस्थामा वाल्लजिल्ल छन् ।

देश कोरोना महामारीको गम्भीर संकटमा फसिरहेका बेला जनतालाई चार महिनासम्म बिना तयारी, बिना योजना अव्यवस्थित बन्दाबन्दीमा राखेर सरकार भ्रष्टाचार, अपहरण र सत्ता स्वार्थका घिनलाग्दा कर्ममा रुमल्लियो । आफैं अध्यादेश ल्याउने आफैँ फिर्ता गर्नेजस्ता गैरजिम्मेवार, अनैतिक अनि पदीय निष्ठामा नै आँच आउने खालका घटनाहरुले ढुङ्गा र खीरबीचको दूरी बढाउँदै लग्यो ।

आफ्नो देश फर्केका नागरिकालाज्ञ महिना दिनसम्म सिमानामा अलपत्र छोड्ने, विदेशमा अलपत्र परेका नागरिकले घर फर्काउन गरेको आग्रहलाई बेवास्ता गर्दै पार्टीगत किचलो र कुर्सीमा यसरी लिप्त भए कि मानौं देशमा अरु केही समस्या नै छैन र जिम्मेवार जवाफदेहिताको आवश्यकता नै छैन ।

हिजो छिमेकीलाई गाली गरेकै भरमा राष्ट्रवादको ढुङ्गो देखाएर खीर पकाउन कस्सिएका ओलीले आफ्नै देशको सिमाना मिचिएको थाहै पाएनन । महामारीको त्यो अवस्थामा पनि सरकारको धरकपडका बीच सडकमा जनताले गरेको आन्दोलन, संसद्मा बाबुरामलगायत नेताको खबरदारीले राष्ट्रवादी ढुंगाको खीर याद दिलायो । र, हतारहतार नेपालको पूर्ण नक्सा सार्वजनिक गरियो ।

तर वास्तविकता त्यही नक्सामा पर्ने हाम्रो भूमिमा अझै पनि भारतीय सुरक्षाबल तैनाथ छन् । र, त्यो मुद्दा अहिले सेलाइसक्यो अर्थात् महाकाली सन्धिमै त्रुटि रहेछ भनेपछि तैं चुप मैं चुप भने झै गरि थामथुम भयो । थाहा छैन अब यो मुद्दामा फेरि कति वर्ष राष्ट्रवादी ढुंगाको खीर पाकिरहन्छ । त्यसको असर सिमानामा बस्ने नागरिकमाथि के पर्‍यो, कति पर्‍यो भन्ने लेखाजोखा नै राखिएन ।

राजु भट्टराई

राष्ट्रवादको होडबाजीमा आफुलाई उग्रराष्ट्रवाद देखाउन नक्सा छापियो तर त्यहाँको भूगोल त्यहाँको नागरिकको जटिलता र मनोविज्ञान बुझ्न फुर्सद नै भएन । कुटनैतिक छलफल, विज्ञहरुसँग परामर्श गरेर विवादहरु सुल्झाउनुपर्ने तर्क उठाउनेहरु उग्र राष्ट्रवादको भेलमा अराष्ट्रवादी घोषित भए । अन्तिममा छलफल गरेरै जानुपर्ने निष्कर्षमा पुग्दा भने उनीहरुलाई अराष्ट्रवादको पगरी थमाउने कोही भएन । मानौं, राष्ट्रवाद र अराष्ट्रवादको सर्टिफिकेट उनीहरुले आफू सुहाउँदो बाँढेका छन् ।

प्रवासमा कम्पनिबाट निष्कासित हुनु परेको पीडा, रोजगारी खोसिएर हप्ता दिनसम्म भोकभोकै बस्नुपरेको पीडा, ऋनमाथि ब्याज थपिएका पीडाहरुबीच सरकारले अलपत्र नागरिकको उद्धार नाम दिएर ढुंगाको खीर पकाउन यहाँ पनि चुकेन । महङ्गो भाडा तिरेर आफ्नै खर्चमा फर्कनुपर्ने बाध्यतामाथि सरकार अनि नेता कार्यकर्ता सरकारले किन गरेन गर्‍यो त नि भन्दै राष्ट्रवादी ढुङ्गा देखाएर खीर पकाउन पछि परेनन् ।

क्वारेन्टाइनमै बलात्कारका घटना अव्यवस्थित, असुरक्षित क्वारेन्टाइनमा जनतालाई राखेर कुर्सीको जोडघटाउमा भुलेका बटुवाहरुले देशमा महामारीले पारेको असर र भविष्यमा हुनसक्ने भयावह परिस्थितिको कुनै जोड्घटाउ गर्न भ्याएका छैनन् ।

बर्षौंदेखि डुबान बाढीपहिरो देशको स्थायी समस्या जस्तै भएका छन् । हजारौं नागरिकले बाढीपहिरोकै कारण बर्सेनी ज्यान गुमाउन परेको छ । लाखौं घरबारविहिन हुनु पर्ने बाध्यता छ । बाढी पीडितको नाममा राहत बाहेक अरु कुनै दिगो र ठोस योजना बन्न सकेका छैनन् । जनताको नाममा बर्सेनी राहत मात्र घोषणा गर्नुभन्दा स्थायी समाधानतर्फ ध्यान दिने हो भने देशले नागरिक गुमाउनु पर्थेन । तर विडम्बना यो पनि चुनावी खीर नामक ढुङ्गा मै सिमित रहयो।

कथामा जसरी बटुवाले ढुङ्गा फ्याकेर खीर बनाएर खान्छन् अनि गाउमा बास बसेर अर्को दिन बाटो लाग्छ । त्यसरी नै देशमा राष्ट्रवादी ढुङ्गो बोकेका ओलीले जनताको सपना, चुनावी राष्ट्रवाद एकापट्टी मिल्काएर भ्रस्टाचार अनियमितता बेथितिको खीर भजाएर पाँच वर्ष सत्तामा आफूलाई टिकाउने छन् र आफ्नो बाटो लाग्ने छन् । तर वर्षौं पछाडि धकेलिएको देश भने तेस्रो मुलुकको सूचिमा पनि पिँधतिर पुग्नेछ ।

यसरी नै राष्ट्रवादी ढुंगाको खीर पकाएर खान पल्केका बटुवाहरु हरेक चुनावमा नयाँ नयाँ रुप धारणा गरेर अनेकन परिकारहरु पस्कनेछन् र जनतालाई ठगेर सत्ताको स्वाद चाखी नै रहनेछन् ।

अन्त्यमा विकल्प के त ?
पार्टीलाई कुल देवता मानेर पुज्न छोडौं । आवश्यकताअनुसार परिवर्तनको नेतृत्व गर्ने युवाहरु नै यसरी पार्टीलाई पुजा गरेर बस्ने हो भने संसारमा यति परिवर्तन देख्न सायदै मिल्दैनथ्यो । कुनै पनि देशको इतिहास पल्टाएर हेरौं ।

हामीले चार दशकदेखि त्यही नाम, त्यही नेतृत्व, त्यही काम स्वीकार्दै आएका छौं जुन हरेक दृष्टिकोणबाट असफल भैसकेका छन् । त्यसैले युवा पंक्ति अघि आउनुपर्छ र परिवर्तनको नेतृत्व गर्नुपर्छ ।

हिजोको आवश्यकताअनुसार विचार दर्शनहरु प्रतिपादित भए र हिजो तिनै नेतृत्व विचार सफल पनि भए । अब आजको आवश्यकता अनुसारको विचार अनि नेतृत्व प्रतिपादित हुनु जरुरी छ । त्यसको लागि हरेक तप्काबाट युवाहरु एक ठाउँमा उभिएर नेतृत्व लिनुपर्छ ।

जनतामा गुमेको विश्वास, राजनीतिप्रति बढेको वितृष्णा, युवाहरूको पलायन रोक्न र देशलाई हाम्रै पालामा समृद्ध बनाउन एकपटक बौद्धिक वर्ग युवा विद्यार्थी मिलेर नेतृत्व गर्नुको विकल्प छैन । क्षमतावान युवाहरु एउटा कुनामा पसेर रिटायर्ड नेतृत्वलाई गाली गरेर बस्नुको सट्टा अब विकल्पको नेतृत्व गरेर देशलाई निकास दिनुपर्ने समय आएको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay