scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

सरकारी जनसेवा प्रवाहमा नेपालको उल्टो गति

नारायण प्रसाद पोख्रेल

विश्व नै सरकारी निकायबाट प्राप्त हुने जनसेवालाई कसरी स्तरीय बनाउन र जनतालाई बढीभन्दा बढी सुविधा दिई उनीहरुको जीवनलाई अझ सरल र उत्कृष्ट बनाउन सकिन्छ भनेर लागि परेको स्थिति छ । जनताको जीवनस्तर उठाउन र जनसेवालाई सबै तहबाट सरल र उत्कृष्ट बनाउनेतिर सबै देशका सरकार र जनप्रतिनिधिहरु लागि परिरहेका हुन्छन् ।

प्रत्येक जनसेवा सम्बन्धि कार्यालयहरुका वरिपरि, पार्कहरु, सार्वजनिक स्थानहरुमा ‘हामीले कसरी हाम्रो सेवालाई अझ सरल र उत्कृष्ट बनाउन सक्छौ ? कृपया आफ्नो अमूल्य सुझावद्वारा जनसेवालाई उत्कृष्ट बनाउनेतर्फ यहाँको सहयोगको अपेक्षा राखेका छौं’ भनेर लेखिएका हुन्छन् ।

म कुनै लेखक पनि होइन, पेशाले म पत्रकार, लेखक पनि होइन । मैले जानी नजानी कलम चलाउन बाध्य भएको मेरो आत्माको पुकार र आफ्नो मातृभुमिप्रतिको सेवाभावले मात्र हो । सबै धर्म, तिर्थव्रतभन्दा महाधर्म भनेको आफ्नो मातृभूमि र जनसेवा हो भन्ने कुरा मैले हुर्कंदै र बढ्दै गर्दा सिकेको संस्कार भएकोले र मलाई मेरा पुर्खाहरुले एउटा जिम्मेवार नेपाली नागरिक हुन सिकाउनु भएको कारणले नै हो ।

यस्ता लेखप्रतिको मेरो सोच भनेको मैले थोरै भएपनि समय दिएर हामी सबै व्यवसायी, जनताले भोग्नु परेका समस्याहरुलाई हाम्रो सरकार, मन्त्रीहरु, हामीले हाम्रै मतले चुनेर पठाएका जनप्रतिनिधिहरु, प्रशासकहरु र हाम्रा राष्ट्रसेवक कर्मचारीहरुको सामु उजागर गरी उहाँहरुको कानसम्म पुर्‍याउँदा हामी सबै व्यवसायी र आम जनताले प्राप्त गर्ने सेवामा केही सकारात्मक सुधार आउन सक्छ कि भन्ने नै हो ।

म कुनै दलसंग आवद्ध राजनीतिकर्मी पनि होइन र मेरो कुनै एउटा दल, सरकारप्रति पूर्वाग्रह र कसैलाई ठूलो बनाउने र कसैलाई फाइदा र कसैलाई बेफाइदा पुर्‍याउने मेरो उद्देश्य पनि होइन ।

मैले विगत ३५ वर्षदेखि देख्दै र भोग्दै आएका केहि सरकारी जनसेवा सम्बन्धि अनुभव र सन्दर्भहरुलाई यस लेखमा समावेश गरी यहाँहरु सबैको सामु प्रस्तुत गर्ने जमर्को गरेको छु ।

जिल्ला प्रशाशन कार्यालय कास्कीको अनुभव
२०४३ मा एसएलसी पास भएपछि नागरिकता बनाउने क्रममा सबै आवश्यक प्रक्रिया पुर्‍याएर पोखरास्थित जिल्ला प्रशासन कार्यालयमा गई सबै कागजात पेश गरे । करिब एक घण्टापछि नागरिकता तैयार भैसकेपछि प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा सनाखतको लागि बोलाएको जानकारी पाएँ ।

लगत्तै म प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेँ । सबै सनाखत भईसकेपछि प्रमुख जिल्ला अधिकारीबाट सबै नागरिकता पाउने युवाहरुलाई बधाई दिँदै नागरिकताको महत्व, नागरिक जिम्मेवारी, राष्ट्र, राष्ट्रिययता समेतको बारेमा प्रशिक्षित गराउने काम भयो ।

त्यसको २/४ वर्ष पछि मेरा धेरै साथीहरु जापान गए तर मैले विदेश जाने र विदेशमा गएर विदेशको लागि पसिना बगाउने कामको विरोध गरिरहे । साथीहरु विदेश गएको कारणले मैले उनीहरुसँग मित्रता समेत तोड्न पुगेँ। मलाई स्वदेशमा नै पसिना बगाउन र आफ्नो मातृभूमिको सेवामा लाग्नको लागि प्रेरणा दिने काम तत्कालीन प्रमुख जिल्ला अधिकारीबाट पनि भएको थियो।

२०४७ मा कम्पनी रजिष्ट्रार कार्यालयको अनुभव
म कम्पनी रजिष्ट्रार कार्यालयमा २०४७ असारमा कम्पनी दर्ता गर्ने मनसायबाट गएको थिएँ । मेरो विचारमा त्यतिबेला उक्त कार्यालय कम्पनी रजिष्ट्रारको नामले नभई उद्योग विभागअन्तर्गत सेवा कार्यालयको रुपमा रहेको थियो । म पोखराबाट रात्री बस चढेर काठमाडौं पुगेपछि, गेस्ट हाउसमा गएर कपडाहरु फेरेर रजिष्ट्रार कार्यालयमा पुग्दा करिब ११ बजिसकेको थियो । कार्यालयको रिसेप्सनमा आवश्यक सबै कागजातहरु बुझाएपछि, धेरै कागजातहरु नपुगेको थाहा लाग्यो । कार्यालयमा अन्य २०/३० जना सेवाग्राही पनि हुनुहुन्थ्यो । सबै आवश्यक कागजात तयार गर्न मलाई अर्को करिब २ घण्टा लाग्यो ।

करिब १ बजे पुनः कार्यालयमा उपस्थित भएर कार्यालय प्रमुखको तोक लगाएर कागजातहरु दर्तामा बुझाए पछि मलाई त्यहाँ १०/१५ वटा कुर्सिसहितको विश्राम गर्ने स्थानमा विश्राम गर्न भनियो । त्यहाँ पिउने पानीको फिल्टरसहित पानी पिउने गिलासहरु राखिएको थियो । सबै काम गर्दै जादा ४ बजिसकेको थियो । रिसेप्सनमा मैले म रात्री बसमा आएको, रात्री बसमा नै फर्कने भनेको भनेर भने ।

मलाई थाहा थिएन रजिष्ट्रारको कानमा त्यो कुरा परेछ । उहाँले मलाई सोध्नुभयो, ‘भाइ पोखराबाट आउनु भाको ?’

मैले ‘हो हजुर’ भनेँ । सबै कुर्सीहरु सेवाग्राहीले भरिएको अवस्थामा पनि उहाँले सुब्बालाई भन्नुभयो, यो भाइको काम आजै सकी दिनु, रात्री बसको टिकेट रहेछ । अनि अरु सबैलाई पनि सोध्नुभयो, के तपाईहरुमध्ये कोही बाहिरबाट आउनु भएको हुनुहुन्छ ? सबैले होइन भने पछि सकेसम्म आजको कामलाई भोलि नभन्नु भनेर सबै कर्मचारीलाई निर्देशन पनि दिनुभयो । मैले प्रमाणपत्र लिँदा साढे ५ बजिसकेको थियो, मेरो विचारमा ९० प्रतिशत सेवाग्राहीको काम पनि त्यसै दिन भएको थियो ।

अस्ट्रेलियामा सरकारी सेवा प्रवाहसम्बन्धि अनुभव
मेरो एउटा साथीलाई कम्पनी खोल्ने विचार आयो र दर्ता कसरी गर्ने भन्ने सबै जानकारी इन्टरनेटबाट प्राप्त गरेपछि नाम क्षनौटसँगै यति बजे हाम कार्यालय पुग्दै छौं भन्ने सूचना पनि कार्यालयका कर्मचारीले इन्टरनेटबाटै प्राप्त गर्ने व्यवस्था हुँदो रहेछ । हामी कार्यालय पुग्दा कर्मचारी गेट मै आएर स्वागत गरे । हामीले तपाईंको प्रतिक्षा गरिरहेका थियौं, समयमै आएर हामीलाई सेवा गर्ने मौका दिनु भएकोमा धन्यवाद भनेर भने ।

हामीलाई आफैंले कफी बनाएर दिए । कफीसँगै एउटा ठाउँमा सही गर्न भनियो । सही गर्नासाथ सबै कागजातहरु प्राप्त भयो । त्यहाँ न त कुनै ठूला हाकिम देखिन्थे, न त कुनै पियन । सबैको समान जिम्मेवारी भए जस्तो लाग्थ्यो । मुस्कान र सेवासहितको सेवा वा ! सबै प्रकारका दर्ताहरु एउटै द्वारबाट, न कुनै शुल्क, न दौड धुप, न भनाभन, न टेन्सन !

नारायण प्रसाद पोखरेल

भारतको सरकारी सेवा प्रवाहको अनुभव
करिब १३ वर्ष पहिला २००७ मा म भारतको राजधानी दिल्ली गएको थिए। मेरो एउटा नेपाली साथीको चालक अनुमति पत्र बनाउनु पर्ने रहेछ । साथीको अनुरोधलाई नकार्न सकिनँ र म उहासँगै सवारी चालक अनुमतिपत्र लिन कार्यालयतिर लागेँ ।

बाहिर सवारी पार्किंङको लागि ठूलो पार्किङ स्थल रहेछ । कार पार्क गरिसकेपछि, एउटा टोकन दिने चलन रहेछ । टोकन लिएर हामी भित्र पस्यौं । भित्र वातानुकुलित सुविधासहितको ठूलो हल रहेछ जहाँ लहरै करिब ५० वटा काउन्टर थिए । हामीले मेसिनबाट काम अनुसारको टोकन लियौं । ८/१० ठाउँमा टेलिभिजन, २ ठाउँमा खानेपानीको जारसहित गिलासहरु, चिया कफीको मेसिनहरु राखिएको रहेछ। हामीले चिया कफी पिउँदै गर्दा हाम्रो नम्बर आएको थाहा भयो । अनि साथी नम्बर अनुसारको काउन्टरमा जानु भयो ।

भारतमा छ महिनाको लागि सिकारु अनुमति पत्र दिने र ६ महिना पछि त्यहि अनुमति पत्रको आधारमा अति सामान्य ट्रायल दिएको भरमा अनुमति पत्र दिने चलन रहेछ। स्कुटरहरुको लागि साधारण सोधपुछ गरी विश्वास नलागे मात्र ट्रायलमा लैजाने र स्टार्ट गरी अगाडि पछाडि बढाउँदा पुग्ने रहेछ।

साथीको फोटो खिच्ने, बायोमेट्रिक आदि समाप्त भइसकेपछि ट्रायल गर्ने ठाउँमा लगेर गाडी स्टार्ट गर्न र अगाडि पछाडि गर्नुपर्‍यो । फेरि सोहि हलमा बसेर केहि समय चिया कफी पिउँदै र सिनेमा हेर्दै बिताएपछि साथीको अनुमति पत्र तयार भएको खबर भयो । अनि हामी अनुमति पत्र लिएर फर्क्यौं। मेरो विचारमा हाम्रो करिब ३ घण्टाको समय खर्च भयो होला । त्यहाँ न त गर्मीमा र घाममा उभिनु पर्‍यो, न धरै ठाउँ मा तल माथि गर्नु पर्‍यो, न फाइल खोज्नु पर्‍यो ।

हङकङमा सरकारी सेवा प्रवाहको अनुभव
नेपाललाई आन्तरिक द्वन्द्वले आक्रान्त पारिरहेको अवस्थामा म मेरो एकजना हितैषी साथीसँग केहि काम गर्न र जीवन निर्वाहको बाटो बनाउन सकिन्छ कि भन्ने मनसायले सन् २००५ मा हङकङ पुगेको थिएँ । साथी बाहिर गएको अवस्थामा छोरीलाई स्कुल पुर्‍याउने र कार्यालय सञ्चालन गर्ने काम मेरो जिम्मामा थियो ।

एक दिन छोरीलाई स्कुल पुर्‍याउने क्रममा छोरीको सानो पैसाको ब्याग बाटोमा खसेछ । त्यसको हेक्का मलाई भएन । करिब १२ बजेतिर प्रहरी कार्यालयबाट कार्यालयको फोनमा फोन आयो । फोन उठाएर कुरा गरेपछि आफ्नो सुविधा अनुसार प्रहरी कार्यालयमा आउन मलाई आग्रह भयो ।

मैले भनेँ, ‘कार्यालयबाट फर्कने क्रममा करिब सवा ५ देखि साढे ५ सम्म पुग्ने छु ।’ । मलाई खुल्दुली भयो, किन बोलायो होला ? केहि गल्ती भयो कि ?

फर्कने क्रममा प्रहरी कार्यालयको गेटमा पुगेर मेरो नाम भन्ने बित्तिकै प्रहरी कार्यालयका प्रमुख मलाई भेट्न गेट मै आएर स्वागत साथ मलाई सँगै आफ्नै कार्यकक्षमा लगे । कार्यकक्षमा पुग्ना साथ कफी पनि टेबुल मै पुग्यो।

गफ गर्ने क्रममा मलाई थाहा लाग्यो छोरीले खसाएको ब्याग, छोरीको स्कुल र मेरो कार्यालय प्रहरीले सिसिटिभीको माध्यमबाट पत्ता लगाएर फोन गरेको रहेछ। म निकै अचम्मित भएँ। कफी पिउँदा पिउँदै छोरीको ब्याग पनि आयो, ब्याग लिएर घर फर्केँ।

सेवा व्यवस्थापन, सरसफाई, मुस्कान सहितको सेवा ! मलाई प्रहरी कार्यालयमा होइन एउटा ५ तारे होटलको व्यवस्थापकलाई भेट्न गए सरहको सेवा र सत्कार तथा व्यवस्थापनको महसुश गरेँ ।

नेपालमा सरकारी जनसेवा प्रवाहको अवस्था
जति बेला हामी स्कुल र क्याम्पसका विद्यार्थी थियौं, हामीलाई श्याम तमोटको एउटा गीत ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्न लाई उठ’ धेरै नै चर्चित थियो । हामी सोच्थ्यौं- राजाबाट जनताको हातमा सत्ता प्राप्त भैसकेपछि ठूलै परिवर्तन आउनेछ र देश स्वर्ग समान हुनेछ । र, सबै नेता कार्यकर्ता, प्रशाशक कर्मचारीहरु जनसेवा र देशको सेवामा इमान्दार भएर लाग्नु हुनेछ ।

जन सेवाका क्षेत्रहरु साँच्चै नै तहस नहस भएको अवस्था छ । चाहे यातायात कार्यालय होस्, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, पासपोर्ट कार्यालय सबैको स्थिति प्रायः उस्तै छ । कुनै पनि सरकारी कार्यालयले सेवाग्राहीको लागि पार्किङ स्थलको व्यवस्था समेत गरेको देखिँदैन । सवारी साधन पार्किङको लागि समेत सबैले दुःख पाउने अवस्था छ ।

प्रायः सबैजसो सरकारी सेवा प्रवाह गर्ने सरकारी विभाग, कार्यालयहरुबाट न त उपयुक्त विधि प्रक्रिया अपनाई निष्पक्ष ढंगले सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ, न विश्रामस्थलको व्यवस्था छ, न पिउने पानीको व्यवस्था नै छ, न सेवा भावनाबाट प्रेरित भैं मुस्कानसहितको सेवा प्रदान भएको छ ।

आजको विश्वले समयलाई महत्व दिएको छ । पारिश्रमिकको गणना समेत घण्टाको हिसाबमा गर्ने व्यवस्था छ । तर हामीले आजसम्म समयको महत्व बुझ्न सकेका छैनौं । धेरैजसो सरकारी कार्यालयहरुमा एउटा फाइल खोज्न कै लागि ठूलै समय खेर गइरहेको अवस्था छ । सानो तिनो काम सम्पन्न गर्नको लागि पनि सेवाग्राहीले महिनौं धाउनुपर्ने अवस्था छ ।

आज २१औं शताब्दीको विज्ञान र प्रविधिको युगमा यो अवस्था हुनु र सरकारी सेवा प्रवाहको स्तर दिन प्रतिदिन पछाडि फर्कंदै जानु पक्का पनि देशको विकास र समृद्धिको लागि शुभ संकेत होइन ।

सेवाशुल्क दिन प्रतिदिन बढ्दै गएको छ भने सेवाको स्तर दिन प्रतिदिन घट्दै गैरहेको छ । निजी क्षेत्रका बैंकलगायत अन्य क्षेत्रले हाल सरकारी कार्यालयहरुले लिँदै आइरहेको सेवा शुल्कभन्दा धेरै नै कम सेवाशुल्कमा धेरै स्तरीय सेवा दिन सक्छन् भने सरकारी निकायले नसक्ने भन्ने कुरै हुँदैन ।

सरकारी सेवाको स्तर खस्कँदै जानुमा बजेटको समस्या पनि होइन ? सेवाशुल्कको कारणले पनि पक्कै होइन ? किन यो अवस्था छ त ? सम्बन्धित निकायबाट सोच्न र मनन गर्नु जरुरी छ ।

उपलब्ध सबै स्थानका पार्किङ सेवा मात्र सरकारी कर्मचारी र जनप्रतिनिधिलाई प्राप्त हुने व्यवस्था छ । सर्वसाधारण जनताले जति नै राजस्व र शुल्क तिरेपनि राम्रो सेवा पाउने अवस्था शुरु हुन सकेको छैन ।

म मेरो एउटा नातेदारको स्कुटी चलाउने लाईसेन्सको लागि ट्रायल दिने क्रममा करिब ४ चोटी ट्रायल सेन्टरमा पुगेँ । मैले चिने जानेका स्कुटी चलाएर कार्यालय आउने जाने गरेकाहरु पनि ४/५ चोटीसम्म स्कुटीको लाईसेन्स लिन नसकेको देखियो । नियम कानून नै फितलो बनाउन पर्छ भन्ने होइन तर केही सवारी साधनमा थोरै लचिलो बन्दा पनि हुन्छ कि ?

अहिले प्रायः सबै सबैजसो जनसेवाका क्षेत्रमा सुविधाभन्दा असुविधा नै बढी रहेको जस्तो देखिन्छ । जनसेवासम्बन्धि क्षेत्रमा विशेष गरेर हाम्रा जनप्रतिनिधि र उपल्लो निकायको खासै ध्यान पुगेको देखिँदैन । हामी सचेत भएर आफ्नो क्षेत्रबाट सहयोग र सुझाव दिन थाल्यौं भने अवश्य पनि उहाँहरुको यसमा नै सहयोग रहनेछ ।

हामी सबै जनताले बुझ्नु जरुरी के छ भने गरिब देशको धनी नागरिक हुनुभन्दा, सम्पन्न र विकसित देशको गरिब नागरिक हुनुमा धेरै वेश हुन्छ । हाम्रा जनप्रतिनिधिहरु, हाम्रा नेताहरु, राजनीतिक दलहरु हाम्रै भित्रबाट जन्मिएका हुन् । जबसम्म हामी सुध्रिंदैनौ हाम्रो समाज सुध्रन सक्दैन । हामीले हरेक क्षेत्रको नराम्रो पक्षलाई उजागर गरी हाम्रा जनप्रतिनिधिहरुलाई सही सूचना र सुझाव दिन चुक्न हुँदैन ।

हामीले ठूलै राजनीतिक परिवर्तन गर्‍यौं । आज हामी प्रायः सबै नागरिकहरु राजनीतिकर्मी भएका छौं । गाउँका हरेक चौतारीमा, सहरका चिया पसलहरुमा ऊ कांग्रेस, ऊ कम्युनिस्ट, ऊ समाजवादी ऊ राप्रपा, ऊ त्यो गुटको, यो ऊ गुटको आदि विषयमा राजनीतिक बहसहरु चलि रहेको देखिन्छ । रेडियो, टेलिभिजनमा पनि प्रायः राजनीतिक बहस नै सुन्न पाइन्छ ।

अब हामी आफैंबाट परिवर्तनको शुरुवात गर्नु जरुरी भै सकेको छ । हामीलाई राजनीतिभन्दा विकास र समृद्धि चाहिएको छ । हरेक चौतारामा कसरी उन्नत बिउ बिजनको उत्पादन हुन सक्छ, कसरी उन्नत पशुपालन गर्न सकिन्छ, कसरी देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ, कसरी बाढी पहिरो रोक्न सकिन्छ, कसरी वृक्षारोपण, बाटो घाटोको निर्माण र सरसफाई गर्न सकिन्छ, कसरी नयाँ-नयाँ आविष्कार गर्न सकिन्छ, कसरी उद्योग र व्यापारका क्षेत्रमा फड्को मार्न सकिन्छ, कसरी देशको संस्कृति र परम्परा जोगाउन र संरक्षण गर्न सकिन्छ, कसरी हाम्रो शिक्षालाई जीवन उपयोगी बनाई श्रम बेच्न विदेशको मुख ताक्न नपर्ने बनाउन सकिन्छ भनेर छलफल र बहस चलाउन जरुरी भैसकेको छ ।

आज जनसेवाको क्षेत्र मा हामी अगाडी होइन धेरै नै पछाडि फर्की सकेका छौं । यसलाई सहि मार्गमा हालेर अगाडी बढाउन पहल गर्ने जिम्मेवारी पनि हाम्रै हो । हामी कदम कदम गरि सुशासन र सुसंस्कारतिर अगाडी बढ्न थाल्यौं भने हाम्रो कदमले सहि गन्तव्य चुम्न सक्नेछ र हाम्रो, समृद्ध, सुन्दर, सुसम्पन्न, विकसित नेपाल र सुखी र सम्पन्न नेपालीको चाहना साकार हुन सक्नेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay