scheduleबिहिवार कार्तिक १३ गते, २०७७

नरेन्द्र मोदी, राहुल गान्धी र २०२४ को चुनाव

रामचन्द्र गुहा

ती मानिस जो प्रधानमन्त्री नरेन्द्र मोदी र उनका नीतिहरुको विरोध गर्दछन्, उनी र उनको पार्टीलाई पराजित गर्न चाहन्छन्, तिनीहरुले सबैभन्दा पहिला यो बुझ्न जरुरी छ कि आखिर नरेन्द्र मोदीले किन दुईपटक चुनावी जीत हात पारे ? मतदातामा किन उनको व्यापक लोकप्रियता कायम छ ?

मलाई लाग्छ कि यदि कोही मानिस आफ्नो विरोधीसँग टकराउन चाहन्छन् भने सतर्कतापूर्वक विरोधीको शक्तिबारे ध्यान दिनुपर्दछ । मोदीका कयौं प्रतिभा, कयौं प्रकारका क्षमता देखिन्छन् ।

पहिलो कुरा– उनको नियमित र स्वास्थ्य जीवनशैली हो । उनमा प्रचुर शारीरिक तथा मानसिक ऊर्जा छ । आफ्नो लक्ष्यप्रतिको उनको समर्पण सर्वोपरी छ । उनी हमेशा व्यक्त रहन्छन् । उनी कामकै बीचमा आराम गर्दछन् । उनी छुट्टी लिँदैनन् ।

दोस्रो कुरा– उनी सत्ता र आफ्नो बीचमा सहजता निर्माण गर्दछन् । यो निक्कै महत्वपूर्ण खुबी हो । उनी जहाँ जान्छन् बाहिरियाजस्तो लाग्दैनन् । चाहे वैश्विक नेताहरुको बैठक होस् वा सडक किनारको चिया पसल ।

रामचन्द्र गुहा

तेस्रो कुरा– उनी एक शानदार वक्ता हुन् । स्थितिलाई बुझेर बोल्छन् र सम्हाल्छन् । चुनावी र्यालीमा जननायकजस्तो प्रस्तुत हुन्छन्, शिखर बैठकहरुमा राजनेताजस्तो । हिन्दीमा बोल्ने र शब्दहरु खेलाउने उनको तरिका अद्भूत छ । उनी सहजतापूवर्क झुठ बोल्न सक्दछन् । उनीले बोल्ने तथ्यहरु तथ्यपरक हुँदैनन् । तर अनौठो कुरा उनी झुठो कुरा पनि सत्यजस्तो भान पर्ने गरी बोल्छन् ।

चौथो– उनका रुचिहरु बहुतै व्यापक छन् । उनी ब्रेकिङ न्युजहरुमा स्वभाविक ध्यान दिन्छन् । अन्य आवश्यक सूचनामाथि पहुँच बनाउँछन् ।

पाँचौ कुरा– उनीसँग गृहमन्त्रीका रुपमा दुर्जेय सहयोगी छन् । पुरै निर्मम र कठोर ।

मोदीबारे यी खासमा मेरा धारणा हैनन् । एक अध्येयताका धारणा हुन् । ती विद्वान आफैं धार्मिक कट्टरतावादका विरोधी, लोकतन्त्र र बहुलवादका समर्थक हुन् । मोदी–शाह शासनलाई उनी एक खतरनाक विभाजनकारी शासन मान्दछन्, जस्तो कि म पनि त्यही मान्दछु । तर ती अध्येयताले मलाई यो सम्झना गराए कि जुन नेताको हामी विरोध गर्दैछौं, हामी लोकतन्त्रवादी वा बहुलतावादीहरुले यो स्वीकार गर्न आवश्यक छ कि धेरै भारतीयहरु उनलाई मन पराउँछन् ।

हिन्दुत्व विरुद्धको लडाई वास्तवमा विचारधारात्मक लडाईं हो । यो लडाईका आफ्नै वैचारिक प्रस्तावना छन् । हामी गणतन्त्रका आधारभूत सिद्धान्तको बहाली चाहन्छौं, जहाँ धार्मिक तथा भाषिक बहुलता, लैङ्गिक तथा जातीय समानता, राज्यको शक्तिप्रति आलोचनात्मक बन्न पाउने अधिकार, सबै सभ्यता र संस्कृतिप्रति खुल्लापन र सदासयता होस् । यी सबै त्यस्ता सिद्धान्त हुन् जसलाई हिन्दुत्वको विचारले कि त छोड्न चाहन्छ कि उखेलेर फ्याँक्ने धम्की दिन्छ ।

यस्तो स्थितिमा त्यो व्यक्ति जो सन् २०१४ र सन् २०१९ मा नरेन्द्र मोदीलाई चुनौति दिन असफल भएका छन्, उनी सन् २०२४ मा सफल हुन सक्दछन् भन्ने के आधार छ ?

सन् २०१३ को जनवारीमा त्यतिखेर कांग्रेस सत्तामै थियो, मैले कोलकत्ताको टेलिग्राफका लागि कांग्रेस पार्टीको उत्तराधिकारबारे एक स्तम्भमा लेखेको थिए । उनी राजनीतिमा आउनुको उनको करिअरबारे समीक्षा गर्दै मैले लेखेको थिएँ– राहुल गान्धीको बारेमा भन्न सकिने असल कुरा यो हो कि उनी एक सफा हृदयका नौसिकारु हुन् । राहुलले अहिलेसम्म प्रशासनिक क्षमताको कुनै संकेत दिएका छैनन् । ठूला र महत्वपूर्ण जिम्मेवारीप्रति रुचि देखाएका छैनन् । गम्भीर सामाजिक समस्या समाधान गर्ने उनमा न ऊर्जा छ न समर्पण ।

मैले त्यो लेख लेखेको साढे सात वर्ष बितेछ । आज पनि राहुल गान्धी राजनीतिका उस्तै नवसिकारु लाग्दछन् । उनको नवसिकारुपनको सबैभन्दा ठूलो प्रमाण यही हो कि उनी अहिले पनि धाराप्रवाह हिन्दी बोल्न सक्दैनन् । तर पनि उनले उत्तरप्रदेशबाट तीनपटक सांसद जिते । बहुसंख्यक भारतीयहरु जुन भाषा बोल्दछन्, त्यस भाषामा वाक्पटुताको अभाव सन् २०१४ र सन् २९१९ को चुनावमा उनको पार्टीको खराब प्रर्दशनको एक कारण हो ।

राहुलको लरबराउने हिन्दी नरेन्द्र मोदीको भाषामाथिको पकडभन्दा ठीक उल्टो हुन्छ । तर यति मात्र कारणले उनी कांग्रेसलाई जिताउन असफल भएका हैनन् । यसमा राहुलको प्रशासनिक अनुभवको कमी र परिवारवादको पाँचौं पुस्ता हुनुको कमजोरी समेत जोडिएको छ ।

राहुल पूर्व प्रधानमन्त्रीका छोरा, नाति र पनाती हुन । यो अधिकांश भारतीयहरुको नजरमा उनको लागि अब लाभको बिषय हैन । भारतीयहरुको धारणा अब हिजोको ठाउँमा छैन । जन्म, वंश र परिवारका आधारमा गरिने दाबीप्रति भारतीयहरुमा तीव्र मोहभंग भइरहेको छ ।

राहुल जब सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गरेको कुरा उठाउँछन्, सत्तारुढ दलले तुरुन्तै उत्तर फर्काउँछन्, इमरजेन्सीमा इन्दिरा गान्धीले के गरेकी थिइन् नी ? राहुल नाजवाफ हुन बाध्य हुन्छन् । राहुल जब भारतीय क्षेत्रमा चिनियाँ सैनिकको घुसपैठको मुद्दा उठाउँछन्, तुरुन्तै जवाफ फर्किन्छ– सन् १९६२ को युद्धमा जवाहरलाल नेहरुले आत्मसमर्पण गरेका थिएनन् ? यस्तो बोझ धान्न राहुललाई गाह्रो छ ।

सन् २०१९ को चुनावमा राहुलले एक गम्भीर गल्ती गरे । उनले ‘चौकीदार चोर है’ को नारा लगाए । प्रधानमन्त्री मोदीको व्यक्तिगत इमान्दारीलाई आफ्नो पार्टीको केन्द्रीय चुनावी मुद्दा बनाए । यो निक्कै ठूलो गल्ती थियो भन्ने लाग्छ । बरु उनले सन् २०१४ मा वाचा गरिएको ‘अच्छे दिन कहाँ गए’ नारा बनाएको भए राम्रो हुन्थ्यो ।

सोनिया र राहुल गान्धीलाई यस्ता चापलुसहरुको समूहले घेरेको छ कि उनीहरु बर्षौदेखि गान्धी परिवारप्रतिको बफादारिताको कारण विना क्षमता राज्यसभाको सीट र पार्टी महासचिवको पद पड्काउँदै आएकाछन् । उनीहरु बारम्बार त्यही भन्छन्– सोनिया वा उनका छोराछोरीले नेतृत्व नगर्ने हो भने कांग्रेस पार्टी नै रहँदैन ।

यदि आज कांग्रेसको नेतृत्व कोही गैर गान्धी–नेहरु परिवारको सदस्यको हातमा हुन्थ्यो भने जवाहरलाल, इन्दिरा वा राजीवका वास्तविक वा कथित गल्तीहरु उड्केर मानिसहरुको ध्यान भड्काउन सजिलो हुने थिएन । त्यसैले भारतीय लोकतन्त्रको व्यापकतम् हितलाई हेर्ने हो भने विक्षपी दलको मूल नेतृत्वमा कोही गैरनेहरु हुन आवश्यक छ ।

यदि कांग्रेसको नेतृत्वमा वर्तमान महामारी र आर्थिक संकटबारे कडा सवाल गर्न सक्ने, धाराप्रवाह हिन्दी बोल्न सक्ने, चीनको सामुन्ने कमजोर देखिने बिषयमा चुनौति दिने, आफ्नो उद्देश्यप्रति कठोर र नियमित काम गर्ने क्षमता भएको व्यक्ति हुने हो भने काँग्रेस पार्टीको चुनावी प्रदर्शन निक्कै राम्रो हुन सक्दछ ।

मैले राहुललाई एक असल मनसाय भएको नवसिकारु भनेको थिए । त्यस बाहेक उनका अर्को एउटा कमजोरी छ । गान्धी–नेहरु परिवारका उनी मात्र एक त्यस्ता सदस्य हुन् जो अधिकारलाई लिएर दुविधाग्रस्त र विरोधाभाषी छन् । उनकी आमा र बहिनी दुवै वंशप्रति कट्टर छन् । प्रियंका बारम्बार भन्छिन् कि म इन्दिरा गान्धी की नातिनी हुँ ।

प्रियंकाले यसो भन्दा मान्छे उल्टै चुप हुन्छन् । कांग्रेस पार्टी र देशका लागि सोनिया गान्धीको योगदान कुनै मानेमा कम छैन । कांग्रेसका लागि सोनियाको समर्पणमा म शंका गर्दिनँ । तर, राहुल यी बिषय खासै उठाउँदैनन् । यस बिषयमा राहुल आमा र बहिनी भन्दा फरक छन् ।

म कांग्रेसको वंशवादी संस्कृतिको दुई दशकदेखि आलोचक रहँदै आएको छु । म फेरि एकपटक वंशवादको कटु आलोचक हुन चाहन्छु । किनकी आज यसको झन धेरै आवश्यकता छ ।

प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीले भारतलाई धेरै हानी पुर्‍याएका छन् । उनी र उनको सरकारले हाम्रो अर्थतन्त्रलाई निक्कै कमजोर बनाएको छ । हाम्रो समाजलाई उनले विभाजित गरिदिएका छन् र दुनियाँको आँखामा हामीलाई निम्नकोटीको समाज बनाई दिएका छन् ।

जो मान्छे भारतको नैतिक, राजनीतिक तथा आर्थिक पुनर्जागरणको आशा गर्दछन् उनीहरुले सन् २०२४ को चुनावबाट मोदी र उनको पार्टीलाई हटाउने बाटोबारे सोच्नै पर्छ । तर उनै नवसिकारु फेरि पनि विपक्षी दलको नेता रहे भने मलाई लाग्दैन कि परिणाम बद्लिन्छ ।

(गुहा प्रसिद्ध भारतीय इतिहासकार हुन् । उनको यो आलेख अमरउजालाबाट अनुवाद गरिएको हो)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay