scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

जमीन कि रोजगारी ?

घनश्याम पाण्डे

सरकारले भूमिसम्बन्धी समस्या समाधानको लागि आयोग गठन गरी सुकुम्बासी तथा अव्यवस्थित बसोबास एवम् खेतीपातीजस्ता समस्यामाथि आफ्ना काम कारबाही अगाडि बढाउँदै गर्दा सामाजिक सञ्जालमा विभिन्न विचार तथा प्रतिक्रिया आइरहेका छन् ।

मुलुकमा विगतमा पनि विभिन्न यस्ता आयोग गठन भई भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण भए । शुरुमा त्यस्ता जग्गा बिक्री गर्न नपाइने शर्त राखिए पनि कालान्तरमा जग्गा बिक्री हुन थाले । अनि फेरि भूमिहीन ।

हाम्रो मुलुकको समस्या भूमिहीनको होइन, भूमि उपयोगिताको हो । भूमिहीन तथा सुकुम्बासीलाई भूमिको स्वामित्व दिँदैमा समस्या समाधान देखिँदैन । प्रमुख समस्या चाहिँ रोजगारी तथा दैनिक गुजारा (गास, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा) सँग जोडिएको छ ।

जग्गा-जमीन भएकाहरू पनि जग्गा बेचेर/धितोमा ऋण लिएर रोजगार, शिक्षा, स्वास्थ्य आदिको लागि विदेश गएको दृष्टान्त प्रशस्तै छन् । यसर्थ, हाम्रो समाज/मुलुकमा अहिलेको टड्कारो समस्या भनेको आफ्नो स्वामित्वमा जमीन नहुनु होइन, जमीनको स्वामित्व सरकार/प्राधिकरणको नाममा होस्, सरकार/राज्यका निकायले रोजगार एवम् दैनिक आवश्यकता पूर्ति हुने कार्यक्रम ल्याउनु जरुरी देखिन्छ ।

सरकारले भूमि वितरण गर्नुभन्दा वितरण गर्न लागिएका जमिनहरुलाई एउटा बलियो भूमि प्राधिकरण/बैंक गठन गरी स्वामित्वमा राखी आवास, उद्योग, कृषि, व्यापार, गोदामजस्ता प्रयोजनअनुसार निश्चित अवधिका लागि न्यूनतम दस्तुर तोकी भोग गर्न दिने र प्रत्येक परिवारमा कम्तीमा औपचारिक रोजगारी उपलब्ध गराउने गरी नीति लिनु उपयुक्त हुन्छ । भूमिहीन तथा सुकुम्बासी भन्दै भूमि वितरण गर्दै गर्दा यो समस्या समाधान हुने देखिँदैन, किनभने भूमि प्राप्त गर्ने अभिलाषा बोकेका भुस्वामीहरु पनि तथ्य लुकाएर सुकुम्बासी भइदिने गरेको गुनासो पनि यसअघि प्रशस्तै सुनेकै हो ।

भूमि वितरण समाधान होइन । उद्यम गर्न चाहनेलाई भूमि प्राधिकरणले न्यून शुल्कमा अवधि तोकि दिने व्यवस्था गर्ने, आवास क्षेत्र तोकी आवास नभएकाहरुलाई पनि अवधि तोकि दिने स्वामित्व नदिने गर्दा विसङ्गतिहरु उत्पन्न नहुने र गास बासको समस्या हल हुने देखिन्छ ।

माथि उल्लेखित अवधारणालाई व्यापकरुपमा अध्ययन गरी नीतिगत रुपमा अगाडि बढाउन सुझाव गर्दछु ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay