scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

चीनले ‘सांस्कृतिक क्रान्ति’लाई ‘गल्ती’ मात्र होइन, अब ‘बर्बादीको युग’ भन्ने

काठमाडौं, २१ भदौ । चीन सरकारको शिक्षा मन्त्रालयले माध्यमिक विद्यालय तहको इतिहासको पाठ्यक्रममा ‘सांस्कृतिक क्रान्ति’ लाई विश्लेषण गर्ने दृष्टिकोणमा परिवर्तन गरेको छ । द साउद चाइना मोर्निङ पोष्टका अनुसार सन् २०२० को पाठ्यक्रमसम्बन्धी अनलाईनपोष्टमा यस्तो परिवर्तन देखिएको हो ।

सन् १९७८ यता सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले ‘सांस्कृतिक क्रान्ति’लाई ‘गल्ती’ भन्ने गरेको थियो । नयाँ पाठ्यक्रमहरुमा यसलाई ‘बर्बादी’ भनिएको छ । नयाँ पाठ्यक्रममा– ‘सांस्कृतिक क्रान्ति केही पार्टी नेताहरुद्वारा प्रायोजित रुपमा भड्काइएको नागरिक उपद्रव थियो जसले देश र जनताका लागि गम्भीर विपत्ति सृजना गर्‍यो’ भनिएको छ ।

सन् १९८१ को पार्टी अधिवेशनमा देङ सियाओ पिङले सांस्कृतिक क्रान्तिको युगलाई नयाँ ढंगले विश्लेषण गरेका थिए । सन् १९७८ अघि चिनियाँ कम्युनिष्ट पार्टीले सांस्कृतिक क्रान्तिलाई ‘महान क्रान्ति’ भन्ने गरेको थियो । देङले त्यसको साटो ‘महान गल्ती’ भन्न थालेका थिए । नयाँ पाठ्य पुस्तकमा भने ‘गम्भीर बर्बादी’ भनिएको छ ।

वर्तमान पार्टी महासचिव तथा राष्ट्रपति सि जिङ पिङको उदयपछि सांस्कृतिक क्रान्तिलाई अझ कठोर ढंगले आलोचना गर्न थालिएको थियो । गत वर्ष सिन्ह्वाको एक सम्पादकीयमा ‘सांस्कृतिक क्रान्तिलाई कुनै पनि कोण, परिभाषा र अर्थमा क्रान्तिकारी र समाज उपयोगी थियो भन्न सकिँदैन’ लेखिएको थियो ।

सिन्ह्वा रिपोर्टर गु वाङमिङले यसलाई ‘निक्कै महत्वपूर्ण परिवर्तन’ भनेका छन् । उनका अनुसार यो परिवर्तनले ‘नयाँ पुस्ता र जनसाधारणमा रहेको इतिहासबारे को भ्रम चिर्न’ मद्दत गर्ने छ ।

सांस्कृतिक क्रान्ति ‘जनवादी गणतन्त्र चीन’ को संस्थापक नेता माओत्से तुङको नेतृत्वमा सन् १९६६–१९७६ सम्म एक दशक चलेको एक बृहत्त राजनीतिक अभियान थियो । सन् १९४९ मा चीनमा कम्युनिष्ट पार्टीले सत्ता प्राप्त गर्नुलाई ‘जनवादी क्रान्ति’ भनिएको थियो । ‘निरन्तर क्रान्ति’ को सिद्धान्तअनुसार माओले अर्को क्रान्तिका रुपमा ‘सांस्कृतिक क्रान्ति’को आव्हान गरेका थिए ।

सत्तारुढ पार्टी आफैंले आफ्नै सरकारविरुद्ध क्रान्तिको घोषणा गरेको यो विश्व राजनीतिको इतिहासकै एक अनौठो घटना थियो । यो क्रान्तिले सत्तारुढ कम्युनिष्ट पार्टीको नेतृत्व समूह दुई भागमा विभाजित भएको थियो । राष्ट्रपति सि साओचीलाई अपदस्थ गरिएको थियो ।

चिनियाँ जनमुक्ति सेना सरकारी सेनामा परिणात भइसकेको सन्दर्भमा माओको नेतृत्वमा पार्टीले ‘रेड गार्ड’ भन्ने जनमिलिसिया गठन गरेको थियो । यसका क्रियाकलापलाई जनमुक्ति सेनाले बेवास्ता गर्ने गरेको थियो ।

माओले लि स्याओ ची र देङको समूहलाई ‘बुर्जुवा हेडक्वार्टर’ को संज्ञा दिएका थिए । साथै ‘बुर्जुवा हेड क्वार्टरमा बम बर्साउँ’ भन्ने नारा लगाएका थिए । ‘रेड गार्ड’ले देशभरि मन्दिर, गुम्बा र पुरातात्विक महत्वका धार्मिक स्थलहरु भत्काएको थियो । घरघरमा पुजा कोठाबाट बुद्ध र कन्फुसियसको फोटोहरु उतारेर माओको फोटो राख्ने अभियान चलाइएको थियो ।

चिनियाँ सरकारमा लि र देङ समूहको महत्वपूर्ण भूमिका भए पनि पार्टीको अध्यक्ष माओत्से तुङ नै थिए । उनले पार्टीभित्र नयाँ सहयोगी समूह गठन गरेका थिए जसलाई ‘ग्याङ अफ फोर’ भनिथ्यो । त्यसमा माओकी कान्छी श्रीमती तथा त्यो समयकी चर्चित सिने नायिका चियाङ चिङ पनि थिइन् ।

रक्षामन्त्री लि प्याओलाई माओका मुख्य सहयोगीका रुपमा हेरिएको थियो । सरकारमा रहेका लिन प्याओले साथ नदिएको कारणले लि–देङ समूह कमजोर भएको र जनमुक्ति सेनाले रेड गार्डका गैरकानुनी क्रियाकलाप विरुद्ध कुनै कार्वाही नगरेको विश्वास गरिन्थ्यो ।

लि प्याओ एक हवाई दुघैटनामा मारिएका थिए । त्यसपछि सन् १९७२ मा ग्याङ आफ फोरले सत्ता हत्याएका थिए । सन् १९७६ मा ग्याङ आफ फोर गिरफ्तार भएपछि सांस्कृतिक क्रान्ति समाप्त भएको मानिएको थियो । पछि चियाङ चिङले जेलमा आत्महत्या गरेकी थिइन् । सांस्कृतिक क्रान्तिमा करिब १७ लाख मानिस मारिएको अनुमान गरिन्छ ।

सन् १९७८ मा देङ सियायो पिङ नयाँ शक्तिशाली नेताका रुपमा उदाएका थिए । उनले चिनियाँ कम्युनिष्ट पार्टी र राज्यलाई ‘सांस्कृतिक क्रान्ति’ पक्षधरहरुबाट मुक्त गरेका थिए । चिनियाँ कम्युनिष्ट पार्टीभित्र ‘र्याडिकल्स’ र ‘रिफर्मिष्ट’को विभाजन रेखा कोरिएको थियो ।

वर्तमान राष्ट्रपति सि जिङ पिङ ‘रिफर्मिष्ट’ लाइनका नेता हुन ।

तर देङले पार्टीभित्र माओत्से तुङको योगदान र विरासतलाई कायमै राखेका थिए । चिनियाँ कम्युनिष्ट पार्टीले अहिले पनि ‘माओ विचारधारा’ लाई मार्गदर्शक सिद्धान्त मान्दछ । तर सांस्कृतिक क्रान्ति भने माओको ‘महाभूल’ थियो भन्ने ठान्दछ ।

पछिल्ला घटनाक्रमलाई सि जिङ पिङ ‘सांस्कृतिक क्रान्ति’ प्रति देङभन्दा अझ कदम अघि बढेर कठोर आलोचक हुन थालेको संकेतका रुपमा हेरिएको छ ।

सन् १९८१ को पार्टी दस्तावेजमा ‘सांस्कृतिक हाम्रो पार्टीको एक उग्रबामपन्थी भूल थियो, त्यो गलत बाटोबाट सच्चिएर अब हामी सही बाटोमा फर्किनु पर्दछ’ भनिएको थियो ।

विद्यालय पाठ्यपुस्तकमा सांस्कृतिक क्रान्तिलाई ‘महा बर्बादी’ भनिएको बारे गु वाङमिङले भनेका छन्– ‘साँचो इतिहास सधै लुकाउँन सकिँदैन तर यो कदम अझै पर्याप्त छैन । सत्य विस्तारै इतिहासले पुनर्स्थापित गर्नेछ ।’

(द साउद चाइना मोर्निङ पोष्टमा प्रकाशित लिन्डा लिउँको रिर्पोटमा आधारित)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay