scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

समाधानले निम्त्याएको समस्याको लहरो

दिवस खनिया

समस्या: कोरोना भाइरस
अबलम्बन गरिएको समाधानको उपाय: निषेधाज्ञा/लकडाउन/कर्फ्यु

समाधानले निम्त्याएको समस्याहरु: आर्थिक असमानता, आत्महत्या, हिंसा, भोकमरी, खाद्यान्न संकट, घरेलु हिंसा, गरिबी, मानवीय संकट, शैक्षिक संकट, मानसिक तनाव, बेरोजगारी आदि ।

यो हो अहिलेको समस्या समस्या र त्यसको नियन्त्रणका लागि हामीले अवलम्बन गरिएको समाधानको उपायले निम्त्याएका समस्याहरु।

अहिले प्राय: जिल्लाहरुमा निषेधाज्ञा छ । यो पनि हो कि कोरोना संक्रमितको सङ्ख्या दिन-प्रतिदिन बढिरहेको पनि छ भने मृत्यु हुनेको संख्या पनि दैनिक १०-१५ जना पुगिसकेको छ । मुलुक संकटमा अवश्य छ । तर हामीले कोरोनाबाट जोगिन अथवा नियन्त्रण गर्न अवलम्बन गरेको उपाय नै अन्तिम उपाय हो त ? हामीले अवलम्बन गरेको समाधानको उपायले समस्याहरु कति उत्पन्न भएका छन् ? समाधान खोजी रहँदा हामी झन समस्या त निम्त्याउँदै छैनौं ? यतातिर नसोच्ने हो अब पनि ?

कोभिड-१९ बाट जोगिन खास कठिन केही छैन । सामान्य कुराहरुलाई ठीक ढंगले अनुसरण गर्न एवम् गर्न लगाउनु नै मुख्य चुनौति हो । कोरोना फैलिन सक्ने सम्भाव्य जोखिम क्षेत्र खासगरी वर्कसप, तरकारी तथा फलफूल बजार, मासु एवम् दूध डेरी पसल, बैंकिङ क्षेत्र, डिपार्टमेन्टल स्टोर्स तथा मलहरु साथै भिडभाड हुने सरकारी कार्यालयहरु नापी, मालपोत, कर कार्यालय एवम् छाता संगठनहरुको समन्वयमा सबै व्यवसायिक संघसंस्थाहरु लगायत सबैले सुरक्षाका आवश्यक सम्पूर्ण मापदण्ड पालना गर्ने र कडाईका साथ पालना गर्न लगाउने गरिनु पर्दछ ।

दिवस खनिया

त्यसैगरी आम समुदायको हकमा प्रत्येक वडाको संयोजनमा वडामा, महानगरस्तरीय, पालिकास्तरीय एवं जिल्लास्तरीय विभिन्न सरोकारवाला पक्षहरु, स्थानीय प्रशासन, प्रहरी, स्वास्थ्य, रेडक्रस, टोल विकास, आमा समूह, स्थानीय समाजसेवी एवं नागरिक अगुवा, राजनीतिक पार्टीहरुको स्थानीय कमिटीको समन्वयमा नागरिक निगरानी समिति गठन गरी सार्वजनिक स्थानमा भिडभाड हुन नदिने, ठिक ढंगले मास्क लगाउन सिकाउने, सामाजिक दूरी कायम राख्ने, मास्क किन्न नसक्ने वर्गलाई निःशुल्क वितरणको प्रबन्ध मिलाउने, अनुहारमा हात नलैजाने, कुनै वस्तु छुनासाथ वा बेलाबेलामा सेनिटाइजर प्रयोग गर्ने, राम्रोसँग मिचिमिचि हात धुने लगायतका सामान्य लाग्ने कृयाकलापहरुलाई सबैले ठीक ढंगले आत्मसात गर्ने र गर्न लगाउने नै आजको मुख्य आवश्यकता हो ।

तसर्थ नागरिक निगरानी समितिले देख्दा सुन्दा सामान्य लाग्ने तर मानव जीवनका निमित्त अत्यन्तै महत्वपूर्ण ठानिने सुरक्षाका मापदण्डहरुलाई जनसमुदायमा कडाइका साथ लागू गराउन र सोको नियमित अनुगमन गरी लापरवाही गर्ने, हेलचक्रयाई गर्नेलाई सम्झाई बुझाई गर्ने र अटेर गर्नेलाई कानून बमोजिम कडा कारवाही गर्न सिफारिस गर्ने र कानून कार्यान्वयन गर्ने निकायले आवश्यक कारवाही गर्ने प्रबन्ध गर्नु नै कोरोना भाइरसबाट बच्ने र बचाउने उपाय हो भन्ने लाग्छ ।

धेरै जनसमुदाय सचेत भएर सुरक्षा मापदण्ड पालना गरेको देखिन्छ । यद्यपि नाथे कोरोना केही पनि होइन भन्ने सानो जनसमूहलाई बढी निगरानी गर्दै आम जनसमुदायमा सचेत गराउनु पर्ने चुनौति पनि देखिएको छ । नागरिक निगरानी समितिलाई चुस्तदुरुस्त बनाई परिचालन गर्न सकिएमा धेरै हदसम्म महामारी फैलिनबाट रोक्न सकिन्न ।

अन्त्यमा, तिनै तहका सरकारबीचमा बलियो समन्वय निर्माण गरी जोखिम क्षेत्रका नागरिकको पहिचान, परीक्षण र उपचारमा केन्द्रित हुनु नै मुख्य विषय हो । विश्व स्वास्थ्य संगठनको भनाईलाई मान्ने हो भने कोभिड १९ नियन्त्रण हुन कम्तिमा दुई वर्ष लाग्नेछ । तसर्थ जबसम्म छिमेकी देश भारतमा यो भाइरस नियन्त्रणमा आउँदैन, जे जस्तो अवस्थामा पनि भारतबाट मानिसहरु आइरहन्छन् तबसम्म नेपालमा कोरोनाबाट पूर्णरुपमा मुक्त हुन कठिन हुन्छ ।

प्रदेश स्तरीय एक हजार शैयाको कोरोना उपचार गर्ने हस्पिटल बनाउन अत्यन्त आवश्यक देखिएको छ । प्रदेशको अगुवाइमा केन्द्रको सहयोग र सबै स्थानीय निकायको साथमा कोरोना लागेका नागरिकको उपचारको निम्ति कम्तिमा एक हजार शैयाको हस्पिटल बनाउन तुरुन्त लागिहाल्नु पर्दछ । यसमा किञ्चित द्विविधा गर्नु हुँदैन ।

तसर्थ, सुरक्षा मापदण्ड अपनाउँदै आफनो दैनिकी क्रियाकलापमा केन्द्रित रहँदै गर्दा अर्थतन्त्र चलायमान भई नागरिकको समस्या पनि केही हदसम्म समाधान हुँदै जाने एवं राज्यलाई कर पनि उठ्ने र बिमारी भइहालिएको खण्डमा उपचार पनि पाइने विधि नै कोरोनासँग लड्ने अमुक हतियार हुनेछ । भोको पेटमा घरभित्र थुनिएर कोरोनासँग लड्न त सकिएला तर युद्ध जितिंदैन । तसर्थ, अनुशासित भई उच्च मनोबलका साथ आफना दैनिकी नियमित सञ्चालन गरेर मात्रै कोरोनालाई पराजित गर्न सकिन्छ । तब मात्र रोगले भन्दा भोकले मर्ने अवस्था आउने छैन ।

(लेखक खनिया सामाजिक अभियान्ता तथा टेलिभिजन कार्यक्रम निर्माता हुन्)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay