scheduleमगलवार आश्विन १३ गते, २०७७

कोरोना परास्त गर्न चिनियाँ नागरिकबाट के सिक्ने ? केही अनुकरणीय उदाहरणहरू

डा. रामचन्द्र लामिछाने

कोराना भाइरस पत्ता लागेपछि वुहानको जनजीवन अस्तव्यस्त भएको थियो । २ हप्ता भईसक्दा कोरोना सुनिश्चित भएका केशहरु लगातार बढिरहेका थिए । वुहानका अस्पतालहरुमा भिडभाड थियो । जनमानसमा सन्त्रास थियो । मानिसहरु घरभित्र नै थुनिएका थिए । बिस्तारै जनजीवन असहज भइरहेको थियो ।

सरकार यस समस्याबाट पार पाउन हरसम्भव प्रयास गरिरहेको थियो । सरकार, नागरिक, जनसमुदाय एक भएर यस महामारीविरुद्ध लडिरहेका थिए । यस लडाईंमा कुन अस्त्रले के काम गर्दछ भन्ने सबैमा अन्यौलता थियो । लकडाउन बिस्तारै शुरु भएको थियो । संसारभरीका सञ्चारमाध्यमहरुले कम वास्तविकता, बढी अडकलबाजी र नकारात्मक कोणबाट समाचारहरु सम्प्रेषण गरिरहेका थिए । मानौं, सञ्चार जगतको काम नै अवस्थाको नकारात्मक चित्रण गरेर मानिसहरुलाई निराश तुल्याउन हो र बाँच्ने हिम्मत सिध्याउनु हो ।

कोरोनाको कारण भन्न्दा धेरै गुणा समाजमा सञ्चार माध्यमहरुले नैराश्य फैलाएका छन् । जतिबेला वुहानमा भाइरस संक्रमणको खबरहरु प्रसारित भएका थिए, नेपालीहरू त्यहाँ अध्ययनरत विद्यार्थीहरूको बारेमा चिन्तित थिए । विभिन्न देशहरूले आफना नागरिकहरूलाई उद्धार गरेपछि नेपाल सरकारले पनि स-सम्मान नेपाली नागरिकहरूको उद्धार गरेर कोरोनाप्रति नेपाली समाज सजग र सरकार संवेदनशील रहेको उत्साहजनक सन्देश प्रवाह गरेको थियो ।

वुहानको संकट समाधान गर्न चिनियाँ सरकारको आव्हानलाई हर नागरिक र सबै प्रकारका संघसंस्थाहरूले अत्यन्तै जिम्मेवारीकासाथ साथ दिए र संसारलाई आक्रान्त पारिरहेको भाइरसलाई उनीहरूले भने मुहानमा नै सीमित बनाइदिए । वुहानमा कोरोनाको पुष्टि भएपछि एकप्रकारको हाहाकार सिर्जना भयो भने अन्तराष्ट्रिय स्तरमा चीनको बारेमा निकै नकारात्मक टिप्पणीहरू भए । विश्वभरी चीनको नकारात्मक छवि निर्माण हुन सक्छ भन्दै चिनियाँ सञ्चार माध्यमहरू र नागरिकहरूले चीनमा भइरहेका प्रयासहरू सार्वजानिक गरिरहे । राष्ट्रको गरीमा कायम राख्न नागरिकहरूले संसारभरी फैलिएका आफ्ना नीजि सञ्जालहरूलाई पनि प्रयोग गरेर निरन्तर जानकारी गराइरहे ।

मलेसियामा डा. लामिछानेसँग चाङ

 

एक दिन एशिया इन्स्टिच्युट अफ ब्रोडकास्टिङ एण्ड डेभलेभमेन्ट मलेसियाका सेवा निवृत्त निर्देशक मित्र चाङ जिनले वि चाटमा सन्देश पठाउँदै चीनमा के भइरहेको छ र कसरी चिनीया सरकार, नागरिक, डाक्टर, नर्स, व्यापारीक समुदायहरूले सहकार्यमा काम गरिरहेका छन् भन्ने बारेमा पत्रकार लिले तयार गरेका अंग्रजी समाचारहरू सम्प्रेषण गरेर मेरो नीजि सामाजिक सञ्जाल तथा वेभसाइटमा पोस्ट गर्न अनुरोध गरे । उनको त्यो अनुरोधले संकटको बेला एक नागरिकले कसरी देशको पक्षमा काम गर्न पर्दोरहेछ र त्यो कति महत्वपूर्ण हुँदोरहेछ भन्ने महशुश गरायो । त्यसभन्दा पनि चिनियाँहरूको देश, नागरिक र देशको इज्जत प्रतिष्ठाको बारेमा सोच्ने शैली देखेर गज्जब लाग्यो र त्यसलाई अनुकरण गर्न मन लाग्यो ।

मित्र चाङको अनुरोध स्विकार गर्दै मैले सबै कथाहरू मेरो सामाजिक सञ्जाल र वेब साइटमा पोस्ट गरे जुन धेरै मित्रहरूले हेर्न सक्नु भयो । अहिले नेपालको अवस्था निकै दयनीय भएको र कोरोनाको बारेमा सरकारका प्रयासहरूलाई निकै नकारात्मकरुपमा प्रस्तुत गरिएका, नागरिकहरूले निकै हल्का तरिकाले यसलाई लिएको र जिम्मेवार निकायले निकै हचुवा तालमा यस सम्बन्धि रणनीतिहरू बनाएको अवस्थामा शुरुकै अवस्थामा चीनमा गरिएका प्रयासहरूको भावानुवाद गर्दै व्याख्या गर्न प्रयास गरेको छु । आशा छ- यसबाट नेपाली पढ्ने र बुझ्नेहरूलाई त्यहाँको अनुभव जान्ने अवसर मिल्नेछ ।

एक जना ५५ वर्षीय वृद्धलाई पहिलोपटक नोभेम्बर १७ मा कोरोना भाइरस देखिएपछि यो फैलिएको थियो । जतिबेलै चिनियाँहरू बसन्त ऋतुको चाड मनाउने तयारी गर्दै थिए तब यो भाइरस विद्युतीय रफ्तारमा फैलिँदै थियो र चिनियाँ जनजीवनलाई अस्तव्यस्त बनाउँदै थियो । यो भाइरसको प्रकृति नयाँ भएको र उपचार पद्धति पत्ता नलागिसकेको अवस्थामा चिनियाँ बैज्ञानीक डाक्टरहरूले विभिन्न परीक्षण गरिरहेको अवस्थामा यसको सरुवा गति नियन्त्रण गर्न लकडाउन विधि अपनाउन सरकारलाई सिफारीस गरियो र २३ जनवरी २०२० मा चिनियाँ सरकारले र लकडाउन घोषणा गरेर उच्च सावधानी अपनाउन नागरिकहरूलाई आव्हान गर्‍यो । नागरिकहरूले लकडाउनलाई पालना गर्दै संकट समाधान गर्न सरकारको होस्टेमा हैंसे गरिनै रहे ।

बजार ठप्प थियो । जनजीवन गुजारा गरिरहेको थियो । वुहानको मेरियट होटल होन्कुमा बेइजिङ र संघाइबाट आएका ४०० जना डाक्टर र नर्सहरू बसेर स्थानीयहरूलाई सेवा दिइरहेका थिए ।

होटलमा बसेका डाक्टर र नर्सहरूलाई खुवाउन तरकारीको अभाव भइसकेको थियो । लुनार नयाँ वर्षको तेस्रो दिनमा एकजना किसान तीन चक्के टेम्पु चढेर आएर र होटलका कर्मचारीहरूलाई सोधे- ‘यहाँ डाक्टर र नर्सहरू बस्नु भएको छ अरे । मैले वहाँहरूको लागि आफ्नै बारीमा उमारेको २४ कार्टुन तरकारी लिएर आएको छु कृपया राख्नुहोस् न ।’

होटलका कर्मचारीहरूले तरकारी लिएर जब पैसा दिन खोजे तब किसान भावुक मुस्कानका साथ भने, ‘मैले यो बिक्री गर्न ल्याएको होइन । आफ्नो ज्यानको प्रवाह नगरी हामी चिनियाँ जनताको स्वास्थ्य उपचारमा संलग्न ती महान डाक्टर र नर्सहरूलाई सम्मानस्वरुप ऐक्यबद्धता गर्न ल्याएको हुँ । मलाई पैसा चाहिँदैन । यो उहाँहरूले खाइदिए पुग्छ । यस्तो चारैतिर निराशाले गाँजेको बेलामा वहाँहरूको प्रयासले जीवनप्रति भरोसा जागेको छ ।’

उनको कुरा सुनेर होटलका कर्मचारीहरू भावुक हुन्छन् । अत्यन्त हार्दिकताका साथ उनको बिदाई गर्दछन् । ती ग्रामीण किसानको चेतना, मानव समुदाय र आगामी पुस्ताप्रतिको जिम्मेवारी र समाजप्रतिको जवाफदेहिता नेपाली समाजको लागि निकै अनुकरणीय छ । जातीय, क्षेत्रिय तथा लैंगिक पक्षधरतामा बाँच्न चाहने हामी नेपालीहरू ती महान चिनियाँ किसानको अगाडि पुड्को भएको अनुभूति भयो ।

जालझेल तिकडम गरेर शहरमा तीन चार आना जग्गामा घर बनाएर घरमालिक भएका र डाक्टर र नर्सलाई कोठाबाट निकाल्ने हाम्रा दाजुभाइहरूप्रति टिठ लागेको छ । महानगरका बासिन्दा भएर ग्रामिणबासीहरूलाई धाक लगाउनेहरूले डाक्टरको घर र संक्रमितलाई गरेको व्यवहारलाई त घृणा गर्न पनि लायक रहेनछ । यस्तो महामारीमा कृत्रिम अभाव सिर्जना गरेर महंगी सिर्जना गर्ने व्यापारी नै कोरोनाका नाजायज सन्तान जस्तो लागेको छ ।

जनवरी २ मा नानजीनको सुरक्षा चौकीमा एकजना मानिस पुलिस नजिकै गए । आफनो कारबाट एउटा बक्स निकालेर पुलिसलाई दिँदै भने, ‘यसमा मैले तपाईंहरूका लागि टर्कीबाट केही मगाएको छु कृपया स्वीर्नुहोस् न ।’

जa पुलिसले बाकस खोलेर हेर्छन् उक्त बाकस त एन-९५ माक्सले भरिएको थियो । यो देखेर भावुक हुँदै सोध्छन्, ‘सर तपाईंको नाम के हो ।’

जवाफमा उनी पुलिसतिर हेर्दै एकदम हार्दिकताका साथ भन्छन्, ‘सर म एकजना चाइनिज हुँ मात्र चाइनिज ।’

उनको कुरा सुनेर पुलिस भन्छन्, ‘यस संकटको सामना गर्न तपाईंहरूले देखाउनु भएको हार्दिकता एकदम अनुकरणीय छ । हामी त्यसको उच्च प्रसंशा गर्न चाहन्छौं र चिनियाँ नागरिकलाई हरसम्भव सेवा दिन्छौं । यहाँहरूको यो सदासयताको लागि हार्दिक धन्यवाद ।’

नागरिक र पुलिसको यसप्रकारको सम्बन्ध र प्रहरीप्रति नागरिकको अद्भुत विश्वास नै चिनियाँ शान्ति र सुरक्षाको कडी हो । नेपालमा पनि प्रहरीहरू चौबिसै घण्टा ड्युटीमा हुन्छन् तर नागरिकको विश्वास कति आर्जन गर्न सकेका छन् र प्रहरीको सेवाबाट नागरिक कतिको सन्तुष्ट छन् भन्ने कुरा हाम्रो देशमा हुने विभिन्न घटनाहरूमा देख्न सकिन्छ । चीनको यस प्रकारको सिकाइबाट नेपालले पनि सिक्न सकेमा हाम्रो प्रहरी प्रशासन र नागरिक सम्बन्ध थप मजबुत हुन्छ ।

चाडको रौनक भए पनि वुहान वन्द थियो । प्रायः सबैजसो रेष्टुरेन्टहरू बन्द थिए । स्वास्थ्यकर्मीहरूको लागि खानाको अभाव भैसकेको थियो । एउटा सानो पसल सधैं व्यस्त हुन्थ्यो । यस पसलले दैनिक करिब एकहजार प्याकेट खाना तयार गरेर जीनयीनटान अस्पताललाई सेवा दिन्थ्यो । त्यहाँको खाना त उत्कृष्ट थियो र औसत १६ युवान पर्दथ्यो जुन त्यहाँको बजार भाउ भन्दा निकै सस्तो थियो ।

यो खाना कसरी यति सस्तोमा आपूर्ति गर्न सक्नु भयो भन्दा त्यस पसलकी साहुनीले टाउको कन्याउँदै भनिन्, ‘यहाँको खाना सस्तोमा आपूर्ति गर्न हामी घरका सबै सदस्यहरू खटेर काम गर्दछौं । हामी चारघण्टा भन्दा सुत्दैनौं । जब डाक्टर र नर्सहरूले आफ्नो सबै समय हामीलाई दिनुभाको छ भने हामीले पनि त केही गर्न पर्दैन र ? परेको बेलामा हामीले पनि आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु पर्दछ ।’

डा. रामचन्द्र लामिछाने

तर नेपालमा सामfन्य तरकारी पसलदेखि ठूला व्यापायरीले यसै अवधिलाई कमाउने अवसर बनाएको देख्दा हाम्रो समाज कता जाँदैछ र हामी के कुरा प्राप्त गर्न चाहिरहेका छौं भन्ने अनुमान गर्न गाह्रो छैन । सामान्य व्यवहार र आचरण शुद्धता ल्याउन सामान्य प्रयास पनि नगर्ने अनि सरकार, नेता, कर्मचारीलाई दोष लगाएर सभ्य समाज निर्माण हुन सक्दछ ? यस्तो महामारीसँग लड्न सकिन्छ ? अलिकति पनि आफुलाई सचेत भन्ने नागरिकहरूले के कति योगदान दिएका छौं भनेर आफैंलाई सोध्ने बेला आएको छ । जात, नातागोता, पैसा र लोभलालचमा आएर भोट हाल्ने अनि देश र समाजको लागि सिन्को नभाँच्ने नागरिक देशको वरदान हुन सक्दैनन् । त्यसकारण हामीले आफुलाई पनि सोध्न परेको छ- मेरो उपस्थिति यो देशमा वरदान हो की अभिसाप ?

अर्को दिन सामानले भरिएको एउटा मालवाहक ट्रक वुहानमा प्रवेशद्वारबाट भित्र छिर्छ । ड्युटीमा भएकी एकजना युवती ड्राइभरलाई अभिवादन गर्दछिन् र कार्ड दिँदै भन्छिन्, ‘तपाईंको कार्ड यहाँ छ । तपाईंको कडा परिश्रमको लागि हार्दिक आभार । तपाई वुहान आउनु भयो ।’

गाडी केही अगाडी गयो र ट्राफिक प्रहरीले पानीको प्याकेट उठाउँदै भने, ‘सर बाटोमा तपाईंलाई पिउन केही पानी लिनुहोस् ।’
यी शब्दहरू अत्यन्तै सामान्य थिए तर यस्ता कुरा भईरहँदा सबैका आँखा रसाएका थिए । यतिका सामान लिएर आएका ड्राइभरलाई ससम्मान बिदाइ गरिएको थियो । देशको एक शहरमा समस्या परेको बेलामा अन्य शहरबाट स्वस्फुर्त रुपमा सहयोगहरू आदान प्रदान गर्ने संस्कारले समस्यासँग जुध्ने शक्ति प्राप्त हुन्छ र नागरिकहरूले नै समस्या सामाधान गर्न पहल लिन्छन् ।

वास्तवमा पोखरा लगायतका केही शहरमा नागरिकहरूले स्वस्फुर्त रुपमा मजदुर र अलपत्र परेका व्यक्तिहरूलाई खाना खुवाउने सकारात्मक प्रचलन शुरु भएको छ जुन सकारात्मक हो र यसरी देशैभरी एकता र सहकार्य फैलाउन सकेमा मात्रै हामीले पनि संकट समाधान गर्न सक्दछौं ।

बसन्त ऋतुको पर्वको ढल्दो प्रहर, हेनान प्रान्तको सेन्जुका ४२ वर्षीय चाइना कम्युनिष्ट पार्टीका सचिव श्री वाङ गोही ५ टन तरकारी लिएर हुवो सेन सान अस्पताल निर्माण स्थलमा आए र निशुल्क सहयोग गरे । उनले १७ वर्ष वुहानमा सैनिक सेवामा भण्डार अधिकृतको रुपमा काम गरेका थिए । जब महामारीको खबर सुने उनको मनमा खानाको अवस्था के होला भन्ने प्रश्न आयो । त्यसकारण चाडपर्वको प्रवाह नगरी बिहान ५ बजे नै उठेर गाउँका सवै घरमा ढोका ढकढक्याउँदै तरकारी संकलन गर्ने अभियान चलाए ।

करिव २० जनाले उनलाई साथ दिए र हतार हतार तरकारी तयार गरे र जम्मा ५ टन तरकारी जम्मा गरे । हतार हतार उनले ट्रकमा तरकारी राखे र राती ८ बजे चाडको अघिल्लो दिन वुहान आइपुगे । उनी वुहानमा १९९८ को बाढी र २००८ को विपदमा पनि अग्रपंक्तिमा रहेर काम गरेका अनुभवी व्यक्ति हुन् । जब उनले विपत्तिको बारेमा सुने यसमा पनि अग्रपंक्तिमा नगई उनलाई चित्तै बुझेन । एकपटक सेनामा आउनु भनेको सेवा भए पनि नभए पनि सदैव नै देशको सेवाको लागि समर्पित हुनु हो भन्छन् उनी ।

नेपालमा पनि ठूलो संख्यामा भुतपूर्व सेना, प्रहरी, राष्ट्रसेवक कर्मचारीहरूको झुण्ड नै छन् तर उनीहरूको समाजप्रतिको योगदान कति गर्व गर्न लायक छ, त्यो भने प्रश्नवाचक नै छ ।

अधिकांश कर्मचारीहरू ३० वर्ष सेवा गरेको विभाग र निकायको आलोचना गर्नमै व्यस्त देखिन्छन् । आफु सरकारी सेवामा रहँदा चरम कुशासन दिने अनि सेवा निवृत्त भएपछि यस्तो गर्न पर्दछ र यस्तो हुनु पर्दछ भन्ने गरेको देखिन्छ । वास्तवमा नेपाली समाजमा निराशा र नकरात्मकता फैलाउन यो पंक्तिको निकै ठूलो योगदान देखिन्छ । सञ्चार माध्यममा विज्ञको रुपमा बोलाईएका यी भुतपूर्वहरूले अधिकांश समय सरकारको आलोचना गरेर नै बिताउँदछन् । यदि नेपालमा पनि चीनका वाङ गोही जस्तै सेवा निवृत्त कर्मचारीहरूको जमात हुने हो भने हाम्रो समाजले काँचुली फेर्न कतिबेर लाग्छ र ?

जतिबेला चाइनामा महामारी फैलिरहेको थियो चेन सेयुन नेपालको भ्रमणमा थिए । जब उनले सुनिन की उनको शहरमा मास्कको अभाव छ तब औषधि कम्पनीहरूमा सम्पर्क गरेर ५८ हजार मास्क किनिन् । यो वास्तवमा नै निकै कोलाहलपूर्ण अवस्था थियो र उनले आफ्ना कपडा र अन्य सामानहरू छोडेर सुटकेसमा मास्क हालिन् । धेरै मास्क ल्याउन सकियोस् भनेर मास्कको कार्टुन च्यातेर एकएक गरी सुटकेसमा हालिन् । उनले नेपालबाट ४ सुटकेस मास्क लिएर आइन् र डाक्टर तथा नर्सहरूलाई निःशुल्क बाँढिन् । ‘जब महामारी आउँदछ त्यस्तो अवस्थामा मेरा व्यक्तिगत सामान भन्दा औषधि, उपकरणहरू र मास्क धेरै आवश्यक हुन्छन्,’ उनले मास्क वितरण गर्दा मुस्कुराउँदै भनिन् ।

हाम्रो देश जहाँका डाक्टर तथा नर्सहरूले मास्क समेत नपाएर कोरोना जस्तो रोगको उपचार गरेका कथाहरू प्रशस्त सुन्न पाइएको थियो भने डाक्टर र नर्सको लागि ल्याइएका भनेका मास्कहरू पनि राजनीतिज्ञ र कर्मचारीहरूले आफु र आफ्ना आफन्तलाई बाँढेको समाचारले हामीलाई अवाक बनाएको थियो । बारम्बार प्रश्न आउँदछ- हाम्रा यस्तै सोच, आचरण र बानी व्यवहारले हामीले कोरोनालाई परास्थ गर्न सक्छौं त ?

हेनानका टुरिस्ट गाइडले जब वुहानको दयनीय अवस्थाको बारेमा सुने तब वुहान सेफगार्ड स्क्वायड बनाए र थाइल्याण्डबाट ४० बाकस सुरक्षा गाउन खरिद गरी वुहान पठाए । यसले देखाउँदछ चाइनामा भातृत्व, मानवत्व कति छ । यहाँ टोलैपिच्छे भएका मानवअधिकारको नाममा दलाली गर्ने संघ संस्थाहरूले संक्रमितहरू, चिकित्सक, प्रहरीहरूमाथि भएका ज्यादतीका बारेमा न एक शब्द बोल्ने हिम्मत गर्दछन् न त समाजमा व्याप्त भ्रष्टचार र ढिलासुस्तीको विरुद्ध आवाज उठाउदछन् न त त्यस्ता किराहरूलाई बहिष्कार गर्ने आन्दोलनको नेतृत्व नै गर्न सक्दछन् । अनि कसरी समाज र देश उभो लाग्दछ ? के नागरिक समाजको दायित्व हुँदैन ?

बसन्त ऋतु चार्डको पाँचौ दिन, हेनास प्रान्तको लुयोङमा भएको फर्निचर उद्योगले रु २० लाख युआन बराबरको मेडिकल क्याबिनेटको अर्डर प्राप्त गर्‍यो । त्यस कम्पनीका मालिक युआनले यो अर्डर हुवो सेन सान अस्पताल हुवानको लागि हो भन्ने तुरुन्तै पत्ता लगाए । उनले तुरुन्त अर्डर लिए र निःशुल्क ती सामानहरू उपलब्ध गराउने वाचा गरे ।

उनको उद्योगमा स्टोर अभाव भएको कारण उनले यो सन्देश उनको स्थानीय उद्योग संघको च्याट समूहमा पोस्ट गरे । जब उद्योग संघका सदस्यहरूले यो सन्देश देखे । संघका सदस्य उद्योगीहरूले दान गर्न प्रतिस्पर्धा गरे र एक रातमा १४ वटा उद्योगहरूले सबै अर्डरहरू तयार गरे । जब सबै सामानहरू तयार भए त्यही दिन सबै मेडिकल क्याबिनेटहरू अस्पतालमा पुर्‍याइयो । यस संकटमा यी उद्योगीहरूको त्यो तत्परताले चिनियाँ व्यापारिक समूहहरूको देश, नागरिक र समाजप्रतिको जिम्मेवारी र जवाफदेहितालाई दर्शाउँदछ । नेपालमा भने यस संकटको अवस्थामा नागरिकका जीवनसँग खेलवाड गर्ने निजी अस्पताल, मुनाफा कुम्ल्याउन चाहने नीजि विद्यालय, नागरिकका स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचारको र्‍याल काढ्ने सरकारी कर्मचारी र त्यस्ता कर्मचारीहरूको सुरक्षा कवच बन्ने राजनीतिक पार्टीहरू, नागरिक समाज, सञ्चार जगतको कृयाकलापले गर्दा समाज असफलताको मार्गमा हिंडेको प्रष्ट देखिन्छ । यसमा सरकार तथा गैरसरकारी क्षेत्रको सकारात्मक भूमिका कति हुँदो रहेछ समाजको स्थायीत्व र संकटसँग जुध्न भन्ने प्रष्ट हुन्छ ।

हुनान प्रान्तको चान्देका हाओ जीन जो १९९० मा जन्मेका हुन् । उनले १८ हजार सर्जिकल मास्क दान गरे । उनले त्यो मास्क कसरी ल्याए र दान गरे भन्ने कथा पनि विचित्रको छ । गत वर्ष उनि एउटा सर्जिकल मास्क कम्निमा काम गर्दथे । जब त्यस कम्पनीको उत्पादन र व्यापार मन्दी भयो तब कम्पनीले ज्यालाबापत् उनलाई २० हजार युआन बराबरको मास्क दियो । जब जीनले चार्ड पर्वको बेलामा मास्कको अभाव भएको थाहा पाए तब उनले मास्कको आवश्यक भएका व्यक्तिहरूलाई ती मास्कहरू निःशुल्क बाँडे । जब कम्युनिष्ट पार्टीका गाउँ कमिटीका सचिवले उनलाई पैसा दिन चाहे, उनले भने, ‘देश संकटमा भएको बेलामा म पैसा लिन सक्दिनँ । यो नै मैले देशप्रति गर्न सक्ने कर्तव्य हो ।’

घर परिवारमा पैसाको अभाव हुँदाहुँदै पनि उनले संकटको बेला देखाएको यो उदारताले धेरै चिनियाँ युवाहरूको मन जितेको छ । सायद शक्ति र पदको आडमा सरकारी तथा सार्वजनिक सम्पत्तिहरूका ब्रम्हलुट मच्चाउन पल्केका हाम्रो देशका ब्वाँसाहरूलाई यस प्रकारको कथाले नछोए पनि अधिकाँश मेहेनेती र राष्ट्रवादी युवाहरूलाई पक्कै पनि यस्ता कथाहरूले उत्प्रेरणा दिने नै छ ।

पहिलो वृद्ध जनअस्पतालको उपप्रमुख ज्याग मिन महामारी क्षेत्रमा जानको लागि घर छोड्नै लाग्दा उनकी छोरीले आँखाभरी आँसु लिदै कस्सेर अँगालो मार्दै ‘नजानोस् न आमा’ भनेर रुँदै थिइन् । तर मिनेले छोरीको आँसु पुछ्दै ‘आमा दैत्यसँग लड्न जाँदैछु । म दैत्यलाई हराएर छिटै आउँछु । तिमी नरोई बस ल’ भनेर सम्झाउँदै थिइन् । धेरै गाउँहरूमा नर्सहरू र डाक्टरका घरहरूमा यस्ता दृश्यहरू देख्न सकिन्थ्यो । जनता र देशप्रति अत्यन्त संवेदनशील नर्स र डाक्टरहरूले आफनो स्वास्थ्यको प्रवाह नगरी नागरिकको उपचारमा दिनरात लागि रहे भने चिनीयाँ नागरिकहरूले उनीहरूको उच्च सम्मानका साथ प्रसंशा गरिरहे । नेपालमा पनि सरकारी अस्पतालमा नर्स र डाक्टरले देखाएको सेवाभाव उच्च प्रसंशा गर्न लायक छ भने यस संकटमा केही नीजि अस्पताल, ती अस्पतालका मालिकहरूले खेलेको भूमिका आगामी पुस्ताहरूले समेत घृणा गर्न लायक छन् । त्यस्ता अस्पतालका सञ्चालकहरूलाई हरप्रकारका गतिविधिहरूमा सामाजिक बहिष्कार गर्न लायक छन् ।

सारा शहर वसन्त ऋतुको चाड मनाइरहेको थियो । सांघाई जनअस्पताल श्वासप्रश्वास विभागका डाक्टरले दुईवटा खानाको अर्डर गरे । महामारीको अवस्थालाई ध्यानमा राख्दै डाक्टरले डेलिभरी दिने व्यक्तिलाई सचेत गराउँदै भने, ‘यदि तपाईंलाई अस्पतालको वातावरणसँग डर लाग्दछ भने कृपया बाटोको पल्लोपट्टी ल्याएर छोडी दिनुहोला । म त्यहाँबाट खाना लिएर आउँछु ।’

यसको आधा घण्टापछि डाक्टरको क्याबिनमा २ वटा अतिरिक्त खानासहित एक नोटमा लेखिएको थियो- ‘डाक्टर साहेब दिन लामो छ, तपाईंलाई भोक लाग्न सक्दछ। त्यसकारण एउटा भेज र एक ननभेज खाना हाम्रो तर्फबाट पठाएका छौं । कृपया स्विकार्नु होला । यहालाई चाडको शुभकामना ।’

जब डाक्टले यो देखे । उनी निकै भावुक भए र रेष्टुरेन्टको यो सदायसयतालाई स्वीकार गर्दै सामाजिक सञ्जालमा उच्च सम्मानका साथ पोस्ट गरे । यो पोस्ट देखेपछि एकजना पत्रकार त्यो रेष्टुरेन्ट खोज्दै रेष्टुरेन्टमा पुगेर रेष्टुरेन्टको मालिकलाई सोध्दछन्, जब मालिकको जवाफ सुन्दछन् पत्रकार पनि भावविहोल हुँदै भन्दछन्, ‘सर मेरो लिस्टको सबैभन्दा माथी अब तपाईको रेष्टुरेन्ट रहन्छ । तपाईंजस्ता व्यवसायीप्रति हर चिनियाँले गर्व गर्न सक्दछन् ।’

ती व्यापारीले पत्रका/लाई के भनेका थिए भने हामी सबै चाड मनाइरहेका छौं तर डाक्टरसाहेब हाम्रो सुरक्षाको लागि खटिरहनु भएको छ । यस्तो अवस्थामा २ वटा खाना अफर गर्नु त मामुली कुरा होइन र ?

उनको यस भनाइले उनलाई आत्म भएको व्यापारी भन्न सकिन्छ ।

मित्र चाङले पठाएका यी कथामा नागरिकहरूको स्वस्फूर्तता देख्न सकिन्छ । यी कुनै पनि कथाहरूमा कोरोनाको उपचारको औषधि छैन तर यी यस्ता कथाहरू हुन जसले कोरोना भन्दा निकै शक्तिशाली रोगहरूलाई पनि परास्त गर्न सक्ने मनोवल, भावना र आत्मविश्वास पैदा गर्दछ । यी कुनै पनि कुरा नेपाली समाजले गर्न नसक्ने होइनन् तर नेपाली समाज यो गर्न चाहँदैन । चीनमा पनि यो संस्कार एकै रातमा विकास भएको होइन । त्यहाँ लामो समयसम्म कम्युनिष्ट पार्टीले नयाँ संस्कार स्थापित गर्न गरेको लगानीको प्रतिफल हो । हामीले रातारात नयाँ संस्कार निर्माण गर्न त सक्दैनौं तर नेकपा, नेका, जसपा, विवेकशील, साझा पार्टीहरूलगायतका राजनीति पार्टीहरूले सामाजिक संस्कार निर्माण गर्न लगानी गर्‍यौं भने हामीले पनि चीनमा जस्तै सबै प्रकारका संकटहरूसँग जुधेर नयाँ समाज निर्माण गर्न सक्दछौं । तर के हाम्रा राजनीतिक पार्टीहरू र तिनका नेता तथा कार्यकर्ताहरूमा त्यो हिम्मत र चाहना छ होला ?

(लामिछाने पोखरा महानगरपालिकाको शहरी योजना आयोगमा कार्यरत छन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय