scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

चीन अमेरिकी राष्ट्रपति निर्वाचन कसले जितोस् भन्ने चाहन्छ ?

साझापोस्ट टिप्पणी

काठमाडौं, २२ भदौ । अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिदै जाँदा राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पम्पिओले चीनप्रतिको वैचारिक आक्रमण तीव्र पारेका छन् । उनीहरुले चीनसँगको प्रतिस्पर्धा र व्यापार युद्धलाई ‘शीत युद्ध–२’ को नाम दिएका छन् । साथै, पहिलो शीतयुद्धमा सोभियत संघसँग जस्तै दोस्रो शीतयुद्ध चीनसँग निर्ममतापूर्वक लड्ने र जिती छाड्न आश्वसान अमेरिकी मतदातालाई दिन थालेका छन् ।

चीनलाई ‘एक पार्टी कम्युनिष्ट राज्य’ चित्रण गर्दै रिपब्लिकनहरुले वैचारिक हमला बढाएपछि विश्वव्यापी रुपमा नयाँ तरङ्ग उत्पन्न भएको छ । तर, चीनले भने यसको शालिन र नरम प्रतिवाद गर्दै आएको छ । चीनले ‘व्यापार असन्तुलन र कुटनीतिको प्रश्नलाई विचारधारासँग नजोड्न’ आग्रह गर्दै आएको छ ।

पछिल्लो चरणमा चीनले हासिल गरेको आर्थिक उन्नतिमा अमेरिकाले विश्व व्यापार संगठनमार्फत् चीनलाई दिएको पश्चिमा बजारसँगको पहुँचलाई एक महत्वपूर्ण कारण मानिन्छ । अमेरिका र युरोपियन युनियनसँग सम्बन्ध बिग्रने हो भने चीनको विश्व बजार हिस्सामा ठूलो कमी आउने, त्यसले चिनियाँ कम्पनी र उद्योगहरु उत्पादन कटौती गर्नुपर्ने अवस्थामा पुग्ने विश्लेषकहरुको ठहर छ ।

चीन पश्चिमसँगको सम्बन्ध बिगार्ने पक्षमा छैन । तर उसले पूर्व सोभियत राज्य, एशिया र अफ्रिकी देशहरुलाई समानान्तर बजारका रुपमा लिन थालिसेको छ । नरम कुटनीतिमार्फत् अमेरिका र युरोपियन युनियनलाई विश्वासमा लिन चीनको प्रयास जारी नै छ । तर, तनाव भने झनझन बढ्दै गइरहेको छ ।

ठीक यहीबेला अमेरिकी रिपब्लिकनहरुले चिनियाँ राष्ट्रपति सि जिङ पिङलाई अमेरिकी दस्तावेजहरुमा ‘राष्ट्रपति’ नभन्ने र चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य र उनको परिवारलाई अमेरिकी भिसा नदिने नीति प्रस्तावित गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी निकट ग्लोबल टाइम्सको अंग्रेजी संस्करणले त्यसको खण्डन गर्दै लेखेको थियो– ‘चिनियाँ कम्युनिष्ट पार्टी जसका सदस्य र परिवार संख्या अमेरिकाको कुल जनसंख्या भन्दा धेरै छ, उनीहरुको भिषा रोक्ने कुराले पार्टीलाई चिनियाँ जनताबीच विस्थापित गर्न सक्दैन । यो दुई देशबीचको सम्बन्ध बिगार्ने धम्की मात्र हो ।’

द साउद चाइना मोर्निङ पोस्टमा चिनियाँ ‘लिवरल’ अभियन्ता यु वाङवेइ भन्छन्, ‘चीनमा विपक्षी पार्टी नभएको र कम्युनिष्ट पार्टी निक्कै बलियो भएकोले अमेरिकाको यस्तो नीतिले तत्काल कुनै प्रभाव पर्ने देखिन्नँ तर अमेरिकाले वैचारिक, सामारिक र सैन्य प्रभाव बढाउँदै लगे चिनियाँ जनताको सोच्ने तरिकामा बिस्तारै परिवर्तन आउन सक्दछ ।’

यु वाङवेइ निर्वाचित लोकतन्त्रका लागि चार्टर–२००८ को हस्ताक्षरकर्ता हुन् । सन् २००८ का ३०० बढी लोकतन्त्रवादीहरुको एक भेलाले लोकतन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि नागरिक चार्टरमा हस्ताक्षर गरेका थिए । त्यसका मुख्य नेता लिउ जियाबाओलाई सन् २०१० को नोबल शान्ति पुरस्कार दिइएको थियो ।

उनी एक स्वतन्त्र लेखक, कवि तथा नागरिक अधिकारकर्मी थिए । तत्काल चिनियाँ सरकारले उनलाई बन्दी बनाएको थियो । सन् २०१७ मा उनको जेलभित्रै क्यान्सर रोगले मृत्यु भएको थियो । त्यो घटना सन् १९८९ को तेनमियान विद्रोहपछि कै सबैभन्दा ठूलो सरकार विरोधी प्रयास थियो ।

चीनमा कुनै विपक्षी दल र आन्दोलन नभएको तथा कोराना महामारीविरुद्धको सफलताले पार्टी र सरकारको लोकप्रियता झनै बढेको आवस्थामा अमेरिकी रिपब्लिकनहरुले बारम्बार दोस्रो शीतयुद्धको कुरा गर्नु र चीनको कम्युनिष्ट सरकार विरुद्ध वैचारिक हमला गरिरहनुको कारण के होला ?

विश्लेषकहरुका अनुसार यसका दुईवटा कारण छन् । अल्पकालीन र दीर्घकालीन कारण । अल्पकालीन कारण भने नम्बर ३ को निर्वाचन नै हो । यो निर्वाचनमा उनीहरु चीन विरोधी भावनाको दोहन गरेर ट्रम्पका कमजोरीहरु लुकाउन चाहन्छन् । अमेरिकी मतदातामा रहेको कम्युनिष्ट विरोधी भावनालाई दोहन गर्न चाहन्छन् ।

रिनमिन विश्वविद्यालयका प्राध्यापक सि हो योङ भन्छन्, ‘रिपब्लिकनहरुको यस्तो प्रोपोगण्डाले सोसिलिष्ट सिद्ध गर्ने अवसर दिन्छ । डेमोक्र्याटसहरुले जिते भने चीनको जस्तै अर्थतन्त्र र समाज व्यवस्था बनाउँनछन् भन्ने भ्रम सृजना गर्न सजिलो हुन्छ ।’ डेमोक्र्याटिक पार्टीमा अहिले बर्नी स्यान्डर्सजस्ता प्रचारक पनि छन् जो आफूलाई समाजवादी भन्दछन् ।

 

तर, यस्तो प्रोपोगण्डाको दीर्घकालीन महत्व पनि छ । त्यो हो– विश्व प्रतिस्पर्धा र व्यापार–युद्धमा चीनलाई मनोवैज्ञानिक दबाबमा राख्नु । जसरी विश्वव्यापी राजनीतिक तथा आर्थिक संकट बढिरहेको छ कुनै खास विन्दूमा पुगेर चीन–रुस एकातिर र अमेरिका–युरोप अर्कोतिर भएर दीर्घकालीन शीतयुद्ध चर्किने सम्भावना नै नभएको हैन । यो निर्वाचनमार्फत् रिपब्लिकनहरु अमेरिकी जनतामा मनोवैज्ञानिक तयारी गर्दैछन् ।

विश्लेषकहरुले खोतल्न चाहेको अर्को पाटो चीनको चाहना हो । चीन आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा कस्ले जितोस् भन्ने चाहन्छ ? ट्रम्प कि वाइडन ? के वाइडन चीन नीतिमा ट्रम्प भन्दा फरक होलान् ? निश्चय नै वाइडन ट्रम्पजस्तो आक्रामक नहोलान् तर चीनबारे डेमोक्र्याट्सहरुको नीति रिपब्लिकनहरुको भन्दा फरक होला भनेर आशा गर्ने सकिने ठाउँ भने कमै छन् ।

वाइडनले भन्ने गरेका छन्, ‘ट्रम्प प्रशासनले बिगारेको अमेरिका–चीन सम्बन्धलाई सामान्यीकरण गरिनेछ ।’ वाइडनको यो भनाईले रेगन–देङले निर्माण गरेको चीन–अमेरिका सम्बन्धको आर्थिक कडीलाई कायम राख्नु भन्ने बुझिन्छ । तर वैचारिक हिसाबले भने डेमोक्र्याटसहरुको ‘एक दलीय कम्युनिष्ट प्रणाली’ प्रतिको धारणा खासै भिन्न छैन ।

ओसन विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिला विशेषज्ञ पोङ जो युई भन्छन्, ‘नोभेम्बरको चुनाव जसले जिते पनि चीनलाई खासै फरक पर्दैन ।’ बरु चुनावी तनावको वातावरण अन्त्य हुन्छ र सम्बन्धलाई ठन्डा दिमागले सामान्यीकरण गर्ने अवसर प्राप्त हुन्छ ।

सन् २०१६ को निर्वाचनमा ट्रम्पलाई रुसी राष्ट्रपति पुटिनको समर्थन थियो भन्ने हल्ला चलेको थियो । सि जिङ पिङ यो मामिलाका होसियार छन् । उनी आगामी नोभेम्बरसम्म अमेरिकाबारे खासै नबोल्ने चिनियाँ कुटनीतिज्ञहरुको धारणा छ ताकी चीन यो वा त्यो उम्मेद्वारको पक्षमा छ वा छैन भन्ने हल्ला हुन नपाओस् ।

व्यापार युद्ध मात्र हैन, अमेरिका र चीन बीच ताइवान, दक्षिण कोरिया, उत्तर कोरिया, हङकङ र दक्षिण चिनियाँ सुमन्द्रलाई लिएर सैनिक तनावको सम्भावना पनि जीवितै छ ।

अहिले चिनियाँ विश्लेषक तथा कुटनीतिज्ञहरुले नोभेम्बरपछि चीन–अमेरिका कस्तो होला ? ट्रम्प र वाइडन मध्ये को ‘कम घातक’ होला भनेर विचार गरिरहेको बताइन्छ ।

यहीबीच वाइडनले चिनियाँ राष्ट्रपतिसँग भएका पुराना भेटघाटका केही फोटोहरु सार्वजनिक गरेका छन् जसको अर्थ ‘ट्रम्पले भन्दा चीनलाई मैले राम्ररी बुझेको छुँ’ भन्ने सन्देश दिनु हुन सक्दछ ।

बाहिर भन्न नमिले पनि यस्तो बेला भित्र हृदयमा चाँहि चीन के चाहन्छ त ? ब्रकिङ इस्टिच्युटका एक विश्लेषकका अनुसार ‘चीनलाई यो वा त्यो उम्मेद्वारले जित्ने कुरामा कुनै रुचि छैन । चीन चाहन्छ कि अमेरिकी प्रणाली नै बदनाम होस् र संकटमा परोस् ता कि चिनियाँ प्रणालीको श्रेष्ठता विश्वमा कायम हुन सकोस् ।’

(द साउद चाइना मोर्निङ पोष्ट, वासिङगटन पोष्ट र ग्लोबल टाइम्सका विभिन्न रिपोर्टहरुको आधारमा तयार पारिएको सामग्री- सम्पादक)

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay