scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

अग्रणी शहीद क. सुरेश वाग्लेको स्मृतिमा

डा. बाबुराम भट्टराई

एउटा आकृति नित्य मानसपटलमा प्रतिबिम्बित भइरहेछ– दुब्लो, पातलो, अग्लो, केही झुकेको, त्यो एउटा धीर गतिमा अगाडि बढिरहेछ । न छिटो, न ढिलो ।

उसको गन्तव्य अनन्त छ सायद हजारौं लाखौँ वर्षसम्मको साम्यवादको महायात्रामा हिँडेकाहरूको गति यस्तै धीर हुन्छ । आज कति दिन भैसक्यो, त्यो दुःखद समाचार सुनेको तर त्यो आकृति पटक्कै भित्री आँखाबाट हट्दै हट्दैन । भदौ २६ गते बिहान एकजना जिम्मेवार कमरेड अकस्मात डेरामा प्रवेश गर्दा उहाँले कुनै अनिष्टको खबर ल्याउनु भएको छ भन्ने आशङ्काले मन अत्यन्त व्याकुल चाहिँ बनाएको थियो । तर, त्यो खबर त्यति अप्रत्याशित र मर्मान्तक हुन्छ, महान् जनयुद्धको एउटा दह्रो खम्बा त्यति छिट्टै दुस्मनको निसाना बन्छ, जनयुद्ध सुरु भएपछिको आफ्नो सबभन्दा भरपर्दो वैचारिक र भौतिक आडबाट आफू यति छिटै बञ्चित हुन्छु, मध्यमाञ्चल क्षेत्रका शहीदहरूको जीवनी भर्खरै सम्पादित गर्ने व्यक्तिको शहादतको स्मृति यति छिटै हामीले लेख्नुपर्छ भनेर कसैले पूर्वानुमान गर्न सक्ने कुरा थिएन ।

युद्ध भनेको अनिश्चितता र आकस्मिकताको क्षेत्र हो भन्ने सिद्धान्त बुझ्दाबुझ्दै पनि व्यवहारमा त्यसलाई आत्मसात गर्न बडो कठीन हुँदो रहेछ । २०५६ भदौ २३ गते बिहान करिब आठ बजे मध्य उत्तरी गोरखाको गाँखु गाउँमा क. सुरेश वाग्ले (क.वासु) ले वर्ग दुस्मनसँग अद्वितीय साहसका साथ भिड्दाभिड्दै अमरत्व प्राप्त गर्नुभएको थियो ।

सर्वहारावर्गका विरलाकोटिका नेता क. सुरेश वाग्लेको मृत शरीरबाट समेत त्रसित प्रतिक्रियावादी कायरहरूले जनसमुदायलाई वहाँको दाहसंस्कार गर्ने अवसर समेत दिएनन् र अहिलेसम्म पनि घटनाका प्रत्यक्षदर्शी व्यक्तिहरूलाई तथ्य कुरो लुकाउन उनीहरूले धम्की दिइरहेछन् । परन्तु प्राप्त प्रारम्भिक विवरणअनुसार हाम्रो गौरवशाली पार्टीका सम्मानित नेता क. वाग्लेले जुन अदम्य साहस र सर्वहारावर्गीय निष्ठाका साथ मृत्युवरण गर्नुभयो त्यसले देशभर र विश्वभरका कम्युनिस्ट क्रान्तिकारीहरूको सामुन्ने बलिदानको नयाँ मापक र नयाँ कीर्तिमान खडा गरिदिएको छ ।

आफ्नै गम्भीर अस्वस्थताका बावजुद जिल्लाका शहीद परिवारहरूलाई भेटेर सान्त्वना दिँदै पार्टी कामकै सिलसिलामा गाँखु पुग्नुभएका क. वाग्ले केही समयदेखि प्रतिक्रियावादी फासिस्ट सत्ताले नयाँ ढङ्गले सुरु गरेको हत्या अभियानका जल्लादहरूको आकस्मिक जम्काभेटमा पर्नुभएको थियो । विवेक र साहसले युक्त केही समयसम्मको प्रतिरोधपछि वहाँ फौजी हिसाबले कैयौँ गुना शक्तिशाली दुस्मनको कब्जामा पर्नुभएको थियो ।

प्रतिक्रियावादी भाडाका टट्टुहरूले वहाँलाई आत्मसमर्पण कि मृत्युको विकल्प रोज्ने घृणित अट्टहास गरेपछि वहाँले महान् सर्वहारावादी स्पिरिटमा वर्ग दुस्मनप्रति तीव्र घृणा व्यक्त गर्दै ‘हिम्मत भए गोली हान’ भन्ने चुनौति दिनुभएको थियो र ती कायरहरूले आफ्नो कब्जामा परेको निःशस्त्र व्यक्तिलाई गोली हानेर हत्या गरेका थिए । ओहो, साहस र बलिदानको क्या बेजोड नमुना !

अब कसले भन्न सक्छ साहस मान्छेको स्थूल शरीरबाट आउँछ भनेर ? साहस स्थूल शरीरबाट होइन स्थूल विचारबाट त्यो आउँछ । जब कतिपय कायरहरू दुस्मनको कब्जामा परेपछि तीन पाथी छेर्दै र छाद्दै सर्वत्र दुर्गन्ध फैलाइरहेछन् भने त्यसको ठीक उल्टो महान् सर्वहारावादी आदर्श व्यक्तित्व क.वाग्ले वर्गीय निष्ठा र साहसको कति ठूलो प्रकाशपुञ्ज बन्नुभएको छ । प्रिय कमरेड, सिरानचोकको उकालो चढ्दा चढ्दै शहीद बनेर तपाईं त हिमालचुली र मनास्लुको चुचुरामा पो पुग्नुभएको छ । हिमालचुली, मनास्लु र गणेश हिमालका चुचुराहरूबाट तपाईंले युगयुगसम्म सर्वहारा क्रान्तिकारीहरूलाई मार्गनिर्देशन र प्रेरणा दिइरहनुहुनेछ । भुसुन्डे र दरौँदीका बगरहरूमा तपाईंले छोडेर जानुभएका सर्वहारा सिद्धान्त, निष्ठा, व्यवहार कुशलता, साहस र बलिदानका पदचिन्हहरूले नयाँ पुस्ताका क्रान्तिकारीहरूलाई सधैँ सधैँ दिशाबोध गरिरहने छन् ।

हजारौं नेता, कार्यकर्ता, योद्धा र जनसमुदायको वीरतापूर्ण शहादतले प्रज्ज्वलित राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा फैलिरहेको नेपाली जनयुद्धको अग्निलाई पहिलो पटक पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य स्तरको बलिदानले निश्चित रुपमा विल्कुल नयाँ उचाइ र स्तरमा उठाएको छ । परन्तु क. सुरेश वाग्लेको वैचारिक र राजनीतिक उचाइ र पार्टीभित्रको प्रभावलाई वैकल्पिक पी.बी.एम.को नापोले मात्र ठीकसँग नाप्न सक्दैन ।

त्यसो त बीसको दशकमा काठमाडौँमा संस्कृतको छात्र रहँदादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय क. वाग्ले लामो समयसम्म गोरखाको आँपपिपल हाइस्कुलमा शिक्षण पेशामा संलग्न रहनुभएकाले वहाँ पार्टीको केन्द्रीय नेतृत्वमा जनयुद्धको थालनीपश्चात् मात्रै पुग्नुभएको थियो । दुई वर्षभित्रै केन्द्रीय समितिबाट पोलिट्ब्युरोमा पुगेर काम गरेको छोटो अवधिमा वहाँको लाल र निपूर्णको सङ्गम यस्तोसँग प्रस्फुटित र स्थापित हुनपुगेको थियो कि वहाँ पार्टीभित्र एक प्रकारको ‘सर्वमान्य’ जस्तो बन्न पुग्नुभएको थियो ।

वर्गसङ्घर्ष र अन्तरसङ्घर्षका प्रत्येक पेचिला प्रश्नहरूमा वहाँका धारणाले झण्डै निर्णायक स्थान लिन पुग्थ्यो । केन्द्रीय समिति र पोलिट्ब्युरोको बैठकमा कुनै पनि महत्वपूर्ण मुद्दामा वहाँको विचार सुन्न सबै लालायित हुन्थे । किनकि, एकातिर वहाँका धारणा यस्तो वस्तुपरक र सन्तुलित हुन्थ्यो कि त्यसलाई तर्क र तथ्यले खण्डन गर्न गाह्रो हुन्थ्यो भने अर्कोतिर वहाँको इमानदार, स्वच्छ र शालीन व्यक्तित्वको यस्तो विशाल नैतिक प्राधिकार (Moral Authority) हुन्थ्यो कि वहाँको प्रतिवाद गर्ने साहस जो कोहीलाई हुँदैनथ्यो ।

वास्तवमा वहाँ एक प्रकारले ‘कम्युनिस्ट सन्त’ हुनुहुन्थ्यो, जो हमेसा पदीय शृङ्खलाभन्दा माथि हुन्छ । हाम्रो पछिल्लो भेटघाटमा वहाँले मबाट अलि बढी वैचारिक, राजनीतिक र साङ्गठीक सहयोगको माग गर्दा मैले आफ्नो अन्तरआत्माको आवाज सुनाएको थिएँ – तपाईंलाई म कसरी सहयोग गरुँ, कमरेड, जब म आफैँ तपाईंबाट धेरै सिक्नुपर्ने ठान्छु ।

अब त झन् कमरेड, तपाईंले साहस र बलिदानको जुन सगरमाथा खडा गरेर जानुभएको छ त्यसको चुचुरो छुन हामी बाँकी बचेकाहरूले सधैँ धेरै मिहिनेत गरिरहनुपर्नेछ ।

क. सुरेश वाग्लेबाट सबैले सिक्नुपर्ने वहाँको सम्भवतः सबभन्दा ठूलो गुण वा क्षमता हो वहाँको भौतिकवादी द्वन्द्ववाद बारेको बुझाइ । वहाँद्वारा प्रायः सधैँ हुने कुनै व्यक्ति, वस्तु वा घटनाको सही विश्लेषण र मूल्याङ्कनको मूल आधार नै त्यही द्वन्द्ववादको ठीक बुझाइ र प्रयोग थियो । द्वन्द्ववादको मूल नियम, अर्थात् विपरीतहरूको एकत्वलाई वहाँले यति सटिक ढङ्गले आत्मसात गर्नुभएको थियो कि वहाँ सधैँ सबै व्यक्ति, वस्तु र घटनामा सकारात्मक र नकारात्मक पक्षको ठीक ठीक मात्रामा खुट्याउन सफल हुनुहुन्थ्यो । प्रायः अरु सबै व्यक्तिहरू एउटा वा अर्को अतिवादको सिकार हुन पुगेका बेला वहाँ वस्तु वा घटनाको विल्कुल वस्तुनिष्ठ मूल्याङ्कन गरेर सही र सन्तुलित अडान लिन सक्नुहुन्थ्यो, किनकि वहाँ सकारात्मकभित्र नकारात्मक र नकारात्मकभित्र सकारात्मक पक्षको अस्तित्वको ठीक आँकलन गर्न सक्नुहुन्थ्यो ।

त्यसैले पार्टी जीवनका महत्वपूर्ण मोडहरूमा वर्गसङ्घर्ष र अन्तरसङ्घर्षका अहम् मुद्दाहरूमा वहाँले हमेसा दाहिने वा देब्रे अतिवादबाट बचेर सन्तुलित र ठीक मालेमासङ्गत अडान र दिशा लिन महत्वपूर्ण योगदान गर्नुभएको थियो । वहाँमा अन्तरनिहित सिद्धान्त र व्यवहार, विवेक र साहस, लालपन र निपूर्णता, दुस्मनप्रति घृणा र मित्रप्रति सहृदयताबीचको अपूर्व सन्तुलनको कुँजी यही द्वन्द्ववादको ठीक बुझाइ र प्रयोगथियो । त्यसैले कमरेड, तपाईंको अनुपस्थितिले पार्टीमा एउटा सहजै पूर्ति हुन नसक्ने ठूलो खाडल सिर्जना भएको छ । एउटा असाध्यै परिपक्व र सन्तुलित नेताको अभाव खट्किएको छ । आज कार्यकर्ता र जनसमुदायले एउटा अत्यन्तै व्यवहारकुशल र भरपर्दो अभिभावक गुमाएको छ ।

अन्तर्राष्ट्रिय सर्वहारावर्गका एक होनहार नेता क. सुरेश वाग्लेको अकस्मात् शहादतले प्रतिक्रियावादी र अवसरवादी कित्तामा पनि विविध प्रतिक्रिया निश्चय नै जन्माउनेछ । प्रतिक्रियावादीहरू क्रान्तिकारीहरूलाई सिध्यायौँ भनेर क्षणिक रुपमा मात्तिने छन् भने अवसरवादीहरू ‘सत्यानाश भो’ भनेर आत्तिनेछन् । तर, साहु सामन्तका सन्तानहरूलाई के हेक्का रहोस् भने क्रान्तिकारीहरू भनेका दन्त्य कथाका ‘हाइड्रा’ हुन् जो एउटा टाउको काट्दा दशवटा टाउको जन्मन्छन् ।

त्यसैले एउटा सुरेश वाग्ले ढल्दा अरु हजारौँ लाखौँ सुरेश वाग्लेहरू जन्मनेछन् र युगौं युगसम्म जन्मिरहनेछन्, जबसम्म विश्वभर साम्यवाद आउँदैन । त्यसमाथि सुरेश वाग्ले त एउटा सामान्य मान्छे मात्र नभएर एउटा महान् सर्वहारावादी विचार हो, जुन कहिल्यै मर्दै मर्दैन र कसैले मार्न प्रयास गर्‍यो भने त्यो झन् तीव्र वेगमा देशभर र विश्वभर झाँगिदै जान्छ ।

सुरेश वाग्ले जो आँखामा राखेर पनि नबिझाउने व्यक्तित्वलाई आफ्नो कब्जामा पारेपछि कायरतापूर्ण हत्या गरेर प्रतिक्रियावादीहरू हो, तिमीहरूले हजारौँ लाखौँ क्रान्तिकारी जनसमुदायमा तिमीहरूप्रति वर्गीय घृणा र आक्रोश अरु तीव्र रुपमा जगाएका छौ र तिमीहरूको आफ्नै चिहान अरु गहीरोसँग खनेका छौ । तिमीहरूको यो कायरतापूर्ण हर्कतले विश्वभर कम्युनिस्ट क्रान्तिकारीहरूलाई जर्मन शासकहरूले रोजा लक्जेम्बर्ग र लाइक्नेख्तहरूको कायरतापूर्ण हत्या गरेको सम्झना गराइरहेछ, जसको परिणाम तिमीहरूलाई कति घातक हुनेछ भन्ने कुरा भोलिको इतिहासले प्रमाणित गर्नेछ ।

अर्कोतिर, ‘सत्यानाश भो’ भनेर आत्तिने र जनयुद्धको औचित्यमाथि प्रश्न चिन्ह उठाउने अवसरवादीहरूले के बुझ्नु र स्मरण गर्नु जरुरी छ भने क.सुरेश वाग्ले जस्तो वरिष्ठ कमरेडको शहादतले जनयुद्धको निरर्थकता र असफलता होइन त्यसको भीषणता र उपल्लो चरणमा विकासको पो सङ्केत गर्दछ त ! आखिर वरिष्ठ नेतृत्व पङ्क्तिबाट समेत रगतको उचित कोटा नबुझाई आजसम्म विश्वमा महान् क्रान्तिहरू कहाँ पूरा भएका छन् र ?

बरु यसले माओवादी नेतृत्व शहरमा वा प्रवासमा लुकेर बस्छ र कार्यकर्ता र जनसमुदायको मात्र शहीदको खेती गर्छ भन्ने अवसरवादी पाखण्डीहरूको दुस्प्रचारलाई मुखभरिको जवाफ दिएको छ । हो, क्रान्तिमा नेतृत्वको सुरक्षालाई उचित ध्यान दिनैपर्छ र खासगरी वर्तमान विश्वमा साम्राज्यवादीहरूले मुख्य नेतृत्वमाथि नै आक्रमण केन्द्रित गर्ने नयाँ रणनीति अपनाएको सन्दर्भमा नेतृत्वको सुरक्षाले थप महत्व राख्छ । तर, आमरुपमा युद्ध अनिश्चितता र आकस्मिकताको क्षेत्र भए झैँ यो दुःखद् घटना पनि क्रान्तिकारीहरूको नीतिगत कमजोरी र प्रतिक्रियावादी पक्षको योजनागत सबलता र सफलताको परिणाम भन्दा पनि विशुद्ध आकस्मिकता र दुर्घटनाको परिणाम थियो भन्ने प्रारम्भिक छानबीनबाट पुष्टि हुन्छ जसको विस्तृत र अन्तिम छानवीन पार्टीले अझै गरिरहेछ ।

यस स्थितिमा जतिसुकै क्षतिपूर्ण र पीडादायी भए पनि क्रान्तिकारीहरू दुर्घटनामा आत्तिने होइन कि त्यसबाट उचित पाठ सिकेर बढी दृढता र वर्गीय बदलाभावसहित जनयुद्धको बाटोमा अघि बढ्नु नै बुद्धिमानी होइन र ? त्यसमाथि नेतृत्वको भौतिक सुरक्षा भन्दा वैचारिक सुरक्षामा जोड दिन हमेशा आग्रह गर्ने क. सुरेश वाग्लेको शहादतको शोकलाई शक्तिमा बदलेर जनयुद्धलाई अर्को नयाँ उचाइमा लैजान सामूहिक प्रण गर्ने अवसर हामी सामु उपस्थित भएको छ ।

यसै सन्दर्भमा त्यस दिनको दुःखद् घटनामा क. सुरेश वाग्लेसँगै वीरतापूर्ण शहादत प्राप्त गर्नु हुने प्लाटुन कमान्डर क भीमसेन पोखरेल (क. वैरागी) को सर्वहारावर्गीय निष्ठा र लगनशीलता, फौजी दक्षता र साहसको पनि उच्च मूल्याङ्कन र प्रशंसा नगरिरहन सकिन्न । अकस्मात् आफूभन्दा कैयौं गुणा ठूलो र शक्तिशाली दुस्मनसँग मुठभेडको स्थिति बनेपछि क.भीमसेनले अन्तिम समयसम्म आफ्नो प्यारा नेतालाई बचाउने जुन कोसिस गर्नुभयो र आफू बच्ने सम्भावना रहँदारहँदै पनि नेतृत्व, पार्टी र क्रान्तिको निम्ति जसरी सचेत रुपले शहादतको बाटो रोज्नुभयो, त्यो वीरगाथा सर्वहारावर्गीय मुक्ति आन्दोलनको इतिहासमा युगयुगसम्म स्वर्ण अक्षरले लेखिइरहनेछ ।

विडम्वना भनौँ, एकवर्ष पहिले मात्र क. वैरागी र क. शिलु (उमा भुजेल)को शुभविवाहमा वहाँहरूलाई क. बासुले पार्टीका तर्फबाट सैन्यविज्ञान सम्बन्धी पुस्तक उपहारस्वरुप प्रदान गर्न लाग्नुभएको फोटोले अहिले हामीलाई चियाइरहेछ । राजनीतिक र फौजी नेतृत्वबीचको सुमधुर सम्बन्धको कति उत्तम नमुना ! क. शिलुले ती दुई महान् क्रान्तिकारी नेताहरूको सपना साकार पार्न आफ्नो व्यक्तिगत दुःख र पीडालाई बिर्सेर विवेक र साहसको अझै ठूलो कीर्तिमान कायम गर्न सफल हुनुहोस् भन्ने हाम्रो हार्दिक कामना ।

२०५६ असोज ११

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay