scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

‘ओलीलाई भेटाउनुस्, हरेक नागरिकले आँखा जुधाएर कुरा गर्नेछन्’

रुद्रप्रसाद भट्ट

देशमा कम्युनिष्ट सरकार छ । त्यो पनि झण्डै दुई तिहाई नजिकको । कम्युनिष्टहरु भन्ने गर्थे- सर्वहारा, गरीब, निमुखा, किसान र सुकुम्बासीको आफ्नो भनेकै समाजवादी कम्युनिष्ट हुन् । विश्व कम्युनिष्टको ईतिहासमा मार्क्स, लेनिन, एङ्गेल्स, स्टालीन, माओदेखि चे ग्वेभारा, फिडेल क्यास्ट्रो, ह्युगो चाभेजसम्मले आफ्ना कार्यकर्तालाई यही मन्त्र कण्ठ पार्न लगाएका थिए ।

तर, नेपालमा विश्वका कुनैपनि नेतासँग विचार र आस्था नमिल्ने अजीवको कम्युनिष्ट नेता भेटिएका छन् । जसले जनताको पीर मर्कालाई ‘हुँदै होईन’ भनेर हँसीमजाक मात्रै गरिरहन्छन् । देशमा पाँच महिनाभन्दा बढी समयदेखि कोरोनाको महामारी छ । कोराना त्रासले जनताको उठीवास लागिसक्यो । तर, यहाँको कम्युनिष्ट नेताले नेतृत्व गरेको सरकार भने यहि मौकामा कमाउधन्दामा लागेका विचौलियाको नाईके भएर देश लथालिङ्ग र भताभुङ्ग पारिरहेको छ ।

स्वदेशको उद्योग धन्दा र व्यापार व्यवसाय धरासायी हुँदै गएपछि अनि विदेशमा रहेका लाखौं नेपाली बेरोजगार हुँदै गएपछि रेमीट्यान्स घटेको छ । जसले गर्दा देशकै अर्थतन्त्र चौपट भएको छ । कृषकले मल पाएका छैनन् । खेतमा धान झुल्ने बेला हुन लागेपछि बल्ल सरकार ठेकेदारलाई ‘रासायनिक मल खै ?’ भनेर प्रश्न गर्दैछ ।

ठेकेदारले ‘मल छैन’ भन्ने उत्तर दिएपछि स्वयम् किसानका नेता कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओली बङ्गलादेशसँग मल पैंचो माग्न टेलिफोन घुमाउँदै छन् ।

यस्तो बेथिति र लाजमर्दो हर्कतमा सरकार चलाउने प्रधानमन्त्रीका एकजना सल्लाहकारले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई प्रधानमन्त्री केपी ओलीसँग आँखा जुधाएर कुरा गर्न चुनौति दिएका रहेछन् । डा.भट्टराईले अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि सामाजिक सञ्जालमा ‘गुणात्मक फड्को मार्ने अवसर कनिका छरेर बिताए, ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन । रुनु न हाँस्नु !’ भनेर गरेको पोष्टलाई ती सल्लाहकारले पूर्वप्रधानमन्त्रीको लज्जास्पद टिप्पणी भन्दै सामाजिक मर्यादा र शिष्टता पोलेर खाएको आरोप समेत लगाईदिए ।

प्रधानमन्त्री केपी ओली जेल बस्दा बाबुराम पिएचडी गर्न ब्यस्त थिए भन्ने हास्यास्पद विषय उठाएर ती सल्लाहकारले पढ्नेले होईन जेल बस्नेले नै देश चलाउन पाउनुपर्छ भनेर ओली बचाउ गरेका छन् । यसमा पनि ओलीसँग कहाँ आँखा जुधाउन पर्ने हो जनताले आँखा जुधाएरै जवाफ दिन तयार छन् की बाबुरामले गणतन्त्रका लागि संघर्ष गरिरहँदा कमरेड ओली बयलगाढा चढेर अमेरिका जाँदै थिए होईन त ? जनतालाई सडकमा भोकै रुवाएर सर्प पाल्न ७२ करोड बजेट दिने, अस्पताल लथालिङ्ग हुँदा पिसिआर मेशीन र स्वास्थ उपकरणको सट्टा भगवान रामको जन्मस्थल खोजी गर्ने र मन्दिर बनाउने जस्ता बेतुकका कुरामा ध्यान गएको सायद १४ वर्ष जेल बसेरै होला होईन ?

मेट्रो रेल, तेल र पानी जहाजको सपना देखाएर कृषकलाई एक बोरा युरिया मल दिन नसक्ने, स्वास्थ सामग्री खरीदमा भ्रष्टाचार भयो भन्दा सरकारको आलोचना मात्रै भयो राम्रो कामको चर्चा भएन भनेर रोईलो गर्ने । रत्नपार्कमा एक छाक खानका लागि भक्तपुरदेखि पैदल हिँडेर आईपुग्ने मजदुरलाई एक किलो चामल दिन नसक्ने, झार उखेल्ने बहानामा करोडौं सकियो भनेर खुलेआम भन्न सक्ने, विदेशमा अलपत्र नेपाली स्वदेश फर्कन लाग्दा जहाज रित्तै बोलाउने अनि निर्मला हत्याका आरोपी पक्राउ गर्न नसक्न कमरेड ओलीसँग अब बाबुराम होईन हामी आँखा जुधाएर कुरा गर्छौं ।

बालुवाटारको बन्द कोठामा बसेर देश समृद्ध भैसक्यो, कोही नेपाली भोकै बस्नुपरेको छैन, भ्रष्टाचारको अन्त्य भैसक्यो, दैनिक २० हजार पिसिआर परिक्षण भैरहेको छ भन्ने बेतुकका कुरा गर्न प्रधानमन्त्रीलाई त्यै १४ वर्षको जेल जीवनले सिकाएको हो ?

यो प्रश्नको जवाफ पनि आँखामै हेरेर गर्न मन छ । सडकमा कोही छैन, भोको कोही बस्नुपर्दैन, धनी बन्न मन भए काम गर्नुस् जाबो भातै खान त चामलको बोरा बोकेर नेकपा कार्यकर्ता घरमै आउँछन् भन्ने प्रधानमन्त्रीलाई आँखा जुधाएर यहि प्रश्न गर्न मन छ की त्यो चामलको बोरा तपाईंको कुन कार्यकर्ताले बोकेर गएको हो ?

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनका नातेदारले नियुक्ति पाए भन्ने हो भने गलत कुराको विरोध गर्न आफुले पनि गलत नै गर्ने की आफु चाहिँ सुध्रिने ? प्रचण्डका परिवारैले अवसर पाए भनेर त्यसको विरोध गर्ने की उनको जति योगदान आफुले गरेको थिएँ की त्यै प्रचण्डको बलमा यहाँ आएर रजाईं गरिरहेको छु भन्ने हेक्का राख्ने ?

गलत र खराब काम जसले गरेपनि त्यो प्रसंशनीय होईन, तर आफ्नाले गरे राम्रो अर्काले गरे खराब देख्ने प्रधानमन्त्रीका ती आँखामा आँखा जुधाएर भन्न मन छ की प्रधानमन्त्री ज्यु तपाईंले जनताको करबाट कति करोड औषधि उपचार, पानी र खाजामा खर्च गर्नुभयो ?

प्रधानमन्त्रीलाई अर्को प्रश्न पनि आँखा जुधाएरै गर्न मन छ की बाबुरामले भने जस्तो सबै प्रधानमन्त्रीको सम्पत्ति छानबीन गर्न तपाईं तयार हुनुहुन्छ ? अनि बाबुरामले भनेजस्तै मजदुरले तलब नपाउँदासम्म सबै विशिष्टको तलब सुविधा रोकौं भन्न सक्नुहुन्छ ?

बाबुरामले भनेजस्तै भारत र चीनसँग गतिशील पुलको सम्बन्ध कायम गरौं र देशको विकासमा दुबै देशबाट फाईदा लिएर अगाडी बढौं भन्न सक्नुहुन्छ ? तपाईं त कहिले नक्सा र कहिले राम मन्दिरको कुरा गरेर जनताको भावनालाई आफ्नो सत्ता टिकाउने राष्ट्रवादी अस्त्रको रुपमा व्यापार मात्रै गर्न सक्नुहुन्छ होईन र ? किनभने तपाईं त १४ वर्ष जेल बसेर देश समृद्ध बनाउन आएको मान्छे हो नि !

सधैं अरुलाई नराम्रो देख्ने र आफुले भयंकर राम्रो गरेको छु भन्ने भ्रममा रहेका गणतन्त्र र संघीयताको आन्दोलनमा कुनै योगदान नभएका तपाईं जस्ता परिवर्तनविरोधी नै अहिले महान क्रान्तिकारी बनेर गणतन्त्र र परिवर्तनका नायकहरुलाई तेजोबध गर्न किन अरिङ्गाल सेना परिचालन गर्दै हुनुहुन्छ ? यसको जवाफ हामी ओलीसँग आँखा जुधाएरै माग्न चाहन्छौं । तर हामीले ओली भट्न पाउनुपर्‍यो । बालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रेस खरीदबारेको ७० करोड प्रकरण, विभिन्न फाउण्डेशनको नाममा पूर्व एमालेका नेताले लगेको राज्यकोषको करोडौंको हिसाब अनि ओम्नी, यति ग्रुपसँगको अनावश्यक उठबसबारे जवाफ दिन ओलीलाई जनता समक्ष उभ्याउन सक्ने के ती सल्लाहकारको हिम्मत छ ?

१० वर्षे जनयुद्धलाई हत्याको राजनीति र त्यसका नेता प्रचण्ड र बाबुरामलाई हत्यारा भनेर अपमान गर्ने कमरेड ओली अहिले तिनै प्रचण्डको बैशाखी टेकेर सत्तामा रजाईं गरिरहेका छन् ।

२०५२ साल फागुन १ देखि शुरु भएको जनयुद्धलाई हत्याको राजनीति भन्दै प्रचण्ड–बाबुरामको टाउको काटेर ल्याउने उर्दी जारी गर्न त्यसबेलाको शासकलाई उक्साउने र जनयुद्धमा शहीद र घाईतेले बगाएको रगतलाई महिलाको मासिक श्राव हुँदाको रगत जस्तै भनेर तुच्छ र घृणित शब्दले अवमुल्यन गर्नेहरु अहिले त्यहि आन्दोलनको बलले आएको गणतन्त्रमा हालीमुहाली चलाईरहेका छन् । के कमरेड ओलीमा यसको जवाफ आँखा जुधाएरै दिन सक्ने हिम्मत छ ?

नेपालीमा एउटा चल्तीको उखान छ ‘बाघको छालामा स्यालको रजाईँ’ । अहिले नेपाली राजनीतिमा ठ्याक्कै यहि उखान चरितार्थ भएको छ । बाघको छालामा बसेर स्यालले बाघ मै हुँ भनेर झुक्याए जस्तो अहिले भएको छ । बाघको छाला ओढेर बसेको स्याल कहिल्यै पनि असली बाघ हुँदैन । जुन दिन जनताले स्याल हो भन्ने बुझ्छन् अनि आँखा जुधाएर कुरा गर्ने होईन आँखा झिकेर मिल्काईदिन सक्छन् ।

हिजो ज्ञानेन्द्र शाहको खुट्टामा दाम चढाउन जाने र पछि कुखुरा चोर्न आएको स्याल हो भन्ने बुझेर खोरमा थुनेजस्तो गर्दा यीनै बाबुराम–प्रचण्डलाई रोल्पा पुगेर दश औंला जोड्नेहरु अहिले जनयुद्ध र बाबुराम–प्रचण्डको खेदो खन्न किन लागेको ? यसको जवाफ पनि आँखा जुधाएरै सोध्न मन छ ।

जनताले तीरेको करबाट पालिएका स्यालहरुलाई कहिले बाबुराम र कहिले प्रचण्डलाई खुईल्याउन खटाई रहने र क्रान्ति र परिवर्तनलाई स्वीकार गर्न नसक्ने, बाहिर जनतालाई भोकै मर्न दिन्न भनेर हल्ला गर्ने तर भित्र–भित्र आफ्ना नेता कार्यकर्तालाई विभिन्न प्रतिष्ठान, मन्दिर र कोषको नाममा जथाभावी पैसा बाँडेर राज्यकोषको दोहन गर्ने तीनै प्रधानमन्त्री ओलीसँग आँखा जुधाउन हामी तयार छौं ।

अनि ओलीकै छत्रछायाँमा बसेर बाबुराम प्रचण्डको उछित्तो काढ्ने सल्लाहकारले यति कुरा बुझ्न जरुरी छ की आँखा जुधाउन सक्ने हिम्मत कमरेड ओलीमा चाहिँ छ की छैन ? कोरोना त्रास देखाएर लकडाउन गर्ने र दैनिक ज्यालादारी गर्नेलाई भोकै मर्न बाध्य पार्ने कमरेडले यो कुरा बुझ्न जरुरी छ की जनताको आँशु र पसिनाको मुल्य धेरै महङ्गो हुन्छ । जनता जागेको बेला आँखा जुधाउन तयार हुनुस् । अब त्यो दिन नजिक आउँदै छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay