scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

जो डोल्पामा उद्यमशिलताको उडान भरिरहेका छन् …

डोल्पा, २३ भदौ । सानैदेखि पढाईमा अब्बल दुनैका भीम न्यौपाने क्रिकेट, चेस र फुटबल खेल्न पनि उत्तिकै माहिर छन् । एस.एल.सी. उत्तीर्ण भएपछि उच्च शिक्षाका लागि काठमाडौं हानिएका उनले साइन्सबाट प्लस टु गरे । विज्ञान विषय अध्ययनको लक्ष्य थियो, पाइलट बनेर आकाशमा उड्ने ।

यो सपनाका स्रोत काका दिनेश न्यौपाने थिए तर भीमको सपना बुवाआमाको चाहनासँग मेल खाएको थिएन । बुवा चाहनुहुन्थ्यो छोरा आफू जस्तै फरेस्टर बनोस् । स्वास्थ्यकर्मी आमा डाक्टर बनेको देख्न चाहनुहुन्थ्यो ।

आफ्नो सपनामा उनी लागे पनि आर्थिक कारणले निरन्तरता गर्न सकेनन् । जेठो छोरा इन्जिनियर बनाइसकेका बुवाआमाले कान्छो छोरा भीमलाई हरप्रयासबाट पाइलट बनाउन सक्ने आर्थिक जोहो होला भन्ने लागेको थियो । तर उनीपछिका दुई बहिनीहरुको पढाईमा लाग्ने सम्भावित खर्चको आंकलन गर्दा भने भीम आफ्नो जिद्धिपनबाट पछि हटे ।

मनमा गडेको इच्छाको सियोले घोच्न नछोडेपछि सपनाको स्थानान्तर गरे । पाइलटको साटो नासाको सपना बनाए जहाँ उडानकै काम हुन्थ्यो । इलेक्ट्रिकल इन्जिनियर बन्न कलेजमा भर्ना भए । त्यसको लागि उनले अध्ययन गर्ने कलेजबाटै पूर्ण छात्रवृत्ति व्यवस्था मिलाएका थिए जसले सम्भावित आर्थिक संकट टार्थ्यो ।

तर अध्ययन सुरु भएको पहिलो वार्षिकीमै कलेज र विद्यार्थीबीचको टकरावको बहानामा छात्रवृत्ति हटाइयो । यसले पढाईप्रतिको वितृष्णामात्र सुरु भएन, बरु देशको अवस्था र शैक्षिक व्यापारीकरणले उनलाई पोल्न थाल्यो ।

चाहेको भन्दा महंगोमा प्राप्त इलेक्ट्रिकल इन्जिनियरको सर्टिफिकेटले नासा पुग्न त परको कुरा भयो, इन्जिनियर नै भई काम गर्न प्रेरित गरेन ।

डोल्पा सम्भावनाले भरिएको ठाउँ हो । हामीले केही न केही त गर्नैपर्छ जसले डोल्पाबासीको समृद्धिको ढोका खोल्न सकियोस् । सुरुवात आफैंबाट ।
युवा उद्यमी भीम न्यौपाने

यसै बीचमा उनी डोल्पा फर्के । आफूसँग भएको ९० हजार रुपैयाँले यार्चा व्यापार गरे । आफ्नै इच्छा, ढंग र जोडबलले गरेको व्यापारबाट एकैपटक २ लाख ५० हजार नाफा भयो । यसबाट फुर्किएका उनी व्यापार गर्नमा लालायित बने ।

बुवाआमाको सरकारी जागिरका लागि लोकसेवाको परीक्षा देओस् भन्ने चाहना थियो । त्यतिखेरको देशको राजनीतिक अवस्था विकराल बन्दै गइरहेको थियो । आन्दोलन, हड्ताल र बेथितिले थुप्रै युवाहरुलाई वितृष्णा जाग्न थालेको थियो । यही अन्यौलताबीच उनले देशमा त नबस्ने नै निश्चय गरे र विदेश जाने नै एकमात्र लक्ष्य बन्यो ।

त्यो यात्रा तय गर्न फेरी बुवाआमासँगै भर पर्नुपर्थ्यो तर बुवाआमाले मान्ने कुरै थिएन ।

अभिभावकको करकाप र उनको जिद्धिपनले वारपार हुने नदेखेपछि त्यसको जिम्मा देउतालाई दिने भए । देउताले विदेश जानु राम्रो हुनेछैन भनेपछि उनको विदेश सपना टुट्यो ।

कुनै एक घटना वा दुर्घटनाले मात्र गलाउन सक्दैन मानिसको सपना । तर बारम्बार दोहोरिने त्यही र त्यस्तै परिवेश, घटना वा अवस्थाले भने थिलथिलो बनाउँछ ।

भीमलाई जीवनको बाटोमा हिड्दा त्यस्तै महसुस भयो । हरेक वर्ष यार्चा व्यापारलाई निरन्तरता दिएकै थिए, र नाफा पनि राम्रै भइरहेको थियो । तर विदेश जान नपाएर विरक्तिएपछिको वर्ष सोचेको भन्दा बढी घाटा बेहोर्नु पर्‍यो । घरको धनमाल समेत बैंकमा धरौटी राख्नुपर्ने भयो । यसले उनलाई भित्रैदेखि गलायो ।

महंगो पढाई सकेरपनि जागिर नगर्नु, व्यापार गरेर भएको पैसा पनि डुबाउनु, र अब के गर्ने भन्ने जीवनको लक्ष्य पनि तय नहुनु बीचको त्यो समय उनको लागि निराशाजनक अवस्था थियो । यो अवस्था यस्तो अवस्था हो जहाँबाट मान्छे निस्कन सकेन भने जीवन नै बर्बाद हुन सक्छ वा यसबाट निस्कन सके एक नयाँ दुनियाँ बनाउन पनि सक्छ ।

पटक पटकको ठक्कर र त्यसपछिका घटनाक्रमले जिम्मेवार बनेका भीमले जीवनलाई बर्बादीतिर होइन समृद्धितिर डोर्‍याउन चाहन्थे । र त उनी सधैं केही गर्ने सोचिरहन्थे पनि ।

सोच्दै जाँदा उनले सधैँ मुक्तिको जुक्ति खोजिरहे । उनले थुप्रै विकल्पहरु सोँच्दै जाँदा कुनैले पनि त्यति उत्साह भर्न सकेन जति उनले घर वरीपरी रहेका सम्भावनाहरुमा देखे । एउटा थियो, घर नजिककैको जग्गाको बीचमा सडक लिन सकिए, त्यसले घडेरीको स्वरुप लिने र त्यसमा व्यापार व्यवसाय गर्न सकिने ।

बजारको बीचैबीचबाट सडक लिनु भन्दा बजार पछाडि अर्थात् जग्गाको बीचबाट लिँदा दुनैका स्थानीयलाई नै फाइदा हुने थियो । आफैंलाई फाइदा हुने कुरामा पनि धेरैले साथ दिएनन् । यसका बावजुद पनि उनीलगायत केहीले त्यो काम गरेरै छाडे । अहिले त्यो जग्गाहरुको मूल्य बढेर आकासिदै गरेको देख्दा उनी दंग छन् ।

उनी भन्छन्, ‘प्रयास गर्दा केही हुँदो रहेछ भन्ने थाहा भयो । यसबाट धेरै जना लाभान्वित भएको देख्दा अझ बढी खुसी लाग्छ । यसले थप आत्मविश्वास भर्ने काम गरेको छ ।’

यही बीचमा यार्चाको व्यापारमा मज्जैले खटे र उक्त मेहनतले आर्थिक डुबानबाट उकास्यो । बैंकमा राखेको धनमाल पनि फिर्ता भयो । त्यो बेला उनको उत्साहले हिमाल चढ्दै गयो । उनले आफ्नो गुमेको आत्मविश्वास फिर्ता ल्याए र बुवाआमाबाट पनि छोराले केही गर्न सक्छ भन्ने विश्वास पनि जिते ।

जब आफुमा विश्वास भरिन्छ तब जहाँ आफु छ त्यहाँ सम्भावना देखिन सुरु गर्छन्, त्यही स्वर्ग लाग्न थाल्छ । उनी भन्छन्, ‘त्यतिखेर म यति धेरै खुसी र सन्तुष्ट भएँ । विदेश जान नपाउँदा दुःखी भएको म, आफ्नै जन्मभूमिमा रमाउन सुरु गरेँ । बाँधिएर डोल्पा बसेको जस्तो लाग्ने म आफैंमा केही परिवर्तन महसुस भयो । त्यतिखेर मेरो जन्मभुमि डोल्पामै केही गर्नुपर्छ भनि सोंच्दा पनि उत्साहित हुन्थेँ ।’

अहिले उनले घडेरीको एक कुनाको जमिनमा फ्रेस हाउस सुरु गरेका छन् । यसले एकातिर अनियन्त्रित मासु किनबेचलाई व्यवस्थित गर्न सघाएको छ भने, अर्कोतिर सुरुमै ६ जनालाई प्रत्यक्ष र कयौंलाई अप्रत्यक्ष रोजगारी दिन थालेको छ ।

उनी भन्छन्, ‘मेरो मुख्य लक्ष्य भनेको जतिसक्दो धेरैलाई रोजगारीको अवसर दिनु हो । मैले जति जना काममा राख्छु, उनीहरुले मलाई पनि फुर्सदमा बस्न दिदैंनन् अर्थात् मैले पनि काम पाउँछु ।’

यो उनको लागि सुरुवात मात्रै हो । यतिमा मात्रै सिमित हुने चाहना भीमको छैन । उनी चाहन्छन्, ‘यस्तै अन्य उद्यमहरु सुरु गर्न सकुँ ताकि अझ धेरैलाई रोजगार बनाउन सकियोस् । तत्काल उनले एउटा सपनाको योजना तय गर्दैछन् । अबको लक्ष्य स्याउ खेती गर्ने रहेको छ जसबाट आफ्नो र अरु धेरैको आर्थिक उन्नति गराउने रहेको छ ।

त्यसका लागि उनमा पर्याप्त उर्जा, आँट र लगानी छ । यसमा राज्यले वातावरण तय गरिदिने हो भने, डोल्पाका अन्य युवाहरु पनि उद्यमी बन्न सक्नेछन् । उनी भन्छन्, ‘सरकारले बिजुली र सडकमात्र उपलब्ध गराइदिने हो भने उत्पादन र बजारीकरणका लागि धेरै नै सहज हुन्थ्यो । मुनाफा पनि ।’

‘रिच ड्याड एण्ड पुअर ड्याड’ र ‘सेभेन ह्याभिट अफ हाईली इफेक्टिभ पिपुल’ जस्ता किताबमा आफ्नो अनुहार चहार्ने भीम आफु र आफु वरीपरीका सम्भावनालाई वास्तविकतामा बदल्न चाहन्छन् । त्यसका लागि पढाईले इलेक्ट्रिकल इन्जिनियर भीमले उद्यमशीलताको बाटो रोजेका छन् । सपना त आकाशमा उड्ने थियो । तर अहिले मातृभुमि डोल्पामै बसेर समृद्धिको उडान भर्ने लक्ष्य राखेका छन्, र पुरा हुने विश्वास बोकेका छन् । त्यसैमा लागेका पनि ।

प्रकृतिले त डोल्पालीलाई सम्पन्नताको आधार त दिएकै छ । राज्यले सडक र बिजुली दिन सके युवाहरु उद्यमशील बन्न सहज हुन्थ्यो । गाउँगाउँका युवाहरु उद्यमशील हुने हो भने समृद्ध र सम्पन्न डोल्पाको सपना पुरा हुन धेरै बेर लाग्नेछैन । आफैंमा र आफ्नै जन्मभूमिमा भविष्यको संकेत र सम्भावना देख्ने युवा उद्यमी भीम न्यौपाने जस्ता युवाहरुले डोल्पाको मुहार फेर्ने निश्चित छ ।

समयले परिवर्तनको संकेत गरिसकेको छ ।

  • ‍प्रस्तुतिः प्रेमबहादुर बोहरा

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay