scheduleमगलवार आश्विन १३ गते, २०७७

सूर्यजी, षड्यन्त्रको राजनीति कहिलेसम्म गर्नुहुन्छ ?

विश्वदीप पाण्डे

श्री सूर्य थापाजी !

अभिवादन,

सन्दर्भ विदितै छ– तपाई अहिले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार हुनुहुन्छ । साथै बारम्बार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई लक्षित गरी विभिन्न कुरा लेख्ने गर्नुहुन्छ । बालुवाटारको शासकीय वृत्त, संस्कृति र कार्यशैलीबारे म आफैं जानकार छु । डा. बाबुराम भट्टराई करिब १९ महिना प्रधानमन्त्री हुँदै मैले पनि नेपालको शासकीय प्रचलन, संस्कृति र कार्यशैली नजिकबाट देखेको, भोगेको छु ।

तपाईले लेख्ने भन्ने कुराहरु ‘तपाईका हैनन्’ भन्ने राम्रो जान्दछु । व्यक्तिगतरुपमा वर्तमान सरकारप्रति तपाईको के धारणा थियो भन्ने कुरा तपाई सल्लाहकार हुनु अघिका टिप्पणी र पुराना पोष्टहरु खोलेर हेरे हुन्छ । नैतिक प्रश्न गर्ने हो भने एउटै पार्टीभित्र पनि ‘राजनीतिक लाइन’ नमिल्दा यस्ता नियुक्ति लिने प्रचलन संसदीय लोकतन्त्रमा हुँदैन । तर आज म त्यो प्रश्नतिर पनि जान्नँ ।

तपाईलाई थाहा हुनु पर्दछ कि केपी शर्मा ओली र डा. बाबुराम भट्टराई नेपाली राजनीतिमा सर्वथा दुई भिन्न दृष्टिकोण भएका नेता हुन् । यो भिन्नता आज सृजना भएको हैन । उहाँहरुको राजनीतिक जीवनको प्रारम्भ नै त्यसरी भएको छ ।

ओली झापाली मालेधारबाट आउनु भो । भट्टराई चौमधार र मसाल हुँदै आउनु भो । त्यो बेलादेखि नै उहाँहरुको दृष्टिकोणमा भारी भिन्नता थियो ।

२०४६ साल ताका माले वाममोर्चामा थियो । डा. बाबुराम भट्टराईको नेतृत्वमा भिन्नै संयुक्त जनआन्दोलन समिति थियो । तत्कालीन एमालेले ‘राजतन्त्रलाई अपरिवर्तनीय’ भनिएको संविधानलाई मानेर हिड्यो । डा. भट्टराईले त्यो संविधान कहिल्यै स्वीकार गर्नु भएन । त्यो संविधानको तहत कहिल्यै कुनै चुनाव लड्नु भएन । तपाईलाई गोर्खाको त्यतिखेरको राजनीतिक शक्ति सन्तुलनको ज्ञान होला– पदकै लोभ गरेको भए २०४८ सालकै चुनाव उहाँले जित्नु हुन्थ्यो । गोर्खा एमाले गणनामा पनि थिएन । जनमोर्चाका उम्मेद्वारले कांग्रेसलाई नजिकबाट टक्कर दिएका थिए ।

डा. भट्टराईले जस्तै अप्ठ्यारोमा पनि ‘संविधानसभा र गणतन्त्र’ लाई आफ्नो राजनीतिक बटमलाइन बनाउनु भो । माओवादी आन्दोलन मूलतः नयाँ जनवादी क्रान्तिको सिद्धान्तमा विश्वास गर्ने आन्दोलन थियो । त्यो आन्दोलनभित्र उहाँले ‘संघीयता, उत्पीडित जातिहरुको मुक्ति र समावेशिताको मुद्दा’ छिराउनु भयो । माओवादी पार्टीले जनयुद्ध गरेको केही वर्षपछि ‘१३ प्रदेशसहितको संघीय ढाँचामा पार्टी संगठनलाई ढालेको’ तपाईलाई सम्झना हुनु पर्दछ । आज प्रचण्ड त्यो मुद्दा बोक्नु हुन्छ कि हुन्न, उहाँलाई नै थाहा होला । बाबुराम अझै पनि बोक्नु हुन्छ, किनकी त्यो उहाँको मौलिक स्वीकृति भएको मुद्दा हो । ओलीजीलाई न संविधानसभासँग, न गणतन्त्रसँग न संघीयता र समावेशितासँग कुनै मतलब थियो ।

अर्को दुईवटा सन्दर्भ याद गराउँछु– चुनवाङ र पालुङटार बैठकबारे । राजा ज्ञानेन्द्रको ओभरटेकपछि बाबुरामबाहेक केही कमरेडहरु राजासँग सम्झौता गरेर कम्बोडिया मोडेलमा राजतन्त्र राख्ने दाउमा हुनुन्थ्यो । डा. भट्टराईले नै जोखिम मोलेर माओवादी पार्टीलाई सात संसदीय दलसँग सम्झौता गर्ने लाइनमा पुर्‍याउनु भो । त्यो अवधिमा डा. भट्टराईलाई माओवादी जनसेनाले बन्दी बनाएको र उहाँको जीवन जोखिममा परेको बारे सुन्नु भएकै होला ।

अर्थात् माओवादी र सात संसदीय दलको १२ बुँदे सहमतिको राजनीतिक लाइन उहाँकै प्रयासमा बनेको थियो । माओवादीको पालुङटार बैठक सेरोफेरोको कुरा पनि सम्झाउँ । त्योबेला प्रचण्ड ‘जनविद्रोहको कार्यनीति’ मा हुनुहुन्थ्यो, ‘शान्ति र संविधान’ डा. भट्टराईको लाइन थियो । ‘जनविद्रोहको कार्यनीति’ को कार्यनीति सफल हुन्छ कि हुँदैन भनेर परीक्षण गर्न छ दिने आम हड्ताल भएको र त्यो पार नलागेपछि तत्कालीन माओवादी पार्टी बाबुरामले उठाउँदै आएको शान्ति र संविधानको लाइनमा आएको बुझ्नु भएकै होला ।

यी सबै घटनाक्रममा डा. भट्टराईका राजनीतिक अडानहरु कहाँ थिए, प्रष्ट छ । संविधानसभा, गणतन्त्र, उत्पीडित जातिहरुको मुक्ति, संघीयता र समावेशिता, ७ दलसँगको सम्झौता, शान्ति र संविधानको कार्यदिशाा, समग्रमा ‘नयाँ जनवादी क्रान्ति’ को बाटोमा हिंडेको पार्टीलाई ‘संघीय लोकतान्तिक गणतन्त्रमा अवतरण’ । आज देश जहाँ छ र जुन राजनीतिक लाइन स्थापित भएपछि ओली प्रधानमन्त्री हुनुहुन्छ, त्यसमा डा. भट्टराईको योगदान कति र प्रम ओलीका अडानहरु के कस्ता हुन्थ्ये एकपटक राम्ररी सम्झिनु होला ।

अझ पछिल्लो चरणमा सेना समायोजन र क्यान्टोनमेन्टको समस्या कसरी जटिल हुँदै थियो, त्यो सम्झिनु होला । डा. भट्टराई प्रधानमन्त्री हुँदा क्यान्टोनमेन्टको क्रोनिक हुँदै गएको समस्या कसरी एक रातको रिस्कमा हल गर्नु भो, त्यो सम्झिनु होला ।

करिब १७ वर्ष यता म व्यक्तिगत रुपले डा. भट्टराईसँगै छु । व्यक्तिगत जीवनमा उहाँले उठाउनु भएको जोखिमको तपाईंहरु कल्पना पनि गर्न सक्नु हुन्न । त्यो भिन्नै कुरा हो कि त्यतिखेर जोखिमहरुको बीचबाट गुज्रिएर पनि उहाँ सकुशल रहनु भयो ।

जुन पिएचडीको कुरा तपाईं गर्दै हुनुहुन्छ नी– त्यो सक्दा उहाँ २३ वर्षको मात्र हुनुहुन्थ्यो । उहाँ क्रान्ति छोडेर पढ्न जानु भएको हैन । विद्यार्थी उमेरको निरन्तरता हुँदै पढनु भएको हो । यहाँ अर्को कुरा सम्झाउँ, त्यतिखेर पनि उहाँ दिल्लीमा पढ्नु मात्र हुन्थेन । नेपालमा सानो मानिने मसाल पार्टीको भारत प्रवासी संगठन ‘एकता समाज’ किन तत्कालीन माले/एमालेको भन्दा निक्कै ठूलो संगठन मानिथ्यो, त्यो सोच्नु होला ।

आज तपाईहरुको कुरा प्रचण्डसँग मिलेको छ, डा. भट्टराईसँग मिल्दैनन् । तर प्रचण्डजीसँगको एकता वैचारिक कम र पावर पोलिटिक्स बढी हो भनेर आरोप लगाउनेहरुको आशंका बलियो बन्दै गइरहेको छ । डा. भट्टराई अहिले पनि वैचारिक नेता हो । त्यसका ५ वैचारिक कारण छन्-

एक– शासकीय स्वरुप र निर्वाचन प्रणालीको प्रश्न

दुई– प्रदेश पुनर्सीमाङ्कनको प्रश्न

तीन– नेपालका सीमान्तकृत उत्पीडित जातिहरुको मुक्ति र सशक्तिकरणको प्रश्न

चार– समग्र विश्व साम्यवादी आन्दोलनको पुनर्मुल्याङ्कन र समाजवादी आन्दोलनलाई नयाँ वैचारिक उच्चाई दिने प्रश्न र,

पाँच– नेपालका सन्दर्भमा विकास, सुशासन र समृद्धिलाई एक नयाँ ढाँचामा आकारित गर्ने प्रश्न ।

यी ५ एजेण्डामा प्रम ओलीका अडान के हुन् ? प्रचण्डका द्विविधाहरु के हुन एकपटक राम्ररी सोच्नु होला । हिजो २०५० को दशकमा डा. भट्टराईले संविधानसभा, गणतन्त्र, संघीयताजस्ता कुरा उठाउँदा तपाईहरुले पत्याउनु भएको थियो र ? ठीक त्यसै गरी हेर्नु होला– आउने केही वर्षभित्र डा. भट्टराईले बाँकी एजेण्डा पनि पुरा गरिछोड्नु हुन्छ । ‘सानो पार्टी’ भन्ने भ्रम हटाउनु होला । हिजो संयुक्त जनमोर्चा वा माओवादी कत्रो पार्टी हो र ? त्यसको तुलनामा आज डा. भट्टराईको पार्टी र समर्थनको दायरा धेरै ठूलो छ ।

जहाँसम्म डा. भट्टराईका ट्वीट तिखा र घोच्ने हुन्छन् भन्ने तपाईहरुको आपत्ति छ, त्यो उहाँको शैली हो, झर्रो गाउँले भाषा प्रयोग गर्नु हुन्छ । तपाई प्रम ओलीका हिजोको ती भाषण याद गर्नुस् त एकपटक उहाँ माओवादीहरुलाई कसरी गाली गर्नु हुन्थ्यो ? ‘रोल्पाली बिरालो’ वा ‘माका फुई’ जस्ता शब्द त डा. भट्टराईले प्रयोग गर्नु भएको छैन नी ।

मित्र सूर्य जी !

मानव जातिको इतिहास संघर्षको इतिहास हो । संघर्ष विना प्रगति हुँदैन । प्रम ओली र पूर्व प्रम डा. भट्टराई अहिले दुई फरक वैचारिक ध्रुवको नेता हो, उनीहरुको बीच संघर्ष हुन्छ, त्यो नै आजको नेपाली समाजको धरातलीय यथार्थ हो, त्यो नर्बिसनु होला । अरु त कुनकुन नेताबीच के वैचारिक भिन्नता छ र ?

तपाईहरुसँगको हाम्रो संघर्ष किन पेचिलो हुँदैछ, नभन्दा पनि हुने एउटा कुरा भन्दिउँ– यो नठान्नु होला कि बालुवाटारका सूचनाको पहुँचबाट हामी टाढा छौं । सरकारमा तपाईहरु हुनु होला, तर समग्र सत्तामा हाम्रा पनि शुभचिन्तक छन् । तपाईहरु कसरी राजनीतिक षड्यन्त्रको तानावाना बुन्नु हुन्छ, कसरी डा. भट्टराई र अन्य केही नेताहरुलाई फसाउन खोज्दै हुनुहुन्छ, त्यो सबै हामीलाई थाहा छ ।

अध्यादेश प्रकरण र मेरियट होटल प्रकरण के थियो, कसरी फ्लप खायो भन्ने स्मरण गर्नु होला । नेपाल ट्रष्टको झुठो श्वेतपत्रको उद्देश्य के थियो, आज त्यो कसरी बिलाएर गयो, त्यो पनि याद गर्नु होला । हामी तपाईहरु जस्तो कुनै षडयन्त्रको राजनीति गर्दैनौं । तर ‘काउन्टर स्ट्राटेजी’ मा तपाईहरु भन्दा कम छैनौं भन्ने पनि याद राख्नु होला ।

डा. भट्टाईले संसदको रोष्टममा उभिएर मातातीर्था जग्गाबारे खुलेआम कागज देखाइदेखाई बोलेपछि तपाईहरुको षड्यन्त्रको पन्तुरा किन अदृष्य भयो ? सबै थाहा छ ।

प्रम ओलीले जुन प्रकारको संघर्ष गरेर आउनु भएको छ डा. भट्टराई त्यो भन्दा कम्तीमा सय गुणा बढी पेचिलो, जटिल र जोखिमपूर्ण संघर्षको मैदानबाट हिंडेको नेता हो भन्ने नर्बिसनु होला । समय सधैं कसैको वशमा हुँदैन । पछिल्लो समय केही जटिलताले उहाँलाई घेरेकै हुन् । राजनीतिकरुपमा थोरै कमजोर र असहज स्थितिमा पर्नु भएकै हो, तर त्यो अस्थायी कुरा हो ।

अन्तिममा यो प्रष्ट गरौं– व्यक्तिगत रुपमा हाम्रो तपाईहरुप्रति कुनै दुर्भावना छैन । प्रश्न मूलतः वैचारिक र एजेण्डागत नै हो । शासकीय शैलीमा रहेको भिन्नता नै हो । जनसरोकारका प्रश्न नै हुन । डा. भट्टराईको शासनकालसँग केही उडन्ते कुराहरु जोडेर, त्यसैलाई आवरण बनाएर तपाईहरुले यति, ओम्नी, बाँस्कोटा सबै प्रकरण ढाकछोप गर्न सक्नु हुन्न । त्यो मुर्खता नगर्नु होला ।

आँट छ, प्रमाण छ भने छानबीन गर्नुस्, तपाईहरुसँग सत्ता छ अहिले कस्ले रोक्न सक्छ ?

केही राजनीतिक कुरा पनि गरिहालौं । हामीलाई पनि थाहा छ- संविधानसभा र गणतन्त्र तपाईंहरुले रोजेको बाटो होइन । बाध्यताले हिंड्नुभएको बाटो यति धेरै पार गरिसक्नुभयो कि अब तपाईंहरुलाई पछाडि फर्कन पनि अप्ठेरो छ, अगाडि बढ्न पनि रुचि छैन । सरकारी अन्यौल यसरी हेर्दा एजेन्डा र विचारको अन्यौलभन्दा केही होइन ।

औषधि हालेर पकाएको केरा पनि पहेंलो नै हुन्छ । तर स्वाद भने अलि खल्लो हुन्छ । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको मुद्दा तपाईंहरु यही कारणले खल्लो लागिरहेको छ । सिधा भन्दा दूधको साक्षी बिरालो भनेजस्तो भएको छ । संघीयता भनेको छ, न पुनर्संरचना ठिक छ न अधिकार दिइएको छ । समावेशिता भनेको छ, मन्त्रिमण्डल मात्रै समावेशी बनाइदेऊ न भन्दा एनजिओको ट्याउँट्याउँ भनिदिनु हुन्छ । गणतन्त्रको संरक्षण गर्नुछ, सामन्ती हठ, दम्भ नलुकाएरै राजाकालीन संस्कारहरुलाई जीवन्तता दिइरहनु भएको छ ।

यही पृष्ठभूमिमा जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका एजेन्डाहरुमाथि तपाईंहरुको सौतेलो व्यवहारले नेकपाभित्र रहेका प्रगतिशील शक्तिहरुको मन रमाइरहेको छैन । बालुवाटार र ओली समूहले राजनीतिको नाममा गरिरहेको अराजनीतिक खेलले सीमा नाघ्न थाल्यो भने मुलुकमा नयाँ ध्रुवीकरण पनि हुनसक्छ । यस्तो बेला परिवर्तनका एजेन्डाहरुलाई अभिभावकत्व लिन तयार शक्तिहरु एकाठाउँमा आउनै पर्ने हुन्छ ।

नेकपाभित्रको विवादको राजनीतिक समाधान नखोज्दा बढीरहेको सम्भावित राजनीतिक दुर्घटनाहरुलाई अध्यादेशदेखि अन्धाधुन्ध गालीले रोक्न सक्दैन । पार्टीभित्रको लोकतन्त्र बन्ध्याकरण गरेर लोकतान्त्रिक अक्सिजन अभाव भइरहेको छ । मानिस रोग, भोक र अभावले निस्सासिएर चिच्याउँदा तपाईं सरकारको विरोध गरेको देख्नुहुन्छ ।  सरकार र जनताबीच बढिरहेको दूरी बाबुरामलाई गाली गरेर घट्दैन । ऐना पुछ्ने भन्दा अनुहारको धुलो पुछ्ने कि ?

बाँकी मौका मिले भेटभाटमा कुरा गरौंला । धन्यवाद ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय