scheduleमगलवार आश्विन १३ गते, २०७७

मानवनिर्मित समस्याको खाडलमा पर्दै मानव

उत्तम कँडेल

प्रारम्भः यस वर्षको मनसुन बिदाई हुने क्रममा छ । विगत वर्षहरुमा जस्तै यसपटक पनि नेपालमा बाढी, पहिरो र डुबानले ठूलो मात्रामा धनजन र भौतिक संरचनामा क्षति गर्‍यो । पछिल्लोपटक वाग्लुङ र ताप्लेजुङमा गएको बाढीपहिरोलाई समेत जोडेर हेर्दा नेपालमा हालसम्म लगभग पौने चार सय मानिसहरु मृत्यु या बेपत्ता भएका छन् भने अर्बौं मूल्य बराबरको भौतिक क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । त्यसो त बाढी पहिरो र डुबान प्रकृतिको नियमित प्रक्रिया हुन् । हरेक वर्ष मनसुनपछि यस्ता घटनाहरु दोहोरिने र दुःखद समाचार सुनिरहनु पर्ने बाध्यता हामीलाई छँदैछ ।

प्राकृतिक नियम

जाडो, गर्मी, बर्षात्, चट्याङ, हुरीबतास, खडेरी, हिमपातजस्ता प्राकृतिक घटनाक्रमहरुले मौसमको विविधता तथा स्वभाविक नियमहरुलाई अभिव्यक्त गर्दछ । प्रकृतिको यस्तै सार्वभौम नियम र प्रकृयाले पृथ्वीमा अनन्तकालदेखि जीवनको अस्तित्व र विकास सम्भव भएको हो । त्यसैले वर्षात् हुनु, चट्याङ पर्नु, भुकम्प जानु, जाडो गर्मी हुनु प्रकृतिको स्वभाविक नियमहरु हुन् ।

कतिपय नियमहरु हरेक वर्ष दोहोरिँदै जान्छन् । त्यसमध्ये मनसुन पनि एक हो । जसरी मनसुन दोहोरिई रहन्छ त्यसैगरी बाढीपहिरो र डुबानका घटनाक्रम पनि दोहोरिई रहेका हुन्छन् । सामान्य नियममा चलिरहने मनसुन कुनैकुनै बेला भने असामान्य रुपमा प्रकट हुने गर्दछ । यसको अर्थ प्रकृतिमा सामान्य र असामान्य दुवैखाले नियमहरुले काम गरिरहेका हुन्छन् । जब असामान्य नियमले काम गर्छ त्यसबेला जनजीवन अस्तव्यस्त र कोलाहलमय हुन्छ ।

बुढापाकाका अनुसार वि.सं. २०११ र २०२८ सालका दक्षिण धादिङमा गएको बाढीपहिरो यस क्षेत्रको इतिहासका सबभन्दा डरलाग्दा घटनाक्रमहरु थिए । त्यस्तै वि.सं. २०४१ र २०५० सालको बाढी पनि उत्तिकै खतर्नाक थिए । त्यसको २७ वर्षपछि श्रावण महिनामा अविरल वर्षात्ले ल्याएको बाढी/पहिरो विगतका भयानक त्रासदीलाई सम्झाउने खालको हुन पुग्यो । जसले मानिसहरु लगायत राजमार्ग, सडक, पुल, नहर, घरबस्ती, टहरा, खानेपानी, अन्नबाली, वस्तुभाउ, खेतबारीजस्ता कतिपय संरचनाहरु पुनःनिर्माण हुनै नसक्ने गरी ध्वस्त बनाई दियो ।

मानवीय हस्तक्षेप/विकास

यथार्थमा आफ्नै नियममा चल्ने प्रकृतिलाई विकासको नाममा मान्छेले अनावश्यक हस्तक्षेप गर्न थालेपछि विश्वले पर्यावरणीय संकट झेल्न थालेको हो । आजको कोरोना संकट पनि भाईरसको जीवनचक्रमाथि मानिसले निर्ममतापूर्वक हस्तक्षेप गरेपछि पैदा भएको विज्ञहरुको भनाई छ । ग्लोबल वार्मिङ, जलवायु परिवर्तन र पर्यावरणीय गिरावट पनि मानवीय हस्तक्षेप कै कारण पैदा भएका समस्याहरु हुन् । हावा, पानी, माटो, जंगल, जैव–विविधता, समुन्द्र, ओजन तहलगायत सबै क्षेत्र मानवीय हस्तक्षेपका कारण क्षयीकरण हुँदै गएको र पृथ्वी जीवहरुको लागि बस्न अयोग्य हुँदै गएको छ ।

उत्तम कँडेल

मानव संख्या वृद्धि भैरहनु, उसको चाहना र आकांक्षा असीमित बन्दै जानु, आफ्नो क्षमतालाई वरदान ठानेर प्रकृतिका अन्य सबै घटकहरुमाथि लगातार हस्तक्षेप बढाउँदै लैजानुले आज पृथ्वीमा मान्छेलगायत सबै जीवहरुको अस्तित्व संकटमा परेको छ । जसले गर्दा एकातिर मान्छेहरुको आकांक्षा परिपूर्ति गर्न प्रकृति असक्षम र अयोग्य बन्दै गैरहेको छ भने अर्कोतिर जीवन नै असुरक्षित हुने गरी धर्ती क्षतविक्षत र बर्बाद हुँदै गएको छ । विगत तीन सय वर्ष यता, विशेषगरी पछिल्लो एक शताब्दिभित्र, मान्छेले जेजस्ता साधनहरुको आविष्कार, निर्माण र प्रयोग गरेका छन्, त्यसले नै प्रकृति र जीवनमाथिको संकट बढाउँदै लगेको छ । ग्लोबल वार्मिङ, जलवायु परिवर्तन र पर्यावरणीय गिरावटका भयानक असरहरुको अध्ययन गरेर विज्ञहरुले हिजोआज यस्तै निष्कर्ष निकालेका छन् ।

पहाड संवेदनशील

नेपालमा पछिल्लो समय हेवी मेसिनहरुको आयात र प्रयोग अचाक्ली बढेको छ । विगत २५ वर्षदेखि सरकारले विकासको नाममा सहुलियत भन्सार दरमा हेवी मेसिनहरु भित्र्याउन थालेपछि आज हजारौं मेसिनहरु उत्खननमा निरन्तर संलग्न हुँदै आएका छन् । त्यसले गर्दा कमजोर पहाडी भू–भाग क्षतविक्षत बन्नेक्रम जारी छ ।

केही वर्षदेखि तीनवटै तहका सरकारहरुले सडक निर्माणमा ह्वार ह्वार्ती विकास बजेट बढाईरहेका छन् । यतिखेर देशका सयौं डाडापाखा र जंगलहरु क्षतविक्षत हुने गरी सडक बनिसकेको र पहाड भत्काउँदै थप नयाँ सडक बन्नेक्रम जारी छ । अर्कोतिर गाउँ गाँउमा सडक पुगेपछि त्यसैको सह–उत्पादनको रुपमा घडेरी खार्ने, जग्गा सम्याउने, वन मास्ने, बगर उत्खनन् गर्ने, खानी खोतल्ने तथा अनावश्यक पहाड खोतल्ने कार्यमा समेत हेवी मेसिन प्रयोग हुँदै आईरहेको पाईन्छ ।

पहाडमा हेवी मेसिनहरु अन्धाधुन्ध कुद्न थालेपछि लगत्तैको वर्षात्ले निर्माणाधीन कमजोर संरचनाहरुलाई बगाउन थाल्छ । हिंडिरहेको बाटो नपाएपछि वर्षात्को पानी नयाँ बाटो हुँदै बग्न थाल्छ । अनि पुरानो भलेसो कुलेसो र खोल्साखोल्सी र पहिरो छल्दै बनेका घर, बस्ती, खेतीलगायत अनेक संरचनामा अनायास बाढी पहिरो खस्न थाल्छ । त्यसैले नयाँ संरचना बनाउनु अघि बाढीपहिरो, बर्षात्, भूकम्प, हावाहुरी जस्ता प्राकृतिक शक्तिहरुको प्रवृत्ति र उसको विविधताको अध्ययन गरेर मात्र निर्माण कार्य थालनी गर्नुपर्छ । दीर्घकालीन असरहरुको आंकलन विना गरिएको हचुवा विकास नीतिले प्रकृतिको रक्षा हुन सक्दैन । त्यसैले डोजर चलाउनुअघि पहाडको सम्वेदनशिलतालाई ख्याल गर्नुपर्छ ।

तर विडम्वना यो छ कि विना अध्ययन पहाड भत्काएर सडक निर्माण गर्ने, मर्मत सम्भार नगर्ने, असुरक्षित स्थानमा घडेरी खार्ने, जथाभावी वन फडानी गर्ने, खानी उत्खनन गर्ने, नदी सतह खोतल्ने, मनपर्दी बाँध बाँध्ने, धुवाँधुलो प्रदुषण बढाउने, भिरको कुना तथा नदी किनारामा बस्ती बसाउने, असुरक्षित स्थानमा बस्ती बसाउने, खेतीपातीमा विषाधि थोपर्ने, पानीका स्रोतहरुलाई दुषित बनाउने, कयौं प्राणीहरुलाई मारेर खाने जस्ता कार्यहरुलाई हामीले विकास भन्दै आएका छौं ।

पर्यावरण र आफ्नो भू–बनौटको अवस्था बुझ्दै नबुझी जथाभावी प्राकृतिक संरचना बिगार्दै गयौ भने त्यो कति भयानक हुन्छ भन्ने कुरा बेलाबेलाका अस्वभाविक वर्षात्, अस्वाभाविक खडेरी र अस्वाभाविक शितलहरका परिणामले देखाईसकेको छ । मानिस आफैं प्राकृतिक प्राणी भएको हुनाले उसले आफ्नो सुरक्षा र हितलाई ख्याल गर्दै प्रकृतिसँगको सन्तुलन मिलाएर मात्र विकास निर्माण कार्य थाल्नु पर्छ ।

बाढी पहिरो र डुबा

हरेक मनसुनपछि आउने बाढी पहिरोले नेपालमा बर्बादीको दर सालाना वृद्धि गरिरहेको छ । त्यसमा पनि प्राकृतिक घटनाक्रमले भन्दा मानव निर्मित कमजोर संरचनाको कारणले धनजनको क्षती बढ्दै गएको जनताको बुझाईमा विज्ञहरु समेत सहमत हुँदै आएका छन् । केही विज्ञहरुको भनाईअनुसार यसवर्षको बाढी पहिरो विगत ३० वर्षदेखिको तीव्र शहरीकरण र डोजर एक्साभेटरले लगातार उत्खनन् गरिरहेको क्षेत्रमा ज्यादा गएको छ ।

गत श्रावण महिनामा मुङ्लीनदेखि गल्छी बैरेनीसम्मको त्रिशुली र पृथ्वीराजमार्ग आसपासका क्षेत्रहरुमा, जुन कहालीलाग्दो बाढीपहिरो गयो, विगत तीन दशकदेखि लगातार उत्खनन र शहरीकरण भएको क्षेत्रमा नै गएको हुनाले विज्ञहरुको उक्त निष्कर्ष सही ठहर्दछ । पछिल्ला वर्षहरुमा वर्षातसँगै बढेको प्रकृति दोहनले वर्षेनी धनजन र भौतिक क्षति बढ्दै गएको विद्वतवर्गहरुको पछिल्ला बहसहरुमा पनि आएको छ । विगत पचास वर्षको मात्रै अध्ययन गर्ने हो भने यो तथ्य छर्लङग हुन्छ ।

मानवीय हस्तक्षेपसँगै जलवायु परिवर्तनको असर समेत देखिँदा नेपालमा बाढीपहिरोको जोखिम अझ बढेको छ । नेपालमा अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि हुने, वर्षात्को अवधि र मात्रामा फरक पर्ने, सानो क्षेत्रभित्र थोरै समयमा धेरै वर्षात् हुने जस्ता घटना बढेका छन् । कमजोर संरचना भएको क्षेत्रमा अस्वाभाविक वर्षात् हुँदा नेपालमा मात्र हैन चीन, भारत लगायत दक्षिण एसिया र पुरै विश्वमा यस्तै समस्या बढ्दै गएको छ ।

सुरक्षाको उपाय

अस्वाभावीक प्राकृतिक परिघटनासँग डराएर हैन । त्यसको नियम र विधि पालना गरेर मात्र मानव जातिको सुरक्षित यात्रा सम्भव हुन्छ भन्ने कुरा मानव समाजको निकै पुरानो ज्ञान हो । त्यसैले मानिसहरुले प्राचीनकालदेखि नै विपत्तिहरुसँग जुध्न आफ्नै खाले सुरक्षा विधिको विकास गरेका थिए । खेती गर्दा, घरबस्ती बसाउँदा, बाटोघाटो निर्माण गर्दा प्राकृतिक चालहरुलाई ध्यान दिनसके त्यो निकै प्रभावकारी हुने बुढापाकाहरुको अनुभव छ । त्यसैले विगतमा मानिसहरुले वर्षात्को पानी संकलन गरेर पोखरी निर्माण गर्ने, पहिरो जाने स्थानहरुमा वृक्षारोण गर्ने, जमिन कटान हुने स्थानमा बाँस लगाउने, भुकम्पबाट जोगिन सकेसम्म ससाना तर बलियो घर बनाउने जस्ता अनेक विधिहरु अपनाएका थिए ।

तर हिजोआज विकासको नाममा जे जे गरिएको छ त्यसले सुरक्षा व्यवस्थालाई कम ध्यान दिएको छ । घरबस्ती, सडक, खानेपानी, भवन, स्वास्थ्य, शिक्षा, खेतीपाती, यातायात आदिको विकास गर्दा प्रकृति र जीवन रक्षाको सवाल गौण भएको छ । व्यापार र धनको विषयलाई प्रधान बनाईएको छ । प्रकृति रक्षा र मानव हित हुने गरी विकास गर्ने हो भने सरकारले निम्नानुसार काम गरे प्रभावकारी हुने विज्ञहरुको सुझाव छ ।

१. प्रकृति रक्षामा सबै जिम्मेवार हुनु पर्छ । विकास कार्य गर्नुपूर्व जमिनको वस्तुस्थिति, वर्षात्को इतिहास, जैव–विविधता, जंगल, जमिन हावा, पानी, मौसम लगायतलाई विचार गरेर मात्र योजना बनाउनु पर्छ । पहाडी क्षेत्रमा त सडक निर्माण पूर्व त अझ बढी ख्याल गर्नुपर्छ । वातावरणीय प्रभाव मुल्याङ्कनलाई जनता समेतको सहभागितामा प्रभावकारी बनाउनुपर्छ । प्रकृतिका निश्चित सीमाहरु हुन्छन् । त्यसै सीमाभित्र बसेर मात्र प्रकृतिलाई सदुपयोग र उपयोग गर्नुपर्छ ।

२. संरचना निर्माण गर्दा तोकिएको मापदण्डमा कुनै सम्झौता गर्नु हुँदैन । गलत नियत राखेर मापदण्डविपरीतको संरचना बनाउने छुट कसैलाई पनि छैन । भविष्यमा हुने क्षतिलाई कमभन्दा कम क्षति हुने गरी निर्माणलाई प्राथमिकता दिनुपर्छ । लोकप्रियता प्राप्त गर्ने, बजेट सक्ने या जनताको माग सम्वोधन गर्ने हिसाबले जथाभावी संरचना निर्माण गर्नु हुँदैन । प्राविधिक सल्लाह विना जोखिमयुक्त ठाउँमा संरचना निर्माण गर्ने र अध्ययन विना बस्ती बसाउने क्रमलाई तत्काल रोक्नुपर्छ ।

३. भ्रष्ट्राचार नियन्त्रण सरकारको प्रथमिकता हुनुपर्छ । ऋण गरेर गाडी खरिद गर्ने, मोजमस्ती गर्ने, अनियमित गर्ने र दुरुपयोग गर्ने जस्ता प्रवृत्तिको अन्त्य गर्नुपर्छ । यस्तो कार्य गर्ने गैरजिम्मेवार व्यक्ति या संस्थालाई सख्त कारबाही गर्नुपर्छ । सरकार जति जति सक्षम योग्य, जिम्मेवार र पारदर्शी हुँदै जान्छ, त्यति त्यति विकास/निर्माणले दिगो र भरपर्दो रुप लिँदै जान्छ ।

४. जनसंख्या वृद्धि, तीव्र शहरीकरण र औद्योगीकीकरणले पर्यावरणीय क्षति बढाउँदै लगेको छ । शहरीकरणलाई प्रकृति मैत्री वनाउने र जनसंख्यालाई प्रभावकारी नियन्त्रण गर्नुपर्ने बेला भैसकेको छ । नेपालको जोखिमयुक्त स्थानमा प्रशस्त मानव बस्ती रहेको एक अध्ययनले देखाएको छ । खोला, नहर, पहिरो छेउको जग्गामा बसोबास गर्ने र सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रमलाई रोक्नुपर्छ ।

५. सामाजिक जीवनमा र प्राकृतिक सम्पदामाथि लादिएका सबैखाले शोषण, दोहन, एकाधिकार र दुरुपयोगलाई रोक लगाउनु पर्दछ । प्रकृति—मानव हितैषी प्रणालीबाट समाजलाई नयाँ ढंगले पुनर्गठन गर्नु पर्दछ ।

प्राकृतिक नियमहरुलाई मान्छेले रोक्न, छेक्न या धेरै थोरै गराउन सक्दैन तर प्रकृति प्रदत्त संरचनालाई सकेसम्म चलाउनु हुँदैन । विगतका बाढी पहिरोले यसबारेमा दह्रो सन्देश दिएर गएको छ । नियमहरुलाई राम्ररी पालना नगरे प्रकृति र जीवनरक्षा गर्न असम्भव हुने संकेत पनि गरेको छ ।

प्रकृति रक्षामा मानव दायित्व

हामीले आजसम्मको इतिहासमा जुन ज्ञान, सिप र प्रविधि प्राप्त गरेका छौं, त्यो नै मानव जातिको उच्चतम सफलता हो । तर जति सफल, धनी र विकसित भए पनि मानिस आफैं प्राकृतिक जीव हो । प्रकृति विना या प्रकृतिसँग द्रोह गरेर जीवनको रक्षा सम्भव हुँदैन । मान्छे श्रेष्ठ प्राणी हो र उसले जे गरे पनि न्यायिक र जायज हुन्छ भन्ने मान्यता पनि राख्नु हुँदैन । बरु मानिस प्रकृति र जीवन रक्षाको दिशामा महत्वपूर्ण सहयोगी बन्दै जानुपर्छ ।

आजको विश्व कर्पोरेट व्यवस्था र उसको नेतृत्वलाई पर्यावरणीय गिरावट र अमानवीयकरणलाई सच्याउने महत्वपूर्ण जिम्मेवारी आएको छ । तर धन र सत्तालाई केन्द्रीय विषयवस्तु बनाउँदै आएको यस व्यवस्थाले प्रकृति र जीवनरक्षाको सवाललाई गौण ठानेको सबैलाई थाहा नै छ । त्यसबाट यो पुष्टि हुन्छ कि आजको कर्पोरेट प्रणालीबाट यो जिम्मेवारी पूरा हुन सक्दैन ।

प्रकृतिसँगको सहकार्य तथा मानव मानवबीचको समानता, मित्रता र एकताले मात्र हालको बिग्रँदो अवस्थालाई प्रकृतिमैत्री तथा जीवनमैत्री अवस्थामा बदल्न सकिन्छ । प्रकृति र मानवमैत्री समाज व्यवस्था स्थापना गरेर आजको समस्या हल गर्न सकिन्छ । प्रकृति मानव केन्द्रित जनअभियानले यस्तै मान्यताको आधारमा समाजलाई रुपान्तरण गर्ने लक्ष्य लिएको छ ।

आशा गरौं, प्रकृति र मानवमैत्री कार्यदिशा अप्नाउँदै मानिसहरुलाई बाढीपहिरोलगायत भयानक मानव निर्मित जोखिमहरुबाट बचाउने सद्बुद्धि आजको सरकार र दलहरुलाई प्राप्त होस् । शुभकामना ।

(पहिरोको तस्बिर सौजन्यः बजिरसिंह भण्डारी)

२५ भाद्र २०७७

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय