scheduleमगलवार आश्विन १३ गते, २०७७

एक क्रान्तिकारी साधुः स्वामी अग्निवेश

साझापोस्ट टिप्पणी

काठमाडौं, २८ भदौ ।  सेप्टेम्बर ११ तारेख अर्थात् गत शुक्रबार स्वामी अग्निवेशको ८० वर्षको उमेरमा नयाँ दिल्लीमा निधन भएको छ । स्वामी अग्निवेश भारतीय बधुवा मजदुर मुक्ति आन्दोलनका अभियन्ता थिए ।

सन् १९३९ आन्ध्र प्रदेशमा जन्मिएका स्वामी अग्निवेशको पारिवारिक नाम वेपुश्याम राव थियो । उनी तेलुगु ब्रह्मण परिवारमा जन्मिएका थिए । तर, उनले स्वामी अग्निवेशको नाममा आफूलाई स्थापित गरे । उनी अविवाहित थिए । गेरुवस्त्र मात्र धारण गर्दथे ।

तर उनको चिन्तन र अभियान भने क्रान्तिकारी थियो । उनीमाथि ‘नक्सलवादी’, ‘हिन्दूविरोधी’, कहिले ‘भारतीय संस्कार र संस्कृति विरोधी’, ‘नवाज पढ्ने हिन्दू’ जस्ता आरोप लाग्ने गरेको थियो ।

कट्टर हिन्दुवादीहरुले स्वामी अग्निवेशको मृत्युमा समेत खुशीयाली मनाएका छन् । पूर्व आइपिइस अफिसर नागेश्वर रावले ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘सनातन हिन्दू परम्परामा दुष्ट व्यक्तिको मृत्युलाई खुशीयाली उत्सवको रुपमा लिइन्छ । ठीक भयो कि एक दुष्ट व्यक्तिबाट छुटकारा पाइयो, यमराजले हाम्रो पुकार सुन्न खै किन यति ढिलो गरेका थिए ?’

जीवनभरि अविवाहित र सन्त जीवन बिताएका स्वामी अग्निवेशको निधनमा यस्तो निकृष्ट अभिव्यक्ति समेत आउनुको कारण उनको क्रान्तिकारी चिन्तन र शोषणविरुधको सामाजिक अभियान थियो ।

स्वामी अग्निवेशले सन् १९७० मा ‘आर्य सभा’ नामक भिन्नै राजनीतिक दल बनाएका थिए । यो दल ‘आर्य समाज’ को अवधारणाबाट प्रेरित थिए । उनी यस दलको तर्फबाट हरियाणा विधानसभा सदस्य तथा प्रदेशमन्त्री समेत भएका थिए ।

आर्य समाजको प्रभावमा उनीले सन्यास ग्रहण गरेका थिए । उनी आर्य समाज विश्व परिषदमा अध्यक्ष समेत भए । तर, उनको सामाजिक अभियान भने मुख्यतः सन् १९८१ मा गठिन ‘बधुवा मजदुर मुक्ति मोर्चा’ थियो । यस संगठनमार्फत् उनले ग्रामिण बाल शोषण र सस्तो श्रम विरुद्ध अभियान सञ्चालन गरी लाखौं मानिसलाई शिक्षादिक्षा थिएका थिए । बधुवा मजदुर जीवनबाट मुक्ति दिलाएका थिए ।

स्वामी अग्निवेश एक उच्चस्तरको बौद्धिक तथा प्राज्ञिक व्यक्तित्व थिए । उनले ‘वैदिक समाजवाद’, ‘धार्मिक क्रान्ति र मार्क्सवाद’, ‘नयाँ युगमा हिन्दुत्व’, ‘धर्म, अध्यात्म, सामाजिक क्रियाकलापः मानवताको नयाँ प्रस्ताव’ जस्ता चर्चित पुस्तकहरु लेखेका थिए । उनले हिन्दुत्व, पूर्वीया दर्शन र पश्चिमा आधुनिक विचारधाराहरु बीच तुलनात्मक अध्ययन गर्ने गरेका थिए ।

उनले सन् २०११ मा भारतीय सशस्त्र विद्रोही माओवादी समूहलाई सरकारसँग वार्ता गराउन व्यक्तिगत तथा अनौपचारिक प्रयास गरेको थिए । उनले माओवादीले बन्दी बनाएका सुरक्षाकर्मी तथा सर्वसाधारणलाई छुटाउने काम समेत गर्ने गरेका थिए ।

सन् २०११ को भ्रष्टाचारीविरोधी तथा जनलोकपाल विल समर्थक अन्ना हजारे आन्दोलनमा उनको सक्रिय सहभागिता र समर्थन थियो ।

उनी पार्सपोर्ट, भिषा र आप्रवासन कानुनका विरोधी थिए । यसका विरुद्ध उनले संयुक्त राष्ट्र संघका विभिन्न बैठक तथा मानवअधिकार आयुक्तालाई सार्वजनिक पत्र लेख्ने विश्व आप्रवासन सम्बन्धी व्यवधानहरु हटाउन माग गर्ने गरेका थिए । उनको विचारमा मानिस वैश्विक प्राणी हो र उसको आवागमनलाई कुनै राज्यको सीमाभित्र सीमित गर्नु मानव अधिकार विरोधी कार्य हो ।

स्वामी अग्निवेश भारतमा हुने ‘मुस्लिम समुदाय विरुद्धको घृणा अभियान’ विरुद्ध उभिने गरेका थिए । उनी धार्मिक अल्पसंख्यकको अधिकार र सुरक्षाका विषयमा बोल्ने गरेका थिए ।

नेपालमा कपितय नेता तथा बौद्धिक व्यक्तिहरुसँग पनि उनको चिनचान र सम्पर्क थियो । उनले अधिकारको आन्दोलन र सामाजिक कार्यका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका थिए । उनी भारतको सत्तारुढ पार्टी भाजपाको सैद्धान्तिक विरोधी मानिन्थे ।

जगन्नाथ पुरी मन्दिर गैरहिन्दूहरुको लागि पनि खुल्ला हुनु पर्ने स्वामी अग्निवेशको भनाईले भारतमा तीव्र विवाद सृजना गरेको थियो । अमरनाथ मन्दिरबारेको उनको एक अभिव्यक्तिलाई लिएर सन् २०११ मा विश्वहिन्दु महासभाले उनीको टाउको काट्नेलाई २० लाख पुरष्कार दिने घोषणा गरेको थियो ।

भारतीय बौद्धिक, प्रेस जगत र लेफ्ट–लिवरलहरुले भने स्वामी अग्निवेशलाई सम्मान गर्ने गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय