scheduleमगलवार आश्विन १३ गते, २०७७

मुख्यमन्त्री बन्न ५ करोडको अफर!

एसपी यादव/सर्लाही, २९ भदौ  । प्रदेश नं. २ मा सरकार फेर्ने हल्ला चलेसँगै मुख्यमन्त्री तथा मन्त्री बन्नका लागि नेताहरु जनता समाजवादी पार्टी (जसपा) का शिर्ष नेताहरुको घर दैलोमा दौडधुप गर्ने होड नै चलेको छ ।

हालका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आफ्ना एक सहयोगी परमेश्वर साहसँगै जसपाकै वरिष्ठ उपाध्यक्ष बृषेश चन्द्रलालमार्फत् जसपाका महामन्त्री उमा कान्तझासँग आफुलाई मुख्यमन्त्री बनाइदिन दौडधुप गरिरहेका छन् ।

मन्त्री सोनलले बृषेश चन्द्रलालमार्फत् महामन्त्री झा समक्ष आफुलाई मुख्यमन्त्री बनाए ५ करोड र हालकै अवस्थाको मन्त्री पदमा यथावत राख्न ३ करोड वा यी दुई कुरा सम्भव नभए सचेतक परमेश्वर साहलाई मन्त्री बनाई दिए १ करोड रुपैयाँको प्रस्ताव राखेको नाम उल्लेख नगर्ने शर्तमा जसपाका एक केन्द्रीय सदस्यले बताए ।

पार्टीका वरिष्ठ नेताहरुमार्फत् नै यो कुरा आफुलाई जानकारी भएको समेत उनले दावी गरे । मधेसी जनता, मधेस तथा २ नं. प्रदेशको हितमा राम्रो होस् भन्ने चाहना राख्ने पार्टीका प्रायः नेताहरुलाई यस विषयमा जानकारी रहेको समेत उनले बताए ।

पुरानो समाजवादी, राजपा र अहिलेको जसपाका शिर्ष नेताहरु नै २ नं. प्रदेशको सरकार फेर्ने निष्कर्षमा पुगेको बताउँदै उनले भने, ‘जसपाको केन्द्रीय कार्य समितिको पुनर्गठन हालसम्म नभएको कारणले मात्र २ नं. प्रदेशको सरकार फेरबदल रोकिएको हो । केन्द्रीय कार्यसमितिको पुनर्गठन सकिएको एक हप्ता भित्रमा २ नं. प्रदेशको सरकार सतप्रतिशत फेरिने उनले ठोकुवा गरे ।

पुरानो राजपाका सहमहामन्त्री हाल जसपाका एक नेताका अनुसार मन्त्री सोनलले गरेको आर्थिक चलखेलको कुराले जसपाका शिर्ष नेता तथा पार्टीको टाउको दुःखाई तथा पार्टीभित्र ठूलो छलफलको विषय बनेको बताए । तर हाल फेरिएको जसपाका नयाँ समीकरणमा महामन्त्री झाको केहि नचल्ने जानकारी गराउँदै ती केन्द्रीय सदस्यले भने, ‘त्यस्ता नेता तथा मन्त्रीहरुलाई तत्काल पार्टीले कारबाही नगरे पार्टी ठूलो दुर्घटना पर्ने र पार्टीको ठूलो बदनामी हुन्छ ।’

जनताको त्याग, तपस्या र बलिदानीबाट प्राप्त भएको संघीयता समेत गुम्ने खतरा रहेको उल्लेख गर्दै समयमै यसतर्फ ध्यान पुर्‍याउन जरुरी रहेको उनले तर्क गरे ।

यसबारे प्रतिक्रिया लिन भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसँग फोन सम्पर्क गर्दा उनले यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताए । मुख्यमन्त्री बनाए ५ करोड र हालकै अवस्थाको मन्त्री पदमा यथावत राख्न ३ करोड वा यी दुई कुरा सम्भव नभए सचेतक परमेश्वर साहलाई मन्त्री बनाई दिए १ करोड रुपैयाँको प्रस्ताव गर्नुभएको रहेछ नि ? भन्ने प्रश्नमा उनले भने, ‘यस विषयमा मलाई कुनै जानकारी छैन । विगतमा पार्टीले दिएको टिकटमा चुनाव लडेको र पार्टीले नै चुनाव जिताएर प्रदेशसभा सदस्य बनाएको हो ।’

उनले अगाडि थपे, ‘फेरि पार्टीले संसदीय दलको नेता पनि बनायो र पार्टीले नै मन्त्री समेत बनायो । जहाँ सम्म मुख्यमन्त्रीको कुरा छ, पार्टीले गरेको निर्णय मान्य हुन्छ ।’

सरकार परिवर्तनको सवालमा उनले भने, ‘यो कुरा पनि पार्टीको जिम्मामा रहेको कुरा हो ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय