scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

यस्तो छ जापानका नयाँ प्रधानमन्त्री सुगाको राजनीतिक यात्रा

काठमाडौं, ३१ भदौ । जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिडे सुगा निर्वाचित भएका छन् । सेप्टेम्बर १६ मा जापानी संसद डाइटमा सुगाले प्रधानमन्त्रीका लागि बहुमत सिद्ध गरेका हुन् । यसअघि उनी सेप्टेम्बर १४ तारिखमा भएको संसदको बहुमत प्राप्त दल लिवरल डेमोक्र्याटिक पार्टीको नेता निर्वाचित भएका थिए ।

स्वास्थ्यको कारण देखाउँदै पूर्वप्रधानमन्त्री सिन्जो आबेले गत अगष्ट २८ मा राजीनामा दिएका थिए । आबेको राजीनामापछि सत्तारुढ लिवरल डेमोक्र्याटिक पार्टीमा नयाँ नेताको खोजी भइरहेको थियो ।


७१ वर्षीय सुगा पूर्वप्रधानमन्त्री आबेका नजिकका सहयोगी थिए । आबेको पहिलो कार्यकालमा सुगा आन्तरिक मामिला तथा सूचनामन्त्री थिए भने सन् २०१२ यता उनी मन्त्रीपरिषदको मुख्य सचिव थिए । उनी सन् १९९६ यता प्रतिनिधिसभाको सदस्य निर्वाचित हुँदै आएका छन् ।

सुगा प्रधानमन्त्री हुनुभन्दा ३ दिनअघि भएको लिवरल डेमोक्र्याटिक पार्टीको निर्वाचनमा उनले ५३५ पार्टी डेलिगेटमध्ये ३७७ मत पाएका थिए । उनका प्रतिस्पर्धीहरु फुमियो किसिदा र शिगरु इशिबाले झिनो मत क्रमशः ८९ र ६८ मत मात्र प्राप्त गर्न सकेका थिए । पार्टी नेता छनौट भएसँगै सुगाको प्रधानमन्त्री हुने बाटो खुलेको थियो ।

सुगा सन् १९४८ डिसेम्बर ६ मा अकिता प्रदेशको किसान परिवारमा जन्मेका थिए । उनीले आफ्नो गाउँ केही समय विद्यालय शिक्षकको रुपमा समेत काम गरेका थिए । सन् १९७३ मा हुसेइ विश्वविद्यालबाट उनले कानूनमा स्नातक गरे । त्यसपछि उनी लिवरल डेमोक्र्याटिक पार्टीमा लागे । सन् १९८७ मा उनी योकोहामा नगरपरिषदको सदस्य निर्वाचत भएका थिए । सन् १९९६ मा उनी प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपटक निर्वाचित भए ।

सुगाले आफूलाई ‘शून्यबाट उठेको मानिस’ भन्ने गरेका छन् । पार्टी नेताको निर्वाचनमा विजयी भएपछि उनले ‘म जस्तो शून्यबाट उठेको मानिस यो तहको नेतृत्वमा आइपुगेँ, म यसले देश र जनताको सेवामा समर्पित गर्न चाहन्छु’ भनेका छन् ।

सुगा वैचारिक तथा प्रखर नेता भन्दा बढी व्यवहारवादी र अनुभवी नेता मानिन्छन् । आबे कार्यकालमा हासिल गरेको प्रशासनिक अनुभवले उनलाई दक्ष प्रशासक बनाएको छ । सुगा कार्यकालमा जापानमा साखै ठूलो नीतिगत परिवर्तन नआउने विश्लेषकहरुको भनाई छ । आबे कार्यकालका नीति तथा योजना निर्माणमा संलग्नताको कारण सुगाले त्यसैलाई अगाडि बढाउनु पर्नेछ ।

जापानको नयाँ प्रधानमन्त्री निर्वाचित भएसँगै सुगाले– ‘सिन्जो आबे कार्यकालका अधुरा काम अगाडि बढाउने, जनतालाई कोरोना महाब्याधीबाट जोगाउँने र अर्थतन्त्रमा सुधार ल्याउने’ प्रतिबद्धता व्यक्त गरेका छन् । उनको यो भनाईले सुगा आबेको असल उत्तराधिकार हुने प्रयासमा देखिन्छन् । जापानको प्रशासनयन्त्रमा सुगाको बलियो पकड छ ।

सुगा सरकारको सबैभन्दा ठूलो चुनौति कोरोना महाव्याधिबीच जापानको अर्थतन्त्र रक्षा गर्नु रहेको बताइन्छ । कोराना महाव्याधीको कारण स्थगन भएको टोकियो ओलम्पिकबारे विश्व समुदायसँग समन्वय गर्नु र यथोचित निर्णय लिनु सुगा कार्यकालको अर्को महत्वपूर्ण सवाल हुनेछ । सुगाले अमेरिका–चीन बढ्दो तनावबीच सन्तुलित कुटनीति अबलम्बन गर्नुपर्ने छ ।


सुगा ठूल्ठूला पदमा पुगेर पनि सरल जीवन बिताउने नेताको रुपमा परिचित छन् । उनकी श्रीमती मारिको र ३ छोरोहरु कुनै ठूला पदमा छैनन् । उनीमाथि परिवारवादलाई प्रश्रय दिएको कुनै आरोप छैन । बरु सुगाले नयाँ मन्त्रीमण्डलमा पूर्वप्रधानमन्त्री आबेका काकाको छोरोलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।


सुगा नियमित व्यायाम गर्ने र अल्कोहल नपिउने नेतामा समेत चिनिन्छन् ।

सुगा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा अप्ठ्यारो क्षणमा जापानको प्रधानमन्त्री बन्न पुगेका छन् । उनको कार्यक्षमताले लिवरल डेमोक्र्याटिक पार्टीको राजनीति भविष्यलाई समेत निर्धारण गर्नेछ ।

जापानले सबैभन्दा नजिकबाट सामना गर्नुपर्ने अमेरिकी समकक्षीबारे उनले आगामी नोभेम्बर ३ को निर्वाचनसम्म पर्खिनुपर्ने हुन्छ । चीनसँगै आशियान राष्ट्रहरुसँगको सम्बन्ध जापानका लागि उत्तिकै महत्वपूर्ण हुन्छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay