scheduleमगलवार आश्विन १३ गते, २०७७

किन आफैं सहभागी बैठकको निर्णय मन्त्रीहरु नै थाहा पाउँदैनन् ?

काठमाडौं, ३१ भदौ । बालुवाटारमा आफैं सहभागी मन्त्रीपरिषद बैठकले गरेको निर्णय मन्त्रीहरुले नै थाहा नपाउनेसम्मको अवस्था देखिन थालेको छ । प्रधानमन्त्रीको मनोमानीमा कतिपय निर्णयहरु भने बैठकले गरे भन्दा फरक भएर सार्वजनिक हुने गरेको तथ्य समेत बाहिर आएको छ ।

पछिल्लो समय सार्वजनिक यातायात र आन्तरिक उडान खोल्ने र पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई मन्त्रीकै जस्तो सेवा सुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने कुरा मन्त्रीपरिषद बैठकमै नलगी सिधै निर्णय बाहिर आएपछि मन्त्रीहरु नै आश्‍चर्यमा परेका छन् ।

खासगरी मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरु सरकारका प्रवक्तामार्फत् पछि सार्वजनिक गरिने प्रचलन छ । मन्त्रीपरिषदमा के विषयमा छलफल भयो र के निर्णय भयो भन्‍ने कुरा प्रवक्ताले प्रेस मिट वा विज्ञप्तीमार्फत सार्वजनिक गर्ने भनिए पनि कतिपय अवस्थामा मन्त्रीपरिषद बस्‍नुअगाडि नै कुन–कुन विषय बैठकमा जाँदैछ भन्‍ने सम्म सार्वजनिक भैसक्छ ।

पछिल्लो मन्त्रीपरिषद बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल थप्‍नेबारेको प्रस्ताव जानुपर्ने थियो । तर, उक्त प्रस्ताव प्रधानमन्त्री कार्यलयमै थन्काएर गोप्यरुपमा अरु दुई प्रस्ताव तयार गरिएको र त्यसलाई मन्त्रीपरिषदमा छलफल नै नगरी निर्णय भयो भनी प्रवक्तामार्फत सार्वजनिक गरिएको खुलेको छ । हाल सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नियुक्त भएका छन् ।

गोप्य रुपमा फाईल तयार गरी मन्त्रीपरिषद बैठकमा पेश नै नगरी निर्णय भयो भनेर सार्वजनिक गरिएका निर्णयहरु पूर्वअर्थमन्त्री युवराज खतिवडालाई मन्त्रीकै जस्तो सेवा सुविधासहित प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गर्ने र सार्वजनिक यातायात र आन्तरिक उडान खोल्ने भनी तय गरिएको मितिमा हेरफेर थियो । जबकि मन्त्रीपरिषदमा यी दुवै कुरा छलफलका लागि ल्याईएकै थिएन ।

यसअघि नै असोज ५ गतेदेखि सार्वजनिक यातायात र आन्तरिक उडान खोल्ने भनिएको थियो । मन्त्रीपरिषदमा नल्याईएको र छलफल नै नभएको यी दुवै निर्णय प्रवक्तामार्फत् सार्वजनिक हुँदा मात्रै आफुले थाहा पाएको एक मन्त्रीले बताए । कुलमानको प्रस्तावको ठाउँमा युवराज खतिवडाको प्रस्ताव कसरी आयो भनियो र कसरी निर्णय भयो जानकारी नै पाईएन भन्दै ती मन्त्रीले नेकपा अध्यक्ष प्रचण्डलाई गुनासो समेत गरेका छन् ।

सामान्य छलफल समेत नचलाईएको खतिवडाको नियुक्तिको माईन्युट कसरी लेखियो र कसरी सार्वजनिक भयो भन्‍नेमा नेकपा भित्र समेत तरंग उत्पन्‍न भएको छ । मन्त्रीपरिषद निर्णय मुख्यसचिवले माईन्युट गर्ने प्रचलन छ । माईन्युटमा प्रधानमन्त्रीले सिधै उक्त बुँदा थप्‍न लगाएर चोर बाटो प्रयोग गरिएको भन्दै नेकपाका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

यस्तै असोज ५ देखि सार्वजनिक यातायात र आन्तरिक उडान खोल्ने पहिले नै निर्णय भैसकेको अवस्थामा एकाएक मन्त्रीपरिषदको निर्णय भन्दै माईन्युट भएर सार्वजनिक भएको प्रति पनि मन्त्रीहरु असन्तुष्ट छन् । तर, जागिर जाने लाईनमा भएकाले कुनैपनि मन्त्रीले यसको विरोध गर्न सकेका छैनन् । प्रधानमन्त्रीले कुनैपनि बेला मन्त्रीमण्डल हेरफेर गर्न सक्ने अवस्था छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय