scheduleमगलवार आश्विन १३ गते, २०७७

कोरोना उपचारको शुल्क लिने तयारीमा सरकार

काठमाडौं, ३१ भदौ । सरकारले कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिहरुसँग उपचार खर्च लिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतबार भएको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ (आईसीएस) को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषदबाट उक्त निर्णय पारित भएको खण्डमा सो निर्णय कार्यान्वयनमा आउनेछ ।

बैठकको निर्णयको ८ नम्बर बुँदामा विपन्‍नको उपचार निःशुल्क र अन्य संक्रमितले आफ्नै खर्चमा गर्नुपर्ने उल्लेख छ । लक्षण देखिएकाहरूको मात्र उपचार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

जनस्वास्थ्यविद्हरूले भने महामारीका बेला सबै नागरिकले निःशुल्क उपचार पाउनुपर्ने भन्दै यस निर्णयप्रति असन्तुष्टि जनाएका छन् । विपन्नभन्दा माथिका सबैलाई एउटै तराजुमा राख्‍न नहुने भन्दै कोभिड–१९ को न्यूनतम उपचार सबैका लागि निःशुल्क हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

महामारीका बेला सरकार मात्र नभएर समुदाय वा निजी स्वास्थ्य संस्थाले पनि न्यूनतम उपचार सेवा सबैका लागि निःशुल्क गर्नुपर्ने उनीहरुको भनाई छ ।

कुनै पनि महामारी नियन्त्रण गर्नु सरकारको जिम्मेवारी भएको भन्दै ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुरले सरकारी स्वास्थ्य संस्थामा शुल्क लिनु जनस्वास्थ्य मापदण्डको विपरीत हुने बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय