scheduleसोमवार कार्तिक ३ गते, २०७७

किन भारतमा कोभिड–१९ नियन्त्रण बाहिर गयो ?

कोभिड-१९ को उदगम चीनमा संक्रमितको संख्या ५० हजार बढी र मृत्यु ३ हजार पुग्दासम्म भारतमा यसको संक्रमण र क्षति न्युन थियो । चीनमा अहिलेसम्म जम्मा ८५ हजार आसपास संक्रमित भएको तथ्याङ्क छ । तर, भारतमा पछिल्लो २४ घण्टाभित्रै ९० हजार बढी संक्रमित भएका छन् । भारतमा कुल संक्रमित ५० लाख बढी भइसकेको छ भने मृत्यु हुनेको संख्या चीनको कुल संक्रमितको नजिकनजिक करिब ८२ हजार पुगेको छ ।

अप्रिलको अन्त्यसम्म अमेरिकाको संक्रमण दर भारतको भन्दा २५ गुणा बढी थियो । अहिले भारतको संक्रमण दर अमेरिकाको भन्दा प्रतिदिन ४ गुणा बढी छ ।

अमेरिकामा अहिले संक्रमितको संख्या करिब ६८ लाख र मृत्यु हुनेको संख्या २ लाख बढी भइसकेको छ । तर अहिलेको अनुुपात कायम रहे आउने १५ दिनभित्र भारत कोभिड–१९ बाट सबैभन्दा धेरै संक्रमित हुने संसारकै पहिलो देश हुने छ ।

विश्लेषकहरु भन्छन्– अहिले अमेरिकामा धेरै क्षति देखिए पनि कोरोना महाव्याधीको अन्त्यसम्म सबैभन्दा धेरै मानवीय क्षति हुने देश भारत बन्न सक्दछ । विश्व स्वास्थ्य संगठनले प्रारम्भदेखि नै यस्तो चेतावनी दिँदै आएको थियो । मार्चको अन्त्यसम्म भारतको मात्र हैन, समग्र दक्षिण एशियामै संक्रमण दर र मृत्यु निक्कै कम थियो ।

दक्षिण एशियाली खानपान, जीवनशैली र हावापानीको कारण यहाँको ‘इम्युनिटी पावर’ नै बढी हुने त हैन भन्ने विश्लेषण हुन थालेका थिए ।

तर पछिल्लो स्थितिले यो तर्कलाई खण्डित गरिदिएको छ । श्रीलंका, माल्दिभ्स र भुटानबाहेक दक्षिण एशियाका बाँकी देश पाकिस्तान, बंगलादेश, नेपाल र अफगानिस्तानमा संक्रमण र क्षतिको दर युरोपको हाराहारीमा पुग्न लागेको छ । भारतको स्थिति त झनै नाजुक हुँदै गइरहेको छ ।

चीन किन कोभिड-१९ नियन्त्रण गर्न सफल भयो ? भारत किन निरन्तर असफल भइरहेको छ ? यो गम्भीर प्रश्न बन्न पुगेको छ । चीन भारतभन्दा अझ ठूलो देश हो । जनसंख्याको दृष्टिकोणले पनि चीनभन्दा भारत कम नै छ । भारतको अनुमानित जनसंख्या अहिले करिब १ अर्ब ३८ करोड २७ लाख ९० हजार छ भने चीनको १ अर्ब ४३ करोड ९३ लाख २५ हजार छ । भारतको तुलनामा चीनमा करिब ६ करोड बढी जनसंख्या छ, जुन युरोपका ठूलो र शक्तिशाली भनिएका देशहरुको हाराहारी हो ।

चीन विश्वको दोेस्रो ठूलो अर्थतन्त्र हो भारत ७ औं । चीनको झैं भारतको पनि सैन्य संगठन र प्रशासनिक संरचना ठूलो छ । तर कोरोना रेस्पोन्सको क्षमता भने बिल्कुलै फरक देखिएको छ । कोभिड-१९ भारतमा नियन्त्रण बाहिर जाने स्थिति त छँदैछ सँगसँगै करिब २ महिना लामो लकडाउनले मात्र भारतको अर्थतन्त्र संकटग्रस्त बनेको छ । भारतीय कुल ग्राहस्थ उत्पादनमा करिब २३ प्रतिशतको संकुचन आएको छ ।

भारतमा अमेरिकामा झैं लकडाउन ढिलो भएको थिएन । मार्च २४ मा लकडाउन प्रारम्भ हुँदा जम्मा ५६४ केसहरु थिए, त्यतिखेरसम्म विश्वमा १४ हजार बढीको मृत्यु भइसकेको थियो । २१ दिनको लकडाउनले स्थिति नियन्त्रणमा लिन सकिने ठानिएको थियो । तर २ महिना लामो लकडाउन गर्दा पनि स्थिति नियन्त्रणमा आएन । अन्ततः सरकार आफैं थाक्यो र सबैथोक खोल्दै गयो । अब मेट्रो रेल समेत खुलिसकेको छ ।

मोदी कुनै न कुनै रुपमा ‘धार्मिक अन्धता र रुढीवाद’ लाई प्रश्रय दिइरहेका हुन्छन् । ‘जनता कर्फ्यु’को नाममा भएका ‘ताली बजाउने, घन्टी बजाउने, ममबत्ती बाल्ने’ जस्ता कार्यको कुनै संगति थिएन । अझ कतिपय भाजपा नेता र सांसदहरुले ‘हनुमान चालिसा पाठ गर्न’ समेत प्रेरित गरे । जबकी मुख्य ध्यान मास्क प्रयोग र भौतिक दूरीमा हुन जरुरी थियो ।

चीनको तुलनामा भारतसँग कोभिड-१९ प्रतिरोध योजना बनाउने र लागू पर्ने समयको सहजता धेरै थियो । जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकाल घोषणा गरिसकेको थियो । त्यतिन्जेलसम्म भारतमा १ जना मात्र कोभिड-१९ का संक्रमित थिए । उनी वुहानबाट फर्किएका केरलाका एक विद्यार्थी थिए । फेब्रुअरी र मार्च पुरै दुई महिना भारतका लागि सूचना संकलन, विश्लेषण, रणनीति निर्माण, योजना तर्जुमा र तयारीको समय उपलब्ध थियो ।

यो समयलाई भारतले समुचित उपयोग गर्न सकेन । राजनीतिक तथा प्रशासनिक नेतृत्वमा पर्याप्त द्विविधा देखियो । अन्ततः मानवीय क्षति रोक्न भारत चीनभन्दा धेरै कमजोर रहेको पुष्टि भयो । यसको कारण के होला ? चीनले किन सक्यो भारतले किन सकेन ? चीनसँग के त्यस्तो क्षमता थियो जो भारतसँग भएन ? यो प्रश्न आज विश्वकै लागि महत्वपूर्ण बनेको छ ।

भारतजस्तो ठूलो राज्ययन्त्र र अर्थतन्त्र भएकोे देशसँग कुनै खास घटनालाई नियन्त्रण गर्ने क्षमता नै थिएन भन्नु सायद उपयुक्त हैन । क्षमता हुँदाहुँदै पनि उचित समयमा उचित रणनीतिको अभाव भारतीय असफलताको कारण हुनुपर्दछ ।

भारतमा स्वास्थ्य आपतकाल सम्बन्धी आधा शताब्दि पुरानो ऐन क्रियाशील थियो । त्यो अहिलेको अवस्थाका लागि पर्याप्त थिएन । मार्च २५ मा त्यसका केही संशोधन गरियो । संघीय सरकारको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत व्यवस्थापन प्राधिकारणले घटना ह्याण्डल गर्नुपर्ने हुन्थ्यो । दुर्भाग्य त्यसको नेतृत्व गर्नुपर्ने मुख्यव्यक्ति गृहमन्त्री अमित शाह पछिल्लो समय आफै कोरोना संक्रमित भई लामो होम क्वारेन्टिन, आइसोलेसन र अस्पताल भर्ना हुनुपर्ने भयो ।

प्रधानमन्त्री नरेन्द्र मोदी आधुनिक विकास, विज्ञान र प्रविधिको महत्व नबुझ्ने व्यक्ति हैनन् । तर भाजपा स्कुलिङको ह्याङओभर उनमा छ । मोदी कुनै न कुनै रुपमा ‘धार्मिक अन्धता र रुढीवाद’ लाई प्रश्रय दिइरहेका हुन्छन् । ‘जनता कर्फ्यु’को नाममा भएका ‘ताली बजाउने, घन्टी बजाउने, ममबत्ती बाल्ने’ जस्ता कार्यको कुनै संगति थिएन । अझ कतिपय भाजपा नेता र सांसदहरुले ‘हनुमान चालिसा पाठ गर्न’ समेत प्रेरित गरे । जबकी मुख्य ध्यान मास्क प्रयोग र भौतिक दूरीमा हुन जरुरी थियो ।

भारत आफैंमा ‘भीड–संस्कृति’ भएको देश हो । यहाँ अनेक धार्मिक पर्व, उत्सव, मेला र जात्राहरु हुन्छन् । मंन्दिर, मस्जिद र प्रवचन गृहहरुमा ठूलो भीड हुन्छ । रेलवे र प्लेटफर्महरुमा ठूलो भीड हुन्छ । हाटबजारमा ठूलो भीड हुन्छ । लकडाउनको प्रारम्भिक दिनहरुको जटिलता सरकारले बुझ्न सकेन । मानिसहरु यत्रतत्र अलपत्र परे, त्यसको व्यवस्थापन गर्नुको साटो प्रशासनले राज्यको आदेश मान्न जनतालाई बाध्य गर्न खोज्यो, लकडाउनको प्रभावकरिता भएन ।

अर्को समस्या केन्द्र र प्रदेश सरकार बीचको समन्वयमा रह्यो । चीनजस्तो एकात्मक केन्द्रीकृत राजनीतिक प्रणाली र प्रशासनिक संरचना भएको देश भारत हैन । भारत संघीयतासहितको लोकतान्त्रिक मुलुक हो । फरकफरक पार्टीले प्रदेश सरकारहरु सञ्चालन गरिरहेको अवस्थामा बलियो विश्वास र सहकार्यको अवश्यकता पर्दथ्यो, त्यो देखिएन । ठूला महामारीको व्यवस्थापन गर्दा लोकतान्त्रिक मुलुकहरुले साझा दृष्टिकोण, सहकार्य र समन्वय कायम गर्न नसके लोकतान्त्रिक पद्धति र संघीय शाससन प्रणालीप्रति नै जनतामा वितृष्णा पैदा हुन सक्ने सम्भावना हुने रहेछ ।

हुन त यसको अर्को पाटो पनि देखियो । कतिपय प्रदेश सरकारहरुले निक्कै राम्रो मेहनत गरेका थिए । दिल्ली, केरला, महाराष्ट्र सरकारहरुको प्रारम्भिक प्रयास दोष लगाउने खालको थिएन । तर स्थिति बिग्रदै जाँदा प्रदेश सरकारहरुको प्रयासले मात्र नपुग्ने देखियो ।

तेस्रो समस्या आर्थिक थियो । भारतमा निरपेक्ष गरिबीको रेखामुनी भएको मजदुर जनसंख्या ठूलो छ । सरकारले ३ महिना नागरिकलाई राज्यले पाल्ने र आर्थिक राहत प्याकेजको घोषणा त गर्‍यो तर व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन सकेन । करिब १४ लाख सेना, १६ लाख बढी थप सरकारी जनशक्ति भएको देशको राज्ययन्त्रले ठीक समयमा ठीक ठाउँमा ठीक सेवा प्रदान गर्न नसक्नु जनशक्तिको अभाव नभएर कार्यसम्पादन र व्यवस्थापन क्षमताको अभाव थियो ।

अन्तिम र महत्वपूर्ण पक्ष कमजोर स्वास्थ्य संचरना हुन् । भारतको स्वास्थ्य संरचना स्वामित्व अनुपात सन् १९९० यता निरन्तर निजी क्षेत्रको हातमा सर्दै गएको छ । सरकारी अस्पतालहरु कमजोर हुँदै गएका छन् । सरकारी अस्पतालहरुको क्षमता विस्तार र वेड संख्या सुधारमा खासै काम भएको थिएन । चीनले १० दिनभित्र एक हजार बढी क्षमताको भिन्नै कोरोना अस्पताल बनाएको खबर भारतका लागि आश्चर्यको बिषय थियो । भारतले त्यो स्तरमा आफ्नो क्षमताको कल्पना नै गरेन । मेदेखि अस्पतालहरु भरिन थाले । स्वास्थ्यकर्मीहरुको सेवा सबैले पाउने अवस्था रहेन ।

भारतमा कोरोना संक्रमणको अवस्था भयावह हुँदै गएको छ । तर नियन्त्रणको सम्भावना र उपायहरु भने सीमित हुँदै गएका छन् । यो हैन कि प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी वा ब्राजिलियन राष्ट्रपतिहरु ट्रम्प र बोल्सोरानोझैं समस्यालाई बिल्कुल अनदेखा परेका थिए । प्रयास गर्दा गर्दै पनि मोदी कोभिड-१९ नियन्त्रण गर्न असफल भए । यसको मुख्य कारण उनको ‘एप्रोच’ ठीक थिएन ।

भारतजस्तो पर्याप्त आधुनिकीकरण नभएको, भीड-संस्कृतिमा गौरव गर्ने र गरिबीले चौतर्फी रुपमा थिचेको ठूलो जनसंख्यायिक समाजलाई कसरी ह्याण्डल गर्ने भन्ने सही रणनीति मोदी सरकारले बनाउन सकेन ।

अब त चाहेर पनि सरकारले गर्न सक्ने ठाउँ कमै छन् । सरकारले केही गर्ला भनेर आशा गर्नुको साटो जे गर्छ कोरोनाले आफैं गर्छ भनेर मनलाई ढाडस दिनुपर्ने अवस्था बन्यो ।

(द हिन्दू सेन्टरमा प्रकाशित सुमित चतुर्वेदीको एक लामो रिपोर्टमा आधारित टिप्पणी)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay