scheduleशनिवारमाघ ३ गते, २०७७

‘हिमालयको स्वास्थ्य ठीक छैन’

जयसिंह रावत

अफगानिस्तानदेखि भुटानसम्म फैलिएको पर्वतराजलाई हिमालय भनिन्छ । आज हिमालय पर्यावरणवादीहरुको लागि मात्र हैन, प्राकृतिक प्रकोप व्यवस्थापनको दृष्टिकोणबाट समेत चिन्ताको बिषय बन्दैछ । कतै बाढी त कतै भूस्खलन, कतै जलवायु परिवर्तनले उत्पन्न समस्याहरु । यसले स्पष्ट संकेत गर्दछ कि हिमालयको स्वास्थ्य ठीक छैन । कुनै महाविपत्ती आउनु अघि नै यसको उपचार हुनुपर्दछ ।

तर, हिमालयको चिन्ता त्यतिखेरसम्म निरर्थक हुन्छ जबसम्म यो चिन्तासँग यसको काखमा बस्ने करोडौं मानिसको अन्तर्सम्बन्धलाई सामेल गर्दैनौं । हिमालय काखका बान्सिन्दाहरु नै यथार्थमा एसियाली ऋतुचक्रलाई निर्धारण गर्ने पर्यावरणीय अङ्ग हुन । हिमालयको चिन्ता र हिमालयबासीहरुको वेदनालाई अलगअलग गरेर हेर्न सकिन्न ।

हिमालय एक महान र अन्तर्राष्ट्रिय पर्वत श्रृंखला हो । यसको काखमा पाकिस्तान, भारत, चीन, नेपाल र भुटान बसेका छन् । अफगानिस्तानको हिन्दकुश श्रृङ्खला र म्यानमारको हाकाकाबो समेत हिमालयमा जोडिएका छन् । नदी प्रवाह प्रणालीका दृष्टिकोण यी क्षेत्र पनि हिमालय नै हुन् तर हिमालयको अवधारणामा यिनलाई समावेश गरिएको छैन ।

यी सबै देशका हिमाली क्षेत्रलाई एक ठाउँ ल्याउँदा हिमालयबासीहरुको जनसंख्या ५ करोडभन्दा बढी हुन्छ । यी मानिस हिमालय र यसको पर्यावरणसँग आश्रित मात्र छैनन्, यिनीहरुका समस्या साझा पनि छन् । उस्तै खालको पीडा यी मानिसले भोगिरहेका छन् ।

हिमालयको पर्यावरण डगमगाउँदा भारतीय राज्यहरु जम्मुकश्मिर, हिमाञ्चल प्रदेश, उत्तराखण्ड, अरुणाञ्चल, मणिपुर, मिजोरम, सिक्किम, त्रिपुरा, नागालैण्ड, असमको कर्बी र दिमा हसाओ क्षेत्र पश्चिम बङ्गालको दार्जिलिङ जिल्ला लगायत क्षेत्र प्रभावित हुन्छन् । यी भारतीय प्रदेशहरुको मात्र साँढे ४ करोड जनसंख्या छ ।

हिमालयको पर्यावरण सिधै यी मानिससँग जोडिन्छ । हिमालय अस्वस्थ भयो भने यी मानिस अस्वस्थ हुन्छन् । यी मानिसहरु अस्वस्थ भए भने हिमालय अस्वस्थ हुन्छ । हिमालयले पर्वतबासीको जीवनलाई प्रभावित गर्दछ । पर्वतबासीहरुको जनजीवनले हिमालयलाई प्रभावित गर्दछ ।

हिमालयमाथि प्राकृतिक मात्र हैन, मानवजनित विभीषिकाको पनि उत्तिकै जोखिम हुन्छ । हिमालयको संवेदनशिलता गहिरो छ । यहाँ हुने घटनाहरुले मानिसमाथि निरन्तर जोखिम सृजना गर्दछ ।

जयसिंह रावत

अहिले अफगानिस्तानदेखि भुटान र भारतको मिजोरम प्रदेशसम्मै बाढी र पहिरोको समस्या निरन्तर वृद्धि भइरहेको छ । भूकम्पीय दृष्टिकोणबाट पनि यो क्षेत्र उत्तिकै संवेदनशील छ । विश्व तापमान वृद्धि हिमालयमा स्थानीय तापमान वृद्धि बढ्दैछ । त्यसले हिमताल र हिमनदीहरुमाथि निरन्तर दवाब सृजना गर्दैछ । हिमताल फुट्ने वा सुक्ने, हिमनादीहरु विचलित हुने सम्भावना बढेका वैज्ञानिकहरु बताउँछन् ।

हिउँ पहिरो यस क्षेत्रको अर्को जोखिम हो । हिमपहिरोले त्यसमाथिको वनस्पतिलाई सँगै बगाउँछ । यसरी वनस्पतिहीन क्षेत्रको वृद्धि हुन्छ । हिमनदीहरु पछि सर्दा वनस्पतिहरु पनि सँगसँगै पछि सर्दछन् । मनसुन झनझन माथिसम्म पुग्दछ । हिमाच्छादित क्षेत्रमा मनसुनको चापले जोखिमलाई अझ बढाउँछ ।

केदारनाथ क्षेत्रमा ठूलो बाढीको मुख्य कारण त्यही हो । मौसमचक्र परिवर्तन हुनुभन्दा अगाडि नै मनसुन हिमाच्छादित क्षेत्रमा पुग्दा हिउँ छिछिटो गल्न थाल्दछ । फलतः हिमनादीहरु बढ्दै र हिमतालहरु फुट्दै जान्छ । यस्तो स्थितिले हिमालयको काखमा कल्पना नै नगरेका आकस्मिक र ठूला बाढीहरु आउँछन् । केदारनाथको बाढी त्यस्तै घटना थियो ।

अर्कोतिर बादलको घर भनिने मेघालयमा भने पानीको समस्या महसुस हुन् थालेको छ । यो क्षेत्र कृषि अर्थतन्त्रमा आधारित छ । तर कहिले खडेरी, कहिले अतिवृष्टि र कहिले असिनावृष्टिको मारमा पर्दै गइरहेको छ । बद्लिदो मौसमको प्रभाव पशुपालनमा पनि परिरहेको छ ।

केदारनाथको जलप्रलय हिमालयको पर्यावरणीय असन्तुलनको प्रष्ट उदहारण थियो । यो केदारनाथको माथिल्लो क्षेत्र चोराबडी हिमनदी क्षेत्रमा भएको मनसुन विष्फोटको प्रतिक्रिया थियो । यदि माथिल्लो हिमाच्छादित क्षेत्रमा यतिधेरै वर्षा भएको यसअघि कुनै घटना अभिलेख थिएन ।

हिमालयमा त्रासदीको लामो इतिहास छ । अहिले त्यसको दर तीव्र भएको मात्र हो । सन् २०१० यता उत्तराखण्डको स्थिति निरन्तर बिग्रँदै गएको छ । दुई वर्षयता केदारनाथ क्षेत्रमै बाढी आउँदैछ । हिमाञ्चलको सतलज नदीमा एकपछि अर्को विनाशकारी बाढी आउँदैछ ।

सन् २००० को अगष्टमा सतलजमा आएको बाढीमा नदीको जलस्तर ६० फुट माथि आएको थियो । सन् २००५ को बाढीमा सतलजको जलस्तर १५ मिटरसम्म माथि आएको थियो ।

हिमालय महान प्राकृतिक जलाधार क्षेत्र हो । यहाँको नरम हिउँ पग्लिएर सिन्धुदेखि ब्रह्मपुत्रसम्मका नदीले पानी प्राप्त गर्दछन् । हिमालयको पर्यावरण बिग्रँदा यी सबै नदीहरुको जलआपूर्ति व्यवस्था गढबढ हुन्छ । बाढी र सुख्खाको प्रकोप केदारनाथ र मेघालयमा मात्र हैन, चीन, भारत, अफगानिस्तान, पाकिस्तान, नेपाल र भुटानसम्म हुन्छ ।

एक अनुमान अनुसार विश्वको ५० देखि ६० प्रतिशत जनसंख्या यी देश र यसको वरिपरि छ । हिमालयबाट निस्कने सिन्धु, गंगा र ब्रह्मपुत्र नदीको आसपास भारतको ४३ प्रतिशत भूगोल बनेको छ भने यी ३ नदीको जलाधार क्षेत्रको जलले मात्र भारतको कुल जल क्षमताको ६३ प्रतिशतलाई ओगट्दछन् ।

यी नदीहरुलाई सदावहार बनाई राख्न हिमालयको पूर्वदेखि पश्चिमसम्म ९५७५ हिमनदी, हिमताल, हिमाली जङ्गलको योगदान छ । हिन्दकुश हिमाललाई समेत जोड्दा यो अन्टार्टिकापछिको विश्वकै सबैभन्दा धेरै हिउँ जम्मा हुने ठाउँ हो । सिन्धु, गंगा र बह्मपुत्र बेसिनको क्षेत्रफल ७१, १८२ वर्ग किमी छ । यहाँ ३४२१ घनकिमी हिउँ जमेको हुन्छ ।

हिमालय क्षेत्रका बासिन्दाहरुको केही साझा र विशिष्ठ कठिनाईहरु छन् । यसको भूगोल अप्ठ्यारो छ । यसले जनजीवन कठिन बनाउँछ । औद्योगिक विकास छैन । रोजगारको नितान्त अभाव छ । विकास कार्यमा पर्यावरणीय नियन्त्रणको कारण आधारभूत भौतिक संरचना सीमित छन् ।

अहिले भारत सरकारले ‘उत्तरपूर्वतिर हेर’, ‘उत्तरतिर हेर’ भन्ने नीति लिएको छ । उत्तरपूर्वी राज्यहरुको लागि भारत सरकारले भिन्नै मन्त्रालय समेत बनाएको छ । यसलाई दाता मन्त्रालय भन्न थालिएको छ । भारतमा जम्मुकश्मिरको भिन्नै विशिष्ठ अवस्था छ । अब हिमाञ्चल र उत्तराखण्डलाई मात्र हिमालय विकासको अवधारणाबाट अलगथलग राख्न मिल्दैन ।

(हिमालय दिवसको अवसरमाअमरउजालाबाट अनुदित गरिएको)

(यसअघि प्रकाशित सामग्रीमा लेखकको तस्बिर अन्यथा भएकोमा क्षमाप्रार्थी छौं- सं.)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay