scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

राजीव त्यागीसँगको त्यो भेट

डम्बर खतिवडा

सुत्नुअघि केहीबेर ट्वीटर हेर्नु आदतजस्तो भएको छ मेरो । अगाडिदेखि नै थियो, कोरोना लकडाउनपछि झन बढ्यो । गत अगष्ट १२ तारिख बुधबारको रात ९ बजेको थियो । राजीव त्यागीको ट्वीटर एकान्टमा कमेन्ट र लाइक छि-छिटो कुदिरहेको थियो । बिरलै मानिसको एकाउन्टमा यस्तो हुन्छ । जसका असाध्यै धेरै फलोअर्स हुन्छन् वा कुनै टेसिला घटना वा ट्वीट भएको हुन्छ ।

राजीवले ‘के त्यस्तो गरेछन् आज ?’ भन्ने जिज्ञासा उत्पन्न भयो । उनको एकाउन्टमा टक्क अडिएँ । राजीवको अन्तिम ट्वीट मुनी मान्छेले ‘रिप’ र ‘हार्दिक श्रद्धान्जली’ लेखिरहेका थिए । एकाएक मन खिन्न भयो । उनको अन्तिम ट्वीट ‘आज साम ५ बजे आजतक पर रहुँगा, धन्यवाद’ थियो । त्यो अपराह्न ४ बजेतिर लेखिएको थियो ।

मैले तुरुन्तै विश्वदीपको एकाउन्टमा हेरेँ । उनले भर्खरै अंग्रेजीमा लेखेका थिए– ‘राजीव त्यागीको असामयिक निधनले साँच्चै नै स्तब्ध भएको छु । उनी एक राम्रा मित्र र नेपालको शुभचिन्तक थिए । १५ दिन अघि उनीसँग टेलिफोनमा कुरा भएको थियो । उनी नेपाल भ्रमण गर्न इच्छुक थिए ।’

भारतीय मिडियामा राजीवको निधनलाई लिएर अनपेक्षित बहस शुरुवात भइसकेको थियो । टिभी एङ्करहरुले ‘टक शो’ चलाउँदा वक्तालाई मानसिक दबाब वा तनाव दिनु जायज हो वा अपराध ? आजतकको त्यो बहसमा भाजपा प्रवक्ता सम्बिद पात्राले उनलाई ‘टिका लगाउँदैमा कोही हिन्दू नहुने, हिन्दुत्व हृदयमा हुने’ भन्दै राजीवको धार्मिक आस्थामाथि चर्को हमला गरेका थिए । उनलाई ‘जय चन्द’ सँग तुलना गरेका थिए ।

उनको निधनपछि उनकी पत्नीले मिडियामा भने अनुसार बहस सकिने बित्तिकै राजीवले– ‘ये लोग ने मुझे मरवा दियाँ’ भनेका थिए । टिभी बहस सकिने बित्तिकै उनलाई गाजियावादको यशोदा अस्पताल लगिएछ । त्यहाँ उनको ६.३० तिर निधन भएछ । आकस्मिक हृदयघातबाट उनको मृत्यु भएको थियो ।

राजीव ५२ वर्षका थिए । गान्धी परिवारको निकट थिए । भारतीय राष्ट्रिय कांग्रेसको प्रवक्ता थिए । पूर्वी उत्तर प्रदेशमा उनलाई उदयमान कांग्रेस नेताका रुपमा हेरिन्थ्यो । उनले आफ्नो ट्वीटरमा राहुल गान्धी र प्रियंका गान्धीको फोटोमुनि आफ्नो फोटो राखेका थिए । प्रियंका र आफ्नो फोटो ट्वीटमुनि यस्तो हिन्दी कविताको टुक्रा राखेका थिए-

धरा हिला, गगन गुँजा

नदी बहा, पवन चला

विजय तेरी, विजय तेरी

ज्योति सी जल, जला भुजा–भुजा,

फड़क–फड़क रक्त में धड़क–धड़क

त्यसपछि मैले राहुल र प्रियंकाको ट्वीटतिर आँखा दौडाएँ । राहुलले लेखेका थिए, ‘कांग्रेसले आज अपना एक बब्बर शेर खोया है, राजीव त्यागीका कांग्रेस प्रेम व संघर्ष हमेशा याद रहेगा । प्रियंकाले लेखेकी थिइन्, ‘राजीवजीकी असामयिक मृत्यु मेरे लिए एक व्यक्तिगत दुःख है । हम सबके लिए अपुरणीय क्षतl । राजीवजी विचारधारा समर्पित योद्धा थे ।’

मलाई भने गत फेब्रुअरी ७ को मध्यान्ह उनीसँगको करिब १.३० घण्टा लामो भेट याद आयो । त्यसको भोलिपल्ट दिल्ली विधानसभाको चुनाव थियो । दिल्ली विधानसभा निर्वाचनको माहौल हेर्न हामी ७ दिनदेखि त्यहाँ थियौं । त्यो हाम्रो यात्राको अन्तिम दिन थियो । त्यही दिन साँझ हामीलाई फर्किनु थियो । बिहान सबेरै गुढ्गाउँबाट उठेर हामी उनको घर गाजियावाद हान्निएका थियौं ।

त्यो यात्रामा हामी ४ जना थियौं । विश्वदीप पाण्डे, पंकज राई, प्रदीप जैन र म । तीन जोसिला युवाहरुसँग म एक अधबैशे । प्रदीप २ दिन अगाडि फर्किएको हुँदा त्यो दिन हामी ३ मात्र थियौं । दिल्ली विधानसभा निर्वाचनले कांग्रेसलाई खासै गाँजेको थिएन । एक प्रकारले चुनावी मैदान सरेन्डर गर्दिएको थियो कांग्रेसले । प्रतिस्पर्धा आप र भाजपाबीच हुँदै थियो । तथापि हामी सम्भव भएसम्मका मान्छेका धारणाहरु सुन्दै, बुझ्दै हिंडेका थियौं ।

राजीवलाई भेट्न खोज्नुको अर्थ यथार्थमा गान्धी परिवारसँगको उनको निकटता नै थियो । राजीवमार्फत् हामी यो बुझ्न चाहन्थ्यौं करिब ५४ वर्ष भारतको सत्ता चलाएको पार्टीका कार्यकर्ताहरु अचेल कसरी सोच्छन् ? करिब ७ वर्षदेखि विपक्षमा रहँदा उनीहरुको मनोदशा कस्तो छ ? गान्धी परिवारबारे उनीहरुको पछिल्लो अनुभूति के हो ? भारतीय राष्ट्रिय कांग्रेस र यसको भावी नेतृत्वबारे नयाँ पुस्ताका कांग्रेसीहरु कसरी सोच्छन् ? दक्षिण एशियाको पछिल्लो राजनीतिक परिदृष्यबारे उनीहरुको विश्लेषण कस्तो छ ? आदि ।

दिल्लीसंगै जोडिएको नगर हो– गाजियावाद । यमुनापारि– उत्तर प्रदेश । गाजियावाद बसुन्धरा बस्तीको सेक्टर १६ मा उनको घर थियो । बाटो भुलेर सोध्दा मान्छेहरुले ‘कुन राजीव ? कांग्रेस प्रवक्ताजी ?’ भन्थे । त्यसले प्रष्ट गर्थ्यो कि गाजियावादका सामान्य मानिसबीच पनि उनको परिचय स्थापित थियो ।

हामी उनको घर नजिक पुग्दा उनी बाटोमा निस्किएका थिए । उनले हामीसँग हात मात्र हैन, गला मिलाएर स्वागत गरे । दुई तले सामान्य घर थियो उनको, साँघुरा कोठाहरु भएको । भारतीय कांग्रेसजस्तो पार्टीको राष्ट्रिय प्रवक्ता कुनै तामझाम, बढप्पन र ऐसआराम केही झल्किँदैनथ्यो ।

हामीले कुरा शुरुवात गर्‍यौं । ‘यसै दिल्लीको चुनाव हेर्न आएको, के रहेछ यहाँको माहौल भनेर’ भन्यौं । उनले दिल्ली चुनावबाटै कुरा शुरुवात गरे– ‘दिल्ली चुनावमा हुने सम्भावित हारलाई हामीले स्वीकार गरिसकेका छौं । दिल्लीमा हाम्रो त्यस्तो बलियो नेता पनि भएन, जसलाई केजरीवालको विपक्षमा प्रस्तुत गर्न सकियोस्, तर यसको अर्थ यो हैन कि हामी धेरै कमजोर छौं । भाजपाको भोट जहाँ थियो, त्यही छ । हाम्रो भोट आपतिर स्विङ भएको छ ।’

चुनाव अगाडि नै हार स्वीकार गरे उनले । अगाडि भने– ‘तर यो नठान्नु होला कि दिल्लीका लागि कांग्रेसले केही गरेन, आज आधुनिक दिल्लीको जुन रुपरेखा तपाईहरुले देख्नु भो, त्यो सबै शीला दीक्षित कार्यकालको हो । केजरीवालले शिक्षा, स्वास्थ्य र गवर्नेन्समा केही सुधार अवश्य गरेका छन्, तर दिल्लीको यो रुप शिला दीक्षितले बनाएको हो ।’

फेरि थपे– ‘शिला दीक्षितको एउटा ठूलो कमजोरी थियो । उनी प्रशासकजस्तो एकहोरो काम गर्थिन् । सरकार र पार्टीलाई जोड्दैनथिन् । जुनियर कार्यकर्तालाई गुड मर्निङ गर्दिनथिन् । उनले दिल्लीमा कांग्रेसका लागि कुनै लोकप्रिय उत्तराधिकार जन्माइनन् । सन् २०११ को अन्ना हजारे आन्दोलनले कांग्रेस विरुद्ध माहौल बनायो, त्यसलाई कसरी ट्याकल गर्ने भन्ने कुरामा हामी चुक्यौं । शिलाको कमजोरी र हजारे आन्दोलनले हामीलाई दिल्लीमा सिध्यायो । त्यहाँ कांग्रेसले निरन्तर २० वर्ष शासन गर्‍यो, अब फेरि सत्तामा फर्किन अर्को २० वर्ष लाग्न सक्दछ ।’

उनको यो भनाईले मलाई लाग्यो कि उनी प्रष्ट वक्ता हुन् । आफ्नै पार्टीका कमजोरीहरु पनि उनी बुझ्न र स्वीकार गर्न सक्दछन् । तर बीचबीचमा उनी बारम्बार ‘अफ द रेकर्ड’ भनिरहन्थे । उनी भन्दै थिए– ‘तपाईहरु त्यति टाढाबाट केही बुझ्न आउनु भएको छ, झुठो कुरा किन गरौं तर यो कुरा अफ द रेकर्ड हो हैन, कम्तीमा भारतीय मिडियामा नजाओस् ।’

त्यसपछि कांग्रेसको राष्ट्रिय स्थितिबारे चर्चा भयो । उनले भने– ‘कांग्रेस मानिसले सोचेजस्तो धेरै कमजोर भइसकेको छैन । अझै केही प्रदेशमा हाम्रो सरकार छ । देशका सबै प्रदेशमा संगठन भएको कांग्रेस बाहेक अरु कुनै विपक्षी दल छैन । कांग्रेस धारका दलहरुलाई एक ठाउँमा ल्याउन सक्ने हो भने त्यो झनै ठूलो ताकत हुन्छ तर नेतृत्वको पहलकदमी पुगिरहेको छैन । कांग्रेसबाट फुटेर बंगालमा ममता बेनर्जी, महाराष्ट्रमा शरद पावर र आन्द्रमा जगमोहन रेड्डीले ठूलो तरक्की गरेका छन् । नेहरुजस्तो नेतृत्व हुन्थ्यो त यी सबै एक ठाउँ हुन सक्थे ।’

हाम्रो अर्को जिज्ञासा थियो के कांग्रेसको असफलताले भाजपाको उदय भएको हो ? उनले अस्वीकार गरे– ‘आज भारतलाई विश्वको एक उदयमान अर्थतन्त्र, एक उदयमान शक्तिराष्ट्र मानिन्छ । यदि कांग्रेसले केही नगरेको भए त्यो कसरी भयो ? स्वतन्त्रतापछि भारत भोकमारीको देश थियो, आज भारत संसारकै पहिलो खाद्यान्न निर्यातक राष्ट्र हो, त्यो कसरी भयो ? विश्वको आठौं ठूलो अर्थतन्त्र कस्को पालमा भयो ? ’

फेरि पनि जनताले तपाईहरुलाई किन छोडे त ? हामीले प्रतिप्रश्न गर्‍यौं । उनले यसका तीनवटा कारणको चर्चा गरे ।

एक– सन् २०१० पछि विश्वव्यापीरुपमै राइट विङ पपुलिज्मको उदय भयो, यसबाट भारत पनि अछुतो रहन सकेनँ । हामी विश्व प्रवृत्तिको शिकार भयौं । कांग्रेस यथार्थमा विचारधारा र आन्दोलन हो । धर्म निरपेक्षता र बहुलवादविरुद्ध जुन लहर आयो, खोक्रो राष्ट्रवादको जुन हावा बग्यो, त्यसको मार कांग्रेसमाथि पर्‍यो ।

भाजपावालाहरु भारतको तुलना ‘पाकिस्तान’ सँग गर्दछन्, त्यसैलाई राष्ट्रवाद भन्छन् । हामीलाई लाज लाग्छ । हामी युरोप, अमेरिका, रुस, चीनसँग प्रतिस्पर्धा गर्ने भारत सोचिरहेका हुन्छौं, भाजपावालाको दिमागमा पाकिस्तानभन्दा अर्थोक केही हुँदैन । पाकिस्तान त हाम्रो एउटा प्रदेश जत्तिको पनि हैन, उसलाई के प्रतिस्पर्धी ठान्नु ?

दोस्रो– राष्ट्रवाद र बन्दे मातारम कांग्रेसकै नारा थियो । नेहरु जहाँजहाँ जानु हुन्थ्यो– ‘भारत माता की जय’ को नारा लगाउनु हुन्थ्यो, हामीले त्यो प्रचलन छोड्यौं । भाजपावालाले पक्रिए । जनतालाई भाजपा राष्ट्रवादी जस्तो र हामी त्यसको विरोधी जस्तो लाग्न थाल्यो ।

तेस्रो– आरएसएसमार्फत् भाजपाले संगठन सञ्जालमा व्यापक जोड दियो । हाम्रो नेतृत्वले पछिल्लो अवस्थामा संगठनको महत्व बुझेन । गान्धी परिवारको वरिपरि घुमेर राजनीतिमा शक्तिशाली भएको ठान्ने केही व्यक्तिहरुको हालीमुहाली भयो । हाम्रो पुरानो संगठन असान्दर्भिक हुँदै गयो, संगठनको नवीकरणमा कांग्रेसको जोर पुगेन ।

डम्बर खतिवडा

यहाँनेर पनि उनले ‘अफ दि रेकर्ड’ भनेका थिए । त्यसको कारण गान्धी परिवारको चर्चा आउनु थियो । अब कुरा त्यतैतिर मोडियो । गान्धी परिवारबारेका आफ्ना सबै विश्लेषणहरु ‘अफ दि रेकर्ड’ राख्न उनले जोड दिएर आग्रह गरे ।

उनले अगाडि थपेका थिए,  ‘गान्धी परिवार अहिले इतिहासमै सबैभन्दा कमजोर भएको छ । तर यसको अर्थ यो हुँदैन कि नेतृत्व कमजोर हुँदा छोडेर भाग्नु पर्दछ । नेतृत्व कमजोर हुँदा झन नजिकबाट साथ दिनु पर्छ भन्ने मेरो धारणा हो । गान्धीहरुका लागि कांग्रेस चाहिँदैन । कांग्रेसका लागि गान्धीहरु चाहिन्छ । यदि म कांग्रेसको विचारधारामा विश्वास गर्छु, कांग्रेस बलियो होस् भन्ने चाहन्छु भने अवश्य गान्धी परिवारको विरुद्धमा हुन् सक्दिन ।’

के गान्धीहरु विना कांग्रेस बलियो हुन् सक्दैन ?

यो प्रश्नमा उनले थपे– ‘सक्छ, भएको पनि छ, पीवी नरसिंह रावको समयमा गान्धीहरु विनै कांग्रेस चलेकै हो । तर अहिले स्थिति फरक छ, हामीसँग केही व्यवहारिक जटिलता छन् । पार्टी कमजोर भएपछि अनेक मान्छेको भागदौड भइरहेको छ । गान्धी परिवार अहिले कांग्रेसलाई जोडी राख्ने रसायन हो ।’

त्यसपछि उनले गान्धी परिवारका तीनजना सदस्यहरुको विश्लेषण गरे । सोनियाको बारेमा भने– ‘सोनियालाई कांग्रेसीहरुले दोष लगाउनु बेकार हो । उनलाई राजनीतिमा आउने मन थिएन । कांग्रेसीहरुले नै जबरजस्ती तानेर ल्याए । विदेशी केटी, भाषा, संस्कृति र संस्कार नमिल्ने अर्काको देशमा कांग्रेसको लागि जे जति गरिन्, त्यो धेरै हो । उनले प्रधानमन्त्री पदको त्याग गरिन् । मनमोहन सिंहलाई दुईदुई पटक प्रधानमन्त्री बनाइन् । जे जति गर्न सक्थिन् उनले गरिन्, अब उनको युग सकियो, अब उनलाई दोष दिनुपर्ने के काम छ ?’

त्यसपछि उनले राहुलबारे आफ्नो बुझाई सुनाए– ‘हो, राहुलप्रति मेरो केही गुनासो छ । सन् २०१९ को चुनावी हारपछि उनले पार्टी अध्यक्षबाट राजीनामा गर्नु हुँदैनथ्यो । कथित नैतिकताको कुरा उनले गरे, त्यो एक किसिमको पलायनजस्तो थियो । उनले राजीनामा त गरे, तर खै के भयो ? को आयो ? कसैले आँट गरेन, न राहुलले राजनीति छोडे । राहुल द्विविधामा छन् । न राजनीति छोड्छन् न अध्यक्ष सम्हाल्छन्, यसरी कसरी हुन्छ ? यदि उनी राजनीति छोड्छन् भने हामी उनलाई बिर्सिदिउँला र अरु कसैको खोजी गरौंला, राजनीति गर्ने, पार्टी अध्यक्ष नहुने यस्तो पनि हुन्छ ? यो त कायरता भयो, भगुवापन भयो, गैरजिम्मेवारी भयो ।’

उनले थपे- ‘निसन्देह राहुलमा केही कमजोरीहरु छन् । तर उनको उमेर छ, कमजोरी सच्याउने समय छ । कमजोरी सच्याएर समर्पित हुनुको साटो आफैं भाग्नु त भएनन नि ? यदि राहुल त्यो आँट गर्दैनन् भने प्रियंकाले उनका व्यक्तित्वका कमजोरीहरु पुर्ताल गर्न सक्दिनन् भन्ने मेरो विश्वास हो ।’

जब प्रियंकाको कुरा उठ्यो, राजीवले फेरि एकपटक ‘अफ द रेकर्ड’ मा जोड दिए । भने– ‘प्रियंकालाई अहिले नै सोनिया वा राहुलको विकल्प मान्न सकिँदैन । तर, सोनिया र राहुलभन्दा उनी कम छैनन् । उनमा जेनेटिकल्ली इन्दिरा गान्धीको व्यक्तित्वको गुण सरेर आएको छ । उनमा ग्लेमर पनि छ । आँट गर्छिन् । मेहनत गर्छिन् । बाहिर नभन्दिनु होला, जुन दिन कांग्रेस फेरि सत्तामा फर्किन्छ, प्रियंका प्रधानमन्त्री हुन्छिन् भन्ने मेरो अन्तरआत्माले भन्छ ।’

उनका ‘अफ द रेकर्ड’ हरु अब ‘अफ द रेकर्ड’ रहिरहनु पर्ने कारण सायद बाँकी छैनन् । राजीवका बुझाई जस्ता तर्कहरु आज भारतीय मिडियामै आम भइसकेका छन् ।

उनी नेपालबारे खासै जानकार थिएनन् । सोधे–‘ तपाईहरुकोमा त अहिले कम्युनिष्ट शासन छ हैन ?’ हो भन्यौं, थप प्रश्न केही गरेनन् । उनको घरको भित्तामा ‘हात चुनाव चिन्ह’ को लामो तोरण थियो ।

विश्वदीपले भने– ‘हाम्रो पनि पार्टीको चुनाव चिन्ह अहिले हात छ’ । उनी हाँसे–‘हो र ?’ त्यो बेला संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकतापछि भर्खरै हामीले हात चुनाव चिन्ह पाएका थियौं ।

त्यसपछि हामीले राजनीतिक कुरा बिट मार्‍यौं । उनले हामीलाई अन्डा मिसाएर भुटेको चिउरा खुवाए । बिहान हतारमा हिंड्दा ‘ब्रेकफाष्ट’ गरेको थिएनौं, साँझ फर्किन हतार भएकोले बाटोमा ‘लन्च’ पनि गरेनौं । त्यो दिनको सबै छाक राजीवले खुवाएको भुटेको चिउराले नै टर्‍यो ।

 विश्वदीपले भने– ‘नेपाल आउनु भएको छैन भने एकपटक आउनु होला ।’

राजीवले भने– ‘मेरो फेमिली कल्चरमाविश्वनाथजीको दर्शन गरेको एक महिनाभित्र पशुपतिनाथजीको दर्शन गर्‍यो भने जीवनको सबै तीर्थ एकैपटक पुरा हुन्छ भन्ने मान्यता छ । मैले त्यस्तो समय मिलाउनु पर्ने हुन्छ कि विश्वनाथजीको दर्शन गर्ने बित्तिकै त्यहाँ जान सकुँ ।’

आफ्नो नाम कसैलाई यति अप्ठ्यारो लाग्ला, त्यो राजीवले बारम्बार मेरो नाम गलत उच्चारण गरेबाट पहिलो पटक फिल भएको थियो मलाई । पछि फोटो ट्वीट गर्दा मेरो नाम उनले– ‘दामर काडियावाढा’ लेखेका थिए । पढेर मनमनै खुबै हाँसो उठेको थियो ।

उनी हामीलाई छोड्न फेरि सडकसम्म आए । राजीवलाई भेटेर फर्किंदा मलाई अनुभूति भइरहेको थियो–दक्षिण एशियाली राजनीतिका कतिपय व्यवहारिकता र अनुभूतिहरु साझा छन् । यी हृदयमा धेरै लप्पनछप्पन नभएका सरल मान्छे हुन् । भेटियो, केही कुरा बुझियो, राम्रै भयो ।

छोटै उमेरमा यति छिटै जाने रैछन्, त्यो पनि पशुपतिनाथको दर्शन नै नगरी । राजीवसँगको त्यो डेढ घण्टाको भेट मेरो जीवनको एक अविष्मरणीय क्षण बन्न पुग्यो । हार्दिक श्रद्धान्जली राजीव ।

उनको यो वाक्य मेरो मष्तिष्कमा सबैभन्दा धेरै बिझेको छ– ‘यदि विचारधारा र पार्टीमा विश्वास गरेको हो भने नेतृत्व कमजोर भएको बेला उसलाई झन बलियो साथ दिनु पर्दछ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay