scheduleबुधवार कार्तिक ५ गते, २०७७

प्रचण्डले संविधान दिवसमा किन सम्झिए बाबुरामलाई ?

फाइल फोटो

काठमाडौं, ४ असोज । संविधानसभामार्फत नेपालको संविधान निर्माण भई जारी भएको ५ वर्ष पुरा भएको छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालको संविधान जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण राजनीतिक संवाद समितिका संयोजक डा.बाबुराम भट्टराई थिए भने प्रधानमन्त्री स्व.सुशील कोईराला थिए ।

संविधान जारी हुँदा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हालका जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.भट्टराई एउटै पार्टीमा थिए । हालका प्रधानमन्त्री केपी शर्मा ओली खासै भूमिकामा थिएनन् ।

संविधान जारी भई देश संघीयतामा गएकोमा पनि ओली खुशी थिएनन् । तर, आज प्रचण्डसँग ओली साथमा छन् बाबुराम साथमा छैनन् । ओली तिनै पात्र हुन् जो कुनै बेला गणतन्त्र र संविधानसभाको पक्षमा थिएनन् ।

संविधान जारी भएसँगै यो पूर्ण भएन भन्‍ने बाबुराम अहिले पनि संविधानमा संशोधन गरेर सबैको संविधान बनाउन लागिरहेका छन् । यही कुरा सम्भवतः प्रचण्डको मनमा खेलिरहेको छ तर उनले आफ्नो भिडियो सन्देशमा घुमाएर अभिव्यक्त गरे ।

प्रचण्डले बिहानै संविधान दिवसको शुभकामना दिने र लिने क्रममा आफ्ना परिवार र निकटसँग बाबुरामलाई धेरै मिस गरेको प्रतिक्रिया दिएका थिए । आफ्नो गृहजिल्ला चितवन पुगेका उनले यसबारेमा परिवारका सदस्य र आफ्नो सचिवालय टिमसँग कुरा गरेका थिए ।

‘यो सबै परिवर्तनको स्वामित्व म एक्लैले लिन मिल्दैन, बाबुरामजी, किरणजीको पनि यसमा धेरै ठूलो भूमिका छ । खासगरी बाबुरामजीलाई आज पनि धेरै मिस गरेको छु,’ उनको भनाई उद्धृत गर्दै प्रचण्ड सचिवालयका एक सदस्यले भने ।

नेकपामा ओलीको एकोहोरो पेलाईमा परेका बेला अझ बढी बाबुरामजीको याद आउने गरेको भन्दै प्रचण्डले परिवारका सदस्य र केही नेताका अगाडि खुलेरै भने, ‘कहिलेकाँही त लाग्छ हिजो राज्यसत्ता विरुद्ध लड्नभन्दा अहिले ओली प्रवृत्तिसँग लड्न गाह्रो पो हो कि !’

यदि यो समय बाबुरामजी साथमा भैदिएको भए ओलीसँग  लड्न सक्ने ताकत मसँग हुने थियो जस्तो लाग्छ भन्दै प्रचण्डले चौतर्फी घेराबन्दीमा परेको बेला बचाउन सक्ने बाबुराम नै भएको तर उनको मन किन फाट्यो पत्तो नभएको बताए ।

प्रचण्डले परिवारका सदस्यहरुलाई आफ्नो सचिवालयमा रहेका नजिकका नातेदारले एउटै पार्टीमा हुँदा पनि बाबुरामसँग संवादहिनता बढाउन भूमिका खेलेको र घृणा सञ्चार गरेर सम्बन्ध बिगार्न भूमिका खेलेको पनि दुःखेसो गरेका थिए ।

नेकपामा चरम विवाद बढेको बेला र प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न खोजेको बेला बाबुरामसँग टेलिफोन संवाद भएको तर भेटेर मनका कुरा राख्‍न चाहेर पनि मौका नमिलेको भन्दै प्रचण्डले ‘ढिलो-चाँडो बाबुरामजी सँग फेरी एकैठाउँमा हुने’ संकेत गरेको एक सदस्यले बताए ।

प्रचण्डको परिवारले पनि बाबुरामलाई सधैं परिवारकै सदस्यलाई जस्तो सम्मान नै गर्दै आएको बताएका थिए । पारिवारिक कुराकानीको प्रसंग कोट्याउँदै परिवारका एक सदस्यले भने, ‘आमा सीता दाहाल मात्रै होईन, छोरीहरु रेणु दाहाल र गंगा दाहालले जहिले पनि बाबुराम अंकलसँग कुराकानी गरौं र सम्भव भएसम्म मिलेर अघि बढौं भन्‍ने गरेका छन् ।’

खासगरी परिवर्तनका एजेन्डाहरु संस्थागत गर्न र संविधान संशोधन गरी संविधानमा सबैको स्वामित्व स्थापित गर्दै अगाडि बढ्न प्रचण्डले बाबुरामको आवश्यकता महसुस गरेको चितवनका एक पूर्वमाओवादी नेताले बताए ।

हाल प्रचण्डलाई जनयुद्धको एजेन्डा छाडेर ओलीसँग मिलेको र बाबुरामलाई एजेन्डा नछाडे पनि कम्युनिष्ट विचार छाडेको भन्दै पूर्वमाओवादी नेता कार्यकर्ताले आरोप लगाउँदै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay