scheduleबुधवार कार्तिक ५ गते, २०७७

ओलीले संविधान संशोधन गर्न तयार छु भन्दा रामचन्द्र बुरुक्कै

काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक पुस्तकको विमोचन गर्दै आफू संविधान संशोधनका लागि संवाद गर्न तयार छु भन्ने अभिव्यक्ति दिए ।

नेकपाका अध्यक्ष समेत रहेका ओली संविधान संशोधनको सवालमा असहिष्णु नेताका रुपमा चर्चामा छन् । उता नेपाली कांग्रेस भने संविधान संशोधनको पक्षमा यदाकदा अभिव्यक्ति दिँदै आएको पार्टी हो । त्यसो त, यी दुवै दलहरुले सत्तामा रहँदा वा सत्तामा जानुपर्ने अवस्थामा असन्तुष्ट पार्टीहरुसँग विभिन्न सम्झौता गर्दै आएका छन् संविधान संशोधनका पक्षमा ।

आइतबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको कार्यक्रमलाई भर्चुअल्ली सम्बोधन गरे । उनले प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न तयार छु भनेर दिएको भनाईप्रति असहमति व्यक्त गरे ।

उनले ओलीले संसदीय व्यवस्था नै फ्याँक्न लागेको भन्दै देउवा लगायत कांग्रेसका पहिलो पंक्ति यसमा मौन रहनुलाई बिडम्बनापूर्ण अवस्था भन्दै टिप्पणी गरे । कुनै बेला कांग्रेसले संविधान संशोधनको प्रस्ताव लैजाँदा ओलीले असहिष्णुता देखाउँदै बहुमतको बलमा असफल बनाएको पनि उनले स्मरण गराए ।

उता कांग्रेस नेता गगन थापाले भने संविधान संशोधनको पक्षमा मत राखेका छन् । उनले शनिबार संविधान दिवसमा ट्वीट सन्देशमा भनेका छन्, ‘संविधान जारी गर्दा स्व.सुशील काेइरालाले केही धारा संशोधन गर्ने बाचा गर्नुभएको थियो। त्यो बाचा पूरा गर्न विलम्ब गर्दा संविधान असफल गराउने प्रयत्नलाई बल पुगेको छ। जायज विषयमा संशोधनको मागलाई सम्वोधन गरौं। विश्वासको छहारीमा सबैलाई सामेल गरेर समुन्नत नेपालको यात्रा गरौं ।’

के भने पौडेलले ?

प्रधानमन्त्रीज्यूले हिजो (शनिबार) एउटा पुस्तक विमोचन गर्दै केही कुरा गर्नुभयो । त्यसलाई मैले आपत्तिजनक ठानेको छु । उहाँले यो संविधानको प्रणालीगत परिवर्तन, संरचनागत परिवर्तनको कुरा पनि उहाँले गर्नुभयो । संविधान जारी गर्दाका केही गुनासाहरु थिए तराई मधेसका साथीहरुका । त्यसलाई सम्बोधन गर्न हामीले संविधान संशोधन प्रस्ताव लगेका थियौं । उहाँको बहुमतको बलले त्यसलाई मिल्काइयो । उहाँ त्यतिसम्म असहिष्णुता, सामान्य कुरा थियो । संविधानलाई केही असर गर्ने कुरा थिएन । राष्ट्रलाई, लोकतन्त्रलाई आँच पुर्‍याउने पनि केही कुरा थिएन । तर ती कुरालाई उहाँले सहन गर्न सक्नुभएन । तर उहाँ आज संविधानको संरचनात्मक परिवर्तन र प्रणालीगत परिवर्तनसम्मका कुरा गर्न थाल्नुभयो । मैले यसलाई एकदमै आपत्तिजनक रुपमा लिएको छु ।

७० वर्षदेखि संघर्ष गरेर हामीले व्यवस्था र प्रणालीको कुरा टुङ्गो लगाएका छौं । संघीय संरचना बनाएका छौं । आज स्थानीय तहका जनताले अधिकारको उपभोग गर्न पाएका छन् । संसदीय प्रणालीमा सबै समावेश हुने समावेशी व्यवस्था लागू भएको छ । संसदीय प्रणालीको माध्यमले समावेशितालाई साकार रुप दिइरहेको छ । यो प्रणालीलाई पनि उहाँ त्यति ठूलो महत्व नदिनुहुँदो रहेछ । मौका मिल्यो भने यो प्रणाली पनि फ्याँकिदिन तयार हुनुहुँदोरहेछ भन्ने कुराको संकेत मैले पाएँ र मैले यसको प्रतिक्रिया दिएको छु ।

 

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay