scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

चीनका लागि सैन्य जासुस गरेको आरोपमा दिल्लीमा एक नेपालीसहित ३ पक्राउ

नयाँ दिल्ली, ४ असोज । चीनका लागि सैन्य जासुसी गरेको आरोपमा भारतमा ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एक भारतीय, एक चिनियाँ र एक नेपाली नागरिक छन् ।

दिल्ली प्रहरीका विशेष सेलका डिएसपी सञ्जीव कुमार यादवलाई उल्लेख गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार पक्राउ पर्ने भारतीय नागरिक राजिव शर्मा, चिनियाँ नागरिक किङ सी र नेपाली नागरिक शेर सिंह रहेको छ । भारतीय नागरिक शर्माको परिचय सार्वजनिक भए पनि चिनियाँ र नेपाली नागरिकको परिचयबारे विस्तृतमा बताईएको छैन ।

दिल्ली प्रहरीका अनुसार राजिव शर्मा टाइम्स आफ इन्डिया, द ट्रिब्युन लगायतका पत्रिकाका लागि काम गरिसकेका पत्रकार हुन् । अहिले उनी ‘राजिव किष्किन्धा’ नामको निजी युट्युब च्यानल चलाउँछन् । उनले चिनियाँ कम्युनिष्ट पार्टी निकटको अंग्रेजी दैनिक ‘द ग्लोबल टाइम्स’ का लागि लेखहरु लेख्ने र रिपोर्टहरु पठाउने गरेको बुझिएको छ ।

शर्मालाई गत सोमबार पक्राउ गरिएको र उनीसँगको पुछताछको आधारमा किंङ सी र शेर सिंहलाई शनिवार गिरफ्तार गरेको दिल्ली प्रहरीको दावी छ । राजिव शर्माले सन् २०१६ देखि चिनियाँ सैन्य अधिकारीहरुसँग सम्पर्क बनाएको र सूचनाहरु चिनियाँ सेनालाई दिने गरेको प्रहरीको आरोप छ ।

दिल्लीमा बसेर किङ लि र शेर सिंहले यस काममा राजिव शर्मालाई सहयोग गर्ने गरेको प्रहरीको दाबी छ । राजिवले माइकल उपनाम भएको चिनियाँ जासुससँग भेट्ने गरेको, उनीहरुबीच लाओस्, माल्दिभ्स, थाइल्याण्ड र काठमाडौंमा बारम्बार बैठक भएको समेत प्रहरीको दावी छ । सन् २०१९ पछि राजिवले माइकलको साटो जर्ज उपनाम भएको चिनियाँसँग सम्पर्क गर्न थालेको समेत उल्लेख छ ।

किङ सी र शेर सिंहले आफूलाई एकअर्काको साथी बताउने गरेको प्रहरीको भनाई छ । उनीहरुले दिल्लीको महिपालपुर क्षेत्रमा एक फर्जी कम्पनीको कार्यालय स्थापना गरी त्यस माध्यमबाट चिनियाँ रकम भारतीय पत्रकारहरुसम्म पुर्‍याउने गरेको बताइन्छ ।

दिल्ली प्रहरीका अनुसार उनीहरुले अहिलसम्म ४० लाख भारु विभिन्न माध्यमबाट विभिन्न व्यक्तिलाई बाँडेका छन् । ती व्यक्तिलाई उनीहरुलाई सूचना स्रोतको रुपमा प्रयोग गरेका छन् ।

गत जुन १५ मा गलवान भ्यालीमा भारतीय र चिनियाँ सेना बीच भिडन्त भए पश्चात दुवै देशले एक एकअर्का विरुद्धको सूचना नेटवर्क तोड्ने प्रयत्न गरिरहेको भारतीय सञ्चार माध्यममा खबर छ ।

शेर सिंह भनिएका नेपाली नागरिक को हुन, खुल्न सकेको छैन । यसबारे नेपाल र चीनले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । राजिवले काम गर्ने भनिएको ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले यसबारे कुनै ट्वीट गरेका छैनन् ।

चीनमा ट्वीटर प्रतिबन्ध छ । तर हु सिजिन ट्वीटर प्रयोग गर्दछन् । उनको एकाउन्टमा ट्वीट कम्पनीले ‘चाइना स्टेट एफिलेटेट मिडिया’ भन्ने ट्याग लगाइदिएको छ । हु सिजिनले यस एकाउन्टमार्फत् अन्तर्राष्ट्रिय महत्वका ट्वीटहरु अंग्रेजीमा शेयर गर्ने गर्दछन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay