scheduleसोमवार कार्तिक १० गते, २०७७

कम्युनिष्ट पार्टीमा पैसा लिने ‘होलटाइमर’: अझै कति सान्दर्भिक ?

सुदर्शन खतिवडा

काठमाडौं, ५ असोज । सत्तारुढ नेकपाको जारी सचिवालय बैठकको एक एजेण्डा होलटाइमर कार्यकर्ताहरुको पारितोषिक रहेको बुझिएको छ । यो समाचार बाहिरिएसँगै सामाजिक सञ्जालमा विभिन्न कोणबाट प्रतिक्रियाहरु प्राप्त भएका छन् । एक्काइशौं शताब्दिको खुल्ला, पारदर्शी र लोकतान्त्रिक प्रणालीमा पार्टी कोषबाट जागिरेजस्तो मासिक पारिश्रमिक लिने होलटाइमरको अवधारणा कति ठीक, कति बेठीक भन्ने प्रश्न उठाइँदैछन् ।

कम्युनिष्ट पार्टीका होलटाइमरको प्रचलन नयाँ भने हैन । यो विशेषतः लेनिनको पालादेखि नै चल्दै आएको कुरा हो । यो लेनिनवादी संगठनात्मक सिद्धान्तको एउटा पक्ष पनि हो । लेनिन कम्युनिष्ट पार्टीलाई ‘सर्वहारा बर्गको अगुवा दस्ता’ मान्दथे । कम्युनिष्ट पार्टीका कमिटीहरू ‘पेशेवार क्रान्तिकारी’हरू बीचबाट बनाइनु पर्दछ भन्ने लेनिनको ठहर थियो । लेनिन भन्थे–‘ पेशेवार क्रान्तिकारीहरूको एउटा बलियो पंक्ति विनाको पार्टीले क्रान्ति गर्न सक्दैन ।’

लेनिनले भन्ने गरेको यही ‘पेशेवार क्रान्तिकारी’ को अवधारणालाई नेपालमा ‘होलटाइमर’ (डब्लुटी) भन्ने चलन छ । सत्तारुढ हुन वा सत्ताबाहिर संसारका सबैजसो कम्युनिष्ट पार्टीहरु यही अवधारणामा चलेका हुन्छन् । क्युवादेखि चीनसम्म अहिले पनि यही अवधारणा छ ।

युगोस्लाभियामा मार्सल टिटोले यो अवधारणाको सबैभन्दा बलियो प्रयोग गरे । त्यहाँ कम्युनिष्ट पार्टीका सबै सदस्यहरूले कुनै न कुनै रुपमा मासिक रकम प्राप्त गर्दथे । सरकारी पदमा भएकाले सरकारी कोषबाट पैसा लिन्थे । तिनीहरुले तिर्ने लेभीलाई पार्टी कोषमा जम्मा गरी सरकारी पद प्राप्त नभएका कार्यकर्तालाई बाँड्ने गरिन्थ्यो ।
सत्तामा नपुगेका क्रान्तिकारी कम्युनिष्ट पार्टीमा यो मुद्दा खासै समस्या बनेन । किनकी पार्टी कोष नै सीमित हुन्थ्यो । क्रान्तिकारी युद्ध, संघर्ष, काराबास र निर्वासनजस्ता घटनाले आर्थिक स्रोतमाथिको दाबी वा नियमिततालाई अर्थहीन बनाइदिन्थ्यो ।

तर जब कम्युनिष्ट पार्टीहरु सत्तामा पुगे, यो सवाल धेरै देशमा जटिल बन्यो । पार्टीबाट पैसा पाउने र नपाउने कार्यकर्ताहरुको भिन्नाभिन्नै वर्ग बन्यो । पैसा पाउने कार्यकर्ताहरुको मोविलिटी बढी हुनु स्वभाविक थियो । विस्तारै उनीहरुले पार्टी कोष र स्रोतमाथि पहुँच नभएकाहरुलाई विस्थापन गर्न थाले । पार्टी पैसा पाउनेहरुको कब्जामा मात्र गएन, पार्टी कब्जा गरेवापत उनीहरु थप पैसावाल भए ।

सत्तारुढ कम्युनिष्ट पार्टीहरुको यो समस्यालाई पहिलोपटक मार्सल टिटोका उपराष्ट्रपति मिलवन द दजिलासले सैद्धान्तिकरण गरेका थिए । सन् १९५४ मा प्रकाशित उनको विश्वप्रसिद्ध पुस्तक ‘द न्यु क्लासः एन एनालाइसिस अफ कम्युनिष्ट सिष्टम’ को महत्वपूर्ण पाटो यही थियो । उनले कम्युनिष्ट पार्टीको होलटाइमर संरचनालाई ‘कम्युनिष्ट ब्यूरोक्रेसी’ को संज्ञा दिए । ‘कम्युनिष्ट ब्यूरोक्रेसी’ मा पहुँच बनाएर शक्तिशाली देखिएकाहरुलाई ‘नवीन वर्ग’ भने ।

दजिलासको यो विश्लेषणले मार्सल टिटो र उनका बीचमा चरम दरार र अविश्वास सृजना गर्‍यो । टिटोले दजिलासलाई पार्टी सदस्य र उपराष्ट्रपतिबाट तुरुन्तै बर्खास्त गरेर जेल हाले । दजिलास करिब १४ वर्ष जेल बसे । त्यसपछि एक स्वतन्त्र लेखक र चिन्तकका रुपमा उनले बाँकी जीवन बिताए ।

युगोस्लायिभामा मात्र हैन, सबैजसो एकदलीय शासन प्रणाली भएका कम्युनिष्ट देशमा यो समस्या थियो । सोेभियत संघ र पूर्वी युरोपमा यो विभाजनलाई ‘कार्ड होल्डर’ र ‘कमन’ भन्ने गरिन्थ्यो । हरेक सरकारी कार्यालय र स्टोरहरुमा कार्डहोल्डरहरुले निश्चित प्रकारका अग्राधिकार प्रयोग गर्दथे ।

होलटाइमर कार्यकर्ता प्रचलनका खराब पक्ष मात्र छैनन् । बलियो पार्टी निर्माणमा यो प्रचलन सहयोगी सिद्ध भएको देखिन्छ । लोकतान्त्रिक, खुल्ला र पारदर्शी भनिने पार्टीहरुमा अधिकांश धनी र शक्तिशाली परिवारका मानिस मात्र हावी हुन्छन् । राजनीतिलाई ‘स्वयंसेवी’ कार्य भनिए पनि यसको आर्थिक लागत अवश्य हुन्छ ।

संगठनमा परिचालित हुने, परिवार व्यवस्थापन गर्ने र चुनाव लड्ने खर्च जुटाउने कुरा यसको मुख्य पाटो हो । कम्युनिष्ट पार्टीले यो पाटोमा ‘कार्यकर्तालाई भरथेग’ गर्ने प्रयत्न गर्दछन् ।

अरु पार्टीमा यस्तो प्रचलन हुँदैन । यी सबै खर्च व्यक्ति आफैंले जोगाड गर्नुपर्दछ । तसर्थ, गैरकम्युनिष्ट पार्टीहरुमा निम्न वर्गका मानिस नेता हुन सायदै सम्भव हुन्छ । न्युनतम मध्यम वर्गीय आर्थिक हैसियत भएकाहरु मात्र राजनीतिक कार्यकर्ता वा नेता हुन सक्दछन् ।

तर कम्युनिष्ट पार्टीमा ‘गरिब परिवार’बाट उठेका मानिस पनि स्थापित नेता, कार्यकर्ता भएका थुप्रै उदाहरण छन् । त्यसको मुख्य कारण होलटाइमरको प्रचलन नै हो । होइटाइमर कार्यकर्ताको निश्चित पङ्क्ति सर्वथा तयार हुने, उनीहरुको राजनीतिक सक्रियता बढी हुने, संगठनात्मक काममा बढी खट्ने कारणले कम्युनिष्ट पार्टीहरु बलियो हुने गरेका छन् ।

नेपालमा कांग्रेसमाथि कम्युनिष्ट पार्टी हावी हुनुको एउटा मुख्य कारण पनि यही हो । यो भिन्नै कुरा हो कि आज कम्युनिष्टहरु समाजको सबै तप्कामा शक्तिशाली छन् । पार्टी कोषबाट पाउने सीमित पारिश्रामिकमा उनीहरुको खासै आकर्षण नहोला । उनीहरु अन्यत्रबाटै ठूलो रकम दोहन गरिरहेको प्रष्टै देखिन्छ ।

नेकपाको आज जुन संगठन शक्ति र स्रोतमाथिको पहुँच छ त्यो दजिलासले भनेको ‘कम्युनिष्ट ब्यूरोक्रेसी’ भन्दा कम छैन । लेनिनवादी धारणामा ‘सर्वहारा वर्गसँग राज्यसत्ता प्राप्त गर्ने संगठनभन्दा अर्को कुनै हतियार हुँदैन ।’ मास पार्टीले यो अवधारणा मान्दैनन । बलियो संगठन र कार्यकर्ता पङ्क्ति तयार गर्दैनन् । फलतः कुनै देश वा समाजमा कम्युनिष्ट शक्ति हावी भए पछि त्यो कमजोर हुन केही समय लाग्दछ । पार्टीको अनेक कमजोरी र नेतत्वका यावत बदमासीलाई संगठनको शक्तिले ढाकेर राख्दछ ।

एकदलीय कम्युनिष्ट शासन भएका देशमा मात्र हैन, बहुदलीय प्रणालीमा शक्तिशाली भएको पश्चिम बंगालको सीपिएमको शासनलाई हेर्दा पनि यही कुरा पुष्टि हुन्छ । पश्चिम बंगालमा कम्युनिष्टहरुको शासन निक्कै कमजोर गुणस्तरको थियो । अन्तिम परिणाममा त्यो पुष्टि पनि भयो । कम्युनिष्ट शासन शुरुवात हुनुअघि भारतको आर्थिक सुचकमा पहिलो स्थानमा रहेको पश्चिम बंगाल करिब ३ दशकको कम्युनिष्ट शासनपछि अन्तिमतिर बिहारको हाराहारीमा पुग्यो । तथापि संगठनको शक्तिले त्यहाँ उनीहरुले ३४ वर्ष निरन्तर शासन गरे ।

सत्तारुढ नेकपाका दुवै धार एमाले र माओवादी होलटाइमर कार्यकर्ताको प्रचलनबाट विकास भएका पार्टी हुन् । यी दुवै पार्टीका नेतालाई होलटाइमरको महत्व थाहा छ । यतिखेर स्रोत जुटाउन पनि उनीहरुलाई सजिलो छ । पार्टी एकताको जटिलताले केही समय त्यो रोकिएको थियो होला । पुनश्चः शुरुवात गर्ने उनीहरुको एजेण्डा हुनु पर्दछ ।

हुनतः नेकपाको ठूलो पंक्ति अहिले सरकारी स्रोतमाथिमा पहुँचमा छ । वडासदस्यदेखि राष्ट्रपतिसम्म उनीहरुले सरकारी कोषबाट तलबभक्ता लिइरहेका छन् । तुलनात्मक रुपमा यो स्रोतमाथि अरु पार्टीको पहुँच निक्कै कम छ । अर्कोतिर कर्मचारीतन्त्रमा पनि नेकपाको व्यापक पहुँच छ । अधिकांश ठूला वैधानिक ट्रेड युनियनहरु नेकपासंगै छन् । एनजिओ नेकपासंगै छन् । बहुदलीय लोकतन्त्रमा स्रोत र साधनमाथि यति बलियो पकड भएको पार्टी संसारमै बिरलै होला ।

यस अर्थमा नेपालका विपक्षी दलहरु निक्कै कमजोर देखिन्छन् । नेकपा वैचारिक, सैद्धान्तिक र नैतिक हिसाबले निसन्देह कमजोर हुँदै गएको छ तर संगठनको दृष्टिकोणले यसलाई चुनौति दिने सक्ने दल अहिले पनि देशमा छैन । यहाँसम्म कि पुरानो, ठूलो भनिएको प्रमुुख प्रतिपक्षी दलसँग पनि त्यो स्तरको संगठन देखिन्न ।

पश्चिम बंगालमा जस्तै यहाँ पनि राजनीतिक तथा नैतिक संकटलाई संगठनको शक्तिले ढाक्ने र कमजोर गुणस्तरको शासन लामो जाने सम्भावना टरिसकेको छैन ।

निश्चय नै आधुनिक लोकतान्त्रिक, खुल्ला, पारदर्शी, सभ्य र सुसंस्कृत राजनीतिमा होलटाइमर कार्यकर्ता राम्रो प्रचलन हैन । यसले दलहरुको संगठनलाई नोकरशाहीमा बदल्छ । समाजमा आर्थिक उत्पादनमा नजोडिएको एक ठूलो परजिवी तप्का निर्माण गर्दछ । सम्पूर्ण समाज नै दलीयकरण हुने र जडतामा फस्ने सम्भावना बढ्दछ ।

सवालमा आधारित राजनीति र मतदान प्रवृति झनै कमजोर हुन्छ । भोको पेटले हाल्ने मतको स्वतन्त्रता संकुचन हुनसक्छ । राजनीतिक गतिशीलता र परिवर्तन झनझन असहज हुन्छ ।

स्वीट्जरल्याण्डमा अभ्यास हुँदै आएकाे मन्त्री, प्रधानमन्त्रीले पनि पारिश्रमिक नपाउने र उनीहरु नियमित आम्दानीको लागि कुनै न कुनै पेशा व्यवसायमा आवद्ध भएको हुनुपर्ने मोडेल पनि यतिबेला स्मरण गर्नु उत्तम होला । लोकतन्त्रको यस्तो स्वीस मोडेल र कम्युनिष्ट सिष्टमबीच तुलना गर्ने हो भने यो भिन्नता प्रष्ट देखिन्छ कि कम्युनिष्ट सिष्टमभन्दा स्वयंसेवी राजनीति निक्कै उन्नत, सुन्दर, सभ्य, सुसंस्कृत र सुशासित हुन सक्दछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay