उत्पादन नहुँदै १२० करोड रसियन कोरोना खोप बिक्री !
मस्को, ६ असोज । रुसले कोरोना खोप स्पूतनिक-वी बेच्नका लागि १० देशका साथ सुरुवाती सम्झौता भएको छ । अहिलेसम्म १२० करोड डोज बिक्रीका लागि सम्झौता भइसकेको छ ।
यसलाई अर्डर गर्ने देशहरुमा दक्षिण अमेरिकी र एसियाली देशहरु रहेका छन् । केही खाडी राष्ट्रहरुले पनि खरिदका लागि सुरुवाती सम्झौता गरिसकेका छन् ।
रुसी अधिकारीहरुका अनुसार भारत, साउदी अरब, मेक्सिको र ब्राजिलले भ्याक्सिन खरिदका लागि सम्झौता गरिसकेका छन् ।
त्यस्तै, १० अन्य देशहरुसाग पनि रुसले संवाद गरिरहेको वाल स्ट्रिट जर्नलमा खबर छापिएको छ ।
रुसमा अहिलेसम्म ११ लाख ९ हजार ५९५ संक्रमित भेटिएका छन् जबकि १९ हजार ४८९ जनाको मृत्यू भइसकेको छ ।
बितेको १० दिनमा यहाँ हरेक दिन ५ हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।
रुसले यही वर्षको अन्तिमसम्म आम मानिसको प्रयोगका लागि खोप उपलब्ध हुने दावी गर्दै आएको छ । खोप रुसको गामेलया अनुसन्धान केन्द्रमा तयार गरिँदै छ ।
संसारका विभिन्न देशहरुका ४० हजार मानिसमा यसको मानवीय परीक्षण सुरु भएको छ ।
रुसको कोरोना खोप स्पूतनिक-वीको परीक्षणका लागि ६० हजार मानिसले आवेदन दिएका छन् । यीमध्ये हजारौं मानिसहरुले खोप परीक्षणअघि हुने अनिवार्य स्वास्थ्य परीक्षण पास गरिसकेका छन् ।
यसैबीच, ७०० मानिसहरुलाई खोप लगाइसकिएको जानकारी मेयर सर्गेइ सोबयनिनले दिएका छन् । रुसको स्वास्थ्य मन्त्रायलले १५ अगस्टमा यो खोप तयार बनाउने घोषणा गरेको थियो ।