scheduleसोमवार कार्तिक १० गते, २०७७

यी हुन् आइपिएलमा ह्‍याट्रिक लिने खेलाडीहरु

इन्डियन प्रिमियर लिग (आइपिएल)को तेह्रौं संस्करण यूएईमा सुरु भइसकेको छ । कोरोना महामारीका कारण भारतमा गर्न असम्भव भएपछि यूएईमा आयोजना गरिएको प्रतियोगितामा तीन खेल सम्पन्‍न भइसकेका छन् । यस क्रममा हामीले एक खेलमा त सुपर ओभर पनि देखिसकेका छौं ।

क्रिकेटमा ह्‍याट्रिक दुर्लभ नै मानिन्छ त्यसमाथि पनि टी२० क्रिकेटलाई त ब्याट्सम्यानको खेल पनि भन्‍ने गरिने भएकाले चौका र छक्काको वर्षात् भएको देख्‍ने गरिन्छ । तर टी २० क्रिकेटमा पनि ह्‍याट्रिकहरु भएका छन् । कतिपय टिमले त टी२० मै ५० रन पनि नबनाई अलआउट समेत भएका छन् । त्यसकारण पनि टी२० भनेको सधैं ब्याट्सम्यानको मात्र शक्ति प्रदशर्न गर्ने फर्म्याट होइन भन्‍ने कुरा पुष्‍टि गर्छ ।

आइपिएलमा पनि धेरैपटक ह्‍याट्रिकहरु भइसकेका छन् । तेह्रौं वर्षसम्म आइपुग्दा १६ खेलाडीले आइपिएलमा ह्‍याट्रिक लिएका छन् ।

आइपिएलमा सर्वाधिक ह्‍याट्रिक लिने खेलाडी अमित मिश्रा हुन् । हाल दिल्लीमा आबद्ध मिश्राले ३ पटक ह्‍याट्रिक लिएका छन् । सन् २००८ मा दिल्लीबाटै खेल्दा पहिलोपटक ह्‍याट्रिक लिएका उनले त्यसपछि डेक्कन चार्जर्स र सनराइजर्स हैदराबादबाट खेल्दा पनि ह्‍याट्रिक लिएका थिए ।

हाल मुम्बई इन्डियन्सको टिममा रहेका भारतीय पूर्वअलराउन्डर युवराज सिंहले आइपिएलमा दुईपटक ह्‍याट्रिक लिएका छन् । उनले दुवै ह्‍याट्रिक किङ्स इलाभेन पञ्‍जाबबाट खेल्दा लिएका थिए । मिश्राले ३ र युवराजले २ ह्‍याट्रिक लिँदा अन्य खेलाडीहरुले एक-एकपटक मात्र ह्‍याट्रिक विकेट हात पारेका छन् ।

२००८ मा च‍ेन्‍नई सुपर किङ्सबाट खेलेका मखया नित्नीले एकपटक ह्‍याट्रिक लिएका छन् भने सोही वर्ष चेन्‍नईका लक्ष्मीपति बालाजीले पनि ह्‍याट्रिक लिएका थिए । बालाजी आइपिएल इतिहासमा पहिलो ह्‍याट्रिक लिने खेलाडी हुन् ।

राजस्थानका अजित चंडिला र बैंगलोरका सामुयल बद्रीले पनि एक-एकपटक ह्‍याट्रिक लिन सफल भएका छन् । हाल मुम्बई इन्डियन्सका कप्तान रहेका रोहित शर्माले २००९ मा डेक्कनबाट खेल्दा मुम्बईकै विरुद्ध ह्‍याट्रिक लिएका थिए  ।

प्रवीण कुमारले २०१० को आइपिएलमा बैंगलोरबाट खेल्दा राजस्थानविरुद्ध ह्‍याट्रिक लिएका थिए । कोलकाताका सुनिल नारायणले २०१३ मा पञ्‍जाबविरुद्ध ह्‍याट्रिक लिएका थिए ।

हाल चेन्‍नईमा रहेका शेन वाट्सनले २०१४ मा राजस्थानबाट खेल्दा हैदराबादविरुद्ध ह्‍याट्रिक लिएका थिए भने सोही वर्ष राजस्थानकै प्रवीण ताम्बेले कोलकाताविरुद्ध ह्‍याट्रिक लिएका थिए ।

हाल दिल्लीमा रहेका बाँयाहाते अलराउन्डर अक्षर पटेलले २०१६ मा पञ्‍जाबबाट खेल्ने क्रममा गुजरात लायन्सविरुद्धको खेलमा ह्‍याट्रिक लिएका थिए ।

२०१७ को आइपिएलमा गुजरातबाट खेल्दा एन्ड्रयू टाइले राइजिङ पुणे सुपरजाइन्ट्सविरुद्ध ह्‍याट्रिक लिएका छन् । सोही वर्ष पुणेका जयदेव उनादकटले हैदराबादविरुद्धको खेलमा ह्‍याट्रिक लिएका थिए ।

२०१९ को संस्करणमा पञ्‍जाबबाट खेल्दा साम करानले दिल्लीविरुद्ध ह्‍याट्रिक लिएका थिए भने सोही वर्ष राजस्थानका श्रेयस गोपालले बैंगलोरविरुद्ध ह्‍याट्रिक लिएका थिए ।

यसरी हालसम्म १६ खेलाडीले कम्तीमा एकपटक ह्‍याट्रिक लिएका छन् । सन् २०१५ र सन् २०१८ को संस्करणमा कुनैपनि खेलाडीले ह्‍याट्रिक लिएका छैनन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay