scheduleबिहिवार कार्तिक ६ गते, २०७७

सुशान्त सिंहको आत्महत्या र कंगनाको विद्रोह ‘बलिउड बाहुनवाद’ विरुद्ध ‘क्षत्रीय विद्रोह’ हो

काँचा इलैया सेफर्ड

सुशान्त सिंह राजपुतको आत्महत्या, कंगना रनावतको शिवसेना सरकार विरुद्धको विद्रोह र बलिउडको तथाकथित लागूऔधष संस्कृति केवल राजनीतिक मुद्दा मात्र हैनन्, यसभन्दा बढी यसको गहिरो जातीय आयाम छ । भारतीय मिडिया, विशेषतः अंग्रेजी माध्यमका मिडियाले यो पाटोलाई नजरअन्दाज गर्दैछन्, एक अर्थमा त्यो उनीहरुको अज्ञानता पनि हो ।

सुशान्त र कंगना क्षत्रीय समुदायबाट बलिउडमा उदाइरहेका थिए । बलिउड भारतका अरु क्षेत्रीय सिनेमा उद्योगजस्तै ब्राह्मण, बनियाँ, कायस्थ, खत्री र रुढीवादी मुल्ला नियन्त्रणबाट बाहिरिएका केही मुस्लिमहरुद्वारा नियन्त्रित छ ।

क्षत्रीय भारतको ऐतिहासिक शासक वर्ण थियो । स्वतन्त्रतापछिको अंग्रेजी बोलिने पश्चिमाकृत समुदायमा क्षत्रीयहरुको त्यो भूमिका रहेन । निकट विगतका दिनहरुसम्म क्षत्रीयहरु रुढीवादी नै थिए । बलिउड आधुनिक अंग्रेजी शिक्षादिक्षामा हुर्किएका, पश्चिमा पुँजीवादी संस्कृतिसहितका अंग्रेजी–हिन्दी द्विभाषी वक्ता र लेखकहरुको आधुनिक उद्योगका रुपमा उदायो ।

शुरुवातदेखि नै हिन्दी सिनेमा उद्योगले सिनेमा निर्माणका विभिन्न आयाम र मनोरञ्जनका पक्षहरुमा हलिउडको अनुकरण गर्दै आएको थियो । प्रस्तृतिको दृष्टिकोणले यो आधुनिकजस्तो देखिन्थ्यो तर अन्तर्यमा यसका केही पश्चगामी चरित्र थिए । बजारीकरणको दृष्टिकोणबाट यी दुवैको सम्मिश्रण उपयुक्त थियो ।

काँचा इलैया सेफर्ड

अधिकांश चर्चित लेखक तथा निर्देशकहरु पश्चिमा प्रवृत्तिबाट दीक्षित थिए तर निर्माताहरु भने फरकफरक पृष्ठभूमिबाट आएका थिए । यो उद्योग शुरुवात देखि नै विदेशमा जन्मिएका महिला तथा पुरुषका लागि कलाकार तथा प्राविधिज्ञका रुपमा खुल्ला थियो । यी सबै तत्वको सम्मिश्रणले बलिउडलाई वैश्विक आयाम प्रदान गर्दथे ।

ब्राह्मण, बनियाँ, कायस्थ र खत्रीहरुले राष्ट्रवादी आन्दोलनको क्रममा र त्यसपछि सिने उद्योगलाई तीव्र रुपान्तरण गरे । सन् २०१४ मा जब आरएसएस/विजेपी सत्तामा आउँदै थिए, त्यतिखेर सिने उद्योगमा सांस्कृतिक द्वन्द्व थियो । केहीले हिन्दुत्वपरस्त धारको बलियो पैरवी गर्दै थिए । अर्कोतिर बलिउड आधुनिकताको आफ्नो संस्कृति थियो, जो हिन्दुत्व र रुढीवादको ‘कल्चरल– पुलिसिङ’ मन पराउँदैनथ्यो । उनीहरु धार्मिक रुढीवाद र साम्प्रदायिकतावादसँग असहजता महसुस गर्थे ।

क्षत्रीय समुदाय यो उद्योगबाट बाहिर परेको थियो । उनीहरु आफ्नो सामन्ती–हिन्दु संस्कृतिमै सीमित थिए । क्षत्रीय समुदायका महिला आज पनि अन्य तागाधारी समुदायका महिलाभन्दा बढी पुरुषको नियन्त्रणमा हुन्छन । उनीहरुले अंग्रेजी भाषी शिक्षा प्राप्त अन्य तागाधारी समुदाय ब्रह्मण, बनियाँ, कायस्थ र खत्रीहरुभन्दा आफूलाई अप्ठ्यारो अवस्थामा रहेको अनुभूति गरे । यसले गर्दा क्षत्रीयहरुले राजनीतिक अवसरहरु समेत गुमाउँनु परेको थियो ।

अंग्रेजी माध्यमको शिक्षाबाट ब्राह्मण समुदायले ठूलो फाइदा उठायो । राजा राममोहन रायदेखि पंडित, जवाहरलाल नेहरुदेखि अटलबिहारी बाजपेयीसम्म, यसबीचका इन्दिरा गान्धी, राजिब गान्धी, मोरारजी देसाई र पीभी नरसिंह रावसम्मका ब्राह्मणहरुको दिल्लीमा देखिने प्रभुत्व कायम भयो ।

बनियाँ समुदायबाट मोहनदास करमचन्द गान्धीदेखि राममनोहर लोहिया र अहिलेका नरेन्द्र मोदीसम्म आए । यी सबैको उन्नतिको जग अंग्रेजी माध्यमको शिक्षा र औद्योगिक पुँजीसँगको संश्रय थियो । यद्यपि मोदी राम्रो अंग्रेजी शिक्षा पाएका व्यक्ति हैनन तर एकाधिकारी बनियाँ पुँजीवादसँगको उनको संश्रय भने उत्तिकै छ ।

कायस्थ समुदायबाट सुवासचन्द्र बोसदेखि डा. राजेन्द्र प्रसादसम्म, जयप्रकाश नारायणदेखि, लालबहादुर शास्त्री र ज्योति बसुसम्मको उदय भयो । इन्दर कुमार गुजराल र मनमोहन सिंह राष्ट्रिय राजनीतिको निश्चित स्थितिले साथ दिएको कारण खत्री समुदायबाट प्रधानमन्त्री भए ।

क्षत्रीय समुदायका देखिने राजनीतिज्ञ भनेका विपी सिंह र चन्द्र शेखर हुन् जो प्रधानमन्त्री भए । तर भारतीय मिडियाले यी दुवैलाई खासै मन पराउँदैनथ्यो । चौधरी चरण सिंह र एचडी देवेगौडा मात्र शुद्र समुदायका प्रधानमन्त्री थिए जससँग राम्रो अंग्रेजी माध्यमको शिक्षा र अन्य सहजताहरु थिएनन् । उनीहरु पिछडिएको कृषिअर्थतन्त्र र संस्कृतिको प्रतिनिधित्व गर्दथे ।

अर्कोतिर बलिउडमा भने कुनै शुद्र वा दलित उद्योगको उच्च स्थानमा थिएन र छैन ।

अझ रमाइलो कुरा के छ भने वीपी सिंह र चन्द्र शेखर दुवै क्षत्रीय समुदायभन्दा गरिब, पिछडावर्ग, दलित र सूचीकृत जातिहरुप्रति रुझान राख्दथे । वास्तवमा उनीहरु क्षत्रीय समुदायका भए पनि क्षत्रीय समुदायका नेता थिएनन् ।

राममन्दिरको मुद्दालाई उपयोग गरी योगी आदित्यनाथको उदय हुनुअघि क्षत्रीय समुदायको कुनै बलियो नेता राजनीतिमा थिएन । सन्त भेषमा योगी हिन्दुत्व शक्तिको सर्वोच्च तहमा पुगे । यथार्थमा उनी विश्वमित्रझैं ब्रह्माणवादका विरोधी जस्ता हुन् । ब्राह्मण र क्षत्रीयहरु बीचको यो वैमनष्य उत्तरप्रदेशमा भएको भर्खरैको ग्याङ्गयास्टर विकास दुबेको एक इन्काउन्टरमा भएको हत्याबाट पुष्टि हुन्छ ।

क्षत्रीय समुदाय विस्तारै संगठित हुन थालेको छ । उनीहरु बीचको ‘पीडित अवस्था’ बाहिर निस्कने प्रयत्न गर्दैछन् । उनीहरुले श्री राजपुत कर्नी सेना बनाएका छन् । उनीहरुले पद्मावत सिनेमा दिपीका पादुकोणेको भूमिकालाई लिएर व्यापक विरोध प्रदर्शन गरे । अहिले त्यही कर्नी सेना कंगनाको प्रतिरक्षा गर्न मुम्बई पुगेको छ ।

कंगनालाई केन्द्र सरकारले बलियो सुरक्षा दिएको छ । त्यसको पछाडि योगी आदित्यनाथको भूमिका प्रष्टै अनुभूत गर्न सकिन्छ । कंगना शिव सेना विरुद्ध भाजपा– अस्त्रहरु प्रयोग गरिरहेकी छन् । शिवसेना प्रमुख उद्धव ठाकरे चन्द्रिकासेना कायस्थ पृष्ठभूमिका हुन् यद्यपि उनलाई मराठी र पिछडावर्गको बलियो समर्थन छ ।

मुम्बईमा फिल्मी करिअरको संघर्षका प्रारम्भिक दिनमा कंगना भन्थिन् कि उनलाई धाराप्रवाह अंग्रेजी बोल्न नजानेको र सानो गृहनगरबाट आएको कारण टिक्नै गाह्रो हुन्थ्यो । आज उनी रिया चक्रवर्तीसंग लड्न सक्ने चरणमा पुगेकी छन्, जो बंगाली ब्राह्मण परिवारकी हुन् । उनी जया बच्चनका शुभचिन्तकहरुलाई चुनौती दिने भएकी छन् जो जन्मले ब्राहमण र विवाहले कायस्थ हुन् ।

कंगनाले यो संघर्षमा बलियो हिन्दुवादी र कांग्रेसविरोधी छवि बनाउने प्रयास गरेकी छन् । जस्तो कि उनले शिव सेनालाई ‘सोनिया सेना’ को संज्ञा दिइन् ।

सन् २०१९ को ‘मनिकर्णिका’ फिल्ममा कंगनाले झाँसीकी रानी लक्ष्मीबाईको भूमिका गरेकी छन् । कंगना यो सिनेमाको सहनिर्देशक हुन् । यसमा लक्ष्मीबाईलाई ऐतिहासिक लक्ष्मीबाईको साटो क्षत्रीयहरुको सुधारवादी तथा महिलावादी आर्दश पात्रको रुपमा बङ्गयाइएको छ । यथार्थमा लक्ष्मीबाई ब्राह्मण परिवारमा जन्मिएकी थिइन् । उनी विवाहले मात्र क्षत्रीय थिइन् । यो पाटोलाई सिनेमामा धुर्ततापूर्ण ढंगले चित्रण गरिएको छ ।

सिनेमा र मोडलिङ्गमा कंगनाको प्रवेश उनको परिवारको इच्छा विपरित थियो । जबकी यसको ठीक विपरित दीपिका पादुकोणे (ब्राह्मण) र प्रियंका चोपडा (खत्री) को परिवारले आफ्ना छोरीहरुलाई यो करिअरमा जान उत्साहित गरेका थिए । कंगनाको परिवार दीपिका पादुकोणे, प्रियंका चोपडा, ऐश्वर्या राय वा शिल्पा सेठ्ठीको परिवारझैं अझै पनि पश्चिमा जीवनशैलीमा प्रस्तुत हुन सक्दैन । कंगनाको परिवार आधुनिकतालाई पिटिक्कै मन नपराउने ऐतिहासिक शासक परिवारको विरासतसँग जोडिन्छ ।

अन्य तागाधारी र मुस्लिमहरुको जस्तो बलिउडमा क्षत्रीयहरुको ठूलो लगानी छैन । कंगनाको बोल्डनेसको ताकत विद्यमान राजनीतिक स्थिति हो । योगी आदित्यनाथ मुम्बईको महत्व घट्ने गरी उत्तर प्रदेशमै फिल्मसिटी बनाउने योजनामा छन् । कंगना पनि मुम्बईको एकाधिकार घटोस् भन्ने चाहन्छिन् । मुम्बईलाई राष्ट्रिय सिने उद्योगको मान्यता दिइरहन हिन्दूवादीहरु तयार छैनन् ।

फिल्म उद्योगबारे हिन्दू-राष्ट्रवादीहरुको एक भिन्नै योजना र मार्गचित्र छ । त्यसलाई उनीहरु ‘एक राष्ट्र, एक सांस्कृतिक राष्ट्रवाद’ अभियानको एक अङ्ग बनाउन चाहन्छन् । कंगना यो मार्गचित्रमा फिट हुन सक्छिन् । कंगना उनको पुरै समुदायको समर्थनमा उदियमान अभिनेत्री र निर्माता बनिरहेकी छन् ।

सुशान्त सिंह राजपुतको मृत्युले पुरै क्षत्रीय समुदाय निराश छ । उनीहरुले केन्द्रीय सरकारलाई यो घटनाबारे रिया चक्रवर्ती छुने गरी छानबिन गराउन माग गरिरहेका छन् । अर्कोतिर रिया चक्रवर्तीलाई कांग्रेस नेता तथा सांसद अधिर रन्जन चौधरीको समर्थन छ । उनले ‘बंगाली ब्राह्मण परिवारबाट आएकै कारण रियालाई अनावश्यक निरुत्साहन गरिएको’ भन्दै खुल्ला विज्ञप्ती निकालेका छन् । अर्कोतिर कंगना जया बच्चनलाई निशाना बनाउँदैछिन् । घटनाक्रम झनझन संदिग्ध हुँदैछ ।

क्षत्रीयहरु आरएसएसको बलिया समर्थक हुन्छन् । राजेन्द्र सिंह कुनै बेला आरएसएसको अध्यक्ष भएका थिए । उनी आरएसएसको अध्यक्ष हुने अहिलेसम्म कै एक मात्र गैरब्राह्मण हुन् । उनकै कार्यकालमा आरएसएसले रामजन्मभूमि विवादलाई पुन चर्काएको थियो । अहिले पनि आरएसएसको संगठनात्मक संचरनामा क्षत्रीयहरुको भूमिकालाई कम आँक्न मिल्दैन । कंगना अब सिनेमामा मात्र देखिने पात्र रहिनन्, अब उनी राजनीतिमा समेत देखिन थाल्नेछिन् ।

तर अझै बुझ्नुपर्ने कुरा के छ भने क्षत्रीय समुदाय अन्य तागाधारी समुदायको तुलनामा आधुनिकता र अंग्रेजी–माध्यम शिक्षाको बलियो सामाजिक शक्ति बनिसकेको छैन । ऐतिहासिक रुपमा क्षत्रीयहरु ठूला मांशाहारी हुन् । अहिले आरएसएसका लागि फिट हुन उनीहरुभित्र शाकाहारी बन्ने अभियान पनि चल्दैछ । रमाइलो के छ भने कंगना फिल्म संस्कृतिलाई शाकाहारी बनाउनु पर्ने भन्दैछिन् जबकी यहाँ धेरैजसो ब्राह्मण र बनियाँ नै मांसाहारी छन् ।

सुशान्त सिंह राजपुतको असामयिक आत्महत्या र कंगना रनावतको संघर्षशील अभिनेत्रीको भूमिकाले दक्षिणपन्थी मिडियाको ध्यान क्षत्रीय समुदायतिर खिचिएको छ । उत्तरप्रदेशका बाह्मणहरु योगीको क्षत्रीय चरित्र विरुद्ध समाजवादी र बहुजन समाजवादी पार्टीलाई परशुराम बनाएर प्रस्तुत गर्दैछन् । विकास दुबेको इन्काउन्टरपछि ब्राह्मण समुदाय भाजपासँग बिच्केको छ । तर यतिखेर सबैतिर कंगना भारी हुँदैछिन् ।

योगी आदित्यनाथ क्षत्रीय समुदायलाई यसरी संगठित गर्न खोज्दैछन् कि यसअघि कुनै पनि समुदायको यस्तो संगठन विकास भएको थिएन । कंगनाको विद्रोह बलिउड उद्योगका लागि निक्कै ठूलो चुनौति हो । तर यो चुनौति सिने उद्योगमा मात्र हैन, अन्य तागाधारी शिविरका लागि अरु सबै क्षेत्रका लागि पनि चुनौति हो ।

(लेखक प्रतिष्ठित भारतीय दलित अधिकारकर्मी हुन् । लेखकले घटनाक्रमलाई बिल्कुलै फरक कोणबाट विश्लेषण गरेको हुँदा पाठकहरुका लागि रोचक हुने ठानी अनुवाद भरिएको हो । साम्प्रदायिक भावनासँग साझापोष्टको कुनै सहमति छैन । यो आलेख द वायरको अंग्रेजी संस्करणबाट अनुवाद गरिएको हो)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay